जातीय विकासको ऐतिहासीक विकासक्रम यसरी भयो: रोशन जनकपुरी

नेपाली समाज भौगोलिक रुपमा हिमाल, पहाड र समथर तराईबाट बनेको छ । हिमालमा मंगोल लगायत हिमाल पारीबाट आएका गुरुङ्ग, शेर्पा, मगर, तामाङ्ग लगायतका पहाडिया आदिवासी जनजातिहरु बस्छन् । मध्य एसियाको मैदानी क्षेत्रबाट भारतको राजस्थानी क्षेत्र हुँदै पश्चिमबाट छिरेर मूख्यतः नेपालको मध्य महाभारत र चुरेशृंखला क्षेत्रमा पूर्वसम्म शक र खसहरु फैलिए । पछि यिनीहरु आर्यहरुको राजकीय सामाजिक संरचनामा मिसिएर प्राचीन ग्रन्थहरुमा अवैदिक आर्य भनिए र हाल पहाडिया हिन्दु धर्मावलम्बी समुदायको रुपमा परिचित छन् ।
चुरेभन्दा दक्षिण समथर मैदानीक्षेत्रमा चुरेको पीँधको सानोपट्टी पूर्वदेखी पश्चिमसम्म फैलिएको भावरक्षेत्रमा थारु, दनुवार, राजवंशी, किसान, उरावँ आदि तराईका आदिवासी जनजातिहरु बस्छन् । यिनीहरुको नृतत्वजातिय (समाजशास्त्रिय) सम्बन्ध द्रविड र आस्ट्रिकहरुसँग भएको अनुमान नृतत्वशास्त्रीहरुले गर्छन् । भावरक्षेत्र भन्दा दक्षिण, भारतको सीमासम्मको समथरक्षेत्रमा मिश्रित समुदायहरु बस्छन् । धार्मिक सांस्कृतिक दृष्टिकोणले यो क्षेत्र बहुधार्मिक र बहुसांस्कृतिक भएपनि यस क्षेत्रमा मैथिली, भोजपुरी, अवधीभाषी हिन्दुहरुको उपस्थिति बहुसंख्यक छ ।
नेपालमा राज्यव्यवस्थामा कबिला शैलीका किरातहरुको शासनकालको प्रकृतिधर्म (बोन) र त्यसपछि बौद्धधर्मले बीच बीचमा केही समय हस्तक्षेप गरेको देखिएपनि, लिच्छवीहरुको शासनकालदेखी शुरुभएको सामन्तवादी राज्यव्यवस्थामा हिन्दुधर्मावलम्बी शासकहरुले निरन्तर वर्चस्व कायम राखेको देखिन्छ । यसैकारण दुर्गम हिमालसम्म गैरहिन्दु समुदायमा समेत हिन्दुधर्मले धेरथोर प्रत्यक्ष अप्रत्यक्ष प्रभाव पारेको देखिन्छ । जीवनशैली र मनोविज्ञानमा प्रकृतिधर्मी, लामावाद र बौद्धमतीय प्रभाव देखिएपनि, उत्सवहरुको नाम र मनाउने शैली फरक–फरक भएपनि सांस्कृतिक उत्सवहरुको तिथि एउटै हुनुलेपनि उनीहरुमा हिन्दुधर्म र सांस्कृतिकताको प्रभाव देखिन्छ । उदारहणको निम्ति वैशाख १ गते, भदौमा कृष्ण जन्माष्टमी, माघ १ गते, फागुपूर्णिमा आदि, तराई मधेशको हिन्दु होस वा पहाडको तामाङ्ग र मगर, र हिमालको गुरुङ्ग र शेर्पा, कुनै न कुनै नाममा सबैले उत्सव मनाईरहेकै हुन्छ । यसको एउटै कारण केन्द्रिकृत राज्यसत्ताको विस्तार तथा धार्मिक सांस्कृतिक ऐतिहासिक साहचर्य हो । विशेष गरेर धार्मिक रुपमा हिन्दु र महायानी बौद्धहरुको आपसी समझदारी तथा किराँतहरु र हिन्दु शासकहरुको ऐतिहासिक सम्बन्ध हो । यस अतिरिक्त शासनमा हिन्दुधर्मावलम्बीहरुको ऐतिहासिक वर्चस्व त मूख्य कारण हुने भयो, जसले धार्मिक र अर्थराजनीतिक सम्बन्धको विस्तार ग¥यो ।
जातीय संरचनाको विकास हिन्दु समाजमा विशिष्ट सामाजिक परिघटना हो । तर, नेपालमा दक्षिणबाट जतिजति उत्तर लाग्ने हो, सामाजिक संरचनामा हिन्दुधर्म र जातिय संरचना उत्तिकै कमजोर हुँदै जान्छ । चुरेशृंखला र मध्य महाभारत क्षेत्रमा खस हिन्दुसमुदायको बहुलता र कथित तल्लो जातप्रति मध्ययुगीन दमन र हेयभाव रहेपनि उनीहरुको जातीय संरचनात्मक मनोविज्ञान तराईको हिन्दुसमुदाय भन्दा केही भिन्न र केही उदार देखिन्छ । सम्भवतः यसको कारण अन्य पहाडी आदिवासी जनजाति समुदायसँगको निकट साहचर्य र तराईमा सामन्तवादी राज्यसत्ताको विकासको तुलनामा पहाडमा नयाँ भएको हुनाले हुनसक्छ । नेपालको पहाडी समुदायमा हिन्दुधर्म र जातीय संरचना दक्षिणबाट विविध कारणवश पहाड छिरेका धार्मिक र शासकीय वर्गहरुले लगेका हुन् ।
