प्राणमञ्च प्रकाशनका पाचौँ वर्ष र अबको हाम्रो संकल्प!

‘सोंच, नियत र चिन्तन बदलेर समाज रुपान्तरणको विगुल फुकौं देशैभर’, ‘परिवर्तन सम्भव छ तपाईँ हाम्रै पालामा स्वयंलाई रूपान्तरण गर्ने अभियानमा जुटौं आजैबाट।’ आमूल परिवर्तन र निष्पक्षताको वाहक यस प्राणमञ्च मासिकको विशेष प्रकाशकीयमा आदरणीय दिग्गज एवं प्रिय पाठक महानुभावहरुमा न्यानो अभिवादन । परिवर्तनको हुटहुटी बोकेका तमाम सचेत पाठकहरुको अथाह माया, स्नेह, सहयोग एवम् सहानुभूतिससितको सहयोगले हामी यस प्रकाशनको पाचौँ वर्ष पार गरी छैठौँ वर्षमा प्रवेश गरेको यो सुखद क्षण तपाईंहरुमाझ पस्कन पाउँदा निकै हर्षित छौं ।
अर्थराजनीतिक दिशानिर्देशको गडबडीका कारण मुलुक अँध्यारो गोलचच्करमा फसिरहेको छ । सामाजिक, आर्थिक र सांस्कृतिक रुपमा हाम्रा मनहरु विखण्डित जस्तै छन् । शासकहरु लुट र कमाउधन्दामा परिणत हुँदा देशले सुगौली सन्धिदेखि पछिल्लो एमसीसी परियोजनासम्म आउँदा दर्जनौं राष्ट्रघातका काला धब्बाहरु बोकेको तितो यथार्थ छ । दिनप्रतिदिन जनताहरू उत्पीडनका बहुआयामिक थिचोमिचोहरूबाट सिकार हुन विवश छन्। मिडिया र सामाजिक सञ्जालहरुमा राजनीतिक, सामाजिक, आर्थिक एवं सांस्कृतिक प्रतिशोधको जालो नराम्रोसँग मडारिएको छ । फेसबुक, युट्युब, ट्विटर, टिकटक, इन्स्टाग्राम लगायतमा वर्षा भइरहेको अश्लिल, असभ्य र झुट्ठा सामग्रीहरूको खचाखचले सीमा नाघेको छ र आम नागरिक सत्य, निष्पक्ष र वस्तुगत विषय के हो भन्ने सूचनाको वास्तविक अधिकारबाट वञ्चित हुनुपरेको छ ।
सूचना, विचार, मनोरञ्जन तथा विभिन्न ज्ञानविज्ञानबाट समाजलाई सुसूचित गर्दै नागरिकलाई सत्य, न्याय र अधिकार प्राप्तिको दिशामा अग्रसर गराउने हाम्रो पनि एक दायित्व सम्झेर विगत पाँच वर्षदेखि प्राणमञ्च मासिक (म्यागेजिन)२ प्रकाशन गरी कञ्चनपुरदेखि चितवनसम्मका हिमाल, पहाड र तराईका भूगोलहरुलाई मूलभूत रुपमा कभरेज गरेर देशभर यात्रारत छौँ । हाम्रो अक्षर यात्राको यो महत्वपूर्ण प्रयासमा साथ, सहयोग र हौसला दिने तपाईं सम्पूर्ण शुभचिन्तक, पाठकवर्ग, स्तम्भकार, विज्ञापनदाता र समालोचकहरुमा हामी हार्दिक कृतज्ञता ज्ञापन गर्दछौं ।
विप्लव नेतृत्वको नेकपालाई तत्कालीन सरकारले लगाएको प्रतिवन्धकालमा हामीले स्थापना गर्न खोजेको मिडियालाई प्रशासन र सम्बन्धित निकायले यसको मुना पलाउन नपाउँदै निमोठ्न खोजेको थियो । पत्रिका दर्ताको क्रममा हाम्रा सम्पादक र प्रकाशकका सबै कागजपत्र प्रचलित ऐन र कार्यविधि अनुसार हुँदा पनि कैयौं महिना झुलाइयो । सिडियो कार्यालयको अनावश्यक पूर्वाग्रही झेलेर दर्ता प्रक्रिया लिइसकेपश्चात पनि हामीले ठुलठुला चुनौतिको सामना गर्नुपर्याे । इजाजतपत्र लिएर प्रकाशन गर्न थालेको पहिलो अङ्कमै हाम्रा बजार प्रतिनिधि बालबहादुर घर्तीलाई प्युठानको बिजुवारबाट प्रहरीले बिनाकारण गिरफ्तार गरेर १८ दिनसम्म चरम यातनासहित गैरन्यायिक हिरासतमा राख्यो । सम्पादक र प्रकाशकहरुलाई पनि भागाभागको स्थिति बनाएर जुम्रीस्थित हाम्रो कार्यालयमा प्रहरी जत्थाले कथित अनुसन्धानको नाममा खानतलासी गरेर कैयौं महत्वपूर्ण कागजातसहित आठ दर्जन बढी किताबहरु गाडीमा कोचेर जिल्ला प्रहरी कार्यालय खलंगा पु¥यायो । यद्यपि त्यसको १ वर्षपछि हाम्रो प्रकाशनले बारम्बार खबरदारी गरेपछि अनाहकमा बरामद भएका सबै सामाग्री फिर्ता लिन सफल भयौँ । स्थापनाकालदेखि नै हामीलाई निमोठ्न खोजेको राज्य प्रशासनको त्यो ज्यादती विरुद्ध हामी निरन्तर डटेर लडिरह्यौ । मिडिया सम्बद्ध अधिकारीहरु बोलिरहे । अधिकार प्राप्तिको निम्ति लड्ने सबै न्यायिक जनसमुदायहरुले हामीलाई निरन्तर खबरदारी गर्दै सहयोग, समर्थन र हौसला दिइरहनुभयो ।
कठिन घेराबन्दीकाबीच २०७६ माघको अन्तिम साता दाङको गोग्लीस्थित एक अँध्यारो कोठाबाट पत्रिकाको सम्पूर्ण सम्पादन फाइनल गरी १२ पृष्ठबाट सुरु गरेको हाम्रो प्रकाशन त्यसको दुई वर्ष (२०७८÷माघ) पछि १२ पेजबाट बढेर ७२ पेजको म्यागेजिनमा रुपान्तरण गरी हालसम्म निरन्तर प्रकाशन गरिरहेका छौँ भने यस आर्थिक वर्षबाट हरेक अंकलाई १२ वटा विधामा विभक्त गरेर पर्यावरण, शिक्षा, स्वास्थ्य, समाज÷संस्कृति, कृषिमा आधारित रहेर सम्बन्धित विषयका विषय विज्ञहरुद्वारा बहस छलफल चलाउँदै आएका छौँ । हामीले प्रकाशन थालेको दोस्रो महिनाबाट सुरु भएको कोरोना कहर, त्यसपछि उत्पन्न आर्थिक संकट र मिडिया क्षेत्रमा दलीयकरण हावी हुँदा हामीले बेहोर्नुपरेका दलीय आग्रह र प्रशासनिक पूर्वाग्रहका कैयौं संकट र प्रतिशोधपूर्ण निषेधका किस्साहरू यहाँ वर्णन गरेर साध्य छैन । हरेक जिल्लामा रेडियो र पत्रिका धमाधम बन्द भइरहेको, अनलाइन खबरहरुको हालत उस्तै छ भने टेलिभिजनको भविष्य पनि संकटबाट गुज्रीरहेको तितो यथार्थ छ । यो कठिन संकटबीच अहिलेको सबैभन्दा जटिल तर संसारभर सबैभन्दा विश्वसनीय दस्तावेज मानिएको छापा