
दाङमा अपरिचित व्यक्तिको कुटपिटबाट एक किशोरको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
राप्ती गाउँपालिका–२ बह्राखुट्टीका स्मिथ प्रधानको मृत्यु भएको हो । गएराति करिब ८ बजे राप्ती गाउँपालिका–१ पाँखापानी बस्ने १६ वर्षीय आयुशमान थापा मगर र १७ वर्षीय स्मिथ प्रधान साथीको घर जाने भन्दै सँगै गएका थिए ।
उनीहरू राप्ती गाउँपालिका–४ मौरीघाट क्षेत्रमा पुगेपछि एक्कासी २ महिला र २ पुरुष अपरिचित व्यक्तिहरूले कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिटबाट आयुशमानको ढाड, बायाँ आँखा, गाला र कानमा चोट लागेको थियो ।
आयुशमानको राप्ती आधारभूत अस्पताल सिसहनियामा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे बिहान करिब ४ बजे इलाका प्रहरी कार्यालय सिसहनियामा जानकारी पुगेपछि प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो ।
खोजतलासका क्रममा घटनास्थलदेखि करिब डेढ किलोमिटर पूर्वतर्फ गोपी नालानजिक खोलाको सुख्खा नालामा टाउकोमा चोट लागेको अवस्थामा स्मिथ मृत फेला परेको प्रहरीले जनाएको छ ।
कुटपिटमा संलग्न व्यक्तिहरू फरार रहेका छन् । उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । प्रारम्भिक जानकारीअनुसार आयुशमानलाई ‘देवीसरा गाहा’ र ‘स्वस्तिका रानामगर’ नामक फेसबुक मेसेन्जरमार्फत भेट्न बोलाइएको र त्यसपछि उनीहरू घरबाट निस्किएको बुझिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
















