Pranmancha

Advertisment

SKIP THIS

माओको दर्शनबारे पाँच कृतिहरूमध्येको एक

वस्तुहरूमा अन्तर्विरोधको नियम अर्थात् विपरीत तत्त्वहरूको एकताको नियम, भौतिकवादी द्वन्द्ववादको आधारभूत नियम हो । लेनिनले भन्नुभएको थियो- “सही अर्थमा द्वन्द्ववाद भनेको पदार्थहरूको स्वत्वभित्र रहेको अन्तर्विरोधको अध्ययन हो। ”१ लेनिन बारम्बार यस नियमलाई द्वन्द्ववादको सार भन्नुहन्थ्यो, वहाँले यसलाई द्वन्द्ववादको गुदी२ पनि भन्नुभएको छ । त्यसै हुनाले यस नियमबारे अध्ययन गर्दा हामीले विभिन्न थरिका सवालहरू र विभिन्न खालका दार्शनिक समस्याहरूको कुरा झिक्नुपर्ने खण्ड आउनेछ । यी सबै समस्याहरूबारे हामी छर्लङ्ग भयौं भने, भौतिकवादी द्वन्द्ववादको भूलभूत ज्ञानमा हामी पुग्न सक्नेछौं । हाम्रो सामु भएका समस्याहरू यी हुन् – दुई विश्व दृष्टिकोणहरू अन्तर्विरोधको सार्वभौमिकता, अन्तर्विरोधको विशिष्टता, मुख्य अन्तर्विरोध र अन्तर्विरोधको पनि मुख्य पक्ष, अन्तर्विरोधका पक्षहरूका माझ रहेका एकरूपता र तिनका तानातान र अन्तर्विरोधमा शत्रुताको निर्धारित कार्य ।

यता सोभियत सङ्घको दार्शनिक फाँटमा डेवोरिन पक्ष३ आदर्शवादबारे जुन आलोचना भएको छ, त्यसले हाम्रो माझ निक्कै खुल्दुली जगाइदिएको छ । डेवोरिनको आदर्शवादले चिनियाँ कम्युनिष्ट पार्टीभित्र ज्यादै नराम्रो प्रभाव पारेको छ र हाम्रो पार्टीभित्र पाइने रूढिवादी सोचाइ त्यस दृष्टिकोणसित सम्बन्धित छैन भनेर पनि भन्न सकिन्न । त्यसै हुनाले, यस्ता रूढिवादी विचारलाई उखेलेर मिल्काउनु नै हाम्रो हालको दार्शनिक अध्ययनको मुख्य उद्देश्य हुनुपर्दछ ।

—————————————-

*यो दार्शनिक निबन्ध कामरेड माओ त्सेतुङले “व्यवहारका विषयमा ” भन्ने निबन्धपछि लेख्नुभएको हो र यसको उद्देश्य पनि त्यसताका पार्टीभित्र भेट्टाइने बुढीरूढि विचारधाराबाट उत्पन्न हुने गम्भीर खतरालाई पन्छाउनु नै थियो । सवभन्दा पहिले येनानको जापान – विरोधी सैनिक र राजनैतिक- कलेजमा यसलाई व्याख्यानको रूपमा प्रसारित गरिएको थियो र वहाँको सङ्गालिएका कृतिहरूभित्र पार्दा यसका लेखबाट यो संशोधित गरिएको थियो ।

—————————————

१. दुई विश्व दृष्टिकोण

मानवज्ञानको सिंगै इतिहासभरी विश्वको विकासको नियमका विषयमा सधैं नै दुई किसिमका धारणाहरू रहेका छन्- आध्यात्मपन्थी धारणा र द्वन्द्वात्मक धारणा । र, यी दुवै परस्पर विरोधी खालका विश्वदृष्टिकोणहरू हुन् । लेनिनले भन्नुभएथ्यो :

विकासका दुई आधारभूत (वा दुई सम्भव ? वा दुई ऐतिहासिक रूपबाट देख्न सकिने ? ) धारणाहरू हुन् : घट्नु र बढ्नुको रूपमा, पुनरावर्तनको रूपमा विकासलाई देख्नु र विपरीत तत्त्वहरूको एकताको रूपमा विकासलाई देख्नु (कुनै एकताको एक अर्काबाट विपरीत तत्त्वहरूमा विभाजन र तिनीहरूको आपस्तको साइनो)।४

यहाँनेर लेनिन यी दुई भिन्नाभिन्नै विश्व दृष्टिकोणहरूतर्फ औंल्याउँदै हुनुहुन्थ्यो । चीनमा आध्यात्मपन्थको एउटा अर्को नाउँ सुआन – सुयेह हो । चीन र युरोपको इतिहासमा लामो कालसम्म यस खालको सोचाइले, जुन आदर्शवादी विश्वदृष्टिकोणकै अभिन्न अंश हो, मानिसको विचार – फाँटमा एउटा प्रमुख ठाउँ ओगटेको थियो । युरोपमा पूँजीवादीहरूको प्रारम्भिक अवस्थामा पाइने भौतकिवाद पनि आध्यात्मपन्थी नै थियो । जुन बखत धेरैजसो युरोपेली मुलुकहरूको सामाजिक अर्थव्यवस्था निकै हुर्किसकेको पूँजीवादको अवस्थामा पुगेको थियो, जुन बखत उत्पादनका शक्तिहरू, वर्गसङ्घर्ष र विज्ञानका सबै हाँगाहरू इतिहासमा अघि कहिल्यै नपुगेको स्तरमा पुगेर विकसित भए र जुन बखत ऐतिहासिक विकासमा औद्योगिक सर्वहारावर्ग सबभन्दा ठूलो प्रेरक शक्ति हुन पुग्यो, त्यस बखत भौतिकवादी द्वन्द्ववादको मार्क्सवादी विश्वदृष्टिकोणको जन्म भयो । त्यस बखत भौतिकवादी द्वन्द्ववादको विरोध गर्नाका लागि पूँजीवादीहरूका माझ खुला र नाङ्गो प्रतिक्रियावादी आदर्शवादका साथसाथै भँडुवा विकासवादको पनि जन्म भयो ।

आध्यात्मवादी वा भँडुवा विकासवादी विश्वदृष्टिकोणले वस्तुहरूलाई छुट्टिएका, स्थिर र एकतर्फी रूपमा देख्छ । यसले विश्वभित्रका सबै वस्तुहरूलाई, तिनका स्वरूप र तिनका जातहरूलाई सधैंभरि एकअर्कासित छुट्टिएका र कहिल्यै नफेरिने ठान्दछ । वस्तुहरूमा देखिने हेरफेर कि त तिनको परिमाणमा हुने बढी वा घटी मात्रा मात्रै हुन् वा तिनको ठाउँ- फेराइ मात्रै हुन् र तिनको कारण वस्तुहरूभित्र नभएर वस्तुहरू बाहिर नै अर्को किसिमबाट भनौं भने तिनलाई चलाउने शक्ति बाहिरिया नै हुन्छ । आध्यात्मपन्थीहरू के भन्छन् भने विश्वमा भएका थरिथरिका सबै वस्तुहरू र तिनका विशेषताहरू तिनको अस्तित्व कायम भएदेखि नै उहींका उहीं नै छन् । पछि तिनमा कुनै हेरफेर नै भएको छ भने पनि त्यो खालि परिमाणमा घटी भएको वा बढी भएको मात्रै हो । उनको के दावी छ भने कुनै वस्तु सधै त्यही वस्तुको रूपमा मात्रै बारम्बार जन्मिन सक्छ र कुनै बेग्लै वस्तुको रूपमा फेरिन सक्दैन । उनको हेराइमा, पूँजीवादी चुसाइ, पूँजीवादी तँछाडमछाड, पूँजीवादी समाजको मपाईवादी विचारधारा जस्ता सारा कुराहरू प्राचीन कालका कमारा समाजमा वा जंगली समाजमा पनि भेट्टाउन सकिन्छ र कुनै हेरफेर नभई ती सधैं त्यस्तै नै रहिरहनेछन् । उनीहरू सामाजिक विकासका कारणहरूलाई समाज बाहिरका परिस्थितिहरूमा, जस्तै- भूगोल र हावापानीमा खोज्छन् । उनीहरू समस्यालाई ज्यादै नै सजिलो पारेर वस्तुहरूको विकासका कारणहरूलाई वस्तुहरू भन्दा बाहिर खोज्छन् र वस्तुहरूभित्रै रहेका अन्तर्विरोधहरू नै तिनको विकासका कारण हुन् भन्ने भौतिकवादी द्वन्द्ववादको सिद्धान्तलाई मान्दैनन् । यसले गर्दा, उनीहरू न त वस्तुहरूको गुणात्मक अनेकताको अर्थ खुलस्त्याउन सक्छन् न त एउटा गुण कसरी अर्को गुणमा फेरिन्छ भन्ने घटनालाई नै । युरोपमा सोचाइको यो ढाँचा यान्त्रिक भौतिकवादको रूपमा सत्रौं र अठारौं शताब्दीमा र भँडुवा विकासवादको रूपमा उन्नाइसौं शताब्दीको आखिर र बीसौं शताब्दीको थालनीमा पाइन्थ्यो । चीनमा आध्यात्मपन्थी सोचाइको दृष्टान्त यस उखानमा हेर्न पाइन्छ, ‘आकाश फेरिदैन, त्यसैगरी ताओ पनि फेरिदैन ।५ यस सोचाइले निकै वर्षसम्म मक्किदै गएको सामन्ती वर्गहरूबाट भरथेग भेट्टाइरह्यो । यता सय वर्षमा युरोपबाट ल्याइएको यस यान्त्रिक भौतिकवाद र भँडुवा विकासवादलाई पुँजीवादीवर्गको समर्थन मिलेको छ ।

आध्यात्मवादी विश्वदृष्टिकोणको उल्टो भौतिकवादी द्वन्द्वात्मक विश्वदृष्टिकोणको के भनाइ छ भने वस्तुहरूको विकासलाई बुझ्नका निम्ति तिनको जाँचबुझ भित्रैबाट गर्नुपर्छ र अरू वस्तुहरूसित त्यस वस्तुको सम्बन्धको आधारमा गर्नुपर्छ । अर्को शब्दमा, वस्तुहरूको विकासलाई तिनको भित्रिया र आवश्यक स्वगतिको रूपमा हेर्नुपर्छ र अरू के भने हरेक वस्तु आफ्नो गतिमा एकअर्कासित गाँसिएको छ र त्यसले आफ्नो सेरोफेरोका वस्तुहरूमाथि प्रभाव पार्दछ । कुनै पनि वस्तुको विकासको आधारभूत कारण बाहिरिया नभएर भित्रिया नै हुन्छ, यो त्यस वस्तुभित्र रहेको अन्तर्विरोधमा रहेको हुन्छ । हरेक वस्तुमा त्यो भित्रिया अन्तर्विरोध रहन्छ, त्यसैले त त्यस वस्तुमा गति र विकास पाइन्छ । त्यस वस्तुको विकासको मूल कारण त्यस वस्तुभित्र रहेको अन्तर्विरोध नै हुन्छ र त्यस वस्तु र अरू वस्तुहरूका माझमा आपसमा सम्बन्ध र आपसका प्रभाव त्यसको विकासका सहायक कारण हुन्छन् । यसरी आध्यात्मपन्थी यान्त्रिक भौतिकवादी र भँडुवा विकासवादमार्फत् चलेका बाहिरिया कारणहरू वा बाहिरिया प्रेरणासम्बन्धी सिद्धान्तहरूको भौतिकवादी द्वन्द्ववाद चर्कोगरी विरोध गर्छ । के कुरा छर्लङ्ग छ भने बाहिरिया कारणहरूबाट मात्रै त वस्तुहरूमा खालि यान्त्रिक गति मात्रै निस्कन सक्छ अर्थात् तिनको नाप वा मात्रामा नै हेरफेर हुनसक्छ, तर वस्तुहरू हजारौं किसिमबाट गुणात्मक रूपमा किन एकअर्काबाट फरक हुन्छन् र एउटा वस्तु किन अर्को वस्तुमा फेरिन जान्छ भन्ने प्रश्नहरूलाई खुलाउन यो सक्तैन । साँच्चि भन्ने हो भने, कुनै बाहिरिया शक्तिबाट घच्घच्याइएका वस्तुहरूको यान्त्रिक गति पनि तिनको भित्रिया अन्तर्विरोहरूले गर्दा नै जन्मिने गर्छ । यसैगरी रूखपात र वस्तुभाउ (पशुहरू) को सहज विकास, तिनीहरूको परिमाणात्मक विकास पनि मुख्यगरी भित्रिया अन्तर्विरोधहरूले गर्दा नै हुन्छ । यसैगरी सामाजिक विकास पनि मुख्यगरी बाहिरिया कारणहरूबाट नभएर भित्रिया कारणहरूबाटै हुन्छ । उस्ताउस्तै भौगोलिक र हावापानी भएका मुलकुहरू पनि आफ्नो विकासमा बेग्लाबेग्लै र असमान हुन्छन् । यति मात्रै होइन, भौगोलिक र हावापानीको स्थितिमा कुनै हेरफेर नहुँदा पनि ती मुलुकहरूभित्र ठूल्ठूला सामाजिक हेरफेर हुन सक्छन् । साम्राज्यवादी रूस समाजवादी रूसमा फेरियो, संसारबाट बेग्लिएर आफ्नो ढोका थुनी बसेको सामन्ती जापान साम्राज्यवादी जापान हुन पुग्यो, तर यी दुवै मुलुकहरूका भौगोलिक र हावापानीका स्थितिहरूमा भने कुनै खास हेरफेर भएन । निकै लामो कालसम्म सामन्तवादको पैतालामुनि . रहेको चीनमा यता यस वर्षहरूभित्र अजङ्का हेरफेर भएका छन् र ऊ अब एउटा नौलो, फुक्का र स्वतन्त्र चीन बन्ने बाटोतर्फ सर्दैछ, तैपनि चीनको भौगोलिक र हावापानीको स्थितिमा कुनै खास हेरफेर भएन । सिंगै रूपमा हेर्दा, पृथ्वी र यसको हरेक भेगका भौगोलिक र हावापानीका स्थितिहरूमा हेरफेर त पक्कै पनि भइरहन्छन्, तर समाजमा हुने हेरफेरहरूसित दाँज्दा तिनको महत्त्व ज्यादै नै थोरै हुन्छ । भौगोलिक र हावापानीका स्थितिहरूमा हुने हेरफेरहरू आफूलाई दशौं हजारौं वर्षहरूमा व्यक्ताउँछन् भने उता समाजमा हुने परितर्वन चाहिँ यही सयौं हजारौं वा कतिसम्म भने क्रान्ति हुँदाताक त केही वर्षहरू वा महिनाहरूमा नै आफूलाई व्यक्ताउँछन् । भौतिकवादी द्वन्द्ववादबमोजिम प्रकृतिमा हुने हेरफेरको मूल कारण प्रकृतिमा भएका भित्रिया अन्तर्विरोधहरूको विकास नै हो । समाजमा हुने हेरफेरका मूल कारण हुन्- समाजमा भएका भित्रिया अन्तर्विराधेहरू, अर्को शब्दमा उत्पादक शक्तिहरू र उत्पादन-सम्बन्धहरूका माझ रहेका अन्तर्विरोधहरू, वर्गहरूका माझ रहेका अन्तर्विरोधहरू र नौला र पुरानाका माझ रहेका अन्तर्विरोधहरू हुर्किदै जानु । यी अन्तर्विरोधहरूको विकासले नै समाजलाई अगाडि घचेट्छ र नौलो समाजले पुरानिएको समाजलाई उछिन्ने कुरामा हौसल्याउँछ । के त भौतिकवादी द्वन्द्ववादले बाहिरिया कारणहरूलाई पन्छाइ नै दिन्छ त ? होइन, यसले त्यसो कहिल्यै गर्दैन । भौतिकवादी द्वन्द्ववाद के ठान्छ भने बाहिरिया कारणहरू कुनै परिवर्तनका शर्त मात्र हुन् भने भित्रिया कारणहरू परिवर्तनका जग (आधार) हुन् र बाहिरिया कारणहरू भित्रिया कारणहरूमार्फत् नै क्रियाशील हुन्छन् । सुहाउँदो तापमानमा फूल चल्लामा फेरिन्छ, तर कस्तै तापमानले पनि एउटा ढुंगालाई चल्लामा फेर्न सक्तैन, किनभने यी दुवैका जग (आधार) नै फरक-फरक छन् । विभिन्न मुलुकहरूका मानिसहरूका माझ रातदिन अन्तर्क्रिया भइरहन्छ । पूँजीवादको जुगमा, खासगरी साम्राज्यवाद र सर्वहारा क्रान्तिको जुगमा, अनेकन् मुलुकहरूका माझ राजनैतिक, आर्थिक र सांस्कृतिक फाँटहरूमा पारस्परिक अन्तर्क्रिया र पारस्परिक प्रभावहरूको निकै नै विकास भएको छ । अक्टोबर समाजवादी क्रान्तिले रूसको इतिहासमा मात्रै होइन कि संसारकै इतिहासमा पनि एउटा नौलो जुगलाई भित्र्यायो । त्यसले संसारका अरू मुलुकहरूका भित्रिया हेरफेरमा पनि प्रभाव पायो । त्यसैगरी र अझ खास खँदिलो पाराले, त्यसले चीनका भित्रिया हेरफेरमा पनि प्रभाव पायो । तर यी हेरफेरहरू चाहिँ ती मुलुकहरूकै र चीनकै विकासका आन्तरिक नियमहरूबाट जन्मेका थिए । युद्ध हुँदा एउटा पल्टनले जित्छ, अर्को हार्छ, जित्नु र हार्नु दुवैको निधो भित्रिया कारणहरूले नै गर्छन् । एउटा पल्टन के कारणले जित्छ भने कि त यो बलियो हुन्छ कि त यसलाई हाँक्नेहरू सिपालु र लायक हुन्छन् । अर्को पल्टन के कारणले गर्दा हार्छ भने कि त त्यो कमजोर हुन्छ कि त त्यसलाई हाँक्नेहरू काँचा र अयोग्य हुन्छन्, बाहिरिया कारण भित्रिया कारणमार्फत् नै क्रियाशील हुन्छ । १९२७ मा चीनमा ठूल्ठूला पूँजीपतिवर्गको हातबाट चिनियाँ सर्वहारावर्गको पराजय त्यस मौकावादले गर्दा हुन पुग्यो, जुन तिनताक खुदै चिनियाँ सर्वहारा (चिनियाँ कम्युनिष्ट पार्टी) भित्र रहेको थियो । हामीले त्यस मौकावादलाई सखाप पारेपछि चिनियाँ क्रान्ति फेरि अघि सर्न थाल्यो । पछि फेरि हाम्रो पार्टीमा उत्ताउलो – आँटीवाद उम्रेकाले, चिनियाँ क्रान्तिलाई दोस्रोपल्ट बैरीहरूका हातबाट अनेकन् मारहरू खप्नु पयो । हामीले त्यस उत्ताउलो – आँटीवादलाई सखाप पारेपछि हाम्रो काम फेरि एकपल्ट अघि लम्कन थाल्यो । यसरी के प्रस्ट छ भने क्रान्तिलाई विजयको तारोसम्म पुयाउनका निम्ति कुनै पनि राजनीतिक पार्टीले खुद आफ्नो सही राजनीतिक गोरेटोमा र आफ्नो संगठनको ठोसपनामा भर गर्नुपर्छ ।

द्वन्द्ववादी विश्वदृष्टिकोण चीन र युरोप दुवै ठाउँहरूमा निकै अघि नै देखापरिसकेको थियो । तर त्यसबेलाको द्वन्द्ववाद अलि स्वेच्छाबाट निस्केको तथा सोझो र काँचो खालको थियो । त्यसबेलाका सामाजिक र ऐतिहासिक परिस्थितिहरूमा त्यसले एउटा सैद्धान्तिक पद्धतिको रूप लिन सकेन, संसारको राम्ररी व्याख्या गर्ने सामर्थ्य अझै त्यसमा थिएन र पछि गएर त्यसलाई ठेलेर हटाई आध्यात्मपन्थले त्यसको ठाउँ ओगट्यो । नामी जर्मनेली दार्शनिक हेगेलले, जसको जीवन अठारौं शताब्दीको आखिरी र उन्नाइसौं शताब्दीको थालनीसम्म पर्दछ, द्वन्द्ववादलाई हुर्काउन र प्रस्ट्याउन निकै खंदिला ईंटहरू थपे, तर उनको द्वन्द्ववाद आदर्शपन्थी थियो । सर्वहारा क्रान्तिका महान् अगुवा मार्क्स र एंगेल्सले मानवज्ञानको इतिहासका सकारात्मक फलहरूलाई गाँसेर मिसाउनुभयो, खासगरी हेगेलको द्वन्द्ववादका चित्तबुझ्दा तत्त्वहरूलाई जाँचबुझ गरेर पचाउनु भयो अनि द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवादका गहकिला सिद्धान्तहरूको सिर्जना गर्नुभयो र अनि पछि मात्रै मानवज्ञानको इतिहासमा एउटा अघि कहिल्यै नभएको क्रान्ति भयो । लेनिन र स्टालिनले यस सिद्धान्तलाई अझ वढी हुर्काउनु – फक्राउनु भयो ।

यो सिद्धान्त चीनमा पुगेपछि त त्यसले चिनियाँ विचार – फाँटमा एउटा औधी ठूलो हेरफेर ल्याइदियो ।

संसारलाई हेर्ने र अर्थ्याउने यस द्वन्द्ववादी बाटोले हामीलाई खासगरी विभिन्न पदार्थहरूमा विपरीत तत्त्वहरूको गतिको जाँचबुझ र खोतल्याइँ कसरी गर्ने हो र यस्तो खोतल्याइँको आधारमा भित्रिया र आपसका फाटोहरू (अन्तर्विरोध) लाई फर्स्याउने जुक्तिहरूलाई कसरी खोजी झिक्ने हो भन्ने कुरा सिकाउँछ । त्यसै हुनाले हाम्रो निम्ति सबभन्दा महत्त्वको कुरा के हुनेछ भने हामी वस्तुहरूमा पाइने भित्रिया र आपसका फाटोहरू (अन्तर्विरोध) को नियमलाई खँदिलो किसिमबाट बुझौं ।

२. अन्तर्विरोधको सार्वभौमिकता

आफनो व्याख्यालाई सजिलो पार्नका लागि म यहाँनिर पहिले अन्तर्विरोधको सार्वभौमिकताको कुरा झिक्नेछु, अनि त्यसपछि अन्तर्विरोधको विशिष्टताबारे विचार गर्नेछु । अन्तर्विरोधको सार्वभौमिकताको व्याख्या अझ छोटकरीमा गर्न सकिन्छ, किनभने मार्क्सवादका महान् निर्माताहरू र त्यसलाई अघि लम्काउनेहरू – मार्क्स, एंगेल्स, लेनिन, स्टालिनले जहिलेदेखि भौतिकवादी द्वन्द्वात्मक विश्वदृष्टिकोणको थापना गर्नुभयो, अनि मानवइतिहास र प्रकृतिइहिासको विश्लेषणका अनेकौं पक्षहरूमा र समाज र प्रकृतिमा हुने हेरफेरका अनेकौं पक्षहरूमा भौतिकवादी द्वन्द्ववादलाई ठूलो सफलतासहित लागू गर्नुभयो (जस्तै सोभियत संघमा) तलैदेखि अनेकौं मानिसहरूले अन्तर्विरोधको सार्वभौमिकतालाई मानेका छन्, तर अन्तर्विरोधको विशिष्टताको विषयमा हाम्रा निकै साथीहरूको विचार, मुख्यगरी कट्टरपन्थीहरूको विचार, अझै पनि प्रस्ट छैन । उनीहरू के वुझ्न सक्दैनन् भने अन्तर्विरोधको विशिष्टता नै अन्तर्विरोधको सार्वभौमिकता रहन्छ । उनीहरू हाम्रो सामु ठोस रूपमा रहेका वस्तुहरूभित्रको अन्तर्विरोधको विशिष्टताको अध्ययन क्रान्तिकारी व्यवहारलाई डोऱ्याउनका लागि कति बढी महत्त्वपूर्ण छ भन्ने कुरा पनि बुझ्दैनन् । त्यसैहुनाले, अन्तर्विरोधको विशिष्टताको अध्ययनमा बल दिनु र त्यसलाई निकै बेलिविस्तारसहित खुलाउनु साह्रै खाँचो पर्दछ । त्यसै हुनाले, वस्तुहरूमा रहेको अन्तर्विरोधको नियमको विश्लेषण गर्दा हामी पहिले अन्तर्विरोधको सार्वभौमिकताको विश्लेषण गर्नेछौं, अनि पछि अन्तर्विरोधको विशिष्टताको विश्लेषणमा खास बल दिनेछौं र अन्तमा, अन्तर्विरोधको सार्वभौमिकतामा फेरि फर्केर आउनेछौं ।

अन्तर्विरोधको सार्वभौमिकता वा निरपेक्षताका दुईवटा अर्थ छन् । एउटा हो – सबै वस्तुहरूको विकासको प्रक्रियामा अन्तर्विरोध रहिरहन्छ र अर्को चाहिँ हो – हरेक वस्तुको विकासको प्रक्रियामा विपरीत तत्त्वहरूको गति थालनीदेखि अन्तसम्म कायम रहन्छ ।

एंगेल्सले भन्नुभएको थियो – “गति आफैँ एउटा अन्तर्विरोध हो ।”६ लेनिनले विपरीत तत्त्वहरूको एकताको नियमको व्याख्या यसरी गर्नु भएथ्यो, “यो प्रकृतिका जम्मै वस्तुहरू र घटनाहरूमा (जसभित्र मस्तिष्क र समाज पनि पर्छन् । अन्तर्विरोधपूर्ण, एक अर्कोबाट छुट्टै विपरीत प्रवृत्तिहरूलाई चिन्नु (तिनको पत्तो पाउनु ) हो ।”७ यी विचारहरू के सही हुन् त ? अँ, सही हुन् । कुनै वस्तुका अन्तर्विरोधपूर्ण पक्षहरूको अन्तरनिर्भरता र तिनका माझको सङ्घर्षले नै त्यस वस्तुको जीवनलाई निर्धारित गर्दछन् र त्यस वस्तुलाई अगाडि हुर्काउँदै लग्छन् । अन्तर्विरोध नभएको कुनै पनि चीज छैन, अन्तर्विरोध नभई कुनै पनि चीज टिकिरहन सक्दैन ।

अन्तर्विरोध गतिका (जस्तै यान्त्रिक गतिको) साधारण रूपहरूको जग हो र गतिका जटिल रूपहरूको त त्यो अझ बढी महत्त्वपूर्ण जग हो । एंगेल्सले अन्तर्विरोधको सार्वभौमिकताको यसरी व्याख्या गर्नुभएको छ :

साधारण यान्त्रिक स्थानान्तरणमा अन्तर्विरोध रहन्छ भने अझ यो कुरा पदार्थको गतिका सबभन्दा माथिल्लो रूपहरूका लागि, खासगरी प्राणी जीवन र त्यसको विकासका लागि त अझ बढी सदर छ ।… जीवन सबभन्दा पहिले ठीक यसै कुरामा निहित छ, एउटा सजीव वस्तु हरेक क्षण आफू उही वस्तु रहँदारहँदै पनि अरू अर्कै वस्तु हुन्छ । त्यसैले जीवन पनि एउटा अन्तर्विरोध हो, जुन स्वयं वस्तुहरू र प्रक्रियाहरूमा सामेल रहन्छ र अन्तर्विरोध सिद्धिनासाथ जीवनको पनि अन्त हुन जान्छ र मृत्युको आगमन हुन्छ ।

त्यसैगरी हामीले के पनि देख्यौं भने विचारका फाँटमा पनि हामी अन्तर्विरोधबाट पन्छिन सक्दैनौ र दृष्टान्तका लागि, मानिसको ज्ञान प्राप्त गर्ने स्वाभाविक असीम ल्याकत र बाहिरिया परिस्थितिहरूबाट सीमित भएका र सीमित बौद्धिक ल्याकत राख्ने मानिसहरूमा पाइने ज्ञानको वास्तविक उपलब्धिमा रहेको अन्तर्विरोधको समाधान हाम्रो निम्ति कमसेकम व्यवहारिक दृष्टिमा एकपछि अर्को पुस्ताले अनन्त प्रगति गर्दै जाने अन्तहीन उत्तराधिकारको रूपमा हुन्छ i

……..केही खास परिस्थितिहरूमा एउटै रेखा सोझो र बांगो दुवै हुन्छ भन्ने यो अन्तर्विरोध माथिल्लो गणितशास्त्रको आधारभूत नियमहरूमध्ये एक हो …..

तर तल्लो गणितशास्त्रमा पनि अन्तर्विरोधहरू छ्यास्छ्यास्ती रहन्छन् ।८ लेनिनले अन्तर्विरोधको सार्वभौमिकताको उदाहरण यसरी दिनुभएको छ :

‘गणितमा : प्लस र माइनस, डिफरेन्सियल र इन्टेग्रल । यन्त्रविद्यामा : क्रिया र प्रतिक्रिया।

भौतिक विज्ञानमा धनात्मक विद्युत र ऋणत्मक विद्युत् ।

रसायन विज्ञानमा : परमाणुहरूको सगोल र विछोट ।

समाजशास्त्रमा : वर्गसंघर्ष ।’९

युद्धमा मार हान्नु र जोगिनु अघि सर्नु र पछि हट्नु, जित्नु र हार्नु सबै अन्तर्विरोधपूर्ण कुरा हुन् । एउटा नभई अर्को हुनै सक्तैन । यी दुवै पक्षहरू एकअर्कासित, संघर्ष पनि गर्छन् र एकअर्कामाथि भर पनि पर्छन् । यिनैले युद्धको सिंगै रूपको सिर्जना गर्छन्, युद्धलाई अझ बढी विकसित पार्छन् र यस विषयमा देखापर्ने समस्याहरूको बरोबर फर्स्यौट गर्दै जान्छन् ।

मानिसका धारणाहरूमा भेट्टाइने विभिन्नताहरूले वस्तुगत अन्तर्विरोधलाई प्रतिविम्बित गर्दछन् भन्ने कुरा हामीले बुझ्नु पर्छ । वस्तुगत अन्तर्विरोधहरू मनोगत विचारमा प्रतिविम्बित हुन्छन् र यस प्रक्रियाबाट धारणाहरूको अन्तर्विरोधी गतिको निर्माण हुन्छ र यस प्रक्रियाले विचारको विकासलाई अगाडि घचेट्छ र मान्छेको विचारमा आइपर्ने समस्याहरूलाई लगातार फर्स्याउँदै जान्छ ।

पार्टीभित्र किसिम-किसिमका विचारहरूका माझ विरोध र संघर्ष रातदिन चलिरहन्छन्, तिनले पार्टीभित्र समाजको विभिन्न वर्गहरूका माझका अन्तर्विरोधहरू र नौला र पुरानियाका माझका अन्तर्विरोधहरूलाई छर्लङ्ग्याउँछन् । पार्टीभित्र अन्तर्विरोध भएन भने र तिनीहरूको फर्स्यौट गर्नका निम्ति विचारधारात्मक छलफल, बाझाबाझ, तानातान चलाइएन भने त पार्टीको जीवनकै अन्त हुनेछ ।

यसरी के कुरा प्रस्ट हुन्छ भने गतिको रूप साधारण होस् वा जटिल, वस्तुगत घटना हुन् वा विचारगत, अन्तर्विरोध सार्वभौमिक किसिमबाट र सबै प्रक्रियाहरूमा रहेको पाइन्छ । तर के अन्तर्विरोध हरेक प्रक्रियाको प्रारम्भिक अवस्थामा पनि पाइन्छ र ? के हरेक वस्तुको विकासको प्रक्रियामा थालनीदेखि अन्तसम्म विपरीत तत्त्वहरूको गति रहिरहन्छ र ?

देबोरियनवादको आलोचनामा सोभियत दार्शनिकहरूले लेखेका लेखहरूबाट के थाहा हुन्छ भने देबोरियनवादको हेराइबमोजिम अन्तर्विरोध कुनै प्रक्रियाको एकदम थालनीमै जन्मिदैन, बरू त्यसको हुर्काइको एउटा खास उमेरमा मात्रै प्रकट हुन्छ । तर कुरा यस्तै भएको हुँदो हो त त्यस खास उमेरमा पुग्नुअघि त्यस प्रक्रियाको हुर्काइ भित्री कारणहरूले होइन कि बाहिरिया कारणहरूले नै हुन्थ्यो होला । यसरी देबोरियनवादीहरू बाहिरिया कारणहरू र यान्त्रिकताको आध्यात्मपन्थी सिद्धान्तलाई अंगाल्छन् । ठोस समस्याहरूको विश्लेषणमा यस दृष्टिकोणलाई लागू गरी, देबोरियनवादीहरू के ठहरमा पुग्छन् भने सोभियत संघमा हालका परिस्थितिहरूमा कुलकहरू (धनी खेतिवालहरू) र साधारण किसानहरूका माझ खालि भेद मात्रै छ, अन्तर्विरोध छैन र यसरी उनीहरू बुखारिनको सिद्धान्तसित पूरापूर सही थाप्न पुग्छन् ।१० फ्रान्सेली क्रान्तिको विश्लेषण गर्दै उनीहरू के भन्छन् भने क्रान्तिभन्दा अघि थर्ड स्टेटमा – जसमा ज्यामी, किसान र पूँजीपतिहरू थिए- खालि भेद मात्रै थियो, त्यहाँ अन्तर्विरोध थिएन । यी देवोरियनवादी विचारहरू मार्क्सवादविरोधी विचार हुन् । देबोरियनवादी के बुझ्दैनन् भने संसारमा रहेको हरेक भेदमा पहिलेदेखि नै एउटा अन्तर्विरोध पनि रहिरहेको हुन्छ र अर्को कुरा के भने भेद स्वयं नै एउटा अन्तर्विरोध हो । दुई वर्गहरू अस्तित्वमा आएदेखि नै श्रम र सम्पत्तिका माझ अन्तर्विरोध रहेको छ, हुन त थालनीमा यस अन्तर्विरोधले चर्को रूप लिएको थिएन । कहाँसम्म भने सोभियत संघमा हालका सामाजिक परिस्थितिहरूभित्र पनि ज्यामी र किसानहरूका माझ एउटा भेद रहेको छ र यो भेद एउटा अन्तर्विरोध हो । हुन त सम्पत्ति र श्रमका माझ रहेको अन्तर्विरोध झैं यो अन्तर्विरोध चर्को रूप लिएर शत्रुता वा वर्गसंघर्षको रूपमा फेरिने छैन । समाजवादी निर्माणको अवधिमा ज्यामीहरू र किसानहरूले दरिलो एकता कायम गरिसकेका छन् र उनीहरूले समाजवादबाट साम्यवादतर्फ अघि लम्कने प्रक्रियामा यस अन्तर्विरोधलाई पाइला पाइला गरी फर्स्याइहाल्नेछन् । यहाँनिर प्रश्न बेग्लाबेग्लै खालका अन्तर्विरोधहरूको पो हो, अन्तर्विरोधहरू नै छन् कि छैनन् भन्ने कुराको चाहिँ कदापी होइन । अन्तर्विरोध सर्वव्यापी र निरपेक्ष हुन्छ, त्यो सबै वस्तुहरूको हुर्काइको प्रक्रियामा सामेल रहन्छ र सबै प्रक्रियाहरूमा थालनीदेखि अन्तसम्म रहिरहन्छ ।

कुनै नौलो प्रक्रिया उदाउन थाल्यो भन्नुको के अर्थ हो ? यसको के अर्थ हो भने जुन बखत कुनै नयाँ एकता र त्यसका संघटक (constituents) विपरीत तत्त्व कुनै पुरानो एकता र त्यसका संघटक विपरीत तत्त्वहरूको ठाउँ ओगट्छन्, त्यस बखत पुरानो प्रक्रियाको ठाउँमा एउटा नौलो प्रक्रिया उदाउँछ । पुरानो प्रक्रियाको अन्त हुन्छ र नौलो प्रक्रियाको थालनी हुन जान्छ । यस नौलो प्रक्रियामा नौला अन्तर्विरोधहरू हुन्छन् र तिनका आफ्नै अन्तर्विरोधहरूका विकासको इतिहास सुरू हुन थाल्छ ।

लेनिनले भन्नुभएझैँ मार्क्सले आफ्नो पुस्तक “पूँजी ” मा विपरीत तत्त्वहरूको त्यस गतिको विश्लेषणको एक अति उत्तम बान्की अघि सार्नुभएको छ, जुन गति वस्तुहरूको विकासको प्रक्रियामा थालनीदेखि आखिरीसम्म रहिरहन्छन् । यो एउटा यस्तो पद्धति हो, जसलाई सबै वस्तुहरूको विकासको प्रक्रियाको अध्ययनमा प्रयोग गर्नुपर्छ । लेनिन आफैँले पनि यस पद्धतिको सही किसिमबाट प्रयोग गर्नुभएको थियो र आफ्ना सबै रचनाहरूमा यसलाई अंगाल्नुभएको थियो ।

“पूँजी ” भन्ने आफ्नो रचनामा मार्क्स पहिले पूँजीवादी (किनबेचको माल) समाजको सबभन्दा सजिलो, सबभन्दा साधारण र आधारभूत, सबभन्दा बढी प्रचलित र दिनहुँका सम्बन्धहरूको विश्लेषण गर्नु हुन्छ, यो एउटा यस्तो सम्बन्ध हो, जुन करोडौंपल्ट देख्न पाइन्छ र यो हो, मालको साटफेर गर्ने क्रिया । यस ज्यादै साधारण घटनाभित्र (पूँजीवादी समाजको यस कोशिकामा) विश्लेषण गर्दा आधुनिक समाजका सबै अन्तर्विरोधहरू (वा सबै अन्तर्विरोधका बीउहरू) छर्लङ्ग हुन्छन् । पछिको व्याख्याले ती अन्तर्विरोधहरूको विकासलाई (प्रौढता र गति दुवैलाई) र आफ्ना बेग्लाबेग्लै अंगहरूको जोडको रूपमा यस समाजको विकासलाई, यिनका प्रारम्भदेखि अन्तसम्मको स्थितिमा देखाउँछ ।

लेनिनले त्यसपछि भन्नुभयो, “सामान्य रूपमा द्वन्द्ववादको व्याख्या (वा अध्ययन) को पनि यिनै पद्धति हुनुपर्छ ।”११

चिनियाँ कम्युनिष्टहरूले यो पद्धतिलाई सिक्नुपर्छ, अनि मात्रै उनीहरू चिनियाँ क्रान्तिको इतिहास र त्यसको हालको स्थितिको ठीक-ठीक विश्लेषण गर्न सक्नेछन् र त्यसको अविष्यबारे ठीक-ठीक निष्कर्ष झिक्न सक्नेछन् ।

३. अन्तर्विरोधको विशिष्टता

अन्तर्विरोध सबै वस्तुहरूको विकासको प्रक्रियामा रहन्छ, यो हरेक वस्तुको विकासको प्रक्रियामा थालनीदेखि अन्तसम्म व्यापक रहिरहन्छ । हामीले माथि चर्चा गरेको अन्तर्विरोधको सार्वभौमिकता र निरपेक्षता यही नै हो ।

हामी अब अन्तर्विरोधको विशिष्टता र सापेक्षताबारे विचार गरौं।यस समस्याको अध्ययन अनेकौं स्तरहरूमा गर्नुपर्छ ।

पहिलो कुरा त के हो भने पदार्थको गतिको हरेक रूपमा रहेको अन्तर्विरोधको आफ्नै विशिष्टता हुन्छ । पदार्थका विषयमा मान्छेको ज्ञान पदार्थको गतिका रूपहरूको ज्ञान हो, किनभने विश्वमा गतिमान पदार्थहरू बाहेक अरू केही छैन र निश्चय नै पदार्थको गतिको कुनै न कुनै रूप हुन्छ । पदार्थको गतिको हरेक रूपको अध्ययन गर्दा हामीले त्यसका ती तत्त्वहरूलाई ध्यानमा राख्नु पर्नेछ, जुन त्यसमा र गतिका अन्य रूपहरूमा साझा रहन्छन्, तर जुन कुरा खासगरी महत्त्वपूर्ण र खाँचोपर्दो छ र जुन कुरा वस्तुहरूका विषयमा हाम्रो ज्ञानको जग हो, त्यो चाहिँ के हो भने हामीले पदार्थको गतिको विशिष्टतालाई ध्यानमा राख्नु पर्नेछ वा भनूँ गतिको एउटा रूप र अरू रूपहरूका माझको गुणात्मक भेदलाई ध्यानमा राख्नुपर्छ । यस कुरालाई ध्यानमा राखेर नै हामी वस्तुहरूमा फरक गर्न सक्छौं । गतिको कुनै पनि रूपभित्र त्यसको आफ्नो विशिष्ट अन्तर्विरोध रहेको हुन्छ । यस विशिष्ट अन्तर्विरोधले नै कुनै वस्तुको विशेष स्वत्वलाई निश्चित गर्दछ, जसबाट त्यो वस्तु अरू सबै वस्तुहरूभन्दा फरक हुन्छ । संसारका अनगिन्ति वस्तुहरू एकअर्काबाट फरक हुने यही नै भित्री कारण हो वा भनूँ, त्यसको जग हो । प्रकृतिमा गतिका कैयन् रूपहरू रहन्छन् : यन्त्रगति, ध्वनी, तेज, ताप, विद्युत्, विघटन, संघटन र अरू-अरू । यी सबै रूपहरू एकअर्कामा भर पर्छन्, तर स्वत्वको दृष्टिबाट हेर्ने हो भने यी एक अर्काबाट फरक हुन्छन् । गतिको हरेक रूपमा रहेको विशिष्ट स्वत्व त्यसको आफ्नो विशिष्ट अन्तर्विरोधबाट निर्धारित हुन्छ ।यो कुरा प्रकृतिमा मात्रै होइन, समाज र विचारधाराको घटनामा पनि लागू हुन्छ । समाजको हरेक रूप र विचारधाराको हरेक प्रणालीको आ-आफ्नो विशिष्ट अन्तर्विरोध हुन्छ र त्यसको आफ्नो विशिष्ट स्वत्व हुन्छ ।

विज्ञानका बेग्लाबेग्लै हाँगाहरूको वर्गीकरण तिनका अध्ययनका वस्तुहरूमा रहेका विशिष्ट अन्तर्विरोधहरूमा नै आधारित रहन्छ । यसरी एउटा विशेष किसिमको अन्तर्विरोध, जुन कुनै खास घटनाक्रमको विशेषता हुन्छ, त्यो विज्ञानको कुनै एउटा विशेष फाँटको विषयवस्तु बन्दछ । जस्तै भनूँ, गणितमा धनात्मक र ऋणत्मक अंक; यन्त्रविद्यामा क्रिया र प्रतिक्रिया, भौतिकविज्ञानमा धनात्मक विद्युत् र ऋणात्मक विद्युत्, रसायनविज्ञानमा विघटन र संघटन, समाजशास्त्रमा उत्पादक शक्तिहरू र उत्पादन सम्बन्ध, वर्ग र वर्गसंघर्ष, युद्धविद्यामा जाइलाग्नु र जोगिनु दर्शनशास्त्रमा आदर्शवाद र भौतिकवाद, आध्यात्मपन्थी दृष्टिकोण र द्वन्द्ववादी दृष्टिकोण र यस्तै अरूअरू – यी सबै कुराहरूको विज्ञानका बेग्लाबेग्लै हाँगाहरूका रूपमा अध्ययन गरिनुको ठीक कारण के हो भने यीमध्ये हरेक हाँगामा एउटा खास अन्तर्विरोध रहेको हुन्छ र हरेक हाँगामा एउटा खास स्वत्व रहेको हुन्छ । जे होस्, अन्तर्विरोधको सार्वभौमिकतालाई नबुझी हामी वस्तुहरूको गति वा विकासको सार्वभौमिक कारण वा सार्वभौमिक आधारको पत्तो पाउन सक्नेछैनौं, तर अन्तर्विरोधको विशिष्टताको अध्ययन नगरी हामी कुनै वस्तुको त्यस स्वत्वको पत्तो नै पाउन सक्नेछैनौं, जसले त्यस वस्तुलाई अरू वस्तुहरूभन्दा बेग्लै तुल्याइदिन्छ, वस्तुहरूको गतिको विकासको विशिष्ट कारण वा विशिष्ट आधारको पत्तो नै पाउनसक्नेछैनौं, एउटा वस्तु र अर्को वस्तुका माझको फरकलाई चिन्न सक्नेछैनौं र विज्ञानको बेग्लाबेग्लै हाँगाहरूको माझ फरक पनि गर्न सक्नेछैनौं ।

मानिसको ज्ञानको गतिको क्रमको कुरामा चाहिँ, त्यो सधै वस्तुविशेषको ज्ञानबाट सामान्य वस्तुहरूको ज्ञानतर्फ पाइला-पाइला गरी विकसित हुन्छ । पहिले अनेकौं बेग्लाबेग्लै वस्तुहरूमध्ये हरेक वस्तुको विशिष्ट स्वत्वलाई बुझेपछि मात्रै मान्छे सामान्यकरणतर्फ झर्न सक्छ र वस्तुहरूमा सामान्य रूपवाट रहेको स्वत्वलाई बुझ्न सक्छ । मानिसले यस सामान्य स्वत्वलाई बुझेपछि ऊ यस ज्ञानलाई पथप्रदर्शकको रूपमा प्रयोग गर्दै अझसम्म अध्ययन नगरिएका वा पूरापूरा अध्ययन नगरिएका ती वेग्लाबेग्लै ठोस वस्तुहरूको अध्ययन गर्नतर्फ र तीमध्ये हरेकको विशिष्ट स्वत्वको भेद पाउनेतर्फ अगाडि सर्दछ, यसो गरेर मात्रै ऊ सामान्य स्वत्वबारे आफ्नो ज्ञानलाई हुर्काउन बढाउन सक्छ, त्यसलाई भरिलो खँदिलो र विकसित पार्न सक्छ र यस्तो ज्ञानलाई ओइलाउनु, मर्नु र टक्क अडिनुबाट जोगाउन सक्छ । ज्ञान प्राप्त गर्ने यी दुई प्रक्रियाहरू हुन् : एउटा विशिष्टबाट सामान्यतर्फ लम्कनु हो, अर्को चाहिँ सामान्यबाट विशिष्टतर्फ फर्कनु हो । मानिसको ज्ञान सधैं पाङ्ग्रो भै फन्फन गर्दै अघि सर्दछ र प्रत्येक घुमाइसित (त्यो वैज्ञानिक पद्धतिबमोजिम राम्ररी मिलेको छ भने) मानिसको ज्ञान हरेक फन्कोमा एक पाइला अघि बढ्दै जान्छ र यसरी बढीमा बढी खँदिलो र गहिरो हुँदै जान्छ । हाम्रा कट्टरवादी साथीहरू जुन ठाउँमा भूल गर्छन्, त्यो कहाँनिर हो भने एकातिर त उनीहरू अन्तर्विरोधको सार्वभौमिकता र बेग्लाबेग्लै वस्तुहरूको सामान्य स्वत्वलाई खुब राम्ररी बुझ्नुभन्दा अगावै हामीले अन्तर्विरोधको विशिष्टताको अध्ययन गर्नु पर्नेछ र बेग्लाबेग्लै वस्तुहरूको विशेष स्वत्वलाई बुझ्नु पर्नेछ भन्ने कुराको हेक्का राख्दैनन् र अर्कोतिर उनीहरू के बुझ्न सक्तैनन् भने केही वस्तुहरूको सामान्य स्वत्वबारे थाहा पाइसकेपछि हामीले ती ठोस वस्तुहरूको अध्ययनतर्फ पाइला सार्नुपर्छ, जसको अहिलेसम्म पूरा गरी अध्ययन भएको छैन वा जुन अहिले नौलो रूपमा नै सामुन्ने देखापरेका छन् । हाम्रा कट्टरवादी साथीहरू अल्छी तीघ्रे छन् । उनीहरू ठोस वस्तुहरूको गहकिलो अध्ययन गर्नुबाट पन्छिन्छन् र सामान्य तथ्यहरूलाई ती तथ्यहरू आकाशबाटै भरेका हुन् भनेझैं गरी हेरिदिन्छन् र तिनलाई फोस्रा र रहस्यवादी सूत्रहरूमा फेरिदिन्छन् । यसरी उनीहरू त्यस सामान्य क्रमलाई, जसबाट मान्छे सत्यमा पुग्छ, पूरापूर लत्याइदिने मात्र गर्दैनन् कि पूरै उल्टो पनि पारिदिन्छन् । यति मात्र नभई उनीहरू मानिसको ज्ञानप्राप्तिका क्रियाहरूको आपसका सम्बन्धहरूलाई, विशिष्टबाट सामान्य र सामान्यवाट विशिष्टतर्फ पाइला मार्ने क्रियालाई पनि बुझ्दैनन् । उनीहरू ज्ञानको मार्क्सवादी सिद्धान्तलाई पटक्कै बुझ्दैनन्

पदार्थको गतिका रूपहरूको हरेक बृहत् प्रणालीमा रहेको विशिष्टं अन्तर्विरोध र त्यस अन्तर्विरोधबाट निर्धारित भएको स्वत्वको अध्ययन गर्नु मात्रै खाँचो पर्दो छैन कि पदार्थको गतिको हरेक रूपको विकासको लामो अवधिमा विशिष्ट अन्तर्विरोध र हरेक प्रक्रियाको स्वत्वको अध्ययन गर्नु पनि खाँचोपर्दो छ । गतिको प्रत्येक रूपमा विकासको त्यो हरेक प्रक्रिया जुन वास्तविक हुन्छ (फोस्रो होइन) गुणात्मक रूपबाट फरक हुन्छ । हामीले आफ्नो अध्ययनमा यस कुरामा बल दिनुपर्छ र यसैबाट थाल्नुपर्छ ।

गुणात्मक रूपबाट फरक रहेका अन्तर्विरोधहरूको फर्स्यौट गुणात्मक रूपले फरक जुक्तिहरूबाट मात्रै गर्न सकिन्छ । जस्तै- सर्वहारावर्ग र पूँजीपतिवर्गका माझको अन्तर्विरोधको फर्स्यौट समाजवादी क्रान्तिको जुक्तिबाट गरिन्छ; विशाल जनसमुदाय र सामन्ती व्यवस्थाका माझको अन्तर्विरोधको फर्स्यौट जनवादी क्रान्तिको जुक्तिबाट गरिन्छ; उपनिवेशहरू र साम्राज्यवादका माझका अन्तर्विरोधहरूको फर्स्यौट राष्ट्रिय क्रान्तिकारी युद्धका जुक्तिबाट गरिन्छ, समाजवादी समाजमा ज्यामीवर्ग र किसानहरूका माझको अन्तर्विरोधको फर्स्यौट खेतिको सामूहिकरण र मशिनीकरणको जुक्तिवाट गरिन्छ, कम्युनिष्ट पार्टीभित्रको अन्तर्विरोधको फर्स्यौट आलोचना र स्वआलोचनाको जुक्तिबाट गरिन्छ; समाज र प्रकृतिका माझको अन्तर्विरोधको फर्स्यौट उत्पादक शक्तिहरूको विकास गर्ने जुक्तिबाट गरिन्छ । प्रक्रियाहरू फेरिन्छन्, पुराना प्रक्रियाहरू र पुराना अन्तर्विरोधहरू बिलाएर जान्छन्, नौला प्रक्रियाहरू र नौला अन्तर्विरोधहरू देखापर्छन् र त्यही बमोजिम अन्तर्विरोधहरूको फर्स्यौट गर्ने जुक्तिहरू पनि बेग्लाबेग्लै हुन्छन् । रूसमा फरवरी क्रान्ति र अक्टोबर क्रान्तिले जुन अन्तर्विरोधहरूको फर्स्यौट गरे, ती एक अर्काबाट मूल रूपमा फरक थिए र तिनको फर्स्यौट गर्ने जुक्तिहरू पनि फरक-फरक थिए। बेग्लाबेग्लै खालका अन्तर्विरोधहरूको फर्स्यौट बेग्लाबेग्लै जुक्तिहरूबाट गर्ने सिद्धान्त एउटा यस्तो सिद्धान्त हो, जसलाई मार्क्सवादी-लेनिनवादीहरूले निकै दरिलो ढाँचाबाट मानेर हिंड्नुपर्छ । कट्टरवादीहरू यस सिद्धान्तलाई मानेर हिंड्दैनन्, उनीहरू के बुझ्दैनन् भने बेग्लाबेग्लै क्रान्तिहरूको परिस्थिति पनि बेग्लाबेग्लै हुन्छ र यसैले गर्दा उनीहरू के कुरा समात्न सक्तैनन् भने बेग्लाबेग्लै अन्तर्विरोधहरूको फर्स्यौट गर्नाका लागि बेग्लाबेग्लै जुक्तिहरू लगाउनुपर्छ; तर यसको उल्टो, उनीहरू सधैं एउटै सूत्रलाई अङ्गाल्छन्, जसलाई उनीहरू कहिल्यै फेर्न नसकिने कुरा सम्झन्छन् र अलिकति पनि सोचविचार गर्दै नगरी हरेक ठाउँमा त्यसलाई लागू गरिदिन्छन्, जसबाट क्रान्तिलाई नोक्सान पुग्छ वा जुन काम थालनीमा राम्ररी गरिएको थियो, त्यो बीचमा गएर यता न उताको गज्याङ्गुजुङमा अल्मलिन पुग्छ ।

वस्तुहरूको विकासको प्रक्रियामा अन्तर्विरोधहरूको विशिष्टतालाई तिनको सम्पूर्णता र तिनका आपसका सम्बन्धहरूसहित खुलाउनका खातिर वा भनूँ, वस्तुहरूको विकासको प्रक्रियाको स्वत्वलाई प्रस्ट्याउनका खातिर हामीले त्यस प्रक्रियाको हरेक अन्तर्विरोधका दुबै पक्षहरूको विशिष्टतालाई प्रस्ट पार्नु पर्नेछ, नत्रभने त्यस प्रक्रियाको स्वत्वलाई प्रस्ट पार्नु असम्भव हुनेछ । हामीले आजको अध्ययनमा बढीभन्दा बढी ध्यान पुयाउनुपर्ने एउटा कुरा यो पनि हो ।

कुनै प्रमुख वस्तु वा घटनाको विकासको प्रक्रियामा अनेकन् अन्तर्विरोधहरू हुन्छन् । जस्तै – ज्यादै अल्झेको र जटिल परिस्थिति भएको चीनको पूँजीवादी-जनवादी क्रान्तिको प्रक्रियामा चिनियाँ समाजका जम्मै उत्पीडित वर्ग र साम्राज्यवादका माझ अन्तर्विरोध छ, सामन्तवाद र विशाल जनसमुदायका माझ अन्तर्विरोध छ, पूँजीपतिवर्ग र सर्वहारावर्गका माझ अन्तर्विरोध छ, एकातिर किसान समुदाय र शहरिया तल्ला पूँजीपतिवर्गका माझ अनि अर्कोतर्फ किसान समुदाय र पूँजीपतिवर्गका माझ अन्तर्विरोध छ, बेग्लाबेग्लै प्रतिक्रियावादी शासक गुटहरूका माझ अन्तर्विरोध छ र यस्तै अरू-अरू । यी सारा अन्तर्विरोधहरूका आ-आफ्ना विशिष्टताहरू छन् र त्यसै हुनाले तिनीहरूलाई एउटै तराजुबाट जोखतौल गर्न सकिन्न । यतिमात्रै होइन, हरेक अन्तर्विरोधका दुवै पक्षहरूको पनि आ-आफ्ना विशिष्टताहरू हुन्छन् र त्यसै हुनाले तिनलाई पनि एउटै जस्तो मान्न सकिन्न । चिनियाँ क्रान्तिमा लागेका हामीहरूले यी अन्तर्विरोधहरूको विशिष्टतालाई तिनका सम्पूर्ण पक्षहरूमा अर्थात् तिनका आपसका सम्बन्धहरूको आधारमा बुझ्ने मात्रै होइन कि अन्तर्विरोधहरूका सम्पूर्ण पक्षहरूलाई बुझ्ने एक मात्र साधनको रूपमा हामीले हरेक अन्तर्विरोधका दुवै पक्षहरूको पनि अध्ययन गर्नुपर्छ । कुनै अन्तर्विरोधको हरेक पक्षलाई बुझ्नुको अर्थ हो – हरेक पक्षको विशिष्ट स्थितिलाई बुझ्नु, के वुझ्नु भने त्यस पक्षले आफ्नो विपरीत पक्षसित अन्तरनिर्भरता र विरोधपूर्ण स्थितिमा हुँदा कस्तो ठोस रूप लिन्छ र अरू के भने अन्तरनिर्भरता र विरोधपूर्ण स्थितिमा हुँदा र अन्तरनिर्भरता टुक्रिन जाँदा, आफ्नो विपरीत पक्षको खिलाफमा कस्ता ठोस जुक्तिहरूद्वारा त्यसले सङ्घर्ष थाल्छ । यी समस्याहरूको अध्ययन गर्नु ज्यादै महत्त्वपूर्ण छ । लेनिनले ठोस परिस्थितिको ठोस विश्लेषण नै१२ मार्क्सवादको सबभन्दा महत्त्वपूर्ण कुरा हो, मार्क्सवादको ज्यूँदो मुटु र प्राण हो भन्नु हुँदा वहाँ यसै विचारलाई व्यक्त गर्दै हुनुहुन्थ्यो । हाम्रा कट्टरपन्थी साथीहरू लेनिनको शिक्षाको उल्टो हिंड्छन्, उनीहरू कुनै पनि कुराको ठोस विश्लेषण गर्न आफ्नो मगज लगाउँदैनन्, आफ्ना लेखहरू र भाषणहरूमा उनीहरू सधैँ यस्ता थोत्राथात्री सीपहरूको प्रयोग गर्छन्, जसमा विषयवस्तु त हुँदै हुँदैनन् । यसरी ती हाम्रो पार्टीमा एउटा ज्यादै नराम्रो कार्यशैलीको सिर्जना गर्छन् ।

कुनै समस्याबारे अध्ययन गर्दा हामीले मनोगतवाद, एकलकांटेपना र टपटुइँयापनाबाट जोगिनु पर्छ । मनोगतवाद भनेको समस्याहरूलाई वस्तुगत ढाँचाबाट नहेर्नु हो वा भनूँ, तिनलाई हेर्दा भौतिकवादी दृष्टिकोण नलिनु हो । यस समस्याबारे ‘व्यवहारका विषयमा’ भन्ने आफ्नो निबन्धमा मैले छलफल गरिसकेको छु । एकलकाँटेपना भनेको समस्याहरूलाई सिंगो रूपमा नहेर्नु हो, जस्तै खालि चीनलाई मात्रै बुझ्नु तर जापानलाई भने नबुझ्नु, खालि कम्युनिष्ट पार्टीलाइ मात्रै बुझ्नु तर कोमिन्तांगलाई भने नबुझ्नु, खालि सर्वहारावर्गलाई मात्रै बुझ्नु तर पूँजीपतिवर्गलाई भने नबुझ्नु, खालि किसानहरूलाई मात्रै बुझ्नु तर जमिन्दारहरूलाई भने नबुझ्नु, खालि अनुकूल परिस्थितिलाई मात्रै बुझ्नु तर प्रतिकूल परिस्थितिलाई भने नबुझ्नु, बितेका समयलाई मात्रै बुझ्नु तर भविष्यलाई भने नबुझ्नु, खालि बेग्लाबेग्लै अंशहरूलाई बुझ्नु, तर सिंगैलाई भने नहेर्नु, खालि कमजोरीहरूलाई मात्रै हेर्नु तर सफलताहरूलाई भने नहेर्नु, खालि वादीलाई मात्रै सम्झनु प्रतिवादीलाई भने नसम्झनु, खालि गुप्त क्रान्तिकारी कामलाई मात्रै बुझ्नु तर खुल्ला क्रान्तिकारी कामलाई भने नबुझ्नु र यस्तै अरू-अरू । एक शब्दमा यसको अर्थ हो, कुनै अन्तर्विरोधका दुवै पक्षहरूका विशिष्टताहरूलाई नबुझ्नु । यसैलाई भन्छन् समस्याहरूलाई एकलकाटे ढाँचाबाट हेर्नु वा यस्तो हेराइलाई सिंगै वस्तुलाई नहेरेर त्यसको एउटा कुनै अंशलाई मात्रै हेर्नु, वनलाई नहेरेर खालि रूखहरूलाई मात्रै हेर्नु भने पनि हुन्छ । यसरी चल्ने अन्तर्विरोधको फस्र्यौट गर्ने जुक्तिहरूको पत्तो पाउनु असम्भव हुन जान्छ, क्रान्तिका कामहरू फत्ते गर्नु, आइपरेका अभिभाराहरूलाई राम्ररी पूरा गर्नु वा सही ढङ्गबाट पार्टीभित्र विचारधारात्मक सङ्घलाई विकसित पार्नु असम्भव हुन जान्छ । युद्धविज्ञानबारे कुरा झिक्दै सुन उ-चले भनेका थिए- “बैरीलाई चिन र स्वयं आफैँलाई चिन अनि मात्रै हारखाने कुनै जोखिम नउठाएर तिमी लाखौं युद्धहरू गर्न सक्नेछौ ।१३ र यसो भन्दा उनी युद्ध गर्ने दुवैतिरकाहरूतर्फ औंल्याउँदै थिए । थाङ खलकका वाई चेङले१४ पनि एकलकाटेपनाको भुललाई बुझेका थिए र उनले भनेका थिए- “दुवै तर्फका कुरा सुन्नाले तिम्रो ज्यान बढेर जानेछ तर एकतर्फको कुरा मात्रै सुन्नाले त तिम्रो बुद्धि साँघुरिएर जानेछ ।” तैपनि हाम्रा साथीहरू धेरैजसो बेला समस्याहरूलाई एकलकाटे ढाँचाबाट हेर्छन् र त्यसैले उनीहरू धेरैजसो बेला अन्योलमा अल्झिन पुग्छन् । “स्वीहु – चुआन ” भन्ने उपन्यासमा चु भन्ने गाउँमा सुङ च्याङ तीनपल्ट मारहान्न जाइलाग्छ१५ र दुईपल्ट ऊ मात खाएर फर्कन्छ, किनभने स्थानीय परिस्थितिहरूबारे उसलाई कुनै कुरा थाहा थिएन र उसले गलत पद्धतिहरूको प्रयोग गरेको थियो । पछि उसले आफ्ना ती पद्धतिहरूलाई फेरिदियो । सबभन्दा पहिले त्यहाँका परिस्थितिहरूलाई राम्ररी जाँचीबुझी हे-यो, एउटा ठाउँसित अर्को ठाउँलाई गाँस्ने बाटोहरूको राम्ररी पत्तो लगायो, अनि उसले ली, हु, र चु गाउँहरूको आपसका सम्बन्धहरूलाई छ्यानव्यान पारिदियो र एउटा विदेशी कथामा बखान गरिएको ट्रोजन घोडाको दाउको सिको गरी उसले आफ्नो पल्टनलाई भेष बदल्न लगाई बैरीको अड्डामा सुटुक्क पसाइदियो । त्यसपछि तेस्रो भिडन्तमा उसले आफ्नो काम फत्ते गरिछाड्यो । “स्वीह – चुआन ” मा भौतिकवादी द्वन्द्ववादका प्रशस्त दृष्टान्तहरू छन्, जसमध्ये चु भन्ने गाउँमा तीनपल्ट गरेको आक्रमणको घटनालाई एउटा ज्यादै राम्रो दृष्टान्त चु ठान्न सकिन्छ । लेनिनले भन्नुभएको छ-

……कुनै पनि वस्तुलाई साँचो अर्थमा बुझ्नका निम्ति हामीले तिनका सबै पक्षहरू, सबै सम्बन्ध-साइनाहरू र सबै माध्ययमहरूलाई अंगालेर लिनुपर्नेछ र तिनको जाँचबुझ गर्नु पर्नेछ । हुन त पूर्ण रूपबाट यस्तो गर्न हामी कहिल्यै समर्थ हुनेछैनौं, तैपनि सबै पक्षहरूलाई हेरी चल्नुपर्छ भन्ने शर्तले हामीलाई भूलहरूबाट र मेरो गोरूको बारै टक्का भन्ने कट्टरपना र लिडेढिपीबाट जोगाउने छ।१६

हामीले लेनिनका शब्दहरूलाई सम्झी राख्नुपर्छ । टपर्टुइँयापना भनेको सम्पूर्ण रूपमा अन्तर्विरोधका विशिष्टताहरूबारे र त्यसको हरेक पक्षका विशिष्टताहरूबारे विचार नगर्नु हो । यसको अर्थ हो – कुनै वस्तुको गहिरो किसिमबाट खोजीनिति गर्ने र त्यसको अन्तर्विरोधका विशिष्टताहरूको एकदम मसिनो ढङ्गबाट अध्ययन गर्ने आवश्यकतालाई नमान्नु बरू त्यसमा टाढाबाटै खाली सरर नजर दिएर मात्रै र त्यसको रूपरेखामा पुलुक्क हेरेर मात्रै अन्तर्विरोधका फर्स्यौट गरिदिने (कुनै सवालको जवाफ दिने, कुनै विवादलाई टुङ्ग्याउने, कुनै कामको सञ्चालन गर्ने वा कुनै जङ्गी कामकार्वाहीलाई निर्देशित गर्ने) जमर्को गर्न थाल्नु । काम गर्ने यस पद्धतिले अनिवार्य रूपमा हामीलाई अल्फोमा पारिदिनेछ । चीनमा कट्टरवादी र अनुभववादी साथीहरूले यस्ता भुलचुकहरू के कारणले गरेका हुन् भने उनीहरू वस्तुहरूलाई मनोगत, एकलकाटे र टपर्टुइँया ढाँचाबाट हेर्दछन् । एकलकाटेपना र टपर्टुइँयापना यी दुवै मनोगतवादका रूप हुन् । हुन त सबै वस्तुगत पदार्थहरू यथार्थमा एक अर्कासित सम्बन्धित र भिंत्री नियमहरूबाट शासित हुन्छन् तापनि केही मानिसहरू वस्तुहरूलाई यथार्थ रूपमा छर्लङ्ग्याउनुको साटो तिनलाई खालि एकलकाटे र टपर्टुइँया ढाँचाबाटै हेर्दछन्, न त तिनका आपसका साइना सम्बन्धहरूलाई नै ती चिन्दछन् न त तिनका भित्रिया नियमहरूलाई नै बुझ्दछन् । यसरी उनको काम गर्ने ढाँचा मनोगतवादी भइदिन्छ ।

कुनै वस्तुको विकासमा रहेका विपरीत तत्त्वहरूको गतिको सिंगै प्रक्रियाभित्रका आसपी सम्बन्धहरू र तिनको हरेक पक्षमा रहेका विशेष लक्षणहरू, यी दुवै कुरामा मात्र हैन कि विकासको प्रक्रियामा रहेका हरेक अवस्थाका विशेष लक्षणहरूमा पनि हामीले आफ्नो ध्याउन्न पु-याउनै पर्दछ ।

कुनै वस्तुको विकासको प्रक्रियामा रहेको आधारभूत अन्तर्विरोध र यस आधारभूत अन्तरविरोधबाट निर्धारित त्यस प्रक्रियाको स्वत्व त्यसवेलासम्म बिलाएर जानेछैन, जुन वेलासम्म त्यो प्रक्रिया पूरा भई सक्दैन, तर कुनै वस्तुको विकासको लामो प्रक्रियामा हरेक अवस्थाका परिस्थितिहरू धेरैजसो एकअर्काभन्दा फरक हुन्छन् । यस्तो किन हुन्छ भने कुनै वस्तुको विकासको प्रक्रियामा रहेको आधारभूत अन्तर्विरोधको वा प्रक्रियाको स्वत्वको स्वरूप त फेरिन्न तापनि विकासको लामो प्रक्रियाको एक अवस्थाबाट अर्को अवस्थामा पुग्दा आधारभूत अन्तर्विरोधले झन् झन् चर्को रूप लिदै जान्छ । यस बाहेक आधारभूत अन्तर्विरोधबाट निर्धारित वा प्रभावित अनेकन् ठूला र साना अन्तर्विरोधहरूमध्ये केही अन्तर्विरोधहरूले चर्को रूप लिन्छन्, केही अन्तर्विरोधहरूको अस्थायी वा आंशिक समाधान हुन जान्छ वा ती दविएर र केही नौला अन्तर्विरोधहरू अगाडि देखापर्न थाल्छन्, त्यसैले यस प्रक्रियामा अनेकन अवस्थाहरू हुन्छन् । कुनै वस्तुको विकासको प्रक्रियामा रहेका अनेकन अवस्थाहरूमा मानिसहरूले ध्याउन्न दिएनन् भने उनीहरूले तिनका अन्तर्विरोधहरूलाई सही ढाँचाबाट फर्स्याउन सक्नेछैनन् ।

दृष्टान्तका निम्ति, जुन बखत छाडा तँछाड् मछाड्को युगको पूँजीवाद हुर्किएर साम्राज्यवादको रूपमा देखियो, त्यस बखत आधारभूत अन्तर्विरोध भएका दुई वर्गहरू- सर्वहारावर्ग र पूँजीपतिवर्गको वर्गस्वरूपमा वा यस्तो समाजको पूँजीवादी प्रक्रियामा कुनै हेरफेर भएन तैपनि यी दुवै वर्गहरूका माझको अन्तर्विरोधले चर्को रूप लियो । एकचोटि पूँजी र अ-एकलौटी पूँजीका माझको अन्तर्विरोध प्रकट भयो । उपनिवेशवादी मुलुकहरू र उपनिवेशहरूका माझको अन्तर्विरोध अझै चर्को भयो र पूँजीवादी मुलुकहरूका माझ उनका असमान विकासले गर्दा उत्पन्न भएको अन्तर्विरोध विशेष चर्को रूपमा देखापर्न थाल्यो र यसरी पूँजीवादको एउटा खास अवस्था – साम्राज्यवादको अवस्थाको उदय भयो । लेनिनबाट साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको मार्क्सवाद के कारणबाट हुन पुगेको हो भने लेनिन र स्टालिनले यी अन्तर्विरोधहरूको सही व्याख्या गर्नुभएको छ र ती अन्तर्विरोधहरूलाई सही किसिमबाट फर्स्याउनका लागि सर्वहारा क्रान्तिका सिद्धान्त र कार्यनीतिको सही ढांचावाट तर्जुमा गर्नुभएको छ ।

१९११ को क्रान्तिबाट१७ थालिएको चीनको पूँजीवादी जनवादी क्रान्तिको प्रक्रियालाई नै लिनोस्: यस क्रान्तिका पनि अनेकन प्रस्ट र बेग्लाबेग्लै अवस्थाहरू छन् । खासगरी पूँजीवादी नेतृत्व हुँदाको क्रान्तिको अवस्थाले र सर्वहारा नेतृत्व हुँदाको क्रान्तिको अवस्थाले क्रान्तिका दुई अत्यन्त बेग्लाबेग्लै ऐतिहासिक अवस्थाहरूको प्रतिनिधित्व गर्छन् । अर्को शब्दमा, सर्वहारा नेतृत्वको क्रान्तिको पूरै अनुहारलाई जरैदेखि नै फेरिदिएको छ र वर्गहरूलाई नयाँ सम्बन्धमा गाँसिदिएको छ । भूमि क्रान्तिमा एउटा अजङ्गको भेल उठाइदिएको छ, साम्राज्यवाद र सामन्तवादको खिलापमा उठ्ने क्रान्तिमा पूर्णता र पाकोपना ल्याइदिएको छ, जनवादी क्रान्तिबाट समाजवादी क्रान्तितर्फ सर्ने कुराको सम्भावनाको सिर्जना गरिदिएको छ र यस्तै अरू-अरू । क्रान्तिको नेतृत्व पूँजीवादीवर्गको हातमा रहुन्जेल यी मध्ये कुनै पनि हुनु साध्य थिएन । हुन त सम्पूर्ण रूपबाट हेर्दा, प्रक्रियाको आधारभूत अन्तर्विरोधको स्वरूपमा कुनै हेरफेर भएको छैन । अर्को शब्दमा त्यस प्रक्रियाको साम्राज्यवादविरोधी, सामन्तवादविरोधी जनवादी क्रान्तिकारी स्वरूपमा कुनै हेरफेर भएको छैन (जसको विपरीत तत्त्व अर्धउपनिवेशी र अर्धसामन्ती स्वरूप हो), तापनि वीस वर्षभन्दा बढी कालमा यो प्रक्रिया विकासका अनेकन अवस्थाहरू हुँदै अघि सरेको छ । यस अवधिमा निकै ठूल्ठूला घटनाहरू भएका छन्- जस्तै १९९१ को क्रान्ति विफल हुनु, उत्तरदायी युद्धसरदारहरूको शासनको स्थापना, पहिलो राष्ट्रिय संयुक्त मोर्चा बन्नु र १९२४-२७ को क्रान्ति१८ संयुक्त मोर्चा टुक्रिन जानु र पूँजीवादीवर्गले क्रान्तिविरोधी पक्षमा मिल्न जानु, नयाँ युद्ध सरदारहरूका माझ भएका लडाइँहरू, भूमि क्रान्तिकारी युद्ध१९, दोस्रो राष्ट्रिय संयुक्त मोर्चाको थापना र जापानको खिलाफमा प्रतिरोध युद्ध । यी अवस्थाहरूका खास विशेषताहरू यी हुन् केही अन्तर्विरोधहरू चर्को भएर जानु (जस्तै भूमि-क्रान्तिकारी युद्ध र चारवटा उत्तरपूर्वीय प्रान्तहरूमा जापानले आइलाग्नु)२०, अन्तर्विरोधहरूको आंशिक वा अस्थायी रूपमा फर्स्यौट गरिनु (जस्तै, उत्तरिया युद्धसरदारहरूको सखाप र जमिनदारहरूको जमिनलाई हामीले जफत गर्नु) र अरू नौला नौला अन्तर्विरोधहरू उम्रिनु (जस्तै- नयाँ युद्धसरदारहरूका माझमा हानथाप र तानातान, हाम्रो हातबाट दक्षिणका क्रान्तिकारी आधारक्षेत्रहरू गुमेर गएपछि जमिनमाथि जमिनदारहरूले फेरि कब्जा गर्नु) ।

कुनै वस्तुको विकासको प्रक्रियामा रहेको हरेक अवस्थामा पाइने अन्तर्विरोधहरूका विशिष्टताहरूको अध्ययन गर्दा, हामीले तिनलाई तिनका आपसका सम्बन्धहरू, तिनका सिंगै स्वरूपलाई हेर्ने मात्रै हैन कि हरेक अन्तर्विरोधका दुवै पक्षहरूलाई पनि खोजेर हेर्ने गर्नुपर्छ ।

दृष्टान्तका निम्ति, कोमिन्ताङ र कम्युनिष्ट पार्टीबारे नै गमी हेर्नोस् । तिनको एउटा पक्ष, कोमिन्ताङलाई नै लिउँ । पहिलो संयुक्त मोर्चा कालमा कोमिन्ताङले रूससित मिलजुल गर्नु, कम्युनिष्टहरूसित सहयोग गर्नु र ज्यामी अनि किसानहरूलाई भरथेग दिनु भन्ने सन यात सेनका यी तीन महान् नीतिहरूलाई लागू गर्यो, त्यसैले त्यो क्रान्तिकारी प्रभावशाली थियो । जनवादी क्रान्तिका निम्ति अनेकन वर्गहरूका माझको यो एकता थियो । तर १९२७ मा पनि कोमिन्ताङ आफ्नो विपरीत वस्तुमा फेरिएर जमिनदार र ठूल्ठूला पूँजीपतिहरूको प्रतिक्रियावादी गुट हुन पुग्यो । डिसेम्बर १९३६ मा सियान काण्ड२१ पछि घरेलु लडाइँलाई अन्त गर्नका निम्ति र जापानी साम्राज्यावादीहरूको एकगठ भै विरोध गर्नाका निम्ति कम्युनिष्ट पार्टीसित सहयोग गर्ने बाटोतर्फ यसले अर्को कोल्टे फेर्यो । कोमिन्ताङका तीन अवस्थाहरूमा रहेका विशिष्टताहरू यिनै हुन् । के कुरा साँचो हो भने यी विशिष्टताहरू विभिन्नखालका कारणहरूबाट जन्मिन पुगेका हुन् । अब अर्को पक्ष – चिनियाँ कम्युनिष्ट पार्टीलाई लिनुहोस् । पहिलो संयुक्त मोर्चाताक चिनियाँ कम्युनिष्ट पार्टी केटाकेटी अवस्थामा थियो । १९२४ – २७ को क्रान्तिलाई यसले आँटिलो भई डो-यायो तर क्रान्तिको स्वरूप, त्यसका अभिभारा, कामकाज र पद्धतिबारे भने यसको समझदारी काँचो थियो भन्ने कुरा यसले देखायो र त्यसैले गर्दा चेन तु-श्युवाद२२ यस क्रान्तिको पछिल्लो अवस्थामा आएर प्रकट भयो र त्यो आफ्नो हैकम जमाउने र यस क्रान्तिलाई विफल पारिदिने काममा सफल भयो । १९२७ पछि कम्युनिष्ट पार्टीले फेरि आँट गरेर भूमि-क्रान्तिकारी युद्धलाई अघि डो-यायो र क्रान्तिकारी पल्टन र क्रान्तिकारी आधार इलाकाहरूको स्थापना ग-यो तर त्यसले उत्ताउलो आँटका भुलचुकहरू पनि ग-यो, जसबाट पल्टन र आधार इलाकाहरू यी दुवैलाई ठूलो नोक्सान सहनुपयो । १९३५ देखि पार्टीले यी आफ्ना भूलचुकहरूलाई सच्याएर ठीकठाक पारिसकेको छ र त्यंसले जापानविरोधी नयाँ संयुक्त मोर्चालाई अघि डो-इरहेको छ । यो महान् संघर्ष अब हुर्किबढिरहेको हालको अवस्थामा कम्युनिष्ट पार्टी एउटा यस्तो पार्टी हो, जुन दुई क्रान्तिहरूको जाँचबाट खारिइसकेको छ र जसले अनुभवहरूको एउटा ढुकुटी नै थुपारिसकेको छ । चिनियाँ कम्युनिष्ट पार्टीका तीनवटा अवस्थाहरूका खास विशेषताहरू यिनै हुन् । यी विशेषताहरू पनि अनेकन कारणहरूले गर्दा जन्मेका हुन् । यी दुवै किसिमका विशेषताहरूको अध्ययन नगरी हामी यी दुवै पार्टीहरूका विकासका विभिन्न अवस्थाहरूमा तिनका विशिष्ट सम्बन्धहरू, संयुक्त मोर्चाको स्थापना, संयुक्त मोर्चा छ्यान्नव्यान हुनु र एउटा नयाँ संयुक्त मोर्चाको थापना गरिनु यी सबलाई बुझ्न सक्ने छैनौं । तर दुवै पार्टीहरूका विशेषताहरूको अध्ययन गर्नका निम्ति अझ बढी मूल कुरा त के हो भने हामीले दुवै पार्टीहरूको वर्गआधारलाई राम्ररी केलाएर हेर्नुपर्छ र त्यस वर्गआधारबाट ती दुवै पार्टीहरूहरूका माझ र अरू शक्तिहरूका माझ बेलाबेलामा जन्मेका अन्तर्विरोधहरूको अध्ययन गर्नुपर्छ । जस्तै, कम्युनिष्ट पार्टीसितको आफ्नो पहिलो सहयोगताक विदेशी साम्राज्यवादसित कोमिन्ताङको अन्तर्विरोध थियो र त्यसैले त्यो साम्राज्यवादको विरोधी थियो । अर्कोतर्फ आफ्नै मुलुकका विशाल दुनियाँहरूसित उसको अन्तर्विरोध थियो र ज्यामी जनताहरूसामु तिनलाई अनेकन सुखसुविधाहरू दिने ओठेवाचा ऊ गर्थ्यो तापनि यथार्थमा ऊ ज्यादै नै कम सुविधा तिनलाई दिन्थ्यो वा एकदमै केही पनि दिँदैनथ्यो । जुन बखत कम्युनिष्टविरोधी युद्धमा कोमिन्ताङ लागेको थियो, तिनताका उसले विशाल दुनियाँदारहरूका खिलाफमा साम्राज्यवाद र सामन्तवादसित हेलमेल र सघाउ बढायो र क्रान्तिमा जनताले हात पारेका जति सबै फलहरूलाई उसले उडाएर सिध्याइदियो । यसरी उसले जनतासितको आफ्नो अन्तर्विरोधलाई अझ बढी चर्को पारिदियो । जापानी धावा-विरोधी युद्धको हालको अवस्थामा कोमिन्ताङ, जसको जापानी साम्राज्यवादसित भित्रिया फाटो छ, एकातिर त कम्युनिष्ट पार्टीसित हेलमेल र सघाउ बढाउन खोज्छ भने अर्कोतिर कम्युनिष्ट पार्टी र चिनियाँ जनताका खिलाफ आफ्नो सङ्घर्षमा र उनलाई थिच्ने कुल्चने कुरामा रति पनि खुकुलो हुँदैन । कम्युनिष्ट पार्टीको हकमा भने यो पार्टी सधैँ र हरेक अवस्थामा साम्राज्यवाद र सामन्तवादको खिलाफमा विशाल दुनियाँहरूतर्फ नै लागेको छ । तर हालको जापानी धावाविरोधी युद्धमा जापानको विरोध गर्ने पक्षमा आफूलाई लगाएको कुरा कोमिन्ताङले प्रकट गरेको हुनाले कम्युनिष्ट पार्टीले उसतर्फ र मुलुकभित्रका सामन्ती शक्तिहरूतर्फ नरम नीति अँगालेको छ । यी अवस्थाहरूले दुवै पार्टीहरूका माझ कहिले हेलमेल र कहिले तानातानको स्थिति ल्याइदिएको छ र हेलमेल हुँदाताक पनि हेलमेल र तानातान दुवै सँगसँगै नै भएको जटिल परिस्थिति त्यहाँ थियो । हामीले अन्तर्विरोधका दुवै पक्षहरूका विशिष्टताहरूका अध्ययन गरेनौँ भने हामीले यी दुवै पार्टीमध्ये प्रत्येकको अरू शक्तिहरूसितका सम्बन्धहरूलाई बुझ्न नसक्ने मात्रै हैन कि दुवै पार्टीहरूका आपसका सम्बन्धहरूलाई पनि बुझ्न सक्नेछैनौँ ।

यसरी के प्रस्ट हुन्छ भने कुनै पनि खालको अन्तर्विरोधको पदार्थको गतिको हरेक रूपमा रहेको अन्तर्विरोध, त्यसको विकासका प्रक्रियाहरूमध्ये हरेकमा रहेको अन्तर्विरोध, हरेक प्रक्रियामा रहेको अन्तर्विरोधका दुवै पक्षहरू, विकासको प्रक्रियाको हरेक अवस्थामा रहेको अन्तर्विरोध र प्रत्येक अवस्थामा रहेका अन्तर्विरोधका दुवै पक्षहरू यी सबैका विशिष्टताहरूको अध्ययन गर्दा वा भनूँ यी सबै अन्तर्विरोधहरूका विशिष्टताहरूको अध्ययन गर्दा हामीले मनोगतवादी र मनपरीवादी किमार्थ हुनुहुँदैन र त्यसको खँदिलो किसिमबाट खोतल्याइँ गर्नैपर्दछ । खँदिलो खोतल्याइँ नगरी कुनै पनि अन्तर्विरोधको विशिष्टताबारे कुनै भेउ पाउन सकिन्न । हामीले सधैँ लेनिनको यो कुरालाई सम्झि राख्नुपर्छ – ठोस परिस्थितिहरूको ठोस विश्लेषण |

मार्क्स र एंगेल्स नै सबभन्दा पहिला मानिस हुनुहुन्थ्यो, जसले यस्तो खँदिलो खोतल्याइँका ज्यादै राम्रा बान्कीहरू अघि सारेर देखाइदिनुभयो ।

मार्क्स र एंगेल्सले वस्तुहरूमा रहेको अन्तर्विरोधका नियमलाई सामाजिक-ऐतिहासिक प्रक्रियाको अध्ययनमा गलाएपछि वहाँहरूले उत्पादक शक्तिहरू र उत्पादनसम्बन्धहरूका माझको अन्तर्विरोधलाई, चुसाहा वर्ग र चुसिएका वर्गका माझको अन्तर्विरोधलाई र यस सँगसँगै त्यसबाट तयार हुन गएको आर्थिक जग र त्यसको माथिल्लो वनौट-राजनीति, विचारधारा आदिलाई खोजेर झिक्नुभयो र यसका सँगसँगै वहाँहरूले अरू के कुरा पनि खोजी झिक्नुभयो भने यी अन्तर्विरोधहरूले किसिम-किसिमका वर्गसमाजहरूमा अनिवार्य रूपबाट कसरी किसिम-किसिमका सामाजिक क्रान्तिहरूलाई जन्म दिन्छन् ।

पूँजीवादी समाजको आर्थिक बनौटको अध्ययनमा यस नियमलाई लगाई हेरेपछि मार्क्सले के देख्नुभयो भने यस समाजको आधारभूत अन्तर्विरोध, उत्पादनको सामाजिक स्वरूप र स्वामित्वको निजी स्वरूपका माझको अन्तर्विरोध हो । फरक-फरक कार्वाहीहरूमा देखिने उत्पादनको संगठित स्वरूप र सिंगै समाजमा देखिने उत्पादनको अराजकतावादी स्वरूपका माझको अन्तर्विरोधमा यो अन्तर्विरोध प्रकट हुन्छ ।वर्गसम्बन्धहरूको आँखाबाट हेर्दा यो पूँजीवादी र सर्वहाराका माझको अन्तर्विरोधमा देखापर्छ ।

वस्तुहरूको क्षेत्र फराकिलो भएको र तिनको विकासको कुनै साँधसीमा नरहने हुनाले एक कुनाबाट हेर्दा जुन कुरा सार्वभौमिक हुन्छ, अर्कोमा त्यो विशिष्ट हुन जान्छ । यसको उल्टो, एक परिप्रेक्षमा जुन कुरा विशिष्ट हुन्छ, अर्कोमा त्यही कुरा सार्वभौमिक हुन जान्छ । पूँजीवादी समाजमा उत्पादनको सामाजिक ढाँचा र उत्पादनका साधनहरूमा निजी स्वामित्वका माझ जुन अन्तर्विरोध रहेको हुन्छ, त्यो अन्तर्विरोध ती सबै मुलुकहरूमा पनि समान किसिमबाट नै पाइन्छ । जुन मुलुकहरूमा पूँजीवाद रहन्छ र विकसित हुन्छ, पूँजीवादको हकमा यस अन्तर्विरोधले सार्वभौमिकताको रूप लिन्छ । तर पूँजीवादको यो अन्तर्विरोध वर्गसमाजको सामान्य विकासको एउटा खास ऐतिहासिक अवस्थामा मात्रै कायम रहन्छ, सम्पूर्ण वर्गसमाजमा उत्पादक शक्तिहरू र उत्पादन सम्बन्धहरूका माझको अन्तर्विरोधको हकमा, यस अन्तर्विरोधले विशिष्टताको रूप लिन्छ । तर मार्क्सले अझ गहिरिएर, अझ फराकिलो किसिमबाट र अझ पूर्णतासित पूँजीवादी समाजमा भएका यी ‘जम्मै अन्तर्विरोधहरूको विशिष्टतालाई प्रस्ट्याउँदै सामान्यत: वर्गसमाजमा हुने उत्पादन शक्तिहरू र उत्पादन सम्बन्धहरूका माझका अन्तर्विरोधहरूको सार्वभौमिकताको व्याख्या ‘गर्नुभएको छ ।

विशिष्ट सार्वभौमसित एकजुट हुने हुनाले र हरेक वस्तुमा अन्तर्विरोधको विशिष्टता सँगसँगै सार्वभौमिकता पनि रहने हुनाले सार्वभौमिकता विशिष्टतामा बास गर्दछ । त्यसैले कुनै वस्तुको जाँचबुझ गर्दा त्यस वस्तुभित्रकै विशिष्ट र सार्वभौमको अनि तिनका आपसका साइनो सम्बन्धको पत्तो पाउने प्रयत्न गर्नु पर्दछ, त्यस वस्तुको र त्यस बाहिरका अनेकन बस्तुहरूको आपसमा साइनो सम्बन्धहरूको पनि पत्तो पाउने प्रयत्न गर्नुपर्दछ । त्यस वस्तुभित्रका विशिष्टता, सार्वभौमिकता यी दुवैको अनि तिनका आपसका साइनो सम्बन्धहरूको पत्तो पाउने प्रयत्न गर्नुपर्छ र त्यस वस्तुको र त्यस बाहिरका अनेकन वस्तुहरूको आपसका साइनो-सम्बन्धहरूको पनि पत्तो पाउने प्रयत्न गर्नुपर्छ । आफ्नो नामी लेख “लेनिनवादका आधारहरू” मा स्टालिनले लेनिनवादको ऐतिहासिक आधारको व्याख्या गर्दा, वहाँले त्यस अन्तर्राष्ट्रिय परिस्थितिका साथसाथै जसमा लेनिनवाद उम्र्यो, पूँजीवादका ती अनेकन अन्तर्विरोधहरूको पनि विश्लेषण गर्नुभयो, जुन साम्राज्यावादका परिस्थितिहरूमा आफ्नो चुली अवस्थामा पुगिसकेका थिए र अरू के कुरा पनि वहाँले प्रस्ट गर्नुभयो भने कसरी यी अन्तर्विरोधहरूले सर्वहारा क्रान्तिलाई तुरून्तै पूरा गरी हाल्नुपर्ने खालको जरूरी काम तुल्याइदिएका छन् र तिनले पूँजीवादीमाथि सोझै जाइलाग्न सक्ने किसिमका सुहाउँदा परिस्थितिहरू जन्माइदिएका छन् । यी सब कुराहरू बाहेक, वहाँले आफ्ना खोतल्याइँहरूमार्फत् किन रूस लेनिनवादको कोक्रो हुनपुग्यो, किन जारशाही रूस साम्राज्यावादका जम्मै अन्तर्विरोधहरूको मियो (Focus) हुनपुग्यो र किन रसियाली सर्वहारावर्ग अन्तर्राष्ट्रिय क्रान्तिकारी सर्वहारावर्गको नाइके डफ्फा हुन सक्यो भन्ने प्रश्नहरूका पछाडि रहेका कारणहरूलाई पनि छर्लङ्ग्याइदिनुभयो । यसरी स्टालिनले साम्राज्यवादमा रहेका अन्तर्विरोधहरूको सर्वभौमिकताको विश्लेषण गर्दै कसरी लेनिनवाद साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको मार्क्सवाद हो भन्ने कुरालाई औल्याउनुभयो । यसका साथै वहाँले यस सामान्य अन्तर्विरोधभित्रै जारशाही रसियाली साम्राज्यावादको विशिष्टताको खोतल्याइँ गर्दै किन रूस सर्वहारा क्रान्तिको सिद्धान्त र कार्यनीतिको जन्मथलो भयो र कसरी यस्तो विशिष्टतामा अन्तर्विरोधको सार्वभौमिकता रहेको हुन्छ भन्ने कुरा पनि देखाउनुभयो । अन्तर्विरोधको विशिष्टता, सार्वभौमिकता र तिनका आपसका साइनो सम्बधहरूलाई बुझ्नका लागि स्टालिनले गर्नुभएको यो विश्लेषण हाम्रासामु एउटा आदर्श नमूना हो ।

वस्तुगत संसारको जाँचबुझ द्वन्द्ववादलाई लागू गर्ने विषयमा मार्क्स र एंगेल्सले र त्यसैगरी लेनिन र स्टालिनले पनि मानिसहरूलाई सधैँ के सिकाउनुभयो भने उनीहरूले कहिल्यै र कुनै पनि रूपमा मनोगतवादी र मनपरिवादी पद्धतिहरूलाई अङ्गाल्नुहुन्न बरु यथार्थ वस्तुगत प्रक्रियाका ठोस परिस्थितिहरूको माझबाट ती प्रक्रियाहरूमा रहेका ठोस अन्तर्विरोधहरूलाई, अन्तर्विरोधहरूको हरेक ठोस पक्षको ठोस स्थितिलाई र अन्तर्विरोधका ठोस आपसी सम्बन्धहरूलाई पत्तो लगाउनुपर्दछ । हाम्रा कट्टरपन्थी दाजुभाइहरू आफ्नो अध्ययनमा यो धारणा दिने गर्दैनन् र त्यसै हुनाले उनीहरू कहिल्यै पनि कुनै सही कुरा पाउन समर्थ हुँदैनन् । हामीले उनका विफलतावाट पहिलेदेखि नै चंख हुन सिक्नुपर्दछ र माथि भनिएको धारणालाई नै लिने कोसिस गर्नुपर्दछ र यो नै अध्ययन गर्ने एक मात्र सही पद्धति हो ।

अन्तर्विरोधको सार्वभौमिकता र अन्तर्विरोधको विशिष्टताका माझको साइनो अन्तर्विरोधहरूका सामान्य स्वरूप र विशिष्ट स्वरूपका माझको साइनो हो । पहिलो कुराबाट हामीले के भन्न खोजेको हो भने सबै प्रक्रियाहरूमा अन्तर्विरोध थालनीदेखि अन्तसम्म रहरिहन्छ र चलिरहन्छ । गति, बस्तुहरू, प्रक्रियाहरू, विचार – यी सबै अन्तर्विरोध हुन् । अन्तर्विरोधलाई नमान्नु कुनै कुरालाई पनि नमान्नु हो । यो एउटा यस्तो सार्वभौमिक सत्य हो, जुन सबै काल र सबै मुलुकहरूका लागि सर्वमान्य छ र जसको कुनै पनि अपवाद छैन । त्यसैले अन्तर्विरोधको सामान्य स्वरूप हुनै सक्दैन । जम्मै विशिष्ट स्वरूपहरूलाई झिकिदियौं भने फेरि त्यसपछि कस्तो सामान्य स्वरूप रहिरहला त ? हरेक अन्तर्विरोध विशिष्ट हुने हुनाले नै विशिष्ट स्वरूपको सिर्जना हुन्छ, सबै विशिष्ट स्वरूपहरू कायममुकायम र परिस्थितिहरूमा निर्भर हुने हुनाले सापेक्ष हुन्छन् ।

सामान्य स्वरूप र विशिष्ट स्वरूप निरपेक्षता र सापेक्षताबारे रहेको सत्यता नै वस्तुहरूमा पाइने अन्तर्विरोध समस्याको भित्री सार हो, यस कुरालाई नबुझ्नु द्वन्द्ववादलाई नै मिल्काएर हिंड्नुजत्तिकै हो ।

४. मुख्य अन्तर्विरोध र अन्तर्विरोधको पनि मुख्य पक्ष

अन्तर्विरोधको विशिष्टताको समस्यामा अझै दुई कुरा यस्ता छन्, जसको एक-एक गरी राम्ररी खोतलखातल गर्नैपर्दछ । यी दुई कुरा हुन् – मुख्य अन्तर्विरोध र कुनै खास अन्तर्विरोधको पनि मुख्य पक्ष ।

कुनै जटिल वस्तुको विकासको प्रक्रियामा अनेकौं अन्तर्विरोधहरू हुन्छन्, ती मध्ये अनिवार्य रूपबाट एउटा मुख्य अन्तर्विरोधहरूको अस्तित्व र विकासलाई निर्धारित वा प्रभावित गर्दछ ।

जस्तै, पूँजीवादी समाजमा अन्तर्विरोधका दुई विरोधी शक्तिहरू, सर्वहारावर्ग र पूँजीवादी वर्गले मुख्य अन्तर्विरोधलाई जन्माइदिन्छ । अरू अन्तर्विरोधहरू जस्तै उब्रेपाब्रेका सामन्तीवर्ग र पूँजीवादीवर्गका माझको अन्तर्विरोध, गाउँले तल्ला पूँजीवादीवर्ग र पूँजीवादीवर्गका माझको अन्तर्विरोध, सर्वहारावर्ग र गाउँले तल्ला पूँजीवादको अन्तर्विरोध, उदारवादी पूँजीपतिहरू र एकलौटी पूँजीपतिहरूका माझको अन्तर्विरोध, पूँजीवादी प्रजातन्त्र र पूँजीवादी फासिस्टवादका माझको अन्तर्विरोध, पूँजीवादी मुलुकहरूका माझ आपसकै अन्तर्विरोधहरू, साम्राज्यवाद र उपनिवेशहरूका माझका अन्तर्विरोधहरू, आदि यसै मुख्य अन्तर्विरोधबाट निर्धारित र प्रभावित हुन्छन् ।

चीन जस्तो अर्ध औपनिवेशिक मुलुकमा मुख्य अन्तर्विरोध र अ-मुख्य अन्तर्विरोधका माझको सम्बन्धले एउटा जटिल परिस्थिति उभ्याइदिन्छ ।

यस्तो मुलुकमाथि साम्राज्यवादले धावा गर्दा औंलामा गन्न सकिने केही देशद्रोहीबाहेक त्यस मुलुकका अरू सबै विभिन्न वर्गहरू, साम्राज्यवादको विरोधमा एउटा राष्ट्रिय युद्धमा, अस्थायी रूपबाट एकगठ हुनसक्छन् । यस्तो वेलामा साम्राज्यवाद र त्यस मुलुकका माझको अन्तर्विरोध मुख्य अन्तर्विरोध हुन जान्छ तर उता भने मुलुकभित्रका विभिन्न वर्गहरूका माझ रहेका जम्मै अन्तर्विरोधहरू (जसभित्र सामन्ती अर्थ – व्यवस्था र विशाल जनसमुदायका माझ रहने मुख्य अन्तर्विरोध पनि पर्दछ) । अस्थायी किसिमबाट कम महत्त्वका र मुख्य अन्तर्विरोध मातहत हुन जान्छन् । चीनमा १८४० को अफिम युद्धमा२३, १८९४ को चीन जापान युद्धमा२४ र १९०० को यो हो थ्वान युद्धमा यस्तै भएथ्यो र हाल चीन-जापान युद्धमा पनि यही नै भैरहेछ ।

तर अर्को अवस्थामा अन्तर्विरोधहरूले ठाउँ फेर्दछन् । जुन बखत साम्राज्यवादले युद्धको करकाप नगरी आफ्नो चिथोमिचोलाई जोगाइराख्नका निम्ति त्यसभन्दा नरम जुक्तिहरू – राजनैतिक, आर्थिक र साँस्कृतिक जुक्तिहरू लगाउन थाल्छ, त्यसबेला अर्ध-औपनिवेशिक मुलुकहरूका शासकवर्ग साम्राज्यवादका सामु घुँडा टेकिदिन्छन् र ती दुवै नै विशाल जनसमुदायलाई सँगै मिलेर चुस्न र सास्ती दिनका लागि आपसमा मित लगाउँछन् । यस्ता बेला साम्राज्य र सामन्तीवर्गको यस मिलोमतोको विरोध गर्नाका लागि विशाल जनसमुदायले प्राय: घरेलुयुद्धको बाटो समात्छन् र उता साम्राज्यवाद अर्ध-औपनिवेशिक मुलुकहरूमा हाक्काहाक्की अघिल्तिरबाट आफ्ना पाइला सार्नुभन्दा विशाल जनसमुदायलाई चुस्नका लागि प्रतिक्रियावादीहरूलाई पछिल्तिरबाट टेकोपुँडो दिन्छ र यसरी भित्रिया अन्तर्विरोध खासगरी चर्को हुन जान्छन् । चीनमा १९९१ को क्रान्त्रिकारी युद्धमा, १९२४-२७ को क्रान्तिकारी युद्धमा र १९२७ देखि थालिएको दश वर्षे भूमि क्रान्तिकारी युद्धमा त्यसै भएथ्यो ।

अर्धऔपनिवेशिक मुलुकहरूमा अनेकन् प्रतिक्रियावादी शासक डफ्फाहरूका माझ हुने मारकाट पनि, जस्तै चीनमा युद्ध सर्दारहरूका आपसका मारकाट यसै खालभित्र पर्छन् ।

साम्राज्यवाद र त्यसका पछि-पछि दगुर्ने कुकुरहरूका रूपमा रहेका ती देशभित्रकै प्रतिक्रियावादीहरूको बसोबास नै सखाप हुने जोखिम ल्याइदिने सीमामा जुन वखत घरेलु युद्ध पुग्न जान्छ, त्यसबखत आफ्नो हैकम र रजाइँ जोगाइराख्ने प्रयासमा साम्राज्यवादले धेरैजसो बेला माथि भनिएका जुक्तिहरूभन्दा अरू बेग्लै झिक्छ, कि त ऊ क्रान्तिकारी मोर्चामा भित्रबाट फाटो पार्ने प्रयत्न गर्छ कि त देशभित्रका प्रतिक्रियावादीहरूलाई हाक्काहाक्की नै सघाउ पुऱ्याउन ऊ पल्टनहरू पठाउँछ । यस्तो बेलामा विदेशी साम्राज्यवादीहरू र देशभित्रका प्रतिक्रियावादीहरू खुला रूपमा एउटा छेउमा उभिन्छन् भने विशाल जनसमुदाय अर्को छेउमा । यसरी यो एउटा मुख्य अन्तर्विरोध हुन पुग्छ, जसले अरू अन्तर्विरोधहरूको विकासलाई निर्धारित वा प्रभावित गर्दछ । विभिन्न पूँजीवादी मुलुकहरूले अक्टोबर क्रान्तिपछि रसियाली प्रतिक्रियावादीहरूलाई जुन मद्दत गरे, त्यो जङ्गी हस्तक्षेपको एउटा उदाहरण थियो । १९२७ मा च्याङ काइ-शेकले गरेको विश्वासघात क्रान्तिकारी मोर्चामा फाटो पार्ने कामको एउटा उदाहरण हो ।

तर जे भए पनि के कुरामा अलिकति पनि शंका छैन भने विकासको प्रक्रियाको हरेक अवस्थामा एउटा मात्रै अन्तर्विरोध मुख्य अन्तर्विरोध हुन्छ, जसले सबभन्दा प्रमुख काम गरिहेको हुन्छ ।

यसरी कुनै प्रक्रियामा निकै संख्यामा अन्तर्विरोधहरू छन् भने त्यसमा पक्कै पनि एउटा मात्रै यस्तो अन्तर्विरोध हुन्छ, जसले सबभन्दा प्रमुख र निर्णयात्मक काम गरिरहेको हुन्छ र अरू सबै अन्तर्विरोधहरू त्यसभन्दा कम महत्त्वका हुन्छन् र त्यसका मातहतमा पर्दछन् । त्यसै हुनाले कुनै जटिल प्रक्रियाको जाँचबुझ गर्दा जसमा दुई वा दुईभन्दा बढी अन्तर्विरोधहरू छन्, हामीले त्यसको मुख्य अन्तर्विरोध नै पत्ता लगाइछाड्ने सकभर कोसिस गर्नुपर्दछ । हामीले त्यसको मुख्य अन्तर्विरोधको पत्तो पाउनासाथ सारा समस्याहरूलाई सजिलैसित फर्स्याउन सकिने छ । पूँजीवादी समाजसम्बन्धी आफ्ना अध्ययनबाट मार्क्सले यही जुक्ति हामीलाई सिकाउनुभएको थियो । लेनिन र स्टालिनने पनि साम्राज्यवाद र पूँजीवादमा आइपरेका सामान्य संकटको जाँचबुझ गर्दा र सोभियत अर्थव्यवस्थाको अध्ययन गर्दा हामीलाई यिनै कुरा सिकाउनुभयो । हजारौं पण्डितहरू र कार्यक्षेत्रमा ओर्लेका मानिसहरू यस पद्धतिलाई बुझ्दैनन्, जसले गर्दा उनीहरू टम्म कुइरोमा अल्मलिएझैं हुन्छन् र कुनै समस्याको गुदी भेट्टाउन सक्दैनन् । त्यसैले यस्तो स्थितिमा त्यस समस्याभित्रका अन्तर्विरोधहरूलाई फर्स्याउने बाटो पाउन उनीहरू असमर्थ हुन जानु स्वाभाविकै हुनजान्छ ।

माथि भनिसकिएकै छ, कुनै प्रक्रियाका सबै अन्तर्विरोधहरूलाई हामी एउटै ठान्न सक्दैनौं, बरू हामीले मुख्य र त्यसभन्दा कम महत्त्वका अन्तर्विरोधहरूलाई छुट्याउनु पर्दछ र मुख्य अन्तर्विरोधलाई पक्रन र चिन्नतर्फ विशेष ध्याउन्न पुऱ्याउनु पर्दछ । तर कुनै पनि अन्तर्विरोधभित्र त्यो प्रमुख पक्ष होस् वा त्यसभन्दा कम महत्त्वको पक्ष होस्, के हामी त्यस अन्तर्विरोधभित्रका ती दुवै परस्पर विरोधी पक्षहरूलाई एउटै र उही ठान्न सक्छौं त ? अ हँ, हामी त्यसो ठान्न सक्दैनौं । कुनै पनि अन्तर्विरोधमा परस्पर विरोधी पक्षहरूको विकास असमान हुन्छ । हो, कहिले-कहिले कस्तो लाग्छ भने तिनको विकास सन्तुलित किसिमबाट नै भइरहेछ तर यो त एउटा अस्थायी र सापेक्ष स्थिति मात्र हुन्छ, मूल स्थिति त असमानताको स्थिति नै हुन्छ । दुवै परस्पर विरोधी पक्षहरूमध्ये एउटाले मुख्य हुनु र अर्काले त्यसभन्दा कम महत्त्वको हुनु अनिवार्य हुन्छ । अन्तर्विरोधहरूमा प्रमुख काम जसले गर्छ, त्यो मुख्य पक्ष हुन्छ र अन्तर्विरोधमा प्रमुख ठाउँ पाउने त्यस मुख्य पक्षले नै कुनै वस्तुको स्वरूपलाई निर्धारित गर्दछ ।

तर यस्तो स्थिति स्थिर हुँदैन, अन्तर्विरोधका मुख्य र अ-मुख्य पक्षहरू एकअर्कामा फेरिन्छन् र त्यसैबमोजिम वस्तुको स्वरूप पनि फेरिन जान्छ । कुनै एउटा प्रक्रियामा वा कुनै अन्तर्विरोधको विकासको एउटा अवस्थामा अ-मुख्य पक्ष छ र आ-चाहिँ अ-मुख्य पक्ष छ तर विकासको अर्को अवस्थामा वा अर्को प्रक्रियामा अ र आ का कामहरू आपसमा फेरिन जान्छन् र कुनै वस्तुको विकासक्रममा एक पक्षको अर्को पक्षसित हुने तानातानमा प्रत्येक पक्षको शक्तिमा कति थप वा घटी भएको छ भन्ने कुराबाट यो फेराइ निर्धारित हुन्छ ।

वेलाबेलामा हामी “पुरानोलाई नौलोले उछिन्ने” कुरा गर्छौं। पुरानोलाई नौलोले उछिन्ने कुरा विश्वको सार्वभौमिक, सनातन र उल्लङ्घन गर्न नसकिने नियम हो । कुनै वस्तु आफ्नो स्वत्व र बाहिरिया परिस्थितिहरू अनुसार अनेकन खालका फडकोहरूमार्फत् एउटा अर्कै वस्तुमा फेरिन्छ; नौलोले पुरानोलाई उछिन्ने प्रक्रिया यही नै हो । हरेक वस्तुमा त्यसको नौलो पक्ष र पुरानो पक्षका माझ अन्तर्विरोध रहन्छ र यस अन्तर्विरोधले एकपछि अर्का बाङ्गाटिङ्गा असजिला सङ्घर्षहरूलाई जन्माउन थाल्छ । यी सङ्घर्षहरूले गर्दा नौलो पक्ष चाहिँ कम महत्त्वको ठाउँबाट मुख्य ठाउँमा पुग्छ र आफ्नो हैकम चलाउन थाल्छ र उता पुरानो पक्ष चाहिँ मुख्य ठाउँबाट कम महत्त्वको ठाउँमा झर्दछ र अलिअलि गरी त्यो मासिएर जान्छ । पुरानो माथि नौलो पक्षले हैकम चलाउन थालेपछि पुरानो वस्तु गुणात्मक रूपबाट एउटा नौलो वस्तुमा फेरिन जान्छ । यसरी के कुरा प्रस्ट छ भने विशेषगरी अन्तर्विरोधको मुख्य पक्षबाट नै कुनै वस्तुको स्वरूप निर्धारित हुन्छ वा भनूँ त्यस पक्षबाट नै निर्धारित हुन्छ, जसले त्यहाँ आफ्नो हैकम स्थापित गरिसकेका छन् । आफ्नो हैकम स्थापित गरिसकेको त्यस मुख्य पक्षमा हेरफेर भएपछि त्यसै अनुकूल त्यस वस्तुको स्वरूप पनि फेरिन जान्छ ।

पूँजीवादी समाजमा पूँजीवादले पुरानो सामन्ती युगमा रहेको आफ्नो कम महत्त्वको स्थितिलाई हैकमको स्थितिमा फेरिदिएको छ र त्यसै बमोजिम समाजको स्वरूप पनि सामन्तीबाट पूँजीवादी भइसकेको छ । नौलो, पूँजीवादी युगमा पहिले हैकमको स्थितिमा रहेका सामन्ती शक्तिहरू हाल कम महत्त्वका भइसकेका छन् र ती अलि-अलि गरी बिलाउँदै जाँदैछन् । दृष्टान्तका निम्ति, बेलायत र फ्रान्समा त्यस्तै भयो । उत्पादक शक्तिहरूको विकाससितै, पूँजीवादीवर्ग प्रगतिशील काम गर्ने एउटा नौलो वर्गको स्थितिबाट बेग्लिएर प्रतिक्रियावादी काम गर्ने एउटा पुरानो वर्गमा फेरिन गएको हुन्छ र (आखिरमा सर्वहारावर्गको हातबाट नहुत्याइन्जेल, उसलाई उत्पादनका साधनहरूमाथि रहेको उसको निजी स्वामित्व जफत गरिएको र शक्ति खोसिएको वर्ग नतुल्याइन्जेल र त्यसपछि बिस्तारै-बिस्तारै नास्सिदै अस्ताएर नगएसम्म यसले त्यही भूमिका खेलिरहेको हुन्छ । सर्वहारावर्ग, जुन पूँजीपतिवर्गभन्दा गन्तीमा निकै बढी छ र जुन पूँजीपतिवर्ग सँगसँगै पूँजीपतिवर्गकै शासनमुनि हुर्किदै जान्छ । एउटा नौलो शक्ति हो, पूँजीपतिवर्गको हैकममा रहेको आफ्नो थालनीको स्थितिबाट बिस्तारै-बिस्तारै बलियो भएर त्यो एउटा स्वतन्त्र वर्ग हुन पुग्छ र इतिहासमा यसले एउटा अगुवा भूमिका खेल्दछ र अन्तमा शासकवर्गबाट राजकाजकै शक्ति खोसेर आफनो हातमा लिई यो खुदै शासकवर्ग हुन पुग्छ । त्यसले गर्दा समाजको अनुहार नै फेरिन जान्छ र पुरानो पूँजीवादी समाज नौलो समाजवादी समाजमा फेरिन पुग्छ । यो नै त्यो बाटो हो, जसलाई सोभियत संघले समातेको छ र अरू बाँकी जम्मै मुलुकहरूले पनि अनिवार्य रूपमा यसलाई समात्नु पर्ने छ । दृष्टान्तका निम्ति, चीनलाई नै हेर्नुहोस् न । चीनलाई जुन अन्तर्विरोधले एउटा अर्ध-उपनिवेश तुल्याइदिएको छ, त्यसमा त्यस साम्राज्यवादको प्रमुख ठाउँ छ, जसले चिनियाँ जनतालाई दु:ख, सास्ती दिन्छ र एउटा स्वतन्त्र मुलुकवाट फेरिएर चीन एउटा अर्ध-उपनिवेश हुन पुगेको छ । तर यस स्थितिमा हेरफेर हुनेछ भन्ने कुरा अनिवार्य छ । दुवै पक्षहरूका माझको तानातानमा सर्वहारावर्गको नेतृत्वमा अघि लम्कँदै गैरहेको चिनियाँ जनताको शक्तिले चीनलाई एउटा अर्ध-उपनिवेशवाट एउटा स्वतन्त्र मुलुकमा फेरिदिनेछ भन्ने कुरा अनिवार्य छ । तर उता साम्राज्यवादतर्फ भने त्यसको टाट पल्टाइनेछ र पुरानो चीन नौलो चीनमा फेरिनेछ भन्ने कुरा पनि अनिवार्य छ ।

पुरानो चीन नौलो चीनमा फेरिनुका साथै चीनका पुराना सामन्ती शक्तिहरू र चीनका नौला जनशक्तिहरू माझका सम्बन्धहरूमा पनि यताउता हेरफेर हुनेछ । पुरानो सामन्ती जमिनदारवर्गलाई हुत्याइनेछ र त्यो हैकम चलाउने वर्गको ठाउँबाट तल सरेर हैकम मान्नुपर्ने वर्गको ठाउँमा पुग्नेछ र त्यो वर्ग पनि अलिअलि गरी चिहानतर्फ पाइला सार्नेछ । सर्वहारावर्गबाट डोऱ्याइएर सारा शोषित जनताहरू शासितको अवस्थावाट शासकहरूको अवस्थामा पुग्नेछन् । त्यसपछि चिनियाँ समाजको अनुहारमा पनि हेरफेर हुनेछ र पुरानो अर्ध औपचारिक र अर्ध सामन्ती समाज एउटा नौलो जनवादी समाजमा फेरिन जानेछ । यस्ता खालका आपसका हेरफेरका दृष्टान्तहरू हाम्रा अघि-अघिका अनुभवहरूमा पनि भेट्टाइन्छन् । चीनमा करिब तीन सय वर्षसम्म रजाइँ गर्ने छिङ खलक १९११ को क्रान्तिमा उखेलिएर मिल्काइयो र केही कालका निम्ति सन यात सेनको नेतृत्वमा क्रान्तिकारी थुङ मङ व्ही जितुवा भयो । १९२४-२७ को क्रान्तिकारी युद्धमा कम्युनिष्ट-कोमिन्ताङ एकताका क्रान्तिकारी शक्तिहरू दक्षिणमा निर्धाबाट वलिया हुँदै गए । उत्तरी अभियानमा जितुवा भए र उतातिर एकताका निकै बलिया भएका उत्तरी युद्धसरदारहरू भने पल्टाइए । कम्युनिष्ट पार्टीबाट डोऱ्याएका शक्तिशाली जनसमूहहरू १९२७ मा कोमिन्ताङका प्रतिक्रियावादी शक्तिहरूको मारबाट सङ्ख्यामा निकै निर्बल भए तर आफ्नो लङबाट मौकावादलाई उखेलेर मिल्काएपछि ती एकपल्ट फेरि बिस्तार-बिस्तार हुर्किन थाले । कम्युनिष्टहरूबाट डो-याएर क्रान्तिकारी आधारक्षेत्रका किसानहरू, जुन पहिले शासित थिए र अहिले शासक भइसकेका छन्, तर जिमिन्दारहरूको रूपान्तर भने यसको उल्टो दिशातर्फ भएको छ । यसरी संसारमा सधैँ नै नौलोले पुरानोको ठाउँ ओगट्छ । पुरानो नौलोवाट उछिनिन्छ, नौलोलाई ठाउँ दिनाका लागि पुरानो मासिन्छ र पुरानो भित्रबाट नौलोको उदय हुन्छ ।

क्रान्तिकारी सङ्घर्ष हुँदाताक कहिलेकाहीँ अप्ठेरा स्थितिहरू सजिला परिस्थितिहरूको दाँजोमा हेर्दा बढी र गह्रौं हुन जान्छन् र त्यसैले ती अन्तर्विरोधको मुख्य पक्ष हुन पुग्छन् र सजिला स्थितिहरू अन्तर्विरोधका गौण पक्ष हुन पुग्छन् । तर क्रान्तिकारीहरू आफ्ना प्रयत्नहरूबाट ती अप्ठेरा र असुहाउँदा परिस्थितिहरू माथि बिस्तारै-विस्तारै विजय पाउँछन् र एउटा नौलो अनुकुल स्थितिलाई जन्माउँछन् र यसरी अप्ठ्यारो स्थितिको ठाउँमा सजिलो स्थितिको जन्म हुन्छ । १९२७ मा चीनमा क्रान्ति विफल भएपछिका अवधिहरूमा र चिनियाँ लालपल्टनको लामो हिंडाइताक यस्तै भएको थियो । हाल चीन-जापान युद्धमा चीन फेरि एउटा अप्ठ्यारो स्थितिमा आइपुगेको छ तर हामी यस स्थितिलाई फेरिदिन सक्छौं । चीन र जापान दुवैका माझको स्थितिमा जरैदेखि हेरफेर गर्न सक्छौं । यसको उल्टो, क्रान्तिकारीहरूले भूलचुक गरे भने आफ्ना लागि सुहाउँदा स्थितिहरू पनि असजिला स्थितिहरूमा फेरिन सक्छन् । यसरी १९२४ -२७ को क्रान्तिको विजय पराजयमा फेरिएको थियो । १९२७ पछि दक्षिण प्रान्तहरूमा विकसित भइसकेका आधारक्षेत्रहरू जति जम्मैले १९३४ मा पराजयको मुख देख्नुपयो ।

कुनै अध्ययन गर्ने काममा लाग्दा, अज्ञानताबाट ज्ञानतर्फ लम्कने क्रियामा पाइने अन्तर्विरोधमा पनि यिनै कुरा लागू हुन्छ । मार्क्सवादको अध्ययन गर्दा एकदमै थालनीको अवस्थामा मार्क्सवादवारे रहेको हाम्रो थोरै ज्ञान वा थोरै चिनारी मार्क्सवादको पूर्णज्ञानसित अन्तर्विरोधको स्थितिमा उभिएको हुन्छ । तर घुँडाधसी अध्ययन गर्ने काममा अज्ञानतालाई ज्ञानमा, थोरै ज्ञानलाई निकै ज्ञानमा र मार्क्सवादलाई आँखा चिम्ली लागू गर्ने बानीलाई सिपालु भएर मार्क्सवादलाई लागू गर्ने बानीमा फेर्न सकिनेछ ।

केही मानिसहरूको के विचार छ भने यो कुरा केही अन्तर्विरोधहरूका विषयमा साँचो देखिन्न । दृष्टान्तका लागि, उत्पादक शक्तिहरू र उत्पादन सम्बन्धहरूका माझको अन्तर्विरोधमा उत्पादक शक्तिहरू मुख्य पक्ष हुन्, सिद्धान्त र व्यवहारका माझको अन्तर्विरोधमा व्यवहार मुख्य पक्ष हो, आर्थिक आधार र माथिल्लो बनौटका माझको अन्तर्विरोधमा आर्थिक आधार मुख्य पक्ष हो र यिनका आ-आफ्ना स्थितिहरूको हकमा कुनै पनि हेरफेर हुँदै हुँदैन । यो धारणा यान्त्रिक भौतिकवादी धारणा हो, द्वन्द्वात्मक भौतिकवादी हैन । हो, उत्पादक शक्तिहरू, व्यवहार र आर्थिक आधार सामान्य रूपमा मुख्य र निर्णयात्मक काम गर्छन् । यस कुरालाई नमान्ने मानिस भौतिकवादी हैन । तर यहाँनिर के कुरा पनि मान्नुपर्ने छ भने कहिलेकाहीँ केही परिस्थितिहरूमा उत्पादन सम्बन्ध, सिद्धान्त, माथिल्ला बनौट जस्ता पक्षहरू पनि मुख्य र निर्णयात्मक काम गर्ने गर्छन् । जुन बखत उत्पादन सम्बन्धहरूलाई नफेरि उत्पादक शक्तिहरूको विकास साध्य हुँदैन, त्यस बखत अनि त उत्पादन सम्बन्धहरूमा हुने हेरफेरले नै मुख्य र निर्णयात्मक काम पूरा गर्दछ । लेनिनले भन्नुभएझैँ “क्रान्तिकारी सिद्धान्त नभई कुनै क्रान्तिकारी आन्दोलन हुन सक्दैन ।” र, यस्तो बेलामा क्रान्तिकारी सिद्धान्तको सिर्जना र त्यसको प्रतिपादनकै काम मुख्य र निर्णायक हुने गर्दछ । कुनै काम गर्नु छ तर त्यसलाई कसरी गर्ने भन्ने कुरा बारे चाहिँ अझसम्म कुनै निर्देशन, पद्धति, योजना वा नीतिको निधो भइसकेको छैन भने यस्तो स्थितिमा निर्देशन, पद्धति, योजना वा नीति नै मुख्य र निर्णायक कुरा हुन पुग्छन् । माथिल्लो बनौटले (राजनीति, संस्कृति र यस्तै अरू अरू कुराहरू) आर्थिक आधारको विकासमा तगारो तेर्स्याएको बेला, राजनीतिक र सांस्कृतिक सुधार मुख्य र निर्णयात्मक कुरा हुन पुग्छन् । यसो भन्दा के हामी भौतिकवादको उल्टो त जादैछैनौं ? अँहँ जाँदैछैनौ ? किनभने इतिहासको सामान्य विकासमा एकातिर भौतिक स्थितिले नै मानसिक स्थितिको निर्णय गर्छ र सामाजिक अस्तित्वले नै सामाजिक चेतनालाई निर्धारित गर्छ र सामाजिक अस्तित्वले नै सामाजिक चेतनालाई निर्धारित गर्छ भन्ने कुरा हामी ठान्छौं त अर्कोतिर हामी के कुरा पनि मान्छौं र मान्नै पनि पर्छ भने मानसिक स्थितिको भौतिक स्थितिमा, सामाजिक चेतनाको सामाजिक अस्तित्वमा र माथिल्लो बनौटको आर्थिक आधारमा पनि प्रतिक्रिया पर्दछ । यस्तो कुरा मान्नु भौतिकवादको उल्टो जानु हैन । यस कुराले त झन यान्त्रिक भौतिकवादलाई बदर गर्दछ र द्वन्द्वात्मक भौतिकवादलाई नै दरिलो किसिमबाट समर्थन गर्दछ ।

अन्तर्विरोधको विशिष्टताको जाँचबुज

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation