एमोलेमा ७० वर्षे उमेर हद र २ कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पारित

२ साउन, काठमाडौंं 

नेकपा एमालेले विधान संशोधनको प्रस्ताव पारित गरेको छ।

बिहीबार पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकले पार्टीभित्र ७० वर्षको उमेर हद र दुई कार्यकाल हटाउने प्रस्ताव गरेको हो।

पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले सचिवालय बैठकमा आसन्न विधान राष्ट्रिय महाधिवेशनमा विधान संशोधन प्रस्ताव पेस गरेर ७० वर्षको उमेर हद र दुई कार्यकाल हटाउन प्रस्ताव गर्ने निर्णय गरेको जानकारी दिए।   एमालेको केन्द्रीय कमिटी २५१ सदस्यीय रहने र पदाधिकारीको सङ्ख्या १५ जना रहने प्रस्ताव शुव्रmबार बस्ने पोलिटब्युरो बैठकमा पेस गर्ने निर्णय गरिएको छ।

बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको जिम्मेवारी, सरकारको नेतृत्व गरेको एक वर्षको समीक्षालगायत विषयमा छलफल भएको थियो।  भण्डारीको जिम्मेवारीको विषयमा छुट्टै बैठक बसेर त्यसबारे छलफल गरिने भएको छ। वर्तमान सरकारको एक वर्षको कार्यकाल सफल र प्रभावकारी रहेको निष्कर्ष बैठकले निकालेको उपमहासचिव ज्ञवालीले जानकारी दिए।  देशले सही दिशा लिएको र सरकारमा एमालेको नेतृत्व प्रभावकारी रहेको पनि बैठकको निष्कर्ष छ।

सुशासन र सेवा प्रवाहमा अझ ध्यान दिन सरकारको ध्यानाकर्षण गराएको छ। देशमा राजनीतिक स्थायित्वको आधार बलियो भएको, दुई पार्टीबिचको समझदारी नीतिगत र अरू निर्णयमा पनि बलियो बन्दै गएको, मुलुकको अर्थतन्त्रले बिस्तारै लय समात्न थालेको निष्कर्ष बैठकले निकालेको उपमहासचिव ज्ञवालीले जानकारी दिए।

एमालेले आगामी भदौ २०, २१ र २२ गते विधान महाधिवेशन गर्दै छ। त्यसको तयारीका लागि असार ११ गते नै बसेको सचिवालय बैठकले विधान महाधिवेशनमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रस्ताव, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शङ्कर पोखरेलले सङ्गठनात्मक प्रस्ताव पेस गर्ने जिम्मेवारी दिएको थियो। एमालेका सचिव योगेश भट्टराईले विधान महाधिवेशन भन्नेबित्तिकै विधान संशोधन, सङ्गठनात्मक प्रस्ताव, राजनीतिक प्रतिवेदन र पार्टीका सबै केन्द्रीय निकायको प्रतिवेदन जाने भएकाले यसमा विशेष छलफल हुने जानकारी दिए।

विधान महाधिवेशनले पास गरेको विधानकै आधारमा राष्ट्रिय महाधिवेशन हुने भएकाले केन्द्रीय कमिटी निर्माणका लागि प्रतिनिधि चयनबारे छलफल भएको उनले बताए।  यसले पार्टीको अध्यक्ष, पदाधिकारी चयनको मापदण्ड बनाउने भएकाले विधान महाधिवेशनको ठुलो महत्व रहेको उनको भनाइ छ।

बिहीबारको बैठकमा विधानको संशोधन प्रस्ताव उपाध्यक्ष विष्णु पौडेलले पेस गर्नुभएको र त्यसमा सचिवालय सदस्यले आफ्नो राय राखेका थिए। सोही आधारमा एमालेमा १९ बाट १५ जना पदाधिकारी बनाउने प्रस्ताव पोलिटब्युरो र केन्द्रीय कमिटीमा छलफलका लागि पठाउने निर्णय भएको छ। अहिले एमालेमा अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित १९ पदाधिकारी हुनुहुन्छ । संशोधित प्रस्तावमा १५ जना मात्रै पदाधिकारी बनाउन प्रस्ताव गरिएको छ।

कुन कुन पद हटाउनेबारे एमालेले सार्वजनिक गरेको छैन। २०७८ असोजमा भएको विधान महाधिवेशनले गरेको व्यवस्थामा महाधिवेशन उद्घाटन भएपछि दुई उपाध्यक्ष र दुई उपमहासचिव थपेर पदाधिकारी सङ्ख्या १९ पु¥याइएको थियो तर अहिले फेरि घटाउने गरी प्रस्ताव आएको हो । सचिवालय बैठक हुँदै आज हुने पोलिटब्युरो बैठक र साउन ५ गते हुने केन्द्रीय कमिटी बैठकमा यो विषयमा छलफल हुने छ।

अघिल्लो पटकको विधान महाधिवेशनले केन्द्रीय कमिटीको सङ्ख्या २२५ बाट बढाएर ३०१ सदस्यीय बनाएको थियो। अहिले सचिवालयले २५१ सदस्यीय केन्द्रीय कमिटीको प्रस्ताव गरेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation