
१३ फागुन, रोल्पा
जीवनको यात्रामा विवाह केवल दुई व्यक्तिहरूको मिलन मात्र नभई विश्वास, सम्मान, स्नेह र आत्मीयताको सुन्दर बन्धन हो। यही आत्मीय भावनासहित श्री चन्द्र प्रभा माध्यमिक विद्यालय, मिझिङ, रोल्पा का पूर्व विद्यार्थी, निवर्तमान वडा सदस्य तथा वडा शिक्षा समितिका संयोजक श्रीमती तेज कुमारी विष्ट र रुकुम पूर्व, तकसेरा निवासी श्री सुमन बुढा मगर बीच सम्पन्न शुभ विवाह को पावन अवसरमा विद्यालयलाई रु. ५५५५।- आर्थिक सहयोग प्रदान गरिएको छ।
विद्यालयको विकास र विद्यार्थीहरूको शैक्षिक उन्नतिमा योगदान दिने उद्देश्यले नवविवाहित जोडीद्वारा प्रदान गरिएको उक्त सहयोगप्रति विद्यालय परिवारले हार्दिक आभार व्यक्त गरेको छ। विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.) का अध्यक्ष केशर कुमार बिष्टले “शिक्षा नै समाजको मेरुदण्ड हो भन्ने मूल्यमान्यता राख्दै विद्यालयलाई निरन्तर सहयोग गर्ने उहाँहरूको यो सदाशयता उदाहरणीय छ,” भन्दै शुभकामना एवम् धन्यवाद गर्नुभएको छ।
अध्यक्ष बिष्टका अनुसार यस्ता सहयोग तथा दानले विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुर्याउनुका साथै विद्यालयको भौतिक तथा शैक्षिक समृद्धिलाई थप मजबुत बनाउनेछ। उहाँले थप्नुभयो, “यस्ता क्रियाकलापहरूले शिक्षालाई प्राथमिकतामा राख्ने संस्कृतिको विकास गर्दै विद्यालयप्रति पूर्वविद्यार्थी तथा समाजका प्रतिष्ठित व्यक्तिहरूको निरन्तर सहयोगको भावना उजागर गर्छ।
विद्यालयले आगामी दिनहरूमा पनि यस्ता सहयोग र समर्थनले शैक्षिक स्तरलाई अझ उचाइमा पुर्याउने अपेक्षा राख्दै सम्पूर्ण सहयोगी हातहरूप्रति आभार व्यक्त गरेको छ।
















