आज मुस्लिम धर्मावलम्बीले बकर इद मनाउँदै

मुस्लिम धर्मावलम्बीले शनिबार आफ्नो दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) मनाइँदै छन्।

इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ। मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन्। नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने गरिएको छ।

यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको घुइँचो लाग्छ। हिजरी संवत्अनुसार १४४० वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो।

यो पर्वका अवसरमा मक्का मदिना जानु शुभ मानिन्छ। मक्का मदिना जान गृह मन्त्रालयले आतेजाते विमान टिकटको व्यवस्था गरी हज यात्रा गराउने गरेको छ। यसका लागि गृह मन्त्रालयअन्तर्गत हज समितिको सचिवालय स्थापना गरिएको छ। मक्का मदिना जान नपाउने हजयात्रीसमेतले घर घरमै बकर ईद मनाउँछन्। यो पर्वको मुख्य उद्देश्य नै हज यात्रा हो। यस पर्वमा अल्लालाई खुशी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बलि) दिन्छन्।

कुर्बानीको मासु तीन भागमा बाँडेर वितरण गरिन्छ। एक भाग गरिब एवं विपन्न परिवारलाई, अर्को एक भाग आफ्ना इष्टमित्रलाई र तेस्रो भाग आफैँले खानुपर्ने मुस्लिम धार्मिक मान्यता छ। यसैअनुसार आज पहिलो दिनको बकर इद मनाइन्छ।

मुस्लिम धर्मावलम्बीले सोमबारसम्म तीन दिन यो पर्व मनाउने गर्छन्। यो पर्व मनाउने तीनै दिन कुर्बानी गर्नुपर्ने मुस्लिम धर्मावलम्बीको विधि रहेको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले जानकारी दिए।

बकर इदका अवसमार सरकारले शनिबर सार्वजनिक बिदा दिएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation