
विद्यालयस्तरको फोहोर व्यवस्थापन ः बालस्वास्थ्य, शिक्षा र वातावरणको साझा चुनौती हो ।
विद्यालय समाज र जीवनको प्रमुख पाठशाला तथा भविष्य निर्माणको आधारस्तम्भ हो । यहीँबाट बालबालिकाको बौद्धिक, शारीरिक, मानसिक र नैतिक विकासका बीजारोपण हुन्छन् । विद्यालय पाठ्यपुस्तकको ज्ञान दिने स्थान मात्र होइन, जीवनोपयोगी सीप, अनुशासन, सरसफाइ, सहकार्य र सामाजिक जिम्मेवारी सिकाउने महत्वपूर्ण तथा पवित्र स्थल पनि हो । बालबालिकाले घरपरिवारपछि सबैभन्दा धेरै समय विद्यालयमै बिताउने भएकाले विद्यालयको वातावरणले उनीहरूको सोच, व्यवहार, स्वास्थ्य र जीवनदृष्टिमा प्रत्यक्ष प्रभाव पार्दछ ।
पछिल्ला वर्षहरूमा बढ्दो उपभोगमुखी जीवनशैली, प्याकेटयुक्त खाद्यवस्तुको अत्यधिक प्रयोग, कारखाना तथा उद्योगबाट उत्पादित रसायनजन्य वस्तुहरूको प्रयोग, प्लास्टिक सामग्रीको बढ्दो उपयोग र पर्यावरणीय सचेतनाको अभावका कारण विद्यालयस्तरमा उत्पादन हुने फोहोरको मात्रा उल्लेखनीय रूपमा बढ्दै गएको छ । विश्वव्यापी रूपमा फोहोर र त्यसले निम्त्याएका स्वास्थ्य समस्या तथा पर्यावरणीय संकट दिनानुदिन विकराल बन्दै गएका छन् । यस्तो गम्भीर संकटका बीचमा शक्तिशाली राष्ट्रहरू समेत वातावरणीय समस्यासामु असहाय देखिँदा देखिँदै पनि विश्व राजनीति अझै युद्ध, शक्ति विस्तार र प्रभुत्वको होडतर्फ केन्द्रित भइरहेका छन् ।
यस्ता जटिल परिस्थितिका बीच विद्यालयस्तरमा उत्पादन हुने फोहोरलाई समयमै र उचित तरिकाले व्यवस्थापन गर्न सकिएन भने यसले विद्यालय वातावरण मात्र होइन, बालबालिकाको वर्तमान र भविष्य दुवैलाई असर पार्ने गम्भीर समस्या सिर्जना गर्दछ । त्यसैले विद्यालयस्तरमा उत्पादन हुने फोहोर, त्यसले बालबालिकामा पार्ने स्वास्थ्य तथा मनोवैज्ञानिक असर र फोहोर व्यवस्थापनमा विद्यालय तथा समुदायको भूमिकाबारे गहिरो अध्ययन र व्यवहारिक पहल अत्यन्त आवश्यक भएको छ । यसमा राज्यले पनि आफ्नो जिम्मेवारी स्पष्ट रूपमा वहन गर्नुपर्छ ।
भाद्र २३ र २४ मा देखिएको जेन–जी आन्दोलनपछि देशमा फेरि एकपटक चुनावी माहोल तातेको छ । विगत करिब तीस वर्षयताका चुनावहरूलाई नियाल्दा आज पनि बाटो, खानेपानी, पुल, बजेट जस्ता आधारभूत विषयलाई नै राजनीतिक नारा बनाएर जनताको विवेकलाई प्रभावित गर्ने प्रयास भइरहेको देखिन्छ । अहिले चर्चामा रहेका कलाकार, पत्रकारदेखि सिने जगतका केही चर्चित अनुहारहरू पनि देशको समृद्धि गर्ने दाबी गर्दै राजनीतिमा प्रवेश गरेका छन् । तर देशले भोगिरहेको वास्तविक संकट र गर्नुपर्ने दीर्घकालीन योजनाबारे स्पष्ट दृष्टिकोण र व्यवहारिक कार्यक्रम भने अझै देखिएको छैन ।
देशको शिक्षा प्रणालीभित्र रहेका वास्तविक समस्याहरू के–के हुन् भन्ने प्रश्न आज पनि गम्भीर रूपमा उठिरहेको छ । विशेष गरी सामुदायिक विद्यालयहरू किन दिनानुदिन खाली र जर्जर बन्दै गइरहेका छन् भन्ने विषयमा पर्याप्त बहस हुन सकेको छैन । भविष्य निर्माणका आधारस्तम्भ मानिने विद्यालयहरू विद्यार्थीको स्वास्थ्य र वातावरणीय दृष्टिले कति सुरक्षित र पढ्नयोग्य छन् भन्ने प्रश्न पनि अत्यन्त महत्वपूर्ण छ । विद्यालयको फोहोर व्यवस्थापन र वातावरणीय अवस्थालाई मात्रै केलाएर हेर्ने हो भने देशका धेरै विद्यालय अझै पनि बालबालिकाको अध्ययनका लागि उपयुक्त वातावरणमा छैनन् । यस्तो अवस्थाले दीर्घकालीन स्वास्थ्य समस्या मात्र होइन, मनोवैज्ञानिक असर र शैक्षिक उपलब्धिमा समेत नकारात्मक प्रभाव पारिरहेको छ ।
आजको समाजमा विचार, एजेन्डा, सामाजिक बहस र गम्भीर चिन्तन कमजोर बन्दै गएका छन् भने सस्तो लोकप्रियता प्राप्त गर्ने प्रवृत्ति बढ्दै गएको छ । यस्तो प्रवृत्तिले समाजको बौद्धिक आधारलाई कमजोर बनाउँदै लैजाने खतरा पनि उत्तिकै बढाएको छ । विद्यालयमा उत्पादन हुने फोहोरको अवस्था
विद्यालयमा दैनिक रूपमा विभिन्न प्रकारका फोहोर उत्पादन हुन्छन् । कक्षाकोठाबाट कागज, पेनका खोल, स्टेशनरीका अवशेष निस्कन्छन् भने क्यान्टिनबाट खानेकुराका अवशेष, प्लास्टिक र्यापर, बोतल तथा पोलिथिन झोला निस्कन्छन् । खेल मैदान, कार्यालय, पुस्तकालय र शौचालय क्षेत्रबाट पनि विभिन्न प्रकारका फोहोर उत्पादन भइरहेका हुन्छन् ।
यी फोहोरलाई मुख्य रूपमा दुई प्रकारमा वर्गीकरण गर्न सकिन्छ । पहिलो, जैविक फोहोर र दोस्रो, अजैविक फोहोर । जैविक फोहोरमा कुहिने प्रकृतिका वस्तुहरू जस्तै खानेकुराका अवशेष, पातपात, घाँस आदि पर्दछन् । अजैविक फोहोरमा भने प्लास्टिक, सिसा, धातु, रबर तथा अन्य नकुहिने सामग्री पर्दछन् । विद्यालयमा जैविक फोहोरलाई कम्पोस्ट मलमा रूपान्तरण गर्न सकिने ठूलो सम्भावना भए पनि त्यसको व्यवहारिक अभ्यास भने अत्यन्त न्यून रहेको पाइन्छ । नेपालका धेरै विद्यालयमा फोहोर व्यवस्थापन अझै व्यवस्थित र दिगो बन्न सकेको छैन । कतिपय विद्यालयमा डस्टबिनको अभाव छ भने कतै डस्टबिन भए पनि फोहोर छुट्याएर फाल्ने संस्कार विकसित भएको छैन । कतिपय स्थानमा फोहोर लामो समयसम्म थुपारेर राखिने, खुला ठाउँमा फालिने वा जलाइने गरेको पनि देखिन्छ ।
फोहोर जलाउँदा निस्कने धुवाँले वातावरणलाई प्रदूषित बनाउनुका साथै बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष असर पार्दछ । स्थानीय तहसँग समन्वयको कमी, बजेट अभाव, स्पष्ट नीति नहुनु र विद्यालय प्रशासनको उदासीनता जस्ता कारणले विद्यालयस्तरको फोहोर व्यवस्थापन अझै कमजोर रहेको देखिन्छ ।
यद्यपि फोहोरको सही व्यवस्थापन गरेर त्यसलाई पुनःप्रयोग तथा कच्चा पदार्थको रूपमा प्रयोग गरी औद्योगिक उत्पादनमा समेत रूपान्तरण गर्न सकिने थुप्रै सम्भावनाहरू रहेका छन् । केही स्थानमा भएका सफल प्रयासहरूले यसको सम्भावना पुष्टि गरे पनि देशभर समान रूपमा विस्तार गर्न आवश्यक स्रोत, साधन र व्यवस्थापनको अभाव अझै देखिन्छ ।
विद्यालयस्तरको फोहोर र यसको असर
अव्यवस्थित फोहोर बालबालिकाको स्वास्थ्यका लागि गम्भीर खतरा हो । फोहोर थुप्रिँदा दुर्गन्ध फैलिनुका साथै झिँगा, लामखुट्टे र अन्य रोग सार्ने जीवजन्तुको वृद्धि हुन्छ । यसले झाडापखाला, हैजा, टाइफाइड, डेंगु, मलेरिया, छाला रोग, एलर्जी तथा श्वासप्रश्वाससम्बन्धी समस्या उत्पन्न गर्न सक्छ ।
विद्यालय उमेरका बालबालिका शारीरिक रूपमा संवेदनशील हुने भएकाले यस्ता रोगको जोखिम झनै बढी हुन्छ । सानो उमेरमै रोगको सिकार भएमा उनीहरूको शारीरिक विकासमा दीर्घकालीन असर पर्न सक्छ ।
फोहोरयुक्त वातावरणले बालबालिकाको मानसिक स्वास्थ्यमा पनि नकारात्मक असर पार्दछ । दुर्गन्धित र अस्तव्यस्त वातावरणमा बसेर पढ्नुपर्दा उनीहरूमा असहजता, तनाव र वितृष्णा बढ्न सक्छ । यस्तो वातावरणले ध्यान केन्द्रित गर्न कठिन बनाउँछ, जसले सिकाइ क्षमतामा कमी ल्याउँछ ।
विद्यालयप्रति नकारात्मक धारणा विकास हुनु, अनुपस्थित दर बढ्नु र आत्मविश्वास घट्नु जस्ता समस्या पनि देखिन सक्छन् । स्वच्छ वातावरणमा अध्ययन गर्ने बालबालिकाको मनोबल र सिकाइ स्तर उच्च हुने तथ्य विभिन्न अध्ययनहरूले देखाएका छन् ।
स्वच्छ विद्यालय वातावरण शिक्षाको गुणस्तरसँग प्रत्यक्ष रूपमा जोडिएको हुन्छ । फोहोरले भरिएको विद्यालयमा कक्षा सञ्चालन प्रभावकारी हुन सक्दैन । शिक्षक र विद्यार्थी दुवैले असहज अनुभव गर्छन् । बारम्बार बिरामी पर्ने विद्यार्थीको नियमितता घट्छ, जसले सिकाइको निरन्तरतामा बाधा पु¥याउँछ । यसरी फोहोर व्यवस्थापनको कमजोरीले शैक्षिक उपलब्धिमा समेत नकारात्मक प्रभाव पार्दछ ।
वातावरणीय असर र दीर्घकालीन प्रभाव
विद्यालयबाट निस्कने फोहोर उचित रूपमा व्यवस्थापन गरिएन भने यसले व्यापक वातावरणीय प्रदूषण निम्त्याउँछ । प्लास्टिकजन्य फोहोरले माटोको उर्वराशक्ति घटाउँछ, पानीका स्रोत प्रदूषित बनाउँछ र जैविक विविधतामा नकारात्मक असर पार्छ । बालबालिकाले विद्यालयमै गलत व्यवहार सिकेमा भविष्यमा पनि त्यही व्यवहार दोहोर्याउने सम्भावना हुन्छ । यसले दीर्घकालीन रूपमा वातावरणीय संकटलाई अझ गहिरो बनाउने खतरा उत्पन्न गर्दछ ।
फोहोर व्यवस्थापनमा सर्वपक्षीय भूमिका
विद्यालय प्रशासन फोहोर व्यवस्थापनको प्रमुख जिम्मेवार निकाय हो । विद्यालयले स्पष्ट नीति बनाएर फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्छ । जैविक र अजैविक फोहोर छुट्याउने डस्टबिनको व्यवस्था, नियमित संकलन प्रणाली, कम्पोस्ट निर्माण तथा पुनर्चक्रणका लागि स्थानीय तहसँग सहकार्य जस्ता कार्य आवश्यक छन् । विद्यालय बजेटमा फोहोर व्यवस्थापनका लागि छुट्टै व्यवस्था गर्नुपर्ने आवश्यकता पनि उत्तिकै महत्वपूर्ण छ ।
शिक्षकहरू बालबालिकाका मार्गदर्शक र आदर्श व्यक्तित्व हुन् । उनीहरूले कक्षाकोठामै वातावरणीय शिक्षा, सरसफाइ र फोहोर व्यवस्थापनका विषयलाई व्यवहारिक रूपमा सिकाउन सक्छन् । स्वयं उदाहरण प्रस्तुत गर्दै फोहोर नफाल्ने, छुट्याउने र पुनःप्रयोग गर्ने बानी बसाल्न शिक्षकको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ । परियोजना कार्य, समूहगत गतिविधि र सरसफाइ अभियानमार्फत बालबालिकामा जिम्मेवारीको भावना विकास गर्न सकिन्छ । बालबालिका स्वयं पनि फोहोर व्यवस्थापनका सक्रिय अभियन्ता बन्न सक्छन् । उनीहरूले फोहोर डस्टबिनमा फाल्ने, जैविक र अजैविक फोहोर छुट्याउने, प्लास्टिकको प्रयोग कम गर्ने तथा विद्यालय र घर वरपर सरसफाइ गर्ने जस्ता अभ्यास गर्न सक्छन् ।
बाल क्लब, इको क्लब र विद्यार्थी समूहमार्फत नेतृत्व विकास गर्दै वातावरण संरक्षणमा उनीहरूको सहभागिता बढाउन सकिन्छ । अभिभावक र समुदायको सहयोग पनि उत्तिकै आवश्यक हुन्छ । घरमै फोहोर व्यवस्थापनको अभ्यास गर्ने, बालबालिकालाई सरसफाइबारे सचेत बनाउने तथा विद्यालयका कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउने कार्यले सकारात्मक प्रभाव पार्दछ । स्थानीय तहसँग सहकार्य गरी फोहोर संकलन तथा व्यवस्थापन प्रणालीलाई सुदृढ बनाउन सकिन्छ । आधुनिक प्रविधिको प्रयोगले विद्यालयमा फोहोर व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन सकिन्छ । कम्पोस्ट बिन, बायोग्यास प्लान्ट, पुनर्चक्रण परियोजना तथा सिर्जनात्मक पुनःप्रयोग जस्ता अभ्यासले व्यवहारिक सिकाइलाई प्रोत्साहन दिन्छन् ।
यसले बालबालिकामा नवप्रवर्तनशील सोच विकास गर्न पनि मद्दत गर्दछ । विद्यालयस्तरमा फोहोर व्यवस्थापनलाई दीर्घकालीन रूपमा प्रभावकारी बनाउन स्पष्ट नीति, पर्याप्त बजेट, नियमित अनुगमन र मूल्याङ्कन आवश्यक छ । पाठ्यक्रममा वातावरणीय शिक्षालाई व्यवहारसँग जोडेर लागू गर्नुपर्छ । स्थानीय तह, विद्यालय र समुदायबीच समन्वय सुदृढ हुनुपर्छ । विद्यालयस्तरमा उत्पादन हुने फोहोरको व्यवस्थापन आजको आवश्यकता मात्र होइन, भविष्यको दिगोपनसँग जोडिएको अत्यन्त महत्वपूर्ण विषय हो । अव्यवस्थित फोहोरले बालबालिकाको स्वास्थ्य, मानसिक अवस्था र शैक्षिक उपलब्धिमा नकारात्मक असर पार्दछ भने उचित व्यवस्थापनले उनीहरूमा जिम्मेवारी, अनुशासन र वातावरणप्रतिको प्रेम विकास गराउँछ ।
विद्यालय, शिक्षक, बालबालिका, अभिभावक र समुदाय सबैको संयुक्त प्रयासबाट मात्र स्वच्छ, सुरक्षित र दिगो विद्यालय वातावरण निर्माण सम्भव छ । विद्यालयमा आज सिकाइएका साना अभ्यासहरूले भोलिका सचेत, जिम्मेवार र वातावरणमैत्री नागरिक निर्माणमा ठूलो योगदान पु¥याउँछन् । त्यसैले यस विषयमा सबै पक्ष गम्भीर भएर लाग्नु आजको अपरिहार्य आवश्यकता हो ।
सन्दर्भ सामग्री
१. विश्व स्वास्थ्य संगठन (सन् २०१८). बालबालिकाको वातावरणीय स्वास्थ्य तथा फोहोर व्यवस्थापन मापदण्ड. जेनेभाः विश्व स्वास्थ्य संगठन ।
२. संयुक्त राष्ट्रसंघीय बाल कोष – युनिसेफ (सन् २०२१). विद्यालय सरसफाइ तथा विद्यालयस्तरको फोहोर व्यवस्थापनसम्बन्धी वैश्विक मार्गदर्शन. न्युयोर्कः युनिसेफ ।
३. संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन – युनेस्को (सन् २०१६). सुरक्षित र दिगो विद्यालयका लागि विद्यालय वातावरण तथा स्वास्थ्यसम्बन्धी मापदण्ड. पेरिसः युनेस्को ।
४. नेपाल सरकार, संघीय कानुन आयोग (२०७०). फोहोर व्यवस्थापन नियमावली. काठमाडौंः नेपाल सरकार ।
५. नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय (२०७५). विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम निर्देशिका. काठमाडौंः स्वास्थ्य तथा जनसङ्ख्या
मन्त्रालय ।
६. नेपाल सरकार, शिक्षा मन्त्रालय (२०७६). विद्यालय शिक्षा पाठ्यक्रम ः स्वास्थ्य तथा वातावरण शिक्षा. काठमाडौंः शिक्षा मन्त्रालय ।
७. वातावरणीय अध्ययन जर्नल, नेपाल (सन् २०२०). नेपालमा विद्यालय सरसफाइ तथा फोहोर व्यवस्थापनको अवस्था. काठमाडौं
















