उपचारभन्दा ठूलो गरिबीको निर्दयी पीडा

 

प्युठान नगरपालिका–६, माझकोटकी २५ वर्षीया पार्वती पुन विगत डेढ वर्षदेखि कलकलाउँदो उमेरमा  जीवन र मृत्युको दोबाटोमा उभिएकी छिन्। झण्डै एक महिनादेखि उनको शरीर चल्न छोडेको छ भने हराएको भोक र गुमेको निद्राले उनको परिवारमा ठूलो त्रासदीपूर्ण छटपटाहट चलिरहेको छ । दुखेको घाउले पोलेको आर्तनाद पीडासँग पौंठेजोरी खेलिरहेकी पार्वतीको लडाइँ केवल क्यान्सरसँग मात्र सीमित छैन, बरु यो लडाइँ गरिबी, असमानता र राज्यको सदियौंदेखिको विभेद र मौनता विरुद्धको पनि लडिरेको छ ।

चितवनको भरतपुरस्थित भरतपुर क्यान्सर अस्पतालको सेतो पर्खालभित्र उपचार चलिरहँदा पार्वतीको शरीरमा मात्र होइन, उनको परिवारको सदस्यहरुमा पनि अभावको क्यान्सर फैलिँदैछ । साँझबिहानको औषधि, नियमित चेकजाँच, बसोबास लगायतका हरेक दिन खर्चको नयाँ पहाड उभिन्छन्, जसलाई उनका आफन्तहरूले आँसु र ऋणले जसोतसो धानिरहेका छन् ।

उनको घरमा हिजोआज पैसा होइन, चिन्ता गनिन्छ । भान्सामा अन्नको जोहोभन्दा बढी अस्पतालको बिल कसरी तिर्ने भन्ने प्रश्न पाक्छ। बुबा–आमाको अनुहारमा आशा भन्दा बढी असहायता छ । उनीहरूलाई थाहा छ क्याम्पस पढ्दै गरेकी छोरीलाई बचाउने उपाय अस्पतालसँग छ तर त्यो प्रयाप्त उपचारको बाटो पैसाले बन्द गरिएको छ ।

यो केवल एउटा परिवारको कथा होइन, यो त हाम्रो समाजका बहुसंख्यक निमुखा र दिनदुखीहरुको तितो यथार्थ पनि हो । जहाँ अनेकौँ अभाव र प्रताडन सहेर जेनतेन जीवन गुजारेकाहरुको जीवनको मूल्यलाई पैसामा तौलिन्छ । हाम्रै देश हो जहाँ नेताहरुसँग अरबौं सम्पत्ति कसरी लुकाउँ भन्ने चिन्ता छ र उनीहरु सामान्य ज्वरो–काँसोको उपचार गर्न सम्पन्नशाली देशका महंगा अस्पताल धाइरहन्छन् तर गरिबहरु प्राणघातक रोगको उपचार सुविधा पाउँदैनन् र कथमकदाचित पाएपनि पहुँच र पैसाको अभावले मृत्यु निम्त्याउँछ । पार्वती पुन जस्तै देशभरका हजारौं आर्थिक रुपमा उत्पीडित मानिसहरु आज उपचारको अभावले भन्दा पनि उपचारको खर्चले हृदयघात भएर मरिरहेछन् ।

कैयौँ मानिसहरु अस्पतालले थमाएको लाखौंको बिल जीवन निचोर्ने घाउ बनि मुटुमा गढेपछि अस्पतालकै छतबाट हाम फालेर मरिरहेछन । कैयौं झुन्डिएर वा विष सेवन गरेर मरेका तिता यथार्थहरु हाम्रोसामू छन् ।

सर्वदा प्रश्न उठ्छ, के एउटा नागरिकको जीवन बचाउन समाज र राज्यको कुनै जिम्मेवारी छैन ? के हामी यति कठोर भइसकेका छौँ कि कसैको जीवन बचाउन सहयोगी हातहरू अघि बढाउन सक्दैनौँ ? अहँ त्यस्तो कदापि हुनेछैन किनकी विभेदकारी राज्य जति बेखवर भएपनि देशविदेशमा रहने लाखौँ मनकारीको सामूहिक राहत र सहयोले हजार्रौँलेनयाँ जीवन पाएका प्रसस्त उदाहरण छन् ।
त्यसकारण हाम्रो यो रिपोर्ट केवल बिरामी उ उनको परिवारप्रतिको सदभाव र सहानुभूतिको मात्रै होइन, उनको जीवनलाई पुनःर्जिवित गर्ने एउटा सामूहिक प्रतिबद्धताको आह्वान पनि हो । पार्वती पुनलाई बचाउनु भनेको एउटा जीवन बचाउनु मात्र होइन, गुम्दै गएको मानवता जोगाउनु पनि हो। सहयोगका लागि बढ्ने हरेक हात, केवल दान होइन बरु यो त हाम्रो नैतिक कर्तव्य हो ।

आज पार्वती अस्पतालको बेडमा छिन्, भोलि त्यो बेडमा को हुनेछ भन्ने कसैले भन्न सक्दैन । त्यसैले, यो कथा पढेर आँखा रसाउनु मात्र पर्याप्त छैन । त्यसैले थोपाथोपा मिलेर सागर बन्छ भनेझैं हामीले सहयोगी हात पनि अगाडि बढाउनुपर्छ । आउनुस्, तपाईं हामी सबै मिलेर पार्वती पुनको छड्किरहेको ढाडको क्यान्सर, भान्सा र अस्पतालको क्यास काउन्टरले पोलिरहेको घाउलाई निको पार्ने प्रयत्न गरौं ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation