दंगीशरण गाउँपालिका-७ स्थित जनता माध्यमिक विद्यालय, बुटनियाँ, पछिल्लो केही वर्षमा सामुदायिक विद्यालयको सफल नमुनाको रूपमा चिनिएको छ। बालविकासदेखि कक्षा १० सम्म पढाइ हुने यो विद्यालयमा हाल साढे ४०० भन्दा बढी विद्यार्थी अध्ययन गर्छन्। उल्लेख्य कुरा त के भने विद्यालयमा कार्यरत सबै शिक्षक तथा कर्मचारीले आफ्ना छोराछोरी यही विद्यालयमा पढाउँदै आएका छन्।
यसले अभिभावकमा पनि विद्यालयप्रति गहिरो विश्वास जगाउन मद्दत पुगेको छ। विद्यालयका प्रधानाध्यापक क्रिमलाल थारुको नेतृत्वमा यो रूपान्तरण सम्भव भएको हो। शान्तिनगर गाउँपालिका-५ स्थित वैशाखमा रहेको हात्तीखाल प्राविमा विद्यालय सहयोगीको रूपमा मासिक एक हजार रुपैयाँमा सेवा शुरु गरेका थिए । त्यसै विद्यालयमा केही वर्ष निजी शिक्षकको रूपमा समेत काम गरे। शुरुमा २५ सय तलब थियो। पछि ८ हजार रुपैयाँ पुग्दा पनि तलब दिन नसक्ने अवस्था भएपछि पुनः विद्यालय सहयोगीको भूमिकामा फर्किनु पर्यो।
९ वर्षसम्म सो विद्यालयमा निरन्तर सेवा गरेपछि शिक्षा सेवा आयोगबाट नाम निकाली २०७६ सालमा जनता मावि बुटनियाँमा स्थायी शिक्षक नियुक्त भए । ‘मासिक २८ हजार तलब पाउँदा जीवनमै नसोचेको खुसी महशुस गरेँ’, भावुक हुँदै उनले सुनाए। २०७६ मा विद्यालयमा आउँदा जम्मा ५३ जना विद्यार्थी मात्र थिए, भवन जीर्ण थिए। तर हाल विद्यालयमा बालविकासदेखि कक्षा ६ सम्म नेपाली र सामाजिकबाहेक अन्य विषयअंग्रेजी माध्यमबाट पढाइ हुने गरेका छन्। शैक्षिक सुधारसँगै भौतिक पूर्वाधारको विकास पनि भएको छ। भवनहरू विस्तार भएका छन् र बालमैत्री कक्षाकोठाहरू तयार पारिएको छ। तर, अझै पनि प्रमुख चुनौती शिक्षकको अभाव हो।
एउटै कक्षामा ६० जनासम्म विद्यार्थी पढाउनुपर्ने बाध्यता छ। प्रधानाध्यापक थारुले गुनासो गरे, ’विद्यार्थी भएको विद्यालयमा शिक्षक नपठाइने, तर विद्यार्थी नहुने ठाउँमा शिक्षकहरू घाम तापिरहेका छन्। शिक्षा शाखा र गाउँपालिकाको ध्यान जान जरुरी छ।’ विद्यालयले कक्षा ११ र १२ सञ्चालन गर्ने योजना बनाएको भए पनि आवश्यक जनशक्ति नहुँदा सम्भव भएको छैन। विद्यालयसँग छुट्टै आयस्रोत छैन र अन्यत्र जग्गा पनि छैन। दुईवटा मात्र शौचालय हुँदा स्वच्छता व्यवस्थापनमा समस्या हुने गरेको छ। अन्य विद्यालय बिहान १० बजे शुरु हुने भए पनि जनता माविमा बिहान साढे ९ बजेबाटै पढाइ हुन्छ।
विद्यालयले कक्षा ८ र एसएलसी परीक्षामा गाउँपालिका भित्रकै उत्कृष्ट नतिजा ल्याउने सामुदायिक विद्यालयको रूपमा पहिचान बनाइसकेको छ। प्रधानाध्यापक थारु भन्छन्, ‘शिक्षकहरूले आफ्नै विद्यालयमा छोराछोरी पढाउनु भनेको विश्वासको प्रतिविम्ब हो।’ अहिले अधिकांश शिक्षक, कर्मचारी र विद्यालय व्यवस्थापन समिति सदस्यका छोराछोरी यही विद्यालयमा अध्ययनरत छन्। जनता मावि बुटनियाँ आज सामुदायिक विद्यालय पनि गुणस्तरीय, प्रतिस्पर्धी र प्रभावकारी हुन सक्छ भन्ने प्रेरणादायी उदाहरण बनेको छ।
विद्यालयका सबै शिक्षकले आफ्ना छोराछोरी पनि यहीँ भर्ना गरेका छन्, जसले अभिभावकको विश्वास जितेको छ। विद्यालयको शैक्षिक सुधारका लागि वार्षिक विदासमेत कटाएर कक्षा सञ्चालन हुने गरेको विद्यालयका पूर्वप्रधानाध्यापक प्रदीपकुमार देवकोटाले बताए। विद्यालयले भौतिक पक्षमा साथै शैक्षिक पक्षमा पनि फड्को मारेको उनले बताए।
उनका अनुसार विद्यालयमा रहेका पुराना संरचना अहिले सबै हटाइएको छ। उनले भने, ‘कुनै समय यस विद्यालयले अभिभावकको विश्वास जित्न नसक्दा विद्यार्थी संख्या निकै कम हुन्थ्यो। म यो विद्यालयमा आइसकेपछि र तत्कालीन वडाका जनप्रतिनिधिको साथ र सहयोगबाट विस्तारै विद्यालयको सुधार हुँदै गयो र अहिले यो अवस्थामा आएको हो।’ यस्तै, उनले ’यस विद्यालयलाई नमुना बनाउनु पर्छ’ भनेर नै सबै शिक्षक तथा कर्मचारी लागिपरेको समेत बताए।
१२ वर्षदेखि यो विद्यालयमा शिक्षिका रहेको पूजा चौधरीले पनि छोरालाई यहीँ पढाएको बताइन्। आफूहरूले यसरी आफ्ना छोराछोरी यो विद्यालयमा भर्ना गरेपछि अभिभावकले पनि विश्वास गर्न थालेको उनको भनाइ छ। उनले भनिन्, ‘मैले पैसा नभएर मेरा छोरालाई यो विद्यालयमा पढाएकी होइन। आफूले पढाउने विद्यालयमा आफैले विश्वास गर्नुपर्छ भनेर नै पढाएकी हुँ। अहिले छोरा कक्षा ८ मा पढ्दै छ, पढाइ पनि राम्रै रहेको छ।’ यस्तै, उनले आफूले आफ्ना छोरा आफैँले पढाउने ठाउँमा भर्ना गरेपछि छिमेकीले पनि यही विद्यालयमा भर्ना गरेको बताइन्।
यस्तै, सल्यान घर भई विगत ४ वर्षदेखि यहाँ पढाउँदै आएका शिक्षक थलराज केसीले पनि निजी विद्यालयसरहको गुणस्तरीय शिक्षाका कारण आफ्ना छोरालाई यहीँ भर्ना गरी पढाउँदै आएको बताए। उनले भने, ‘सल्यानमा पनि धेरै सरकारी तथा निजी विद्यालय छन्। तर, मैले आफू पढाउने विद्यालयमा आफ्ना छोराछोरी पढाउनु पर्छ भन्ने उद्देश्यले नै यहीँ विद्यालयमा भर्ना गरेको हुँ। एकातिर आफ्नो निगरानीमा हुने र अर्कोतर्फ अभिभावकले पनि विश्वास गर्न सक्छन्। सरकारी विद्यालय पनि निजीभन्दा कम हुँदैनन् भन्ने उदाहरण बनाउने हो।’
-था.ख.