
१६ साउन, दाङ
घोराही उपमहानगरपालिका–१५ स्थित निर्मल क्लिननेस प्रालीको कार्यालयमा हिंजो साँझ ‘जल सरोकार संवाद’ कार्यक्रम सम्पन्न भएको छ । खानेपानी तथा सरसफाइ क्षेत्रका मुद्दाहरूलाई उजागर गर्न आयोजित उक्त कार्यक्रमको प्रमुख वक्ताको रूपमा खानेपानी तथा सरसफाइ कार्यालय, घोराही दाङका प्रमुख तिलक न्यौपानेको विशेष सहभागिता रहेको थियो ।
“जल संकट : अकर्मण्यताको दुष्चक्र” र “सजिलोको नाममा संकट : पानीप्रतिको हाम्रो लापरवाही” भन्ने शीर्ष विषयमा केन्द्रित संवाद कार्यक्रममा पानीको हक, स्रोत संरक्षण, शहरी विस्तारसँगै उत्पन्न समस्या, योजनाको कार्यान्वयनमा देखिएको कमजोरी र नागरिक बेपरवाहीका पक्षहरूलाई गहिरोसँग उठान गरिएको थियो ।
प्रमुख तिलक न्यौपानेले खानेपानी सम्बन्धी वर्तमान अवस्था, सरकारी योजना र बजेटको सदुपयोग तथा स्थानीय तहको भूमिका बारेमा विस्तृत रूपमा प्रकाश पारेका थिए । उनले जल स्रोतहरूको दिगोपनका लागि दीर्घकालीन रणनीति र जनसहभागितामूलक दृष्टिकोणको आवश्यकता रहेकोमा जोड दिए ।
कार्यक्रममा सहभागी विभिन्न संघ–संस्था, सामाजिक अभियन्ता, सञ्चारकर्मी तथा स्थानीय बासिन्दाहरूले खानेपानीको अधिकार, सेवा प्रवाहमा पारदर्शिता, स्रोतको शोषण नियन्त्रण तथा नीतिगत सुधारका सम्बन्धमा आफ्ना धारणा राखेका थिए । सहभागीहरूले