पत्रकारीतामार्फत लोप भएको पठन संस्कृतिको विकास र सही ज्ञानको प्रवाह गर्ने र स्पष्ट विचारसहितको वौद्विक विमर्शलाई केन्द्रमा राखि प्रिन्ट संस्करणलाई अगाडि बढाइरहेका छौँ । चेतनाको जागरण पैदा गर्ने यो महान अभियानमा हाम्रा समस्त पाठकवर्ग, शुभचिन्तक, स्तम्भकार, विज्ञापनदाता र समालोचकहरूले जुन प्रकारको हौसला र सहयोग सहितको ढाडस दिएर आघात प्रेम एवं स्नेह प्रदान गर्नुभएको छ यसप्रति हामी सदा ऋणी नै छौँ । हाम्रो प्रकाशन विरुद्ध प्रशासनले गरेको नियोजित घेराबन्दीका पर्खालहरु तोडेर अनपेक्षित आरोह र अवरोहका श्रृङखलाहरु पार गर्दै हामी यहाँसम्म उभिन सफल भएका छौँ । म्यागेजिन प्रकाशनको छैठौं वर्षसम्म आइपुग्दा देशभरलाई कभर गर्नेगरी घोराहीमा मुख्य शाखा कार्यालय, दुईवटा प्रदेश कार्यालय र १० वटा शाखा कार्यालयहरू विस्तार गरेका छौं भने धेरै समालोचकहरु हामीसँग पाठकमा जोडिनुभएको छ ।
यसबीचमा हामीले छिनछिनका गतिविधिहरुको अपडेट र पलपलका खबरहरूलाई मध्यनजर गरी समाजमा सत्य र निष्पक्ष समाचार एवं न्यायिक विचार सम्प्रेक्षण गर्ने उद्देश्यले विगत ३ वर्षदेखि प्राणमञ्च डटकम (उचबलmबलअजब।अयm) नामक अनलाइन न्युज पोर्टल पनि सञ्चालन गरिराखेका छौं । सूचना प्रविधि र आम सञ्चार जगतमा भएको अभूतपूर्व विकास र यसको सही प्रयोगलाई हृदयङ्गम गरेर हामी सामाजिक सञ्जालका प्लेटफर्महरु फेसबुक (उचबलmबलअजब।अयm) पेज, टिकटक (उचबलmबलअजब।अयm) युट्युव, (उचबलmबलअजब) एक्स लगायतमा पनि हामी उपस्थित छौँ । उल्लेखित आइडिहरुमा हाम्रा समस्त पाठकहरु पनि जोडिन सक्नुहुने छ ।
सामाजिक सञ्जालमा अतिवादी महत्वकाङ्क्षा, झुटा प्रपञ्च, अश्लिल एवम् असभ्य काण्डहरु मच्चाएर गम्भीर मानवीय संवेदनशीलतामा डलरको खेती गरी कथित भाइरल बन्ने र बनाउने खतरनाक होडवाजीबाट जोगिएर अभाव, रोदन र चित्कारमा रहेका मानिसहरूको वास्तविक कथाहरुलाई उठाउँदै निराशाले भरिएका तमाम मनहरुमा आफ्नै देशमा असल कर्म गरे यही माटोमा सुदुर भविष्य सम्भव छ भन्ने आशा जगाउनु हाम्रो मुख्य उत्तरदायित्व हो ।
हाम्रो मिडियाका सम्पूर्ण प्लेटफर्महरुमा मुलुकको चौतर्फि समृद्धिका खासखास कथा व्यथा ओकल्दै समाजमा आमूल परिवर्तनको आशा विजारोपण गर्नु छ । मुक्त छौँ हामी मिथ्य कल्पना, अराजक होहल्ला र कथित भाइरल बन्ने विषाक्त रोगबाट । प्रेस स्वतन्त्रता विरुद्ध चाल्ने कदमहरूलाई हामी किन्चित स्वीकार्ने छैनौँ । सत्ता, कुर्सी र सम्पत्तिको मोहमा यो वा त्यो रुपमा देश र जनतामाथि राष्ट्रघातका श्रृङ्खलाहरू थोपर्ने हरेक शासकहरु विरुद्ध तथ्यपरक खबरदारी गर्दै मेचीदेखि कालीसम्म फैलाउनेछौँ एकता, स्वतन्त्रता, सद्भाव र भातृत्वको बहुरङ्गी माला । स्वीकार्य हुने छैन हामीलाई उत्पीडित, अल्पसंख्यक एवं सीमान्तकृतका अधिकारहरूलाई अन्यायको जाँतोमा पिसेर सत्तासिनहरूले रासलिला गरिरहेको । हामी जोड्ने छौँ, हिमालदेखि तराईसम्मका सचेत मनहरुलाई निष्पक्ष न्याय र सत्मार्गको सुनौलो अभियानमा ।

हामीलाई पनि उठाउन मन छ मुसहर र राउटे बस्तीका दर्दनाक कथा, तिनका कालजयी सभ्यता र संस्कृति । कलामा उन्नु छ कुसुण्डा एवम् कुमाल जातिका बहुमुल्य सिर्जना र सतहमा ल्याउनु छ तमाम् जातिका बहुरुपी सिर्जनाका अनगिन्ती बहारहरु। खोजिरहछौं हामीले सदियौँदेखि हेपिएका र अमानवीय व्यवहारको शिकार भएका यो देशका लाखौं दलित र उपेक्षितत वर्गका कथाहरु । शताब्दीयौंदेखिका उनका कलात्मक इन्जिनियरिङ भग्नावशेषहरू अझ धेरै उत्खनन गर्नुछ । त्यसैले अकारण भोग्नुपरेका अन्याय, थिचोमिचो र अत्याचारका श्रृङखलाहरु विरुद्ध आउनुस् सबैले खबरदारी गरौं । मिडियाको कलेवरमा मागिखाने भाँडोको रुपमा परिणत भएको पीत पत्रकारीताले अकुत सम्पत्ति आर्जनको प्रलोभनले सञ्चार जगत विषाक्त बनाएको छ । महिलाहरुलाई चुलोचौको र पारिवारिक बन्धनको कालकोठरीमा थुनेर बच्चा उत्पादनको साधन मात्र ठान्ने पितृसत्तात्मक सामन्ती चिन्तनको भण्डाफोर गर्दै आत्मसम्मान, न्याय, स्वतन्त्रतासहितका अधिकारबारे अझ धेरै बहस पैरवी गर्नु छ आधा आकाश ढाकेका साहसिक, त्यागी र अनुशासनका प्रतिमुर्ति निष्पक्ष नारिको । बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विविधताका अनगिन्ती सौन्दरर्यहरु पस्कनु छ दुनियाँमाझ । डाँफे र चौरी नाच्ने सौन्दर्यको खानी हिमाल, आत्मियताका परिचायक पहाड र अन्न भण्डारको रूपमा परिचित समतल फाँट तथा भित्री मधेश एवं तराईका विविध कथाहरू समेट्ने पनि हाम्रो संकल्प हो । प्राकृतिक, सामाजिक एवं सांस्कृतिक रूपमा भरिपूर्ण भएर पनि धर्म र संस्कृतिको बहानामा अन्धविश्वास र कुरीतिको जालोमा जकडीएको सुदूरपश्चिम, कर्णाली, तराई एवम् सिंगो देशभर विद्यमान विकृतिका आयामहरुबारे पनि हामी पर्खर ढंगले आवाज बुलन्द गर्ने नै छौं ।

जातीय अहंकारवाद र तुच्छ छोइछिटो एवं नश्लीय महत्वकांक्षाका चट्टानी पर्खालहरु तोड्नु छ । भत्काउनु छ धार्मिक एवम् सांस्कृतिक अन्धविश्वासका दुश्चक्रहरू र बसाउन सहयोग गर्नुपर्नेछ विभेद, शोषण, दमन, उत्पीडन र आन्तरिक एवं बाह्य हस्तक्षेपमुक्त स्वाधिन र समृद्ध नेपालको युगिन परिकल्पनाहरुलाई साकार पार्न । कुनै पनि बहानामा उत्तेजित, अराजक र गैरजिम्मेवार नागरिक बन्नु हुँदैन भन्ने कुरालाई हामीले राम्रोसँग हृदयङ्गम गरेका छौं । मुलुकको आमूल परिवर्तनको अभिलाषा बोकेर निरंकुश साशकहरु विरुद्धको संघर्षमा अग्रमोर्चामा खटिएका सम्पूर्ण वीर सहिदहरुले देखेका अग्रगामी सपनाहरुलाई पछ्याउँदै लम्कनुपर्ने छ सम्वद्ध सबै सरोकारवालाहरु हातमा हात र काँधमा काँध मिलाउँदै महासागरीय तहमा फिजिएर । तमाम अग्रजहरुले देखेका समृद्ध मुलुक निर्माणका सपनाहरु हृदयङ्गम गर्दै हामी पनि लम्किरहेछौँ आजीवन असल मिडिया कर्मको युद्ध मैदानमा । अविछिन्न रूपमा पछ्याउनु छ प्रचलित ऐन कानुनहरु। अक्षरस कार्यान्वयन गर्नुछ प्रेस काउन्सिल र सूचना विभागका कार्यविधि, प्रावधान र आचारसंहिताहरु। सुदुर भविष्यको परिकल्पना गरेर आफ्नै करेसाबारी र खेत खलानमा कोरिएको सैकडौं कृषकहरुका साहसिक कथाहरु हाम्रो प्रिन्ट तथा डिजिटल संस्करणमा पस्किरहेकै छौँ । आफ्नै घरको रुखो–भुखो खाएर सफलताको सिँढी चढेका असंख्य भुई मान्छेका कथाहरू अझै उत्खनन गर्नु छ । दुनियाँमाझ देखाउनु छ यही माटोमा व्यापार व्यवसाय र उद्योगधन्धा गरेर सफलताको शिखर चुमेका असंख्य मानिसहरूका जीवन्त कथाहरु ।
कुरिती, कुसंस्कार, कुशासन र भ्रष्टाचारजन्य बेथितिका चाङहरु कतै तपाईँ हाम्रै गाउँघरमा छिपेर बसेका त छैनन् ? निशंकोच हामीलाई खबर गर्नुहोस्, किनकि समाजलाई भ्रष्टाचार र तमामखाले समस्याहरुबाट मुक्त गर्दै सही ज्ञानको प्रवाह गरेर नागरिक खबरदरीसँगै असल नागरिकको दायित्व पुरा गर्ने जिम्मेवारी तपाईंको पनि हो । हामी संकल्प गरिरहेका छौं लुकेर बसेका सयौं प्रतिभाको उत्खनन गर्न । नेपालमा बसेर केही हुँदैन, यहाँ कुनै सम्भावना नै छैन र देशमा लुटेराहरुबाहेक कसैको भविष्य नै छैन भनेर धारे हात लगाउँदै एयरपोर्टमा लाइन लाग्ने दैनिक हजारौं युवाहरुलाई बुझाउनु छ, यो देशमै सुदुर भविष्य सम्भव छ यदि हामी साँचो अर्थमा उच्च नैतिकता र दृढ आत्मविश्वासका साथ कर्ममा जोडियौँ भने । हाम्रो माटोलाई माया गर्यौ भने र हामीले आफ्नो मातृभूमिलाई साँचो अर्थमा सेवा गर्ने संकल्प गर्याैँ भने असम्भव केही छैन ।
कला–साहित्य, संगीत र संस्कृतिका बहुआयामीक पक्षलाई ध्यान दिँदै दर्शन, शिक्षा, स्वास्थ्य, समाजशास्त्र, अर्थशास्त्र, भूगोल, इतिहास, विज्ञान लगायत सबै–सबै विषयमा हामी कोसिस गर्नेछौं यीनका बहुआयामिक हाँगाहरुबारेको विषेश खोतलखातल । म नै सबथोक हो भन्ने चरम व्यक्तिवाद हावी भएको वर्तमान पूँजीवादी विश्व बजारमा असल मानवीय काम गर्ने त्यस्ता समाजवादी राज्य र व्यक्तिहरु छन् भन्ने उदाहरणहरु पनि हामीले खोतल्नु छ । वस्तुवादी विश्व दृष्टिकोण अभावमा बिग्रिएका मगजहरुमा आशा, भरोसा र उत्साहको जागरण पनि पैदा गर्नुपर्ने हामीले आफ्नो ध्येय ठानेका छौँ । सफा सुन्दरताले भरिएको सुरक्षित पर्यावरण हाम्रा भावी पुस्ताहरूलाई छोड्नको खातीर बहस छेड्नु छ पृथ्वीलाई कसरी दिगो रुपमा सुरक्षित राख्ने भन्ने असल ज्ञानगुणका बहुआयामिक सवालहरुबारे । सरसफाई र मानव सभ्यताका गहनतम विषयवस्तु दिएर समाज रुपान्तरणको दिशामा महान व्यक्तित्वहरुले गरेका बलिदानीपूर्ण संघर्षका वीर गाथाहरु उजागर गर्नु छ । यस अर्थमा पर्यावरणको दिगो संरक्षण, मानवजातिको समग्र हित र दुर्जनका मानिसहरूको खास आवाज ओकल्दै राष्ट्रिय स्वाधीनता र जनजीविका सवालहरू विरुद्ध सलबलाउने बैरीहरूको चौतर्फी भण्डाफोर गर्ने हाम्रो मिडियाको अर्काे अभिलाषा हो ।
जीवन, जगत र श्रमको वास्तविक अर्थ पस्कदै आशा जगाउनु छ समाजमा सभ्य एवं सुसंस्कृत सभ्यताको । हामीलाई आशा छ, हाम्रो यो महत्त्वपूर्ण यात्रामा तपाईहरुले आजसम्म जसरी साथ दिनुभएको छ, आगामी दिनहरुमा त्यसैगरी साथ, सहयोग, हौसला दिँदै सकृय सहभागीता जनाउनुहुनेछ । व्यापार, कलासाहित्य, न्याय, अर्थराजनीति, पत्रकारिता, भन्सार, अस्पताल आदि सबैमा हावी सिन्डिकेटलाई तोड्ने शंकल्प गरेका यात्रीहरुलाई सघाउनु र सिन्डिकेटधारी पटमूर्खहरूको यो विषाक्त माखेसाङ्लो भत्काउने अभियानमा हामीले हर प्रकारको सहयोग गर्नुछ । हाम्रा समस्त दर्शक श्रोता एवं पाठकहरुले जसरी हाम्रो म्यागेजिन र अनलाइनलाई भरपुर माया र स्नेह दर्साउँदै सहयोग गर्नुभएको छ त्यसैगरी हामीले पस्कने खोजेको सामाजिक सञ्जाल pranmancha-प्राणमञ्च युट्युब च्यानललाई पनि भरपुर क्रिया प्रतिक्रिया सहितको साथ, सहयोग र हौसला प्रदान गर्नुहुनेछ भन्नेमा हामी विश्वस्त छौं । जय सञ्चार जगत, जय पत्रकारिता ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation