
एक दिन…
तेह्र वर्षको बालकले प्रश्न गर्यो –
“आमा! भगवान कता छन्?
कसैले किन देख्दैन?
भूकम्पमा मान्छे किन मर्छन्?
बालकहरु किन भोकै सुत्छन्?”
आमाले कसेर अँगालिन्
तर आँखाबाट निस्क्यो अश्रु –
“छोरा, यस्ता कुरा नसोच,
पाप लाग्छ!”
बालक पुग्यो पञ्चरङ्गी लुगा लगाएका
महन्तको दरबारमा –
र सोध्यो:
“गुरुजी! तपाईंको शिवजीलाई
किन बलि चाहिन्छ?
कपाल फेरेर जटाजुट बनाएर
के बुद्धि आउँछ?”
महन्त रिसाए –
“छोरो, शंका गर्नु पाप हो।
वेदमा जे छ, त्यही सत्य हो।
गाईमा देवी बस्छिन्,
त्यसैले गोमूत्र अमृत हो!”
बालक हाँस्यो, र भन्यो –
“तर गाई त बाच्छा जन्माउँछे,
त्यो पनि गन्ध गर्छे –
यो अमृत भनेको वैज्ञानिक रूपमा के हो?”
महन्त क्रुद्ध भए, बोले –
“तँ त धर्मद्रोही छस्!”
फरमान जारी भयो –
“गाउँ निकाल!”
बालक पुग्यो मस्जिद –
जहाँ अजाँन गुञ्जिएको थियो।
उसले प्रश्न गर्यो:
“मुल्लाजी, किन महिलालाई
हिजाबमा लुकाइन्छ?
किन अरबी भाषामै प्रार्थना गर्नु पर्छ?”
मुल्लाले भन्यो –
“कुरान अल्लाहको कलाम हो –
सोध्नु हुँदैन!”
तर बालक चुप लागेन –
“अल्लाह त सर्वज्ञ भनिन्छ,
त्यो तिमीले नबुझ्ने?”
भीड चिच्यायो –
“ईमान बिग्रियो!”
फतवा आयो –
“यो केटो काफिर हो!”
बालक गयो चर्च –
जहाँ क्रस अगाडि मोमबत्ती बलेको थियो।
पादरीले सान्त्वना दिँदै भने –
“Jesus is love!”
बालकले सोध्यो –
“तर किन हजारौं वर्षसम्म
काला मानिसहरू गुलाम बनाए?
किन स्त्रीलाई सर्पको प्रलोभन भनियो?
किन समलिङ्गीहरूलाई शाप दिइन्छ?”
पादरी अत्तालिए –
“बाइबलमा त्यो लेखिएको छ।
सबै कुरा ईश्वरको इच्छा हो!”
बालकले सोध्यो –
“ईश्वर प्रेम हो भने
डर किन सिकाउँछ?”
चर्चको ढोका बन्द गरियो –
“यो केटोले शैतानको आवाज बोल्यो!”
ऊ पुग्यो पुस्तकालय, प्रयोगशाला र तारामण्डल।
ग्यालिलियो, हॉकिङ र फाइन्म्यानका पाना पल्टाउँदै
ऊ बुझ्दै गयो –
“गुरुत्वाकर्षणसँग कुनै ईश्वरको लठ्ठी छैन।
क्यान्सर प्रार्थनाले होइन, चिकित्सा विज्ञानले ठीक हुन्छ।
तारामण्डल धर्मग्रन्थअनुसार होइन, भौतिकशास्त्रअनुसार चल्छ।”
ऊ फेरि आफ्नी आमासँग फर्कियो –
र भन्यो –
“म अब कुनै पौराणिक डर होइन,
विवेकमा बाँच्न चाहन्छु।
म भूत होइन, भविष्य खोज्छु।
म चमत्कार होइन, चेतना खोज्छु।”
तर समाज तयार थिएन –
बालकलाई घोषित गरियो – “अशुद्ध आत्मा”,
“संस्कारहीन!”, “धर्महन्ता!”
जसले प्रश्न गर्छ,
ऊ शत्रु मानिन्छ यहाँ!
र अन्ततः
ऊ जलाइयो –
आस्थाको होलीमा,
परम्पराको राक्षसभोजमा!
तर त्यो बालक
सडकमा चिच्याउँदै गएको थियो –
“म मरेको होइन –
म त विवेकको पहिलो बिउ हुँ!”
“विवेकको बध” होइन,
“विवेकको पुनर्जन्म” हो
यो यात्रा –
जहाँ बालकले भगवानलाई होइन,
मानवतालाई रोज्छ।