नेपालको दक्षिणीभाग तराईमा समाज विकासको प्रारम्भिककालदेखिनै जातिहरुको अस्तित्व देखिन्छ । काठमाण्डौं उपत्यका र चुरे शृङखलाभन्दा उत्तर पहाडीक्षेत्रमा पहिलोपटक लिच्छवी अभिलेखहरुमा १८ वटा जातिहरुको उल्लेख पाइन्छ । त्यसपछि उपत्यकामा मल्लकालमा र उपत्यका बाहिर रामशाह लगायत गोर्खाका शाहवंशीय र सेन राजाहरुको शासनकालमा पहाडिया समाजलाई जन्मको आधारमा जातीय संरचनामा आबद्ध गरिएको हो ।
हिन्दु समाजमा जातीय संरचना धर्म र ईश्वरको नाममा थोपरिएको विभेदपूर्ण र असमान श्रेणीबद्ध सामाजिकता हो । यसले मनोवैज्ञानिकरुपमा तल्लोश्रेणीमा हुने जातिहरुमाथी माथिल्लोश्रेणीका जातिहरुलाई शासन र विभेद गर्न अधिकार दिन्छ र प्रेरित गर्छ । तर यो नेपाली समाज मात्रैको सामाजिक परिघटना होइन । हिन्दु समाजको जातीय संरचना समस्त दक्षिणएसियामा हजारौँ वर्षको ऐतिहासिक धारामा विकसित भएको हो । धार्मिक र शासकीय दुबैबाट संरक्षित यस जातीय संरचनाले गैरहिन्दु धार्मिक सांस्कृतिक समुदाय (बौद्ध, जैन, इस्लाम)हरु समेतलाई प्रभावित गरेको देखिन्छ ।
वर्तमानमा असमानता, दमन र भेदभावमा आधारित हिन्दु जातीय संरचना मानवीय दृष्टिकोणले घोर अनैतिक र सामाजिक कलंकको रुपमा विद्यमान छ । यसको विरुद्ध पटक पटक प्रतिरोधी संघर्ष हुँदैँ आएका छन् । तर शोषण र उत्पीडनको बलमा आफ्नो सामाजिक र अर्थ राजनीतिक वर्चस्व कायम राख्न चाहने, परम्परागत शासकवर्ग र धार्मिक अगुवाहरु, यसलाई दैवीय, ईश्वरीय र सांस्कृतिक विशिष्टता र गर्व भनेर कायम राख्न चाहन्छन् । अर्कोतिर जातिविरोधी संघर्ष र आन्दोलनको रुपमा परिचित दलित आन्दोलन एकातिर ब्राह्मणवादको विरुद्ध आक्रामक देखिन्छ, भने अर्कोतिर वर्गसंघर्षको तार्किकताबाट विमुख भएर, आफूलाई राज्यसत्ताभित्रको फगत नागरिक आन्दोलन मात्रमा सीमित हुँदै गएको देखिन्छ । यसले राज्यसत्ता जसले आफ्नो रक्षाको निम्ति ब्राह्मणवादलाई जन्माएको र संरक्षण दिएको छ, त्यो सुरक्षित नै रहन्छ । यसैकारण दलित आन्दोलन र जातिविरोधी सामाजिक आन्दोलन जतिसुकै सशक्त भएपनि यो राज्यसत्तासँग निर्णायक प्रतिरोधी संघर्षमा रुपान्तरित हुन सक्दैन र राजनीतिक चरित्र ग्रहण गर्न सक्दैन । कदाचित कहिलेकाँही आन्दोलन राजनीतिक देखिएपनि यो राज्यसत्ताभित्रको संसदिय यथास्थितिवादमा रुमल्लिइरहेको हुन्छ । यसको मूलकारण हिन्दुजातीय संरचनाको मूल आधारको सही पहिचान गर्न नसक्नु र संघर्षको निसाना सही ताक्न नसक्नु हो ।
(२)
सामान्य धारणामा हिन्दु जातीय संरचना धार्मिक ब्राह्मणवादी सामन्तवादी संरचनाको जड÷उपज हो । सामान्यतः धेरैले जातीय संरचनालाई वर्णव्यवस्थाबाट विकसित मान्ने गरेका छन् । यो आंशिक सत्य मात्र हो । दक्षिणएसियाको सामाजिक विकासको इतिहासको अध्ययनबाट के बुझिन्छ भने प्राग्ऐतिहासिककालदेखिको श्रमविभाजन, उत्पादन र उत्पादनको साधनहरुमाथी वर्चस्वको संघर्ष र राजकीय व्यवस्थापनको परिणाम हो यो जातीय संरचना । भौगोलिक र प्राकृतिक अवस्था, सामाजिक भोतिकीय….. परिवेश, राज्यसत्ताको स्वरुप र शासकवर्गको