हिजोआज समयले धेरै नेटो काटिसकेको छ तर म पुरानो यादबाट प्रशंग कोट्याउ चाहान्छु । २०३२ तिरको कुरा हो । ललितपुर जिल्लाको सुनाकोठी चापागाउँ पुग्दा पोषण विज्ञ मिरियम दिदिले देखिन् कि प्राय त्यहाँका महिला र पुरुषको मुखको कापमा खटिरा भएको, जिब्रोमा बिमिरा भएको देखियो । मिरियम दिदिले कारण पत्ता लगाउँदै जाँदा त त्यहाँ एक वर्ष अगाडी एउटा बिजुलीले चल्ने मिल आएको रहेछ । मानिसहरु “सेतो चामल राम्रो हुन्छ” भनेर त्यही मिलमा चामल कुट्न जान थालेछन् ।
पहिलो पहिले ढिकिले कुट्दा चामल रातो हुन्थ्यो र पोषण पनि रहन्थ्यो तर सेतो चामल खाँदा त सबै पोषण खत्तम भएछ । मिलमा कुटेको चामलको ढुटो चाहिँ गाईबस्तुलाई दिने गरेछन् । चामलको ढुटोमा रहेको विभिन्न थरिका भिटामिनको बारेमा गाउँलेहरुलाई थाहा थिएन । त्यसैले मिरियम दिदिले गाउँलेलाई त्यसको बारेमा बुझाएर त्यही मिलबाट, उनीहरुको चामलबाट निस्केको ढुटो २–३ प्याकेट दिनुभयो र बिहान बेलुका तरकारी र दाल पकाउँदा हालेर खाने सल्लाह दिनुभयो । १०–११ दिनपछि ढुटो खाएपछि मुखका खटिरा ठिक भएछन् ।
ललितपुरमा मिरियम दिदिले चाहिँ माया गरेर गाउँलेहरुको मुखको खटिरा समाप्त पार्न चामलको ढुटो दिएकी थिइन । गाउँलेको साथमा रहेको खानेकुरा गाउँलेलाई नै फिर्ता दिइन् तर ज्ञान सहित फिर्ता दिएपछि पो गाउँलेको आँखा खुलेछ । ढुटोमा रहेको विभिन्न किसिमका भिटामिनहरु पो उनीहरको औषधी रहेछ । कस्तुरी मृगले आफ्नै नाभीमा रहेको कस्तुरीको बारेमा थाहा नपाएर यता र उती खोज्दै हिँड्छ ।
त्यो बेलाका ललितपुरका बासिन्दा झै अहिले पनि हामीहरु आफैसँग भएका खानेकुराको बारे थाहा नपाएर विभिन्न समस्याको शिकार भइनै रहेका छौं । अस्वस्थ खानाले लागेका रागले लाखौं रकम सकिएको छ । त्यसैले हामीले कस्तो खाना खाने र कति व्यायाम गर्ने भन्ने विषय हरेक मानिसको निम्ति निकै महत्पूर्ण विषय भएकोले यसको बोध गर्नुपर्छ ।
एउटा कथा सानो छँदा पढ्थ्यौं, एकजना दिदी र भाइ बस्दा रहेछन् । आमाको मृत्यु भइसकेकोले भाइको हेरचार गर्ने दिदी थिइन् । एकदिन दिदीको पनि विवाह भयो र उनी परदेश लागिन् । भाइ एक्लै भए, रोए । अनि दिदीको न्याश्रो लागेर एकदिन परदेश भेट्न दिदीकहाँ गए । गरिब भाइलाई देखेर दिदी खुशी भइनन् । उनलाई बाहिर आँगनमा सुताइन र घरमा रहेको अजंगको भोटे कुकुरलाई खोले पकाउँदा, त्यसैमा चामलको ढुटो हालेर भाइलाई दिइछन् ।
दिदीले चामको ढुटो आफूलाई हेपेर दिएको थाहा पाएपछि आफू रुदै गाउँ फर्केछ । यस्ता कथा पढ्दा मेरो चित्त दुख्थ्यो र कसरी दिदीले चामलको ढुटो भाइलाई खान दिन सकेकी होलिन् भनेर ती कथाकी दिदीसँग रिस पनि उठ्थ्यो । तर अहिले त्यही कथा पढ्दा लाग्छ, दिदीले त थाहै नपाएर होला, हेपेर नै भए पनि बडो पोषणयुक्त खानेकुरा पो दिएकी रहिछन् त भन्ने लाग्न थालेको छ ।
ठूला–ठूला अन्तर्राष्ट्रिय संस्थाहरुले पनि हामीलाई आफ्नै स्थानमा पोषणको बारेमा जानकारी दिएर, त्यसको प्रयोग गर्न लगाउनुको सट्टा बाहिरबाट खानेकुरा पठाएर हामीलाई परजीवी बनाइदिएको छ । यसका दुःखद उदाहरण हो कर्णाली र सुदूरपश्चिमका बासिन्दाहरुको खानेकुरामा आएको परिवर्तन ।
“त्यहाँ मानिसहरु गरिब छन्, खाद्य असुरक्षा छ” भनेर चामल पठाउने सरकारले त्यहाँका खानेकुरालाई विस्थापित गरेको छ । अछाममा गहँु फलेर रोटी खाने चलन थियो । “गहुँ त्यहाँबाट बाहिर निर्यात पनि हुन्थ्यो” जिल्लाका प्रमुक जिल्ला अधिकारी तथा अन्य अधिकृत स्तरका कर्मचारीहरु नै भन्छन्–“अहिले त सरकारले चामल पठाएर, मानिसहरु चालम मात्रै खोज्छन् गहुँ पनि रोप्न छोडे । रैथाने खेतीको उत्पादन र त्यसको प्रयोग निकै लोप भयो, चामलको परिकार खान पाएकोमा स्थानीयहरु गौरवान्वित महसुर गर्छन् ।”
त्यस्तै अवस्था मैले मुगुमा देखेकी थिएँ । मुगुको रारा तालको नजिकै गाउँमा गएर वृषबहादुरको घरमा बस्दा उनले मलाई भात नै ख्वाए । फापरको र कोदोको रोटी ख्वाउनोस् भन्दा त “कहाँ हजुर अब त कोदो र फापर नै रोप्न छोड्यौं । खाद्य संस्थानले धनगढीमा चामल ल्याउँछ, त्यही लिन जान्छौं खान्छौं । आलु र फापर त अति गरिब मानिसले मात्रै खान्छन् । तर उनीहरु पनि पाएसम्म चामल नै खोज्छन् ।” चामल खाए ठूलो मान्छे भइन्छ भन्ने जनतालाई परेको छ किनभने काठमाडौंबाट जाने सबै सरकारी कर्मचारीहरु चामल मात्रै खान्छन् । “ठूलाबडाको देखासिकी गर्ने त हो नी स्थानीय कर्मचारीले” बृषबहादुरले भनेका थिए ।
चार जना छोराछोरीका बाबु बृषबहादुकरा सन्तान सबै कुपोषित थिए । “फापर र कोदो, आलु, सिमि अलिअलि गर्दै दिनमा ४–५ चोटी ख्वाए यिनको कुपोषण बिस्तारै हराउँछ” मैले भनेको सुनेर बृषबहादुर फिस्स हाँसे मात्रै । उनले शायद मेरो कुरा विश्वास गरेनन् । म स्वास्थ्यकर्मी हो भन्ने थाहा पाएर पनि मेरो विश्वास नगर्नुको कारण थियो । “ठूलाठूला संस्था र सरकारले खाद्य गोदाममा दिएको चामल । यहि कोदो, फापर, आलु, सिमि, सिस्नो राम्रो पोषणयुक्त भोजन हुँदो हो त सरकारले यहाँ यति धेरै, सजिलैसँग फल्ने कोदो र फापर नै खाउ भन्थ्यो होला नि” शायद वृषबहादुर विचार गरे होलान् ।
उनले मुखले केही नभने पनि आशय यहि उनको अनुहारबाट यहि बुझिन्थ्यो । किनकी सुदूरपश्चिमका डोटी, अछाम, कैलालीमा मैले स्थानीय मानिसहरु र स्थानीय स्वास्थ्य कार्यकर्तालाई आलु, कोदो, फापर, गहुँको महत्व र बिस्कुट, चाउचाउ जस्ता प्याकेटका खानेकुराहरुले स्वास्थ्यमा पर्ने हानीहरुको बारेमा बताउँदा उनीहरु सिधै प्रश्न गर्छन् –“तर अरु डाक्टरले र सरकारले त यस्तो भन्दैन । यदि तपाईले भनेको कुरा साँचो हो भने किन स्वास्थ्य मन्त्रालयका मानिसहरुले हामीलाई भनेका छैनन् ?” उनीहरु प्रश्न पनि जायज छ । “एक्लो बृहस्पति झुट्टा हो” भने झैं बारम्बार गाउँमा गएर मैले स्थानीय खानेकुराको महत्वको बारेमा भनेर मात्र मानिसहरुले किन विश्वास गर्लान् त ?
तर नेपालका विभिन्न ठाउँका पोषण विशेषज्ञ, बाल रोग विशेषज्ञले स्थानीय खानेकुराको महत्वको बारेमा भनिरहनु भएको छ । डा. रमेश कान्त अधिकारी र मिरियम दिदिले किताबै लेख्नुभएको छ । “बाल स्वास्थ्य र पोषण” भनेर र वहाँहरुले अनुसन्धान गरेर नै लेख्नुभएको छ की कसरी लि….को साग, सिस्नो, पाइ साग, गिठ्ठा, भ्याकुर, कोदो, फापर, जौ, गहुँ, चामलको ढुटो, भटमास र मकै आदि पोषणका राम्रा श्रोत हुन् । प्याकेटका खानेकुरा, बालबालिकालाई दिइने सेरेलेक, हर्लिक्स, नेस्ले आदिको सट्टामा सर्वोत्तम पिठो बनाएर खुवाए धेरै पैसा बचत त हुन्छ नै साथै बच्चाहरुले वट्टाको खानेकुरा भन्दा धेरै गुण बढि पोषण पाउँछ ।
क्याल्सियम पाउनलाई चक्की खानु पर्दैन, गुन्द्रुक र ज्वानो खाए हुन्छ । शरीरमा लौह शक्ति तत्व बढाउन कर्कलो, भट्ट, मस्यौरा र गुन्द्रुकको प्रयोग उत्तम हुन्छ भनेर उहाँहरुले लेख्नुभएको छ । त्यसैको आधारमा मैले सबैलाई भन्दै आएकी छु आफूले त जीवनमा जहिले पनि प्रयोग गरिनै रहेको छु ।
जिब्रोले बिगारेको मानव जीवन
नक्सालकी पारु श्रेष्ठ (३३ वर्षिया) ले तौल ७५ केजीबाट ६० केजी (१० महिनाभित्र) झारेकी थिइन् । उनी विवाहअघि ५६ केजी थिइन् । विवाहपछि उनको खाने क्रम बढ्न थाल्यो । एक बच्चा पाएपछि त झन् चाकु, घिउ, मासु, अण्डा आदिले गर्दा उनको जिउ त पैmलिंदै गयो । उनका बुबा ३० वर्ष नपुदै मधुमेहले बित्नुभएको थियो । आमा र बहिनी दुवै मधुमेहको औषधि खाने गरेका छन् । पारुलाई भनेँ, “पारुजी तपाईं त होशियार हुनुपर्छ है । तपाईंको परिवारमा निकै समस्या छ । तपाई यसरी नै मोटाउनु भयो भने तपाईंलाई पनि ती समस्या आउन सक्छ । तपाईंको सानो छोरो छ । अन्तर्राष्ट्रिय संस्थामा काम गरिरहनुभएको छ । अगाडि त्यति ठूलो भविष्य छ, स्वास्थ नै नराम्रो भएपछि त जति काम गर्न सक्ने हो त्यति गर्न सकिन्न । त्यो बाहेक जति पैसा भए पनि तपाईंले त्यसको प्रयोग आनन्दपूर्वक गर्न पाउनु हुन्न ।”
“के गर्नु मलाई त कस्तो भोक लाग्छ, फेरी चकलेट देखेपछि त मन नै थाम्न सकिन्न । मेरो अफिसको दराजमा पनि थरिथरिका चकलेट छन् । यताउती ग¥या,े हात त त्यसैमा जान्छ” पारुले भनेकी थिइन् । पारुले उनको शरीरमा ध्यान दिनुपर्छ र खाना कम गर्नुपर्छ भनेर मैले धेरैचोटी भनेपछि एकदिन मलाई खुशी भएर भनिन् “मलाई तौल कम गराउने संस्थाले आउनु भनेको छ । उनीहरुले रु ४० हजारमा ग्यारेन्टीका साथ तौल कम गराउँछन् रे, दुई हप्तामा । उनीहरुले खाने कुराको चार्ट पनि दिन्छन् रे । केही औषधि पनि दिन्छन् रे ।”
पारुको खुशीलाई काट्दै मैले भनें “पारुजी त्यसरी ग्यारेन्टीका साथ तौल कम गर्ने कसैले भन्छ भने, त्यो त सोह्रैआना ठग हो । त्यस्तो कुनै औषधि छैन, जसले जादुको छडीले भैंm तपाईको तौल कम गराओस् । त्यसरी औषधि प्रयोग गरेर तौल घट्ने भए त अमेरिकाका त्यतिका मानिसले घटाउँथे होलान् नि । त्यसरी एकैचोटी तौल घटाउने क्रियालाई त्याग्नोस् र खानेकुरा कम गर्नोस् । कोदो, फापर, गहुँको च्याँख्ला आदिको प्रयोग बढी गर्नुस् । चकलेट धेरै नखानोस् र मुख्य कुरा पानी खाने र व्यायाम गर्नुस् ।”
पारुजीलाई कोदो र फापर स्वादिष्ट तरिकाले बनाएर पनि खान सकिन्छ भनेर एकदिन त घरमै बोलाएर ख्वाउनु प¥यो । “कोदो र फापर त मीठो पो हुँदो रहेछ”, रोटीसँग गोलभेंडा अचार डुबाएर खाँदै उनले भनेकी थिइन् । त्यसपछि उनले कोदो र फापरलाई आफ्नो दैनिक भोजनका अंग बनाइन् । हरियो तरकारी र टुसा उमारेको तरकारी चाँही अफिसमा लैजान थालिन् । बिहान उठेर व्यायाम गर्न थालिन् । दुई महिनापछि त उनको तौल पाँच केजी कम भयो । उनको अनुहारको छालमा चमक आयो । सोही क्रम अगाडि बढाउँदै गएपछि अर्को ६ महिनामा उनको तौल १० केजी कम भयो । सबैबाट धेरै प्रशंसा पाएपछि पारुले मलाई भनिन् “तपाईले मेरो रु ४० हजार त बचाउनु भयो नै, मलाई जीवनभरको ज्ञान पनि दिनुभयो ।”
मेरा कति डाक्टर साथीहरु त्यसमाथि पनि मोटोपन कम गर्नुपर्छ भनेर बिरामीलाई सिकाउने नै मोटामोटा छन् । रक्तचाप र मधुमेहको बिरामी छन् तर न उनीहरु खाना छोड्न सक्छन् न त योग गर्छन् । बरु समयसमयमा आफ्नो ठूलो भुँडी मसार्छन् र मीठो हाँसो हाँस्छन् । मेरो कुरा सुनेर पारु मरिमरि हाँसिन् र भनिन् “तपाईंका डाक्टर साथीहरुलाई सायद तपाईको कुरा अभैm पुगेको छैन ।’’
प्रायः मानिसहरुलाई मोटोपनबाट छुटकारा पाउन निकै गाह्रो हुन्छ किनभने खाना खाएर, मज्जासँग सुतेर, तेल र मसला हालेको मासु खाएर, वियर पिएपछि तौल जति मज्जासँग बढ्छ । त्यति नै मज्जासँग घटाउन गाह्रो हुन्छ किनभने त्यस्तो खानेकुरा खाने मासिसलाई खान्न भन्न साह्रै गाह्रो हुन्छ । साथै व्यायाम, योग त झनै गाह्रो हुन्छ किनभने त्यसको लागि त कडा अनुशासन चाहिन्छ । वियर, मासु र तारेको आलुका स्वाद त जिब्रोमा यसरी बसेको हुन्छ कि त्यसको अगाडि पछि हुने दुःखाई पनि बिर्सिन्छ ।
मेरा एकजना मित्र छन् । उनलाई गाउटको छ । यसको दुखाइले उनी घुँडामा हात राखेर खुट्टा खोच्याउँदै हिँड्छन् । एकचोटी त गाउटले निचोरेपछि चिसो पानीमा डुबाएर बस्नुपरेको थियो रे । तर वियर देखेपछि त कसोकसो उनको मन चञ्चल भइहाल्छ । कतिपय मानिस यस्तै खाना र वियरबाट हुने मोटोपनको कारण उच्च रक्तचापको भई ‘पक्षघात’ भएपछि पनि रक्सी, मासु, तेल हालेको खान छोड्दैनन् । विस्तारै आत्महत्या गरिरहेका हुन्छन् । पुरुषहरु मात्र होइन, महिलाहरु पनि जिब्रोलाई तह लगाउन नसक्दा मोटोपनको कारणले गर्दा हुने समस्याले ग्रस्त हुन्छन् । घुँडा दुखेर कसरी तौल कम गर्ने भनेर छलफल गर्न आएकी शर्मिलाको तौल दुई वर्षपछि पनि घटेको छैन । मैले सुझाएको खानपिन र व्यायामको विषयमा उनले नजरअन्दाज गर्दा अहिले त उनलाई उच्च रक्तचाप भएको छ । घुँडाको दुखाइले गर्दा धेरै हिँड्न सक्दिनन् । उनलाई खानाको विषयमा चाँही भन्न छोडिसकेको छु ।
जबसम्म कसैलाई मनबाट नै तौल घटाउँछु भनेर लागेको छैन भने अरुले जति भने पनि लाग्दैन । खानाबाट आलु, चिनी, भात त गायब गरेर कोदो, फापर, चिनी नहालेको दूध र हरियो तरकारी खाने र बिहान एक घण्टा मात्र हिँडेपनि हामी मोटोपनलाई नियन्त्रण गर्न सक्छौँ ।
मध्यम वर्गीय परिवारमा मात्र होइन, गाउँका मानिसहरुमा पनि विभिन्न किसिमका चाउचाउ चिप्स आदिले गर्दा मोटोपनको समस्या बढ्न थालेको छ । मोटोपनको समस्याले गर्दा हुने समस्याले जीवनको धेरै क्षेत्रमा प्रभाव पार्छ । अकालमै मृत्युको मुखमा पु¥याउँछ भन्ने जान्दाजान्दै पनि मानिसले किन जिब्रोको स्वाद रोक्न नसकेको होला ?
नेपालको स्वास्थ्य र पोषण क्षेत्रमा ्ख्याती प्राप्त डा. अरुणा उप्रेतीका प्रस्तुत आलेख प्राणमञ्च राष्ट्रिय मासिक भदौ अंकबाट लिइएको हो ।