
१० असार, प्युठान
प्युठानको दुर्गम क्षेत्र गौमुखी गाउँपालिकाका विद्यार्थीहरूले वर्षौंदेखि भोग्दै आएको लामो पैदल यात्राको सकस अब केही हदसम्म कम हुने भएको छ। आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत गौमुखी गाउँपालिकाले गौमुखी गाउँपालिका- ५ ठुलाबेसीस्थित गौमुखी माध्यमिक विद्यालयमा ‘विद्यालय साझेदारी बस सेवा’ सञ्चालनका लागि २५ लाख रुपैयाँ विनियोजन गरेको छ।
गाउँपालिकाले गरेको यो निर्णयले ग्रामीण तथा दुर्गम बस्तीका सयौँ विद्यार्थीलाई राहत पुग्ने अपेक्षा गरिएको छ। हाल उक्त विद्यालयमा अध्ययनरत धेरै विद्यार्थीहरू दैनिक दुईदेखि तीन घण्टासम्म पैदल हिँडेर विद्यालय पुग्न बाध्य छन्। कतिपय विद्यार्थी बिहान सबेरै घरबाट निस्किएर साँझ अबेर घर फर्कने गरेका छन्।
वर्षायाममा खोल्सा, उकालो-ओरालो र जोखिमपूर्ण बाटो पार गर्दै विद्यालय पुग्नुपर्ने बाध्यताका कारण कतिपय विद्यार्थी नियमित रूपमा कक्षामा उपस्थित हुन नसक्ने अवस्था रहेको स्थानीय बताउँछन् । लामो दूरीका कारण विद्यार्थीमा शारीरिक थकान बढ्नुका साथै पठनपाठनमा समेत प्रतिकूल असर पर्ने गरेको छ। विशेषगरी साना बालबालिका, छात्रा तथा दुर्गम बस्तीका विद्यार्थीहरू बढी प्रभावित हुने गरेका छन्।
ग्रामीण भेगका विद्यार्थीहरूले झोलाभरि किताब बोकेर दैनिक कठिन यात्रा गर्नुपर्ने बाध्यता नेपालका धेरै सामुदायिक विद्यालयको साझा समस्या हो। यही समस्याका कारण कतिपय विद्यार्थी विद्यालय छाड्न बाध्य हुने, अभिभावकहरू निजी विद्यालयतर्फ आकर्षित हुने तथा सामुदायिक विद्यालयप्रतिको विश्वास कमजोर बन्दै जाने चिन्ता पनि बढ्दै गएको छ।
यही यथार्थलाई मध्यनजर गर्दै गौमुखी माध्यमिक विद्यालयले विद्यालय व्यवस्थापन समितिको निर्णयसहित ५० लाख रुपैयाँ लागतमा ‘विद्यालय साझेदारी बस सेवा’ सञ्चालन गर्ने प्रस्ताव गाउँपालिकासमक्ष पेश गरेको थियो। सोही प्रस्तावलाई सम्बोधन गर्दै गाउँपालिकाले पहिलो चरणमा २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको हो।
विद्यालयले अब थप २५ लाख रुपैयाँ जुटाउन भैलो कार्यक्रम सञ्चालन, पूर्वविद्यार्थी कोष स्थापना, विभिन्न साझेदार तथा गैरसरकारी संस्थासँग सहकार्य, विद्यालयको आन्तरिक स्रोत परिचालनलगायतका प्रयास अघि बढाउने जनाएको छ।
अङ्ग्रेजी माध्यमबाट पठनपाठन, प्राविधिक धार सञ्चालन तथा गुणस्तरीय शिक्षाको अभियानलाई अघि बढाइरहेको गौमुखी माध्यमिक विद्यालयले बस सेवा सञ्चालनपछि विद्यार्थीको नियमितता, सिकाइ उपलब्धि र विद्यालयप्रतिको आकर्षण बढ्ने विश्वास लिएको प्रधानाध्यापक माधवराज पाेख्रेलले बताएका छन् ।
गाउँपालिकाको यो पहललाई स्थानीयवासीले दुर्गम क्षेत्रका विद्यार्थीहरूको पीडा सम्बोधन गर्ने सकारात्मक कदमका रूपमा लिएकाे र आफूहरुले राखेकाे साे प्रस्ताव गाउँपालिकाले सम्बाेधन गरेकाेमा खुसी लागेकाे विदणयालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञामुराम न्याैपानेले जनाएका छन् । शिक्षा क्षेत्रमा देखिँदै आएको असमानता न्यूनीकरण गर्दै ‘हाम्रो विद्यालय, राम्रो विद्यालय’ अभियानलाई सार्थक बनाउन यस्ता योजनाहरू प्रभावकारी बन्ने अपेक्षा गरिएको ज्ञामुरामले बताएका हुन् ।
