संस्कृति र मनोविज्ञान समेतले सामाजिक संरचनाको रुप र श्रेणीमा हुने परिवर्तनहरुले समेत जातीय विकासमा प्रत्यक्ष भूमिका खेलेको हो । यसरी विचार गर्दा जातीय संरचना सामान्य बुझाई झैँ जड होइन, यो गतिशील हो र आधुनिककालमा यसले पूँजीवादी शासनसँग मिलेर नयाँ अर्थवत्ता ग्रहण गरिरहेको छ । त्यसैले जातिहरुको विकासमा प्रत्यक्षरुपमा ब्राह्मणवाद र धर्मले भूमिका खेलेपनि सारभूत रुपमा यो शक्तिशाली वर्गबाट श्रमशोषण र श्रमविभाजनको परिणाम नै हो । वस्तुतः आफ्नो अन्तिम अर्थमा ब्राह्मणवादी धार्मिक वर्चस्व पनि राज्यसत्तामा वर्चस्व र आर्थिक शोषणको प्रभावशाली अस्त्र नै हो ।
जातीय व्यवस्था दक्षिणएसियाली समाजको विशिष्ट परिघटना हो । यस्तो अन्य समाजमा पाइँदैन । श्रमविभाजन र तत्कालीन भौगोलिक र सामाजिक ऐतिहासिक परिवेशमा निहित गतिशीलतालाई बुझ्न सकिएन भने, हिन्दु समाजमा यस्तो किन भयो भन्ने प्रश्नको उत्तर दिन सहज छैन । दक्षिण एसियाली समाज र जातव्यवस्था (कास्ट सिस्टम) बारे साम्यवादी विचारक कार्ल माक्र्सले आफ्नो प्रसिद्ध कृति ‘पूँजी’को पहिलो भागमा गम्भीरतापपूर्वक चर्चा गरेका छन् । माक्र्सको समयमा नेपाल बाहेक बाँकी दक्षिणएसिया राजनीतिक रुपमा ब्रिटिस साम्राज्यवादको अधीन रहेकोले उनले दक्षिणएसियाली समाजको निम्ति ‘इन्डियन’ शब्द प्रयोग गरेका छन् । उनले दक्षिणएसियामा ‘राज्य र धर्ममा आधारित जातिव्यवस्थाको उत्पतिलाई प्राचीनकालीन अपरिष्कृत श्रमविभाजनको परिणाम’ भनेका छन् । (जर्मन विचारधारा –अंग्रेजी, मास्को संस्करण १९७६) माक्र्सको विचारमा कुनैपनि सामाजिक संरचना श्रमविभाजनबाट अप्रभावित रहन सक्दैन । विश्वका अन्य सामाजिकताभन्दा केही भिन्न भएपनि दक्षिणएसियाली समाजको विकासमा पनि यस्तै भएको हो । जातिहरुलाई काम गरिरहेको हेरेपछि मात्रै, विभिन्न जातिहरुले विभिन्न किसिमका काम गर्छन् भन्ने कुरा हामीलाई थाहा हुन्छ । यो विभिन्न प्रकारका काम गर्नेहरु नै पुस्तान्तरण हुँदै जातिमा रुपान्तरण भए । यसैक्रममा यो निश्चित जातिले गरिरहेको काम राज्यको निम्ति उपयोगिताविहीन भएपछि वा तल्लो श्रेणीमा झरे वा झारिएपछि त्यस्तो समुदायप्रति उपल्लो श्रेणीमा हेय र अस्पृश्यताको भाव उत्पन्न भयो । माक्र्सको यस विचारको ओज र सटिकता दक्षिण एसियाली समाजको विकासको अध्ययन गर्दा थाहा हुन्छ । आउनुस यस दिशामा केही चर्चा गरौँ ः
प्राचीन मानिसहरुले कृषिकार्य सिकेपछि घुमन्ते भोजनसंग्रही समुदाय स्थिर समुदायमा परिणत भयो । तर जलवायु परिवर्तनको कारण प्रारम्भमा कयौँ स्थिर समुदाय पटक–पटक पलायन भइरहे र लामो यात्रापछि नयाँ स्थायी समाजको रुपमा विभिन्न ठाउँमा विकसित भए । प्रारम्भिक आर्यहरुको यस्तै यात्राको वर्णन हामी शुक्ल यजुर्वेदको शतपथ ब्राह्मणमा पाउँछौँ । प्राचीन मिथ र इतिहासका अनुसन्धाताहरुको अनुसार वेदान्तकालमा सरस्वती नदी सुकेपछि पलायन भएको आर्यहरुको एउटा शाखा गंगानदीको उत्तरीपूर्वी मैदानी क्षेत्रमा सदानीरा (हालको गण्डकी) नदी तरेर पूर्वमा कोशी र हालको टिस्टासम्म फैलियो । यस क्रममा आर्य समुदाय र विविध जनजातीय समदायबीचको अन्तसंघर्ष, युद्ध, सहकार्य र अन्तर्घुलनको प्र्रक्रियाबाट स्थायी प्रकृतिको समाज, जनपद र प्राचीन राज्यहरुको विकास भयो ।
प्रारम्भिक समाजमा विशेष गरेर प्राग्ऐतिहासिक र आद्य ऐतिहासिककालमा जातिहरुको उल्लेख पाइँदैन । तत्कालीन आर्यहरु कर्मको आधारमा क्षेत्री (योद्धा), ब्रह्मजन (पुरोहित) र विश् (श्रमिक), तीनवटा वर्गमा विभाजित देखिन्छन् । त्यतिबेला यो एउटा लचिलो विभाजन थियो । एउटै परिवारका सदस्यहरुमा कोही क्षत्र, कोही ब्रह्मजन र कोही विश् हुनसक्थे । केही समयपछि वर्ग विभाजनको स्वरुप बदल्यो र यसको स्थान वर्ण विभाजनले लियो । नयाँ सामाजिक संरचनामा दासबाट शूद्र बनाइएका आर्येत्तर (आर्यभन्दा बाहिरका)हरु बाहेक तीनवटा वर्ण बन्यो ः ब्राह्मण, क्षत्रीय, वैश्य । कबिलाई आर्य अब संगठित जनपद र राज्यमा परिणत हुँदैगयो । समुदायमा सबैको जीवन चर्या, कर्तव्य र अधिकार निश्चित गरियो । शतपथ ब्राह्मणका अनुसार ब्राह्मण हुनलाई मातापिता दुबै ब्राह्मण हुनुपर्ने, ब्रह्म र यज्ञसम्बन्धी ज्ञान भएको, अध्ययन र अध्यापनमा अनुरक्त हुनु अनिवार्य थियो । क्षत्रीयहरुमा शौर्य, साहस तथा गुणवत्ताको परिचय दिँदै समाजराज्यलाई भित्री र बाहिरी उपद्रवबाट बचाउनु र शासन प्रशासनको कार्यमा सक्षम हुनु आवश्यक थियो । तर क्षत्रीयको कार्यमा ब्राह्मणको सहभागिता अनिवार्य जस्तै थियो । ऐतरेय ब्राह्मणमा ब्राह्मणलाई क्षत्रीयको आधी आत्मा अर्थात् ब्राह्मण बिना क्षत्रीय अधुरो भनिएको छ । समाजको सबैभन्दा ठूलो भाग वैश्यहरुको थियो । वैश्यहरुको मूख्य कार्य कृषिकार्य र वाणिज्य व्यवसाय थियो । तत्कालीन वैश्यहरुले समस्त आर्य समाजलाई ऊर्जा र शक्ति प्रदान गर्थे, तरपनि उनलाई ब्राह्मण र क्षत्रीय सरह अधिकार थिएन ।
पूर्व वैदिककालमा दासत्व भावमा आर्यहरुको सेवा गर्ने शूद्रहरु एउटा वर्गको रुपमा थिए, तर उनीहरुलाई आर्यहरुको वर्ण व्यवस्थामा सामेल गरिएको थिएन । यसको कारण तत्कालीन शूद्रहरु आर्य समुदायभन्दा बाहिरका युद्ध आदि विविधकारणबाट दास बनाइएकाहरुको समूह थिए । कालान्तरमा दासको रुपमा रहेका शूद्रहरुको अभावमा काम बाधित हुनथालेपनि आर्यहरुले शूद्रहरुलाई पनि आर्य समुदायमा सामेल गरे । जैमिनिय ब्राह्मण अनुसार शूद्रहरुको उत्पत्ति प्रजापतिको पाउबाट भएकोले उनीहरुको कुनै देव थिएन । शूद्रको देव उनीहरुको स्वामी नै थिए । शूद्रहरुले कृषिलगायत सामाजिक उत्पादन कार्यमा शारीरिकरुपमा सहभागी हुनुपथ्र्यो । तर उनीहरुलाई यज्ञस्थल वरिपरि जान, धार्मिक साहित्य पढ्न र आध्यात्मिक सतसंग सुन्नमा प्रतिबन्ध थियो । शूद्रहरुलाई आजीवन गार्हस्थ जीवनको पालन अर्थात् सन्तान जन्माएर सेवागर्नु मात्र ‘अधिकार’ थियो ।
आर्य समाजको चातुर्वण्य व्यवस्थाको उत्पत्तिबारे सबैभन्दा पुरानो ऋग्वेदको १० औँ मण्डलमा उल्लेख भएअनुसार ‘विराट पुरुष (ब्रह्म, विश्वात्मा, प्रजापति)को मुखबाट ब्राह्मण, बाहुबाट क्षत्रीय, जंघा (तिघ्रा)बाट वैश्य र पदबाट शूद्रको उत्पत्ति भएको हो ।’ ऋग्वैदिककाल (अनुमानित ईसापूर्व १५००– १०००)सम्म वर्णव्यवस्था जन्मको आधारमा थिएन ।
उत्तरवैदिककाल (अुनमानित ईसापूर्व १०००–६००)मा शूद्रहरु ‘अनिर्वसित’ (आर्य समुदाय भित्रै बस्ने र शारीरिक सहयोग गर्ने) र ‘निर्वसित’ (अस्पृश्य र त्याज्य, गाउँ बाहिर बस्ने) दुईवटा वर्गमा विभाजित भैसकेका थिए । यिनीहरुलाई आर्य समुदायमा अधिकारविहिन राखिएको थियो । यद्यपि कतैकतै अनिर्वसित आर्यहरु स्वतन्त्ररुपमा जीविकोपार्जन गर्ने र सम्पत्ति आर्जन गर्नसक्थे । गौतम धर्मसूत्रका अनुसार त्यसकालमा केही शूद्र यति सम्पत्तिशाली थिए कि उनीहरुले ब्राह्मण समेतलाई जागीर दिने गर्थे ।
उत्तरवैदिककालको आरम्भिककालमा शुद्र बाहेक अन्य वर्णको निर्धारक प्रायः कर्म नै थियो । यसैकालमा कबिलाई समाज जनपदको रुपमा प्रारम्भिक राज्यहरुमा विकसित भयो । यसैकालमा फलामको खोजीको कारण युद्ध र कृषि दुबै क्षेत्रमा युगान्तकारी परिवर्तन भयो । एकातिर फलामको शक्तिशाली हतियारले राज्यसत्तालाई (राजा)लाई झन् शक्तिशाली बनायो भने अर्कोतिर फलामको कृषि उपकरणको विकासले पुराना कृषक समाजमा क्रान्ति नै ल्याईदियो । हलको खोजीले कृषिकार्यमा गोरुहरुलाई उपयोगी बनायो भने उत्पादन कार्यमा शारीरिकरुपमा मात्र सहभागी हुने शूद्र (दास)हरुको एउटा हिस्सालाई कुटो, कोदालो, हलो, रथ, ढाल आदि बनाउने शिल्पी समुदायमा परिणत गरिदियो । परिणामतः कृषि उत्पादनहरु उल्लेखनीय वृद्धि भयो । यसले यज्ञको निम्ती बली, कर र दानको रुपमा प्राप्त हुने अधिशेष (बचत)मा समेत वृद्धि गरायो । साना साना गोत्र वा समूहमा हुँदा बचत उत्पादन आर्यहरुले जलाइदिने गर्थे । तर ग्राम, विश् र जनपदको विकासपछि यसको व्यवस्थापनमा संलग्न ब्राह्मण र राज्याधिकारीहरुको निम्ती उत्पादन बचत गर्नु आवश्यक हुने भयो । एउटाले देव अर्चना र यज्ञादि कार्यको निम्ती पुरोहित्याँई गर्ने र अर्को सामाजिक रक्षा र शासन गर्ने राजा (वा राज्यसत्ता), दुबैको आधार कृषि उत्पादनको अधिशेष नै थियो । तर अधिशेषको बढी भाग कस्ने पाउने विषयमा ब्राह्मण र क्षत्रीय बीच विवाद सृजना भयो । यस विवादमा अन्ततः क्षत्रीय राजा विजयी भए । ब्राह्मण र स्मृतिहरुमा वर्णित वाजपेय, अश्वमेघ र राजसूय जस्ता यज्ञको मूल ध्येय राजाको सर्वोच्चता स्थापित गर्नु देखिन्छ ।
कृषि होस् वा युद्ध, दुबै प्रकारका शिल्पहरु राज्यको समृद्धि र सुरक्षा दुबै दृष्टिले विशिष्ट थिए । यसैकारण शासकहरुले शिल्पीहरुलाई एकान्त स्थानमा गोप्यरुपमा राख्न थाले । यसपछि शिल्पहरु सन्तानहरुको माध्यमबाट पुस्ताहरुमा हस्तान्तरण हुन थाल्यो । सँगसँगै राजा बस्ने नगरिय शैलीको जनपदभन्दा भिन्न प्रकृतिको शिल्पीहरुको ग्राम (गाउँ) विकास हुनथाल्यो । ईसापूर्व छैठौँ शताब्दीमा जैन र बौद्धकालमा यस्ता कयौँ शिल्पी गाउँहरुको उल्लेख पाइन्छ ।
ईसापूर्व छैठौँ शताब्दीसम्म तत्कालीन साहित्यहरुमा वर्ण व्यवस्था र जातिप्रथा परिपक्व भएको पाइन्छ । बौद्ध जातकहरुका अनुसार यस कालमा नगर अर्थात नवविकसित जनपदहरुमा व्यावसायी संघ (गिल्ड) बनेको थियो र नगरिय आवश्यकता अनुरुप सुनार लगायतका शिल्पीहरुको पनि विकास भइसकेको थियो । धर्म, राज्य, कृषि, युद्ध आदि सामाजिक र राजनीतिक आवश्यकताको आधारमा विकसित कर्म र शिल्पहरु पुस्तान्तरण हुँदै निश्चित समुदायको निश्चित कर्म बनिसकेको थियो । ब्राह्मणदेखी शुद्रसम्मको कर्म राज्यको आवश्यकता अनुसार राजकीय र सामाजिक श्रेणीमा श्रेणीबद्ध भैसकेका थिए । जुन धार्मिक समुदाय राजाको जति निकट र आवश्यक हुन्थे, उनको श्रेणी र सम्मान उत्ति नै बढी र श्रेष्ठ हुन्थ्यो र जति टाढा र कम आवश्यक हुन्थ्यो, त्यसको श्रेणी त्यति नै कम र हीन हुन्थ्यो । यहाँ उल्लेखनीय छ, शिल्पकारहरु दुईथरी हुन्थे, राजकीय काममा आवश्यक हुने र समाजको निम्ति उपयोगी । निःसन्देह समाजको निम्ति उपयोगी शिल्पकार भन्दा राजकीय काममा आवश्यक शिल्पकारको श्रेणी माथी हुन्थ्यो । पछि जातिहरुमा अस्पृश्यता अर्थात छोइने र नछोइने अवधारणा यसैआधारमा विकास भयो। यसैकालमा राजाको मातहतमा रहेको भूमिमा उत्पादनको हक वितरण शुरु भयो । यसले निजी सम्पत्तिको स्थिति सृजना ग¥यो । यसले सन्तानको उत्तराधिकारको विषयपनि सृजना ग¥यो । यस्तोमा अर्को समुदायले सम्पत्ति र शिल्पमा कब्जा नगरुन् भन्ने उद्देश्यले ब्राह्मण र राजाले जातिहरुलाई रक्त सम्बन्ध, वंश र जन्मसँग जोडे । जातिभित्रै विवाह गर्नुपर्ने बाध्यकारी व्यवस्था पनि गरे । बुद्धको समयमा वर्णहरु भित्र जातिहरु जन्मको आधारमा तय भैसकेका थिए । अब कसैले जाति वर्णको घेरा नाघ्ने साहस गर्न सक्दैनथ्यो । जाति परम्परा विपरीत कुनै कार्य गरेमा वा विवाहा गर्नेमा सजायको भागी हुनु पथ्र्यो । यस्तो सजाय जातीय श्रेणी अनुपातमा नरम र गरम हुने गथ्र्यो ।
वैदिक ग्रन्थहरुमा कविलाई सामाजिक व्यवस्थापक (तपाँई प्राचीन राजापनि भन्न सक्नु हुन्छ)को रुपमा कयौँ मनुहरुको वर्णन ऋग्वेदकाल देखी नै पाइन्छ । आर्यहरुमा यी मनुहरुको निर्देशन प्रायः सबै राजवंशले पालन गरेको देखिन्छ । सम्भवतः यी मनुको सामाजिक नियमहरु सृजनागर्ने आर्यहरुको एउटा विशेष समुदाय नै थियो । कौटिल्यले अर्थशास्त्रमा यस समुदायलाई ‘मानव’ भनेका छन् । यिनको सामाजिक निर्देशनबारे याज्ञवल्क्य, गौतम, वृहस्पति आदि कयौँ स्मृतिकारहरुले अनुशरण गरेको देखिन्छ । तर यी निर्देशनहरु ईसापूर्व दोस्रो शताब्दीमा मनुस्मृतिको रुपमा ग्रन्थको रुप लिएको देखिन्छ। आधुनिककालमा जातिविरोधी अगुआहरुले जातिय विभेदको निम्ती मनुलाई दोषी ठान्छन् । तर मनुस्मृति जातिभन्दापनि ब्राह्मण श्रेष्ठतामा आधारित वर्ण व्यवस्थामा बढी जड र दृढ देखिन्छ । यस्मा आर्य आर्येत्तरको भेद, भिन्न वर्णहरु बीच विवाह र शारीरिक सम्बन्धबाट उत्पन्न सन्तानको वर्णसंकरता, र शूद्र वर्णप्रतिको क्रूर र अमानवीय शोषण, दमन र यातनापूर्ण दण्डविधान मूख्य छ । पछि मध्यकालमा जड जातीय विभेदको क्रममा मनुको शुद्रप्रतिको भेदभावपूर्ण व्यवहार तथा अमानवीय क्रूर दृष्टिकोण एउटा अहम् कारण बन्यो, यसमा सन्देह छैन । जातिहरु भने सामाजिक र राजकीय आवश्यकताको आधारमा निरन्तर विकसित हुँदैगए ।
दक्षिणएसियामा केन्द्रिकृत साम्राज्यको रुपमा मौर्यहरुको शासनकाल (ईसापूर्व ३२२–१८५)मा बौद्ध र जैन जस्ता नास्तिक र अज्ञेयवादी धार्मिकमतको राज्यसंरक्षण र लोकप्रियताको कारण वैदिकधर्म ओझेलमा प¥यो । यसकालमा वैदिक परम्परामा विकसित आर्यहरुको सामाजिक संरचना खलबलियो । नयाँ खालको आर्येत्तर समुदायहरु पनि राजकीय र सामाजिक संरचनामा सामेल भए । तर ईसापूर्व दोस्रो शताब्दीमा मौर्यवंशको पतन र शुङ्ग ब्राह्मण राज्यवंश स्थापित भएपछि वैदिक र ब्राह्मण धर्म नयाँ स्वरुपमा देखियो । ईन्द्र आदि वैदिक देवहरुको ठाउँमा विष्णु प्रमुख देवको रुपमा देखिए । पौराणिक आख्यान र रामायण आदि महाकाव्य लेखियो । अझ ईसाको चौथो पाँचौँ शताब्दीतिर गुप्तकालमा भागवत धर्मको रुपमा वैष्णवीधर्म राज्यको संरक्षणमा संगठित रुपमा देखियो । यसकालमा समाज मिश्रित थियो । कयौँ आर्येत्तर विदेशी जातिहरु शासकको रुपमा देखिए । वैदिककालदेखी वैश्यको रुपमा परिचित कृषकवर्गको ठुलो हिस्सा व्यवसायीमा परिणत भइसकेको थियो, भने कृषिकर्म अवलम्बन गर्नेहरु शुद्रमा परिणत भइसकेका थिए । विगतमा राज्यबाट प्राप्त भूमिको उपयोग गरेर केही वैश्य कृषकहरुले स्वतन्त्र राज्य नै खडा गरिसकेका थिए, जसलाई ब्राह्मणहरुले शासकीय कर्म (क्षत्रीय कर्म)को आधारमा क्षत्रीयको दर्जामा पु¥याइदिएका थिए ।
मध्यकाल अर्थात ईसाको पाँचौँ÷छैठौँ शताब्दीपछि दक्षिणएसियामा विकसित निरंकुश चरित्रको सामन्तवादी संरचनामा जातीय भेदभाव, शूद्रहरु प्रतिको अमानवीय व्यवहार र क्रूर दण्डविधान समग्र इतिहासमा सबैभन्दा जड थियो । यसकालसम्म विविध मिश्रित समुदायको रुपमा आर्य समुदाय ‘हिन्दु’मा परिवर्तित भैसकेको थियो । यसको एउटा कारण मध्यकालमा वैष्णवी, शैव, शाक्त आदि धार्मिक शासकवर्ग र समुदायबीचको आपसी हिंस्रक संघर्ष तथा विजयी धर्मले पराजित धार्मिक समुदायमाथिको निर्मम भेदभाव पनि हो । पछि सबै धर्म समान हुन् भन्ने भावको स्मार्त धर्मको विकास भएपनि शैव र वैष्णवीहरु बीचको हिंस्रक संघर्ष भारतमा ब्रिटिश शासनकालमा समेत देखिएको थियो । पछि ब्रिटिश शासकहरुको विशेष हस्तक्षेप तथा आधुनिक राजनीतिक चेतनाको विकासको कारण यो मत्थर हुँदैगयो । यद्यपि धार्मिक संघर्षका बावजूद जातिय विभेद र शूद्रवर्णमा पर्ने जातिहरुमाथीको दमन, शोषण र यातनामा सबै थिए ।
शूद्रवर्णमा पर्ने जातिहरु श्रमिक वर्गका थिए । मध्यकालीन हिन्दु सामाजिक व्यवस्थामा शूद्रवर्णका जातिहरु माथिल्ला तीनवटा वर्णमा पर्ने जातिहरुको शारीरिक सेवा गर्न बाध्य थिए । शूद्रहरु जो भूमिहीन थिए, तर उत्पादन कार्यमा मूल्यहीन श्रम गर्न बाध्य थिए, राजासहित उपल्लो वर्णको जुठोपुरोमा बाँच्न बाध्य थिए । यस्तो नियम राजा र ब्राह्मण दुबैलाई लाभदायी थियो । राज्यको सर्वाधिक जनसंख्याको श्रमलाई राजाले अन्न उत्पादन र धनको रुपमा आफ्नो खजानामा भर्न पाउँथ्यो, त्यसैले ब्राह्मणको श्रेष्ठता स्वीकारेर उसले यस अमानवीय जाति व्यवस्थालाई कायम राखेको थियो । भारतमा ब्रिटिस शासनकालमा ब्रिटिस शासकहरुले आर्थिक रुपमा शहरहरुमा शूद्र श्रमिकहरुको एउटा हिस्सालाई प्रशिक्षण दिएर उपयोग गरेपनि उनका मातहतका राजाहरुको रजवाडा र जमिन्दारीमा सांस्कृतिक रुपमा जातिय संरचना खलबल्याउन चाहेनन्, र ब्राह्मण, क्षत्रीय र उपल्लो जातका अभिजात्यवर्गलाई नाखुशी बनाउन चाहेनन् । यद्यपि ब्रिटिस शासकहरुसँगै आएको पूँजीवादी र बजारको अवधारणाले आधुनिक चेतनाको विकास गराउँदै गयो, र क्रमशः युगौँदेखी उत्पीडित शूद्रहरु भित्रपनि मुक्तिको चेतना विकसित गराउँदै गयो । यसमा ब्रिटिस उपनिवेशवाद विरोधी राजनीतिक संघर्ष तथा आधुनिक राजनीतिक चेतनाहरुले समग्र राजनीतिक सामाजिक मुक्ति तथा आधुनिक अर्थको दलित मुक्ति चेतना र आन्दोलनको विकास गरायो ।
यस संक्षिप्त समीक्षात्मक अवलोकनले के देखाएको छ भने वर्णको रुपमा जातिहरु उपरी तवरमा जड देखिएपनि सामाजिक संरचनाको विकास यात्रामा जातिहरु गतिशील देखिन्छन् ; र सामाजिक उत्पादनमाथीको वर्चस्वको संघर्षमा र श्रमविभाजनको बदलिँदो रुपसँगै विकसित हुँदै गएका छन् । यसको केन्द्रमा श्रम र श्रमविभाजन नै रहेपनि राज्य, धर्म, युद्ध, बजार, अप्रावसन, पलायन, आदिले अधिरचनात्मक भूमिका खेलेका छन् ।
नेपालमा सामन्तवादी राज्यको विकास भारततिरबाट विविध कारणवश नेपालमा आएका हिन्दु योद्धा समूहहरुबाट भएको हो । यिनै हिन्दु शासकहरुको राजनीतिक धार्मिक शासनले यस अनुकूलको हिन्दु धार्मिक सामाजिक संरचना र मनोविज्ञान विकसित गरायो । नेपालमा हिन्दु जातीय संकीर्ण र असमान चेतना यसै ऐतिहासिकतामा विकसित भएको हो ।
(३)
हिन्दु समाजमा हालको जातीय संरचना र जातीय विभेद मध्यकालीन जातीय संरचनाबाट विकसित भएको हो । विगत तीनसय वर्षको अवधिमा विश्वभरीमा भएका विविध राजनीतिक संघर्षहरुले मानिसको चेतनामा व्यापक विकास गराएको छ । युगौँदेखीको दैवीय समाजको समानान्तर, मानवीय अस्तित्व र हितमा आधारित सामाजिक र राजनीतिक तर्क र विचारधाराहरुले विश्व चेतनालाई प्रभावित गरेको छ । विशेष गरेर माक्र्सवादी समाजवादी विचारले श्रमिकवर्गहरुको राज्यको परिकल्पना सारेर मानवीय मनमा युगान्तकारी उथलपुथल ल्याइदिएको छ । बीसौँ शताब्दीमा रुसमा लेनिनको नेतृत्वमा सोभियतसंघ र चीनमा माओत्सेतुङ्गको नेतृत्वमा समाजवादी सत्ताको निर्माणले, जन्मजात सेवाको बाध्यकारी कर्तव्य र अधिकार पाएको श्रमिकवर्गले पनि राज्यको निर्माण गर्न सक्छन् भन्ने स्वप्नलाई व्यवहारमा परिणत गरिदियो । अहिले, सोभियतसंघ इतिहास भैसकेको छ, र चीनमा माक्र्सवादी समाजवादले ‘बजार समाजवाद’को संशोधनवादी रुप ग्रहण गरेको छ । तरपनि बीसौँ शताब्दीका यी उदाहरणहरुले निरन्तर सही संघर्षको माध्यमबाट सर्वहारा अधिनायकत्व अर्थात उत्पीडित श्रमिकवर्ग र उत्पीडित दमित समुदायको वर्चस्वको राज्य निर्माण गर्न सकिन्छ भन्ने उदाहरण त स्थापित भएकै छ । उत्पीडितवर्गको मुक्ति चेतनाका यस्ता वैचारिकता र आन्दोलन र संर्घाहरुबाट दक्षिणएसियाका युगौँदेखीको उत्पीडित श्रमिकवर्ग र शूद्रहरु प्रभावित हुनु स्वाभाविक नै हो । अहिले अर्थ, राजनीति र सामाजिकता सबैतिर पूँजीवादी बजारको प्रभाव मूख्य छ, तर अन्तर्साम्राज्यवादी संघर्षको यस चरणमा विश्वमा धर्म वर्तमान राज्यको निम्ती श्रमिकवर्ग र समुदायमाथि शोषण गर्ने सबैभन्दा प्रभावकारी हतियारको रुपमा देखिएको छ । साम्राज्यवादी पूँजीवादी सत्ताको दक्षिणएसियाली रणनीतिकारहरुले आधुनिक फासीवादी अर्थमा धर्मलाई उच्च सिंहासनमा बसाल्दै छन् । यसकारण राज्यको चरित्र साम्राज्यवादी पूँजीवादी भएपनि सामाजिक रुपमा धार्मिक उपभोक्तावादले धर्म र जातिय असमानताहरुलाई नयाँ अर्थमा व्याख्या गरिरहेको छ । परिणामतः एकातिर ब्राह्मणवादको विरुद्ध प्रतिरोधी चेतना विकसित हुँदै छ, भने अर्कोतिर छद्म बौद्धिक तर्कहरुको आधारमा उत्पीडितवर्ग र उत्पीडित जातिय समुदायहरुको साझा संघर्षलाई खण्डितगर्ने प्रयत्न गरिँदै छ । धर्म, वर्ण र जातिहरुको विकासको संक्षिप्त अवलोकनले के देखाएको छ, भने कर्मको आधारमा विकसित वर्ण होस् वा जन्मको आधारमा विकसित जातीय संरचना, सारमा श्रम शोषण अर्थात वर्गीय शोषणको विशिष्ट रुप नै हो । यस्तोमा समानतामा आधारित मानवीय सामाजिक संरचना र मानवीय संस्कृतिको विकास नभएसम्म जातीय विभेद र शोषणबाट मुक्ति सम्भव छैन । र यो उत्पीडित वर्ग र उत्पीडित जातिहरुको साझा संघर्षबाट मात्र सम्भव छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation