एमालेको नेतृत्व लिनकै लागि राजनीतिमा फर्किएँ : विद्या भण्डारी

२७ असार, काठमाडौं 

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा आफ्नो पुनरागमन नेकपा एमालेको नेतृत्व लिनकै लागि भएको बताएकी छन्।

बिहीबार इमेज टेलिभिजनलाई अन्तर्वार्ता दिँदै भण्डारीले अहिले नै घोषणा गर्ने समय आइनसकेको तर आफू एमालेको अध्यक्ष बन्नकै लागि राजनीतिमा फर्किएको बताएकी हुन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफूले यो कुरा भनिसकेको र पार्टी सदस्यता लिइसकेको उनको भनाइ छ।

सक्रिय राजनीतिमा फर्केको घोषणा गरेपछि आम सञ्चार माध्यममा पहिलो पटक  पत्रकार जगदिश खरेललाई अन्तर्वार्ता दिने क्रममा पूर्वराष्ट्रपति भण्डारीलाई खरेलले एमालेमा फर्किनुको लक्ष्य अध्यक्ष बन्न हो भनेर प्रश्न गरेका थिए।

जबाफमा उनले भनिन्, ‘तपाईंले भनेको कुरामा सत्यता छ। ११ औं महाधिवेशन तोकिएको छैन। तर यो सार्वजनिक बहसको विषय भइसक्यो। मेरो कुरा त्यही लाइनतिरै जान्छ। समय आउनुपर्‍यो नि,’

दुई कार्यकाल राष्ट्रपति भइसकेको मान्छे राजनीतिमा फर्केर अब प्रधानमन्त्री बन्ने हो भन्ने खरेलको प्रश्नमा भण्डारीले आफू सबै विकल्पका लागि खुला रहेको बताएकी छन्।

पार्टी अध्यक्षमा ओली अझै दोहोरिने विश्वास आफूलाई नभएको बताउँदै उनले भनिन्, ‘उहाँ दुई कार्यकाल अध्यक्ष भइसक्नुभयो। मैले चिनेको केपी ओली अझै मै हुन्छु भन्ने खालको होइन। एउटै कक्षाको जाँच दोहोर्‍याएर दिन्नँ भन्ने मान्छे हो उहाँ। उहाँ अध्यक्षमा दोहोरिनु हुन्न भन्ने मेरो विश्वास छ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation