नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणको विषय स्वत: निष्क्रिय भएको बताएको छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव शंकर पोखरेलले यस्तो बताएका हुन् । विधान अनुसार केन्द्रीय कमिटी बैठकले नै सदस्यता नवीकरणबारे निर्णय लिने भन्दै केन्द्रीय कमिटीले नै भण्डारी राजनीतिमा आउन आवश्यक नठानेकाले सदस्यताको विषयमा प्रवेश गर्नै नपर्ने उनले बताए ।
‘हामीले निष्कर्ष ( पूर्वराष्ट्रपति राजनीतिमा आउन नहुने) निकालेका छौं । हामीले यो निष्कर्ष निकालेपछि सदस्यताको विषय स्वत: निष्क्रिय भएको छ । सदस्यता नवीकरणको विषयलाई हामीले स्थगित गरेका छौं,’ पोखरेलले भने ।
एक वर्ष अघि नै नवीकरण भएको सदस्यताको विषय छलफलकै आधारमा सार्वजनिक नगरिएको पनि उनले बताए । तर, भण्डारी आफैंले यो विषय सार्वजनिक गरेपछि पार्टीले निर्णय लिएको पोखरेलको भनाइ थियो ।
‘स्वभाविक रुपमा उहाँले सदस्यता नवीकरणका लागि प्रतिवेदन पठाउनुभएको र शुल्क बुझाउनुभएको जानकारीमा आएकै छ । उहाँले सदस्यता नवीकरण गरिसकेपछि यो विषयलाई सार्वजनिक नगरौं, यो विषय विशेष विषय हो,’ पोखरेलले भने, ‘पार्टीका तर्फबाट यसलाई सार्वजनिक गर्न हुँदैन, छलफल गर्नुपर्छ । उपयुक्त समयमा पार्टीले छलफल गर्नुपर्छ भनेर सार्वजनिक नगरेको हो । पूर्वराष्ट्रपति स्वयं आफैंले सार्वजनिक गरेपछि पार्टीले केही भन्नुपर्थ्यो ।’
केन्द्रीय कमिटीले नै पूर्वराष्ट्रपति भण्डारीको फरक भूमिका आवश्यक ठानेको उनले बताए ।