`लुट´ को विरोधमा नेकपा (बहुमत)ले कब्जा गर्यो जग्गा

८ साउन, दाङ

नेकपा (बहुमत)ले सांग्रिला बैंकले लिलाममा गरेको चितवन सिमेन्ट उद्योगसम्बन्धी जग्गा र संरचनामा कब्जा गरेको जनाएको छ।

पार्टीका अनुसार दाङको तुलसीपुर उपमहानगरपालिका–१२, हेमन्तपुरस्थित सिमेन्ट उद्योगको जग्गा र नवलपरासीको सरावल गाउँपालिकामा रहेको चितवन सिमेन्टको संरचना कब्जा गरिएको हो। पार्टीका तर्फबाट दाङमा प्रेमप्रशान्त बोहोराले र नवलपरासीमा सन्देश सापकोटाले औपचारिक धारणा सार्वजनिक गर्दै लिलामीलाई ’बैंकद्वारा गरिएको शोषण र लुट’को संज्ञा दिएका छन्।

पार्टीका अनुसार कोरोना महामारी सुरु हुनु अघिको महिनामा चितवन सिमेन्टलाई सांग्रिला बैंकले ऋण दिएको थियो। त्यसपछि उद्योगले नयाँ उत्पादन विस्तार गर्ने क्रममा थप जग्गा खरिद गर्दै लगेको थियो। तर, कोभिड महामारीको चपेटामा परेपछि उद्योगले ऋण भुक्तानीका लागि समय माग्दै आएको थियो। उद्योगले पटक–पटक आग्रह गर्दा समेत बैंकले न म्याद थप ग¥यो, न वैकल्पिक समाधानको पहल गर्‍यो। बरु नियोजित ढंगले ब्याजदर वृद्धि गर्दै १८ प्रतिशतसम्म पुर्‍याई धितो लिलाममा लगिएको उद्योगको गुनासो छ।

पार्टीका अनुसार यस्तो कार्यले बैंकहरूको उद्देश्य नाफामात्र हो भन्ने कुरालाई पुष्टि गरेको छ। “कोभिडको संकटमा राज्य, जनताको साथ दिनुपर्ने बैंकहरू उल्टै लुटमा उत्रिएका छन्,“ प्रेमप्रशान्त बोहोराले भने। नेकपा (बहुमत) का अनुसार लिलामीको प्रक्रियामा सार्वजनिक सरोकारको बेवास्ता गरिएको छ र यसले मुलुकका उत्पादक उद्योगहरूलाई धराशायी पार्ने खेल भइरहेको छ। यसै सन्दर्भमा पार्टीले अब उक्त जग्गा र उद्योगको संरचना आफ्नै स्वामित्वमा लिएको दाबी गरेको छ।

पार्टीले बैंकको लिलामी कारबाहीलाई जनविरोधी र अन्यायपूर्ण ठहर गर्दै उक्त सम्पत्तिको कुनै पनि किसिमको कारोबार नगर्न आम जनसमुदाय र सरोकारवालाहरूमाझ अपिल गरेको छ। पार्टीको चेतावनी छ — यदि सांग्रिला बैंक वा अरू कुनै पक्षले उक्त जग्गा बेचबिखन गर्ने प्रयास गरेमा थप आन्दोलनात्मक कदम चालिने बताएकोछ ।

सांग्रिला बैंकका प्रमुख सञ्चालक तथा उद्योगपति राजेन्द्र गोल्छा, शंकर गोल्छा र उदय गोल्छाको नाम लिएर नेकपा (बहुमत) ले आरोप लगाउँदै उनीहरू देशको अर्थतन्त्रमा निजी स्वार्थका लागि लुट मच्चाउने गरेका छन् ।

प्रेम प्रसान्त बोहोराले भने, “गोल्छा समूह र बैंकहरू मिलेर उद्योगमाथि धावा बोलेको छ, अब यस्तो लुटको विरुद्ध पार्टी चुप लागेर बस्दैन। जनताको सम्पत्ति फिर्ता गराउनु हाम्रो प्रमुख एजेन्डा हो।”
पार्टीको धारणा अनुसार, उत्पादनशील उद्योगहरूलाई संरक्षण नगरीकन आर्थिक विकासको नारा खोक्रो हुन्छ। महामारीको समयमा बैंकहरूले खर्बौँ मुनाफा कमाइरहँदा उद्योगहरू ध्वस्त बनाइनु अन्याय हो र यसको विरोध गर्नु आफूहरूको राजनीतिक, सामाजिक र नैतिक जिम्मेवारी हो भन्ने पार्टीको भनाइ छ।
सन्देश सापकोटाले अन्त्यमा भने, “बैंकहरूबाट लुटिएका सम्पत्तिहरू जनताको पक्षमा फर्काउने हाम्रो सङ्घर्ष यहाँबाट सुरु भएको छ। अब देशव्यापी रूपमा यस्ता घटनाविरुद्ध अभियान चलाइने वताए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation