राष्ट्रिय प्रजातन्त्र पार्टीले गणेश नेपालीको उपचारका सन्दर्भमा सरकार गम्भीर नभएको आरोप लगाएको छ । यो दलका संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले प्रतिनिधिसभामा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘यदि बिरामीको मृत्यु पहिले नै भइसकेको थियो भने रातारात विमानस्थलमा नाटक किन मञ्चन गरियो ?’ उनले भने, ‘यसको जवाफ दिनुपर्छ ।’
मुगुका २५ वर्षीय गणेश नेपालीले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए ।
करिब ५५ प्रतिशत शरीर जलेका उनको वीर अस्पतालको बर्न सेन्टरमा उपचार क्रममा उनको शुक्रबार मृत्यु भएको थियो ।
भक्तपुरमा डेरा गरी श्रीमती र छोरीसँग बस्दै आएका गणेश राइड सेयरिङ एपमार्फत राइडरको काम गर्थे । आफूले रोकिराखेको मोटरसाइकलमा महानगर प्रहरीले ह्विल लक गरेर लैजाने प्रयास गरेपछि शुक्रबार दिउँसो उनले आत्मदाहको प्रयास गरेका थिए ।
यो विषयमा संसद्मा विपक्षी दलहरूले सरकारको ध्यानाकर्षण गर्दै आएका छन् ।

















