बागमतीका नवनियुक्त मन्त्रीहरुको शपथग्रहण आज

१५ साउन, काठमाडौं

बागमती प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीहरुको शपथग्रहण आज हुँदैछ । मुख्यमन्त्री बहादुरसिंह लामाले बुधबार नियुक्त गरेका मन्त्रीहरु गोविन्द लम्साल, गीता गुरुङ र माया श्रेष्ठलाई विहीबार (आज)दिउँसो शपथ ग्रहण गराउने कार्यक्रम छ ।

बागमती प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाका अनुसार नवनियुक्त मन्त्रीहरुको शपथग्रहण समारोह बिहीबार दिउँसो १ बजेका लागि तय भएको छ ।

नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचन कार्यक्रमका कारण नवनियुक्त मन्त्रीहरुको शपथग्रहण विहीबार मात्र हुन लागेको हो ।

संसदीय दलको निर्वाचनमा मुख्यमन्त्री लामा इन्द्रबहादुर बानियाँसँग पराजित भएका थिए । बानियाँले कांग्रेसका बहुमत प्रदेश सभा सदस्यहरु आफ्नो पक्षमा भएकाले लामालाई मुख्यमन्त्री पद त्याग्न दबाब दिँदै आएका छन् ।

तर लामाले संसदीय दलको नेताको हैसियत गुमाउँदैमा राजीनामा दिनु नपर्ने बताइरहेका छन् ।

लामा संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री बनेका हुन् । १६८ (१) अनुसार एउटा दलको बहुमत नपुगेर सरकार नबनेपछि १६८ (२) अनुसार उनी मुख्यमन्त्री बनेका हुन् । संविधानको धारा १६८ (२) मा ‘प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्ति गर्ने’ व्यवस्था छ । संविधानमा भएको यो व्यवस्थाअनुसार मुख्यमन्त्री बन्न पार्टीको संसदीय दलको नेता हुनु नपर्ने तर्क लामाको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation