एक महिलाको शंकास्पद मृत्यु, आफन्तलाई खबरै नगरी रातारात दाहसंस्कार

सुनसरीको इटहरीमा घरेलु श्रमिकको रूपमा काम गर्ने महिलाको शंकास्पद मृत्यु भएको छ । आफन्तलाई खबर नै नगरी दाहसंस्कार गरेको पाइएपछि घटना शंकास्पद देखिएको हो । प्रहरीका अनुसार घटना गत ९ फागुनको हो ।

२१ वर्षीया चन्दा चौधरी इटहरी उपमहानगरपालिका–६, विकास चोकमा ६४ वर्षीय समयलाल गुप्ताले भाडामा लिएको घरमा काम गर्दै आइरहेकी थिइन् ।

गुप्ताका अनुसार उनी अचानक बिरामी परेपछि गत ९ फागुनमा चौधरीलाई इटहरीस्थित पञ्चकोशी हेल्थ सर्भिस लगिएको थियो । अवस्था गम्भीर देखिएपछि थप उपचारका लागि कोशी अस्पताल विराटनगर लगिए पनि उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

अस्पतालबाट शव बुझेर ल्याएका गुप्ताले आफन्तलाई खबर नै नगरी इटहरीस्थित बुढी खोला घाटमा लगेर दाहसंस्कार गरेका थिए । प्रहरीका अनुसार उनको दाहसंस्कार गर्न अन्य चार जनालाई मलामी पनि लगेका थिए ।

दाहसंस्कारको भोलिपल्ट मात्रै चन्दाकी दिदी रिताले बहिनीबारे सोधीखोजी गरेकी थिइन् । बहिनीको मृत्यु भएको खबर नै नगरेपछि प्रहरीमा जाहेरी दिएको उनले बताइन् ।

‘अरूले भनेपछि सोध्दा आफैं जलाएँ भन्ने कुरा आयो, हामीलाई गुप्ताले खबर नै गरेनन्,’ उनले भनिन् ,‘त्यसपछि प्रहरीलाई खबर गरेका हौं ।’

रिताका अनुसार श्रीमानसँग सम्बन्ध विच्छेद भएपछि चन्दा गुप्ताको घरमा काम गर्न बसेकी थिइन् । गुप्ताले पहिलेदेखि नै शारीरिक यातना पनि दिने गरेको आफन्तको आरोप छ ।

इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी लक्ष्मी भण्डारीका अनुसार जाहेरीपछि गुप्ता पक्राउ परेका छन् । महिलाको मृत्युपछि गुप्ताले आफन्त र प्रहरीलाई पनि खबर नगरेको उनले बताए ।

‘लास हेर्न पाइएन, पोस्टमार्टम पनि भएको छैन,’ उनले भने, ‘अस्पतालले जे खुलाउँछ, त्यही अनुसार अनुसन्धान अघि बढ्छ ।’

अ.ख.

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation