सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार विश्वासको मत लिँदै छन्। उनले अपराह्न ५ बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची छ।
मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेको भन्दै नागरिक उन्मुक्ति पार्टीले असार २० गते समर्थन फिर्ता गरेको थियो। सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार विश्वासको मत लिन लग्नुभएको हो। मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन सत्ता साझेदार नेकपा एमालेले ह्वीप जारी गरेको छ। प्रमुख सचेतक सुरेन्द्र पालले सबै प्रदेश सभा सदस्यलाई अनिवार्य बैठकमा उपस्थित हुन भनिएको बताए।
कांग्रेसका सांसदहरुलाई पनि धनगढी नछाड्न र प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित हुन भई पक्षम मत हाल्न निर्देशन दिइएको प्रमुख सचेतक विक्रमसिंह धामीले जानकारी दिए। यता माओवादी केन्द्रका ११ सांसदले विपक्षमा मतदान गर्ने जनाएका छन् भने नागरिक उन्मुक्ति पार्टीका ७ सांसद पनि हाल प्रतिपक्षमै छन्।
प्रदेशमा एकीकृत समाजवादीका ४ जना, राप्रपा र स्वतन्त्र सांसद १-१ जना सांस्द छन्। ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा विश्वासको मतका लागि कम्तीमा २७ मत आवश्यक हुन्छ। कांग्रेसका १८ र एमालेका ११ सांसद जोड्दा बहुमत सजिलै पुग्छ। तर, शाह नेतृत्वको सरकारले दुई तिहाई भने गुमाउनेछ।