भानुभक्तको स्मरणमा एसियन स्कुलमा अन्तर्राष्ट्रिय कार्यक्रम

घोराही, असार २९
आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीका अवसरमा दाङको घोराहीस्थित एसियन वर्ल्ड स्कुलमा विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

विद्यालयको सभाहलमा आयोजित कार्यक्रममा वक्ताहरूले नेपाललाई भौगोलिक रूपमा एकीकरण गर्न पृथ्वीनारायण शाहको जति महत्त्वपूर्ण योगदान रहेको छ, भाषा, साहित्य र संस्कृतिमार्फत नेपाली समाजलाई भावनात्मक रूपमा एकताबद्ध गर्न भानुभक्तको योगदान पनि उत्तिकै ऐतिहासिक रहेको बताए।

साहित्यकार किशाेर चन्द्र गाैतमकाे प्रमुख आतिथ्यतामा भएको साे अन्तरक्रियात्मक कार्यक्रममा वक्ताहरूले संस्कृत भाषामा रचित अयोध्याका राजा रामको जीवनकथालाई नेपाली भाषामा भावानुवादसहित ‘रामायण’का रूपमा प्रस्तुत गरेर भानुभक्तले नेपाली भाषा, साहित्य र सांस्कृतिक चेतनाको विकासमा अतुलनीय योगदान पुर्‍याएको उल्लेख गरे । उनले नेपाली भाषामा अनुवाद गरेको रामायण आज पनि घरघरमा सस्वर पाठ गरिने परम्परा कायम रहेको उनीहरूको भनाइ थियो ।

कार्यक्रममा विद्यालयका प्रबन्धक कृष्णराज डिसी, साहित्यकार तथा गजलकार नारायण नेपाल, लोकराज पराजुली, यम रेग्मी, सुरेशकुमार पाण्डे, पुरुषोत्तम खनाल, देवेन्द्र रिजाल र पदमप्रसाद पोख्रेललगायतले भानुभक्तको साहित्यिक योगदान, नेपाली भाषाको विकासमा उनको भूमिका तथा राष्ट्रिय पहिचान निर्माणमा खेलेको ऐतिहासिक योगदानबारे धारणा राखेका थिए।

वि.सं. १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भन्ने प्रेरणा दिएपछि नेपाली भाषामा ‘रामायण’ रचना गर्ने उत्साह जागेको जनविश्वास रहेको छ।

‘रामायण’सँगै ‘वधुशिक्षा’, ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’ तथा अन्य फुटकर रचनामार्फत भानुभक्तले नेपाली भाषा र साहित्यलाई समृद्ध बनाएका छन्। नेपाली जातीय एकता, राष्ट्रिय पहिचान, सांस्कृतिक चेतना र राष्ट्रिय संस्कृतिको संरक्षणमा उनको योगदान ऐतिहासिक मानिन्छ।

भानुजयन्ती नेपालका विभिन्न स्थानका साथै भारतका दार्जिलिङ, सिक्किम, भुटान, म्यानमारलगायत नेपाली भाषी समुदाय बसोबास गर्ने क्षेत्रहरूमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइने गरिन्छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation