रुसद्वारा युक्रेनको खार्किभमा मिसाइल र ड्रोन आक्रमण

२४ जेठ, काठमाडौं

रुसले युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा मिसाइल र ड्रोन आक्रमण गरेको छ । आाक्रमणमा परी तीन जनाको मृत्यु हुनुका साथै दर्जनौं मानिस घाइते भएका छन् ।

शनिबार खार्किभलाई निसाना बनाउँदै रुसले मिसाइल र ड्रोनबाट कम्तिमा ४० विस्फोट गराएको त्यहाँका मेयर इगोर टेरेखोभलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यम सीएनएनले जनाएको छ ।

युक्रेनले एफपीभी ड्रोन प्रयोग गरेर क्रुज मिसाइल बोक्न सक्ने रुसका ४० वटा लडाकु विमानमा क्षति पुर्याएपछि मस्को आक्रामक बनेको छ । खार्किभका मेयर टेरेखोभले टेलिग्राममार्फत भनेका छन्, ‘नगरले युद्ध सुरु भएयताकै सबैभन्दा शक्तिशाली आक्रमण भोगिरहेको छ, शत्रुले मिसाइल, ड्रोन र गाइडेड बम प्रयोग गरेर सहरका विभिन्न क्षेत्रहरूमा एकैपटक आक्रमण गरिरहेको छ । यो निहत्था नागरिकमाथिको खुल्ला आतंक हो ।’

युक्रेनको आपतकालीन सेवाले जारी गरेको एक भिडियोमा ओस्नोभ्यान्स्की जिल्लामा रहेको बहुतले आवासीय भवनमा ठूलो आगलागी भएको देखिन्छ । उनले सो क्षेत्रमा दुई जनाको मृत्यु भएको पुष्टि गरेका छन् । उत्तरी जिल्ला किभ्स्कीको एउटा घरमा भएको आक्रमणमा अर्को एक जनाको मृत्यु भएको मेयर टेरेखोभले जानकारी दिए ।

रुसी आक्रमणमा ५० भन्दा बढी ड्रोन, ४ वटा गाइडेड बम र एउटा मिसाइल प्रयोग भएको युक्रेनी अधिकारीहरुले बताएका छन् । आक्रमणबाट खार्किभको एक प्रशासनिक भवन र संगीत विद्यालय क्षतिग्रस्त भएको छ ।

घटनामा डेढ महिनाको शिशु र १४ वर्षीया बालिका समेत घाइते भएका छन् । शुक्रबारयता मात्रै रुसी आक्रमणमा परी कम्तिमा ७ जना युक्रेनीको मृत्यु हुनुका साथै ४० बढी घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation