नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुलिङ अफ पिरियडसम्बन्धी छेडखानीमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई छानबिनको दायराभित्र ल्याउनुपर्ने माग गरेका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन्।
प्रचण्डले संघीय निजामती ऐनमा कुलिङ अफ पिरियडबारे भएको छेडखानी आफूले पहिला नै प्रधानमन्त्रीकै मिलेमतोमा भएको हुनसक्ने आशंका गरेकाे र अहिले राष्ट्रिय सभामा एमालेका सांसदहरूको क्रियाकलापले त्यसलाई पुष्टि गरेकाे बताए। उनले यसको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्री ओलीले लिनुपर्ने बताए।
यस्तो छ प्रचण्डकाे भनाइ:–
कुलिङ अफ पिरियड दुई वर्ष सर्वसम्मत भएको हो । सरकारको नेतृत्व गर्ने पार्टी पहिला त दुई वर्षे कुलिङ अफ पिरियडको पक्षमा भन्ने थियो ।
तर अहिले त्यो राख्न हुँदैन भनेर लास्टमा गएपछि चिज के रहेछ भन्नेकुरा बिरालोले अन्तिममा म्याउँ गरिछोड्यो भन्नेकुरा जस्तो एमालेले म्याउँ गरि नै हाल्यो । उसको नै रहेछ नियत, षड्यन्त्र । अब यसका निम्ति जिम्मेवारी प्रधानमन्त्री केपी ओलीले लिनुपर्छ ।
संसदीय छानबिन समितिलाई भनेको छु, शंकाको सुई त पहिला पनि प्रधानमन्त्रीतिर सोझिएकै थियो । तर ठोस रुपमा भन्ने आधार थिएन, अहिले एमालेका सांसदहरूले गरेको गतिविधि र संशोधनबाट यो एमाले पार्टी र त्यसको नेतृत्वको नियतकै कारणले भएको हो । छानबिनको दायरामा प्रधानमन्त्री स्वयं पनि पारिनुपर्छ हामीले भनेका छौँ । हाम्रा माननीय सदस्यहरूले सदनमा पनि उठाउनुभएको छ ।
अध्यक्ष प्रचण्डले अहिले जालझेल, ठगी, बेइमानी र भ्रष्टाचारको परिभाषा सरकार भएको आरोप पनि लगाए।