क्युबाले डाक्टर पठायो, अमेरिकाले युद्धपोत

गत महिना क्युबामा बत्ती जाँदा एक करोड मानिस अन्धकारमा बस्न बाध्य भए। त्यसबेला अमेरिकी सञ्चारमाध्यमले पुरानै रटान दोहोर्‍याए – एउटा असफल कम्युनिस्ट राष्ट्र, पतन हुँदै गरेको सत्ता, र एउटा अवसर। क्युबाले आफूलाई जसरी हेरिरहेको छ, ती सञ्चारमाध्यमले त्यसरी हेर्न सकेनन्। जब एकताको तर्कलाई कब्जाको तर्कले विस्थापित गर्छ, तब हामीले के गुमाउँछौँ भन्ने कुरा उनीहरूले देख्न सकेनन्।

गत हप्ता प्रतिबन्धित रुसी तेल ट्याङ्कर अनातोली कोलोद्किन क्युबाको माटान्सास बन्दरगाहमा आइपुग्यो। तीन महिनामा देशमा भएको यो पहिलो तेल आपूर्ति थियो, जसमा ७,३०,००० ब्यारेल कच्चा तेल झारियो। तर यो क्युबाको १० दिनको ऊर्जा आवश्यकता धान्न मात्र पर्याप्त छ। क्युबातिरै गइरहेको अर्को रुसी ट्याङ्कर ‘द सी हर्स’ भने भेनेजुएलातर्फ मोडियो।

क्यारेबियन सागरमा अमेरिकी युद्धपोत र अन्य सैन्य जहाजहरू तैनाथ राख्दै अमेरिकाले क्युबामाथिको नाकाबन्दीलाई निरन्तरता दिइरहेको छ।

यौन दुर्व्यवहारको मुद्दामा जेलिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई आफ्नो नियन्त्रणमा लिने सम्मान प्राप्त गर्ने अपेक्षा गरेको घोषणा गरेका छन्। उनले भनेका छन्, ‘मैले यसलाई स्वतन्त्र गरुँ वा कब्जा गरुँ – मलाई लाग्छ, म यसलाई जे पनि गर्न सक्छु।’ यो सुन्दा असभ्य र राजनीतिक रूपमा उन्मादपूर्ण लागे पनि, ट्रम्पले भित्रभित्रै लुकाइएको साम्राज्यवादी कुरालाई बाहिर ल्याएका मात्र हुन्।

अमेरिकी नाकाबन्दीले एउटा असफल राष्ट्रलाई मात्र मारिरहेको छैन, अरूको स्वतन्त्रतालाई आफ्नै दायित्व सम्झिने एउटा सानो टापुको ६ दशक लामो इतिहासलाई पनि निमोठिरहेको छ।

यो दास-मालिकको मानसिकता हो, र संयोगवश होइन, यो एक बलात्कारीको मानसिकता पनि हो। ऐतिहासिक रूपमा हेर्ने हो भने, फ्लोरिडाबाट ९० माइल टाढा रहेको एउटा टापु जसले सधैँ अमेरिकी आदेशलाई अस्वीकार गर्ने बाटो खोजिरह्यो, त्यसमाथि अमेरिकाले एक शताब्दीभन्दा बढी समयदेखि यही मानसिकता प्रयोग गर्दै आएको छ। विदेशमन्त्री मार्को रुबियो (जसको मुख्य चाहना नै यही हो) को सहयोगमा अन्ततः क्युबालाई झुकाउने ‘सम्मान’ ट्रम्पले पाएजस्तो देखिन्छ।

अमेरिकी आधिकारिक र पत्रकारीय विश्लेषण किन असफल भइरहेको छ भनेर बुझ्न यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो: समस्या सूचनाको होइन। समस्या त्यो साम्राज्यवादी दृष्टिकोण हो, जसले क्युबालाई आफ्नै कथाको मुख्य पात्र मान्नुको साटो अरूले खेलाउने एउटा सानो गोटी मात्र ठान्छ।

म सन् १९९० को दशकको उत्तरार्धमा पहिलो पटक क्युबा पुगेको थिएँ। म ल्याटिन अमेरिकी अध्ययनमा रुची राख्ने एक युवा मानवशास्त्री थिएँ, जसले यस क्षेत्रमा रंग (वर्ण) भन्दा वर्ग महत्त्वपूर्ण हुन्छ भन्ने पढेको थियो। तर क्युबाले केही दिनमै मेरो यो भ्रम तोडिदियो।

हवानाका सडकमा हिँड्दै गर्दा क्युबाली प्रहरीले मलाई पटक-पटक रोकेर ‘आइडी कार्ड’ मागे। मेरो शारीरिक बनोटले मलाई स्पष्ट रूपमा युवा अश्वेत क्युबाली पुरुषको कोटीमा राखेको थियो– जो निगरानीको सिकार हुन्थ्यो। यो तर्क मेरो लागि परिचित थियो। अमेरिकाको डिप साउथमा गाडी चलाउँदा वा अमेरिकामा अश्वेत भएकै कारण हिँडडुल गर्दा भोग्नुपर्ने नियति मलाई पहिल्यै थाहा थियो।

अमेरिकी नीति निर्माता र सामान्य पर्यवेक्षकहरूले क्युबालाई हेर्दा प्रायः एउटा साधारण पोस्टकार्ड मात्र देख्छन्। पोस्टकार्डको क्युबा मैले अभिलेखीकरण गरेको क्युबा थिएन।

क्युबामा भने जोखिम अलि कम थियो। मेरो आफ्नै देश (अमेरिका) मा जस्तो प्रहरीले घाँटी थिचेर वा पोइन्ट-ब्ल्याङ्क गोली हानेर मार्ने डर त्यहाँ थिएन। तर प्रवृत्ति उस्तै थियो: राज्यसत्ताले एउटा अश्वेत शरीरलाई प्रश्न गरिरहेको थियो र उसले बोल्नुअघि नै ऊ को हो भनेर फैसला गरिरहेको थियो। म क्युबालाई हेर्न गएको थिएँ, तर क्युबाले मलाई पहिल्यै नियालिरहेको थियो।

ममाथि सोधपुछ गर्ने राज्यसत्ता, होटलका सुरक्षाकर्मी र विश्वविद्यालयका अधिकारीहरूको निगरानीपूर्ण नजर, र सबैभन्दा महत्त्वपूर्ण कुरा, मलाई आत्मसाथ गर्ने अश्वेत क्युबाली तथा अश्वेत निर्वासितहरूसँगको संवादले क्युबालाई हेर्ने अर्को दृष्टिकोण तयार गर्‍यो।

अमेरिकी नीति निर्माता र सामान्य पर्यवेक्षकहरूले क्युबालाई हेर्दा प्रायः एउटा साधारण पोस्टकार्ड मात्र देख्छन्। पोस्टकार्डको क्युबा मैले अभिलेखीकरण गरेको क्युबा थिएन। मैले चिनेको क्युबा ‘डोमिङ्गो’ (मैले दिएको काल्पनिक नाम) जस्ता मानिसहरूले भरिएको थियो। उनी हवानाको अनौपचारिक अर्थतन्त्रमा संघर्ष गर्थे – नक्कली सिगार बेच्ने वा युरो/डलर कमाउन सकिने अन्य काम गर्थे। उता उनकी श्रीमती भने जेनतेन घर चलाइरहेकी हुन्थिन्।

उनीहरू दुवै प्रकारका नाकाबन्दीसँग परिचित थिए: एउटा, अमेरिकाले सन् १९६२ देखि लगाएको नाकाबन्दी, र अर्को, क्युबाली सरकारले आफ्नै जनतामाथि लगाएको नाकाबन्दी महसुस हुने- जातीय र आर्थिक विभेदको मौनता, जसलाई क्रान्तिले समानताको नाराले छोपेको थियो तर पूर्ण रूपमा कहिल्यै सम्मान गरेन।

जातीय आधारमा भएको बसाइसराइको अर्थ के थियो भने, सन् १९५९ को क्रान्तिपछि देश छोडेका अधिकांश गोरा क्युबाली परिवारहरूले आफ्ना आफन्तलाई प्रशस्त रेमिटेन्स पठाउँथे।

मैले अनगिन्ती पटक क्युबालीहरू (प्राज्ञिक र साधारण मानिस दुवै) लाई प्रश्न गरें: ‘यदि क्रान्तिले सबैलाई स्वतन्त्र बनायो भने, किन अश्वेतहरू अझै पनि सीमान्तकृत छन् र राज्यसत्ता तथा राम्रा पेशाहरूमा उनीहरूको उपस्थिति किन न्यून छ?’ यसको उत्तर कट्टर भौतिकवादीहरूबाट आउँथ्यो। भाषा मार्क्सवादी हुन्थ्यो। अवस्था पुँजीवादबाट सिर्जना भएको भनिन्थ्यो तर असफलताको दोष भने अश्वेतहरूमाथि नै थोपरिन्थ्यो। उनीहरू पन्छिन्थे। ‘यो राज्यले निर्धारण गरेको होइन,’ एक महिलाले भनिन्, ‘यो त उनीहरूकै प्रवृत्ति हो।’

यो विश्लेषण मैले फिल्डवर्कका क्रममा भेटेको एउटा दृष्टिकोण मात्र थिएन, यो त संरचनागत थियो। क्युबाली सरकारले आधिकारिक जातीय तथ्याङ्क ननिकाले पनि, सन् २०२० मा समाजशास्त्री क्याट्रिन हान्सिङ र बर्ट हफम्यानले एक हजारभन्दा बढी क्युबालीहरूमाझ गरेको सर्वेक्षणले मेरो निष्कर्षलाई पुष्टि गर्‍यो। क्युबामा बस्ने जो कोहीले देख्न सक्थ्यो: क्रान्तिअघिको जस्तै जातीय रेखाहरूमा आधारित संरचनागत असमानताहरू फेरि फर्किरहेका थिए।

जातीय आधारमा भएको बसाइसराइको अर्थ के थियो भने, सन् १९५९ को क्रान्तिपछि देश छोडेका अधिकांश गोरा क्युबाली परिवारहरूले आफ्ना आफन्तलाई प्रशस्त रेमिटेन्स पठाउँथे। निजी उद्यमको क्रमिक खुलापनले ती मानिसहरूलाई फाइदा पुर्‍यायो जससँग लगानी गर्ने पुँजी थियो, र यसको सीधा सम्बन्ध जातिकोसँग जोडिएको थियो।

जुलाई २०२१ मा म स्तब्ध भएँ, जब क्युबालीहरू (जसमा धेरैजसो गरिब बस्तीका अश्वेतहरू थिए) सान्टियागो डे क्युबा र हवानाका सडकमा उत्रिए। यो क्रान्तिपछिकै सबैभन्दा ठूलो विरोध प्रदर्शन थियो। राष्ट्रिय सार्वभौमसत्ताको रक्षाको लागि प्रयोग हुने क्रान्तिकारी नारा प्याट्रिया ओ मुएर्ते (मातृभूमि वा मृत्यु) लाई व्यङ्ग्य गर्दै उनीहरूले प्याट्रिया वाइ भिदा (मातृभूमि र जीवन) र अबाजो ला डिक्टाडुरा (तानाशाही मुर्दावाद) को नारा लगाए। क्युबाली सरकारले यसको जवाफ व्यापक गिरफ्तारी र दशकौं लामो जेल सजायबाट दियो। मानव अधिकारको रेकर्डले देखाउँछ कि यो दमनको ठूलो मार पनि अश्वेत क्युबालीहरूमाथि नै पर्‍यो।

अझै पनि, यस संकटमा के नष्ट हुँदैछ भनेर बुझ्नको लागि तत्कालीन मानवीय विपत्तिभन्दा बाहिर गएर तपाईंले क्युबाले आफ्नो सिमानाबाहिर विश्वका लागि के गर्‍यो भनेर हेर्नुपर्छ।

कुशासन, दमन र असहमतिलाई सजाय दिने निगरानी संयन्त्रका कारण ६७ वर्ष लामो क्रान्तिकारी वाचा बिस्तारै खोक्रो हुँदै जाँदा एक विशेष प्रकारको निराशा र थकान पैदा भएको छ।

यही कारणले गर्दा अहिले धेरै क्युबालीहरू (मैले चिनेका र सम्मान गर्ने मानिसहरू सहित) क्युबाली राज्यबाट धेरै कम मात्र अपेक्षा राख्छन्। यो कुरा स्वीकार गर्नुको अर्थ क्युबाका अस्पतालहरूका लागि इन्धन बोकेका जहाजहरूलाई लखेट्ने अमेरिकी नौसेनाको युद्धपोतलाई समर्थन गर्नु होइन। क्युबाली क्रान्तिको सम्भावनालाई (यसले समतामूलक समाज निर्माणमा गरेका वास्तविक र महत्त्वपूर्ण प्रगतिहरूलाई) सम्झेर दुःख व्यक्त गर्नुको अर्थ त्यसलाई विस्थापित गर्न आउँदै गरेको शक्तिलाई स्वागत गर्नु होइन।

अझै पनि, यस संकटमा के नष्ट हुँदैछ भनेर बुझ्नको लागि तत्कालीन मानवीय विपत्तिभन्दा बाहिर गएर तपाईंले क्युबाले आफ्नो सिमानाबाहिर विश्वका लागि के गर्‍यो भनेर हेर्नुपर्छ। तपाईंले जमैकालाई हेर्नुपर्छ, जसले ३० वर्षको अवधिमा ४,७०० भन्दा बढी क्युबाली स्वास्थ्यकर्मीहरू प्राप्त गर्‍यो, जसले ८० लाखभन्दा बढी बिरामीको उपचार गरे र ७४,००० भन्दा बढी शल्यक्रिया गरे। अमेरिकी दबाबका कारण त्यो सम्झौता अहिले सकिएको छ, २७७ क्युबाली स्वास्थ्यकर्मी फिर्ता बोलाइएका छन्, र ती क्लिनिकहरूमा आश्रित जनता चुपचाप यसको परिणाम भोग्न बाध्य छन्।

तपाईंले सन् २०१४ को पश्चिम अफ्रिकालाई हेर्नुपर्छ, जब क्युबाले इबोलाविरुद्ध लड्न ३०० भन्दा बढी डाक्टर र नर्सहरू पठायो। कडा नाकाबन्दी झेलिरहेको एउटा टापुले, बदलामा एकता बाहेक केही दिन नसक्ने देशहरूलाई गरेको यो विश्वकै सबैभन्दा ठूलो एकल राष्ट्रको योगदान थियो।

क्युबाको सरकार दमनकारी थियो र छ, जातीय रूपमा विरोधाभासपूर्ण छ, र आर्थिक रूपमा जर्जर छ। ती सबै कुरा सत्य हुन्। तर यसले अमेरिकी क्रान्तिकारी असाता शकुरलाई २० लाख डलरको अमेरिकी इनाम घोषणा हुँदा पनि दशकौंसम्म जिउँदो र स्वतन्त्र राख्यो।

तपाईंले १९७० को दशकको अंगोलालाई हेर्नुपर्छ, जहाँ क्युबाली सेनाले रंगभेदी दक्षिण अफ्रिकाविरुद्ध मुक्ति आन्दोलनको पक्षमा लडेको थियो। अन्तर्राष्ट्रियतावादको त्यो अध्यायले दक्षिणी अफ्रिकाको स्वतन्त्रता सङ्घर्षको सम्पूर्ण मार्ग नै तय गरिदिएको थियो।

यो कुरा नेल्सन मण्डेलालाई राम्ररी थाहा थियो। सन् १९९१ मा जेलबाट छुटेपछिको उनको पहिलो यात्रामध्ये एक हवानाको यात्रा थियो, जहाँ उनले फिडेल क्यास्ट्रोलाई भेटे र उनलाई अफ्रिकी जनताको साथी भनेर सम्बोधन गरे- त्यस्तो समयमा जब क्युबालाई समर्थन गर्नु न सुरक्षित थियो न त लाभदायक नै।

नाकाबन्दीले जोखिममा पारेको कुरा यही हो। एक करोड मानिसहरूको तत्कालीन भोगाइ मात्र होइन जसले तत्काल सम्बोधनको माग गर्दछ, साम्राज्यको तर्कको विपक्षमा खडा भएको ६० वर्ष लामो विश्व-एकताको इतिहासलाई नै यसले छिन्नभिन्न पार्दैछ।

क्युबाको सरकार दमनकारी थियो र छ, जातीय रूपमा विरोधाभासपूर्ण छ, र आर्थिक रूपमा जर्जर छ। ती सबै कुरा सत्य हुन्।

तर यसले अमेरिकी क्रान्तिकारी असाता शकुरलाई २० लाख डलरको अमेरिकी इनाम घोषणा हुँदा पनि दशकौंसम्म जिउँदो र स्वतन्त्र राख्यो। हुरी कट्रिनापछि अमेरिकाका अश्वेत बस्तीहरूमा बाँध भत्किँदा क्युबाले आफ्ना डाक्टरहरू अमेरिका पठाउने प्रस्ताव गर्‍यो। वासिङ्टनले अस्वीकार गरेपछि, क्युबाले भूकम्पले तहसनहस पारेको पाकिस्तानमा आफ्ना डाक्टरहरू पठायो, जहाँ उनीहरूले दुर्गम र गरिब क्षेत्रहरूमा ३० वटा अस्थायी अस्पतालहरू खडा गरे। कोभिड-१९ महामारीको समयमा, जब पश्चिमी औषधि कम्पनीहरू अचाक्ली नाफा कमाइरहेका थिए, क्युबाले आफ्नै खोपहरू विकास गर्‍यो र ‘ग्लोबल साउथ’ सँग न्यायोचित प्रविधि हस्तान्तरण सम्झौतामार्फत साझेदारी गर्‍यो।

कथाका यी दुवै पाटा एकैसाथ सत्य हुन्। वामपन्थीहरू कहिलेकाहीं पहिलो सत्य क्युबाको अन्तर्राष्ट्रियतावाद प्रति धेरै रोमान्टिक हुने गर्छन्। उता केन्द्र र दक्षिणपन्थीहरूले भने दोस्रो सत्यको महत्त्वप्रति जानीबुझीकन अज्ञानता देखाएका छन्। अहिलेको समयले यस्तो दृष्टिकोणको माग गर्छ जसलाई यी दुईमध्ये एउटा मात्र छान्ने सुविधा छैन।

क्युबा हिजो पनि एक समकालीन र महत्त्वपूर्ण विश्वव्यापी पात्र थियो र आज पनि छ।

वर्तमान संकटलाई न त साम्राज्यवादी निश्चितताबाट बुझ्न सकिन्छ न त रोमान्टिक एकताको आँखाबाट। अश्वेत क्युबालीहरू यी दुवै सत्यको बीचबाट बाटो खोज्दैछन्, जसका लागि ‘अनिर्णय’ एउटा दार्शनिक अडान मात्र होइन, उनीहरूको जीवनको बाध्यता हो।

वर्तमान अमेरिकी प्रशासनले क्युबालाई ‘मुक्ति’ को पर्खाइमा रहेको एउटा असफल राष्ट्रको रूपमा चित्रित गर्दछ। तर यो भाष्यले ‘कसको लागि र केबाट मुक्ति?’ भन्ने प्रश्नको उत्तर दिँदैन। अमेरिकाका रोनाल्ड रेगनदेखि जो बाइडेनसम्म, सम्बन्ध सुधारदेखि सम्बन्ध चिसिने समयसम्म, बाराक ओबामाको पालाको न्यानोपन र ट्रम्पको पालाको चिसोपनसम्म- क्युबाले असाता शकुर र नेहान्डा एबिओडुन जस्ता अश्वेत अमेरिकी क्रान्तिकारीहरूलाई सुपुर्दगी गर्न सधैं अस्वीकार गर्‍यो। यो अस्वीकार विश्वभरका ती अश्वेत मानिसहरूको पक्षमा थियो जसले आफ्नै घरभित्र युद्धमा हुनुको अर्थ बुझ्छन् र जो लड्न उभिनेहरूको सम्मान गर्छन्।

क्युबाले ती मानिसहरूलाई मान्यता दियो जसको लागि अमेरिकी फौजदारी न्याय प्रणालीले कहिल्यै न्यायको प्रतिनिधित्व गरेको छैन। यो अस्वीकारको मूल्य क्युबाले चुकाउनु पर्‍यो। अहिलेको नाकाबन्दी, आंशिक रूपमा त्यही कुराको बदला लिने माध्यम पनि हो।

जसले जनवरीमा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई अपहरण गर्ने प्रयास गर्‍यो, र क्युबाको प्राथमिक तेल आपूर्ति बन्द गरिदियो, त्यही अमेरिकी प्रशासन एकैसाथ इरानमा पनि युद्धरत छ, जहाँको द्वन्द्व र होर्मुज जलडमरूमध्यको अवरोधले विश्वव्यापी ऊर्जा बजारको रूपरेखा नै बदलिदिएको छ। यही अवस्थाले गर्दा रुसी ट्याङ्करहरू अमेरिकी नौसेनाको निगरानीका बाबजुद एटलान्टिक महासागर पार गर्दै क्युबाका लागि तेल बोकेर गइरहेका छन्।

क्युबा हिजो पनि एक समकालीन र महत्त्वपूर्ण विश्वव्यापी पात्र थियो र आज पनि छ। क्युबालाई हेर्ने दृष्टिकोण मात्रै बंग्याइएको हो- ६० वर्ष लामो नाकाबन्दीको भाष्यले, जसले टापुका असफलताहरूलाई अमेरिकाको एजेन्डा बनायो र यसको विश्व-एकतालाई अमेरिकाको टाउको दुखाइ।

वर्तमान संकटको समाधान माथिबाट थोपरिने कुनै नयाँ सम्झौता होइन, र निश्चित रूपमा ‘मुक्ति’ को नाममा गरिने ‘कब्जा’ त हुँदै होइन। यसका लागि त क्युबाले आफ्ना क्यारेबियन छिमेकीहरू, अफ्रिका र ‘ग्लोबल साउथ’, अनि विश्वभर छरिएर रहेका अश्वेत मानिसहरूका लागि के बचायो भन्ने कुराको मूल्याङ्कन आवश्यक छ। सँगसँगै, यसको थकित, सम्झौतापरस्त र विरोधाभासपूर्ण क्रान्तिले के गर्न सकेन भन्ने कुराको इमानदार लेखाजोखा पनि त्यत्तिकै जरुरी छ।

अनातोली कोलोद्किन माटान्सासमा रोकियो। दोस्रो रुसी ट्याङ्कर लोड हुँदैछ। नुएस्त्रा अमेरिका (साम्राज्यवाद मुक्त ल्याटिन अमेरिकाको कल्पना गर्ने क्युबाली कवि होजे मार्टीको १८९१ को निबन्धको नामबाट राखिएको) नामक समूहको हिस्साका रूपमा ६५० जना मानिस क्युबा पुगेका छन्।

तीन महादेशका प्यान-अफ्रिकी आन्दोलनहरूले क्युबाको ६० वर्ष लामो रेकर्डको बारेमा भनेका छन्: तपाईंले हामीलाई उपदेश दिनुभएन; तपाईंले हामीलाई काम गरेर देखाउनुभयो।

मुट्ठी आफ्नै सर्तहरूमा खुल्छ र क्युबाले ऐक्यबद्धतामार्फत निर्माण गरेको संसार अझै पनि देखापर्दैछ, युद्धपोत भन्दा सुस्त, कम हतियारसहित, तर निरन्तर क्युबाली टापुतिर अघि बढ्दै।

जाफारी एस. एलेन कोलम्बिया विश्वविद्यालयको अफ्रिकन अमेरिकन र अफ्रिकन डायस्पोरा अध्ययन विभागमा प्रोफेसर हुन्। उनी ड्यूक युनिभर्सिटी प्रेसद्वारा प्रकाशित दुई चर्चित कृतिहरू ¡Venceremos? The Erotics of Black Self-making in Cuba र There’s a Disco Ball Between Us: A Theory of Black Gay Life का लेखक हुन्।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation