
२६ चैत, काठमाडौँ
प्रधानमन्त्री बालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई पदमुक्त गरेका छन्।
प्रधानमन्त्रीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिफारिसअनुसार आज साहलाई पदबाट हटाउने निर्णय गरेका हुन्। लामो समयदेखि निष्क्रिय अवस्थामा राखिएकी स्वास्थ्य बीमा बोर्डकी सदस्य श्रीमती जुना श्रेष्ठलाई पदीय मर्यादाको दुरुपयोग गरी पुनः सक्रिय गराएको भन्दै रास्वपाले बिहीबार नै कारबाहीका लागि प्रधानमन्त्री समक्ष सिफारिस गरेको थियो ।
बुधबार नै रास्वपाको केन्द्रीय अनुशासन आयोगले अध्ययन गरी साहलाई कारबाही गर्नुपर्ने पार्टीसमक्ष पेश गरेको थियो। रास्वपाले साहको यो गतिविधिबाट पार्टीको छवि, आर्दश, सिद्धान्त र मर्यादामाथि आँच आउने देखिएको निष्कर्षसमेत निकालेको थियो। यसैका आधारमा प्रधानमन्त्री शाहले श्रममन्त्री साहलाई पदमुक्त गरेको प्रेस विज्ञ दीपा दाहालले जानकारी दिइन्।
















