
२८ जेठ, प्युठान
सामाजिक विकास डिभिजन कार्यालय, बिजुवार प्युठानको आयोजनामा श्री जनता माध्यमिक विद्यालय, बाग्दुला प्युठानमा सम्पन्न डिभिजन स्तरीय शिक्षक तथा विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम–२०८३ अन्तर्गत उत्कृष्ट शिक्षक प्रतिभाहरूलाई सम्मान गरिएको छ।
शिक्षक तथा विद्यार्थीमा अन्तरनिहित प्रतिभाको खोजी, शैक्षिक गुणस्तर अभिवृद्धि तथा सिर्जनशील क्षमताको विकास गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त कार्यक्रममा वक्तृत्वकला प्रतियोगिता तथा समस्या समाधान गर्ने सीपसम्बन्धी प्रस्तावना लेखन र प्रस्तुतिकरण प्रतियोगिता आयोजना गरिएको थियो।
कार्यक्रमअन्तर्गत समस्या समाधान गर्ने सीपको प्रस्तावना लेखन तथा प्रस्तुतिकरणका आधारमा उत्कृष्ट शिक्षक प्रतिभा छनोट गरिएको हो। प्रतियोगितामा जनता माध्यमिक विद्यालय, बाग्दुलाका शिक्षक इन्द्रमणि पोखरेल प्रथम, सोही विद्यालयका माधव पोखरेल द्वितीय तथा गौमुखी माध्यमिक विद्यालयका जायश्वर जैसी तृतीय स्थान हासिल गर्न सफल भएका छन्।
त्यसैगरी महेन्द्र माध्यमिक विद्यालय, खलङ्गाका ध्रुव गिरी तथा लुप्लुङ माध्यमिक विद्यालयका गणेश पोखरेल ले सान्त्वना स्थान प्राप्त गरेका छन्। उत्कृष्ट घोषित शिक्षकहरूलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो।
कार्यक्रममा सहभागी शिक्षकहरूले विद्यालय शिक्षामा देखिएका विभिन्न चुनौतीहरूको पहिचान गर्दै तिनको समाधानका लागि व्यवहारिक तथा नविन सोचमा आधारित प्रस्ताव प्रस्तुत गरेका थिए। प्रस्तुत प्रस्तावहरूको मौलिकता, व्यवहारिकता, प्रभावकारिता तथा प्रस्तुतीकरण क्षमताका आधारमा मूल्यांकन गरी उत्कृष्ट प्रतिभा छनोट गरिएको आयोजकले जनाएको छ।
सामाजिक विकास डिभिजन कार्यालयका अनुसार यस्ता कार्यक्रमले शिक्षक तथा विद्यार्थीमा प्रतिस्पर्धात्मक भावना, नेतृत्व क्षमता, विश्लेषणात्मक सोच तथा समस्या समाधान गर्ने दक्षताको विकास गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ। साथै विद्यालय तहको सिकाइलाई थप प्रभावकारी, सिर्जनशील र नतिजामुखी बनाउन समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक, शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवाला तथा मूल्यांकनकर्ताको सहभागिता रहेको थियो। कार्यक्रममा उत्कृष्ट हुने सम्पूर्ण शिक्षकहरूलाई बधाई ज्ञापन गर्दै कार्यक्रम सफलतापूर्वक सम्पन्न गराउन भूमिका निर्वाह गर्ने सामाजिक विकास डिभिजन कार्यालय, मूल्यांकनकर्ता विज्ञहरू तथा सहभागी सबैप्रति आभार व्यक्त गरिएको छ।
डिभिजन स्तरीय यस कार्यक्रमले प्युठान जिल्लामा रहेका शिक्षक तथा विद्यार्थीको प्रतिभा पहिचान र प्रोत्साहनमार्फत शैक्षिक गुणस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।














