आधुनिक कृषिमा रमाएका इन्जिनियर कुँवर

२६ कार्तिक, प्युठान

प्युठानका महेश कुँवर पेसाले इन्जिनियर हुन्। आइटि सम्बन्धि काम त उनले नियमित गर्दै आएका छन्। यसको साथै उनले व्यावसायिक रूपमा उन्नति कृषि फर्म दर्ता गरि ड्रागन फ्रुटको खेतीलाई अगाडि बढाएका छन्।

जिल्लाको प्युठान नगरपालिका वडा न. ८ बाग्दुला तालका महेशले कामसँगै कृषिलाई पनि प्राथमिकतामा राखेका छन्। कोरोना महामारीको वेला पलाएको सोचले अहिले महेशलाई व्यावसायिक रूपमा नै ड्रागन फ्रुटको खेतीमा रमाउने बनाएको छ। ‘तीन वर्ष पहिले कोरोनाको समय थियो । कोरोना रोगको लागि ड्रागन फ्रुट एकदम अचुक औसधि हुने थाहा पाए,’ महेशले भने, ‘आफैलाई कोरोना लागेपछि,घरका सदस्यले ड्रागन फल किनेर खुवाएपछि र आफ्ना १-२ जना अग्रजहरुबाट यसबारे थाहा पाए, घरमा बुवा आमाले आफ्नै बारीमा परम्परागत तरिकाले तरकारी खेति गर्दै आइराख्नु भएको थियो,यसमा केही गरौँ भन्ने सोच पलायो, पूर्वमन्त्री लोकेन्द्र विष्टले गरेको ड्रागन खेतीबारे युबट्युबमा भिडियो हेर्ने मौका पाएको थिएँ। अन्य केही सफल ड्रागन व्यवसायीको फर्म अवलोकनका साथ प्रेरणा पाएर नै मैले यो खेतीको सुरुवात यसैगरी गरेको हुँ ।’

महेशले प्युठानकै मुख्य ब्यापारिक बजार बाग्दुलामै व्यावसायिक रूपमा नै ड्रागन फ्रुट खेतीको थालनी गरेका हुन्। ड्रागन फ्रुट लगाएको एक वर्षमा नै बिरुवा हुर्केर राम्रो उत्पादन दिन थालेपछि महेश यसैमा रमाउन थालेका छन्। ड्रागन फ्रुटको पछिल्लो समय निकै राम्रो माग र मूल्य भएपछि प्युठानमा व्यावसायिक उत्पादन थालिएको महेश बताउँछन्। उनले आफ्नो घरनजिकैको १० रोपनी जग्गामा दुई हजार दुई सय ड्रागन फ्रुटका बिरुवा रोपेका थिए। यस वर्षदेखि नै राम्रो उत्पादन दिन सुरु भएको ड्रागन फ्रुट झन्डै १ टन उत्पादन भएको छ । आगामी वर्ष अझै राम्रो उत्पादन भए आम्दानी बढ्ने उनले बताए। ‘पहिलो वर्ष नै राम्रो फल लागेको छ, एउटै पोलमा झन्डै दुईदेखि चार केजीसम्म उत्पादन भएको छ ,’ महेशले भने, ‘यो फ्रुट १५-१६ पटक नै टिप्न पाइन्छ। यस वर्ष भन्दा अर्को वर्ष उत्पादन र आम्दानी राम्रो हुने आसा छ।’ ड्रागन फलको बिक्रीका लागि बजार नजिक रहेकाले समस्या नरहेको र प्रतिकेजी चार सय पचास देखि पाँच सय रुपैयाँका दरले घरबाट नै बिक्री भइरहेको उनले जानकारी दिए।

महेशले ड्रागन फ्रुट खेती विस्तारका लागि झन्डै ३० लाख रुपैयाँ लगानी गरिसकेका छन् । बिरुवाका लागि सिमेन्टको पोल र टायरसमेत व्यवस्थापन गर्नुपर्दछ । हाल उनको बारीमा रातो र सेतो गरी दुई प्रजातिका फल उत्पादन हुँदै आएका छन् । महेश आइटि कामभन्दा पनि अहिले ड्रागन फ्रुटको बारीमा रमाउन मन लाग्ने बताउँछन्।

बहुगुणी फलफूलका रूपमा रहेको ड्रागन फ्रुटको खेतीका लागि महेशका बाबु राजकुमार सहित परिवारका अन्य सदस्यले पनि नियमित सघाउँदै आएका छन्। महेशले आइटिको काममा व्यस्त रहँदा पनि बाबु आमाले नियमित रूपमा हेरचाह गर्दै आएका छन्। यो खेतीमा सुरुको लगानी बढी हुने बाबु राजकुमार बताउँछन्। ‘बिरुवा रोपेपछि पोल र सुरक्षाका लागि गरिने तारबार गर्नुपर्ने हुदा सुरुवाति लगानी त धेरै नै हुँदो रहेछ। तर, लगाएको एक वर्षमा नै उत्पादन दिन सुरु भयो,’ महेशले भने, ‘यसका लागि यहाँको हावापानी निकै राम्रो रहेछ। वर्षमा चार पटक गाइ भैसीको मल दिन सके उत्पादन पनि राम्रो हुने रहेछ। मलकै लागि उनले पाच वटा मुर्रा भैसी थप्ने प्रक्रियामा छन् ’। महेशको परिवारले बाग्दुलामा गरिएको ड्रागन खेतीको हेरचाहका लागि स्वयम आफ्नै परिबार नै खटिदै आएको छन।

दक्षिण पूर्वी एसियाका देश भियतनाम, फिलिपिन्स, थाइल्यान्डलगायत हुँदै अहिले यो फल नेपालमा भित्रिएको हो। ड्रागन फल गर्मी र सुक्खा हावापानीमा हुने सिउँडी प्रजातिको बिरुवा हो। प्राबिधिक शीक्षा पढेर एकीकृत आधुनिक तबरले कृषि पेसा अंगाल्ने सम्भवतः उनि देशकै पहिलो इन्जिनियर हुन। आफ्नो पुर्खौ देखि गर्दै आएको परम्परागत खेतिलाइ विस्तापित गरि आधुनिक तरिकाले ड्रागन फ्रुट रोपेका हुन्। उनको फर्ममा भिएतनामि प्रबिधि जडान गरि बेमौसिमी समयमा पनि ड्रागन फ्रुट फ़लाउदै आएका छन्। जसमा बिधुतको उपयोग गरि तापक्रम र चिस्यानलाइ नापजाच गरि आबश्यक प्रकास र सिचाई दिने काम गरिन्।

“वोर्क हार्ड भन्दा पनि स्मार्ट वोर्कलाइ मूल मन्त्रका साथ् अगि बढेका उनि अबका दिनमा ड्रागन फ्रुट संगसंगै एभोकाडो, बिषादी निउनिकण गरि उत्पादित हरियो तरकारी ,कुरिलो, बाख्रा ,लोकल कुखुरा, माछा, भैसीको दुध घीउ आदि उत्पादन गर्ने लक्ष्य लिएका छन्। सुरुका दिनमा आफ्नै कृषि उत्पादनलाई जोड दिएका महेशले जिल्ला बासीलाई फरक ढंगबाट सेवा पस्कनको लागि रैथाने रिसोर्ट समेत संचालन गर्ने मनसाय बनाएका उनले लागत बढेर डेढ करोड नाग्ने आकलन गरेका छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation