
दाङ, जेठ १६ — विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय र नेपाल पत्रकार महासंघ दाङ शाखाको संयुक्त आयोजनामा विज्ञान पत्रकारिता तथा विज्ञान लेखनसम्बन्धी तीनदिने प्रशिक्षण तालिम शनिबारदेखि घोराहीमा सुरु भएको छ। घोराहीस्थित भिंग्रेली भिलेजमा सुरु भएको तालिममा जिल्लाका क्रियाशील पत्रकारहरूको सहभागिता रहेको छ।
तालिम उद्घाटन कार्यक्रममा वक्ताहरूले विज्ञान र प्रविधिको तीव्र विकासले विश्वलाई नयाँ चरणमा पुर्याएको उल्लेख गर्दै आधुनिक मानव जीवनको हरेक क्षेत्र विज्ञानमा आधारित रहेको धारणा राखे। सञ्चार, स्वास्थ्य, शिक्षा, यातायात, कृषि, उद्योग तथा दैनिक जीवनका अधिकांश काम विज्ञान र प्रविधिबिनाको कल्पना गर्न नसकिने अवस्थामा पुगे पनि समाजमा अझै अन्धविश्वास, भ्रम र अवैज्ञानिक सोचले प्रभाव जमाइरहेको उनीहरूको निष्कर्ष थियो।
प्रेस स्वतन्त्रता सेनानी सुशील गौतमले समाजका सबै समस्या राजनीतिक बहसले मात्र समाधान गर्न नसक्ने र वैज्ञानिक चेतनाको विकास आजको प्रमुख आवश्यकता बनेको बताए। समाजमा फैलिने मिथ्या सूचना, भ्रम र अन्धविश्वासलाई तथ्य, प्रमाण र अनुसन्धानका आधारमा चुनौती दिन सक्ने पत्रकारिताको विकास अपरिहार्य रहेको उनको धारणा थियो। विज्ञान पत्रकारिताले सत्य र भ्रमबीचको दूरी घटाउँदै जनचेतना विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास उनले व्यक्त गरे।
राष्ट्रिय केन्द्रीय वेधशाला तथा विज्ञान सङ्ग्रहालयका कार्यकारी निर्देशक सनतकुमार शर्माले विज्ञानलाई प्रयोगशालाभित्र सीमित विषयका रूपमा नभई समाज परिवर्तनको आधारका रूपमा बुझ्नुपर्ने आवश्यकता औंल्याए। विज्ञान र प्रविधिसम्बन्धी सामान्य ज्ञानसमेत आम नागरिकसम्म पुर्याउन नसक्दा विकासका प्रयासहरू कमजोर हुने भएकाले विज्ञान सञ्चारलाई सुदृढ बनाउनुपर्ने उनको भनाइ थियो।
वक्ताहरूले विज्ञान पत्रकारिताको मुख्य उद्देश्य केवल वैज्ञानिक उपलब्धिको समाचार लेख्नु मात्र नभई समाजमा विद्यमान भ्रम, अन्धविश्वास, छद्मविज्ञान र गलत सूचनालाई तथ्यका आधारमा परीक्षण गरी सत्य सूचना प्रवाह गर्नु रहेको बताए। आज मानिसले प्रयोग गर्ने मोबाइल फोनदेखि इन्टरनेट, औषधि, विद्युत्, यातायात र अन्तरिक्ष प्रविधिसम्मका सबै उपलब्धि प्रकृतिविज्ञान र आधुनिक विज्ञानकै देन भए पनि समाजको एउटा हिस्सा अझै अलौकिक शक्तिप्रतिको विश्वास र भाग्यवादबाट प्रभावित रहेको चर्चा कार्यक्रममा गरिएको थियो।
तालिममा सहभागी पत्रकारहरूलाई विज्ञानसम्बन्धी विषयलाई सरल, तथ्यपरक र अनुसन्धानमुखी ढंगले प्रस्तुत गर्ने सीप विकास गराइने जनाइएको छ। कार्यक्रमका क्रममा विज्ञान पत्रकारिताले वैज्ञानिक चेतना विस्तार, अन्धविश्वास न्यूनीकरण तथा तथ्यमा आधारित सार्वजनिक बहस निर्माणमा योगदान पुर्याउने विश्वास व्यक्त गरिएको थियो।
नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा पत्रकारिता तथा आमसञ्चार क्षेत्रका विज्ञहरू डा. ॠषिकेश दाहाल, डा. टंकप्रसाद उप्रेती, डा. कुन्दन अर्याल तथा सनतकुमार शर्माले प्रशिक्षण दिने कार्यक्रम रहेको छ। तालिम जेठ १८ गतेसम्म सञ्चालन हुनेछ।
















