उमामहेश्वरी माविको व्यवस्थापन समिति यथावत राख्न अदालतको आदेश

शिक्षक आपूर्तिको माग गर्दै शिक्षक–विद्यार्थी वडामा धाउँदै

२४ असार, प्युठान

उच्च अदालत तुलसीपुरले प्यूठान जिल्लाको स्वर्गद्वारी नगरपालिका–५ सारीस्थित उमामहेश्वरी माध्यमिक विद्यालयको व्यवस्थापन समिति हाललाई यथावत राख्ने निर्णय गर्दै अन्तरिम आदेश जारी गरेको छ ।

निवेदक गुरु प्रसाद अधिकारीद्वारा दायर गरिएको उत्प्रेषण/परमादेशसम्बन्धी रिट निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालतको संयुक्त इजलास — माननीय न्यायाधीश श्री सोमकान्त मैनाली र माननीय न्यायाधीश श्री अर्जुन प्रसाद कोइरालाको बेञ्चले — हाललाई अन्तरिम आदेश दिनुपर्ने अवस्था नरहेको ठहर गरेको हो ।

अदालतले आफ्नो आदेशमा विद्यालयको व्यवस्थापन समिति अझै क्रियाशील अवस्थामा रहेको देखिएको उल्लेख गर्दै, निवेदकले उठाएका विषयहरू अन्तिम सुनुवाइमा टुंगो लाग्ने भएकाले हाललाई समितिलाई यथावत् रूपमा कायम राख्नुपर्ने निर्णय गरेको छ । आदेशमा स्पष्ट रूपमा ‘कानूनबमोजिम गर्नु’ भनी निर्देशन दिइएको छ ।

सुनुवाइका क्रममा निवेदक पक्षबाट अधिवक्ता श्री लेखनाथ काफ्ले, विपक्षी टेकप्रसाद भण्डारीका तर्फबाट अधिवक्ता श्री मोहन प्रसाद धिताल, तथा स्वर्गद्वारी नगरपालिकाको तर्फबाट अधिवक्ता श्री कृष्ण प्रसाद आचार्यले बहस प्रस्तुत गरेका थिए ।

अदालतको आदेशले व्यवस्थापन समितिलाई अहिलेसम्मको स्थिति यथावत् राख्दै काम गर्न पाउने बाटो खुल्ला गरे पनि व्यवहारमा भने समस्या देखिएको छ । अदालतको आदेशलाई बेवास्ता गर्दै वडा अध्यक्ष गिरबहादुर घर्तीले समितिसँग समन्वय गर्न नमान्दा विद्यालयमा रिक्त रहेको शिक्षक दरबन्दीमा विज्ञापनसमेत हुन सकेको छैन ।

लगभग ६ महिनादेखि शिक्षकको दरबन्दी रिक्त रहँदा पठनपाठनमा गम्भीर असर परेको भन्दै शिक्षक र विद्यार्थीहरू सोमबार वडाअध्यक्ष कार्यालयमै पुगेर दबाब दिएका छन् । उनीहरूले विद्यालयको शैक्षिक गुणस्तरमा नकारात्मक प्रभाव पर्न थालेको भन्दै तत्काल रिक्त दरबन्दीमा विज्ञापन गरिनुपर्ने माग राखेका छन् ।

स्थानीय तहको उदासीनता र पदाधिकारीको अटेर प्रवृत्तिप्रति विद्यार्थी अभिभावक तथा नागरिक समाजले चासो व्यक्त गर्न थालेका छन् । अदालतको आदेश लागू गरेर शिक्षक अभावको समस्या तत्काल समाधान गर्नुपर्ने आवाज तीव्र बन्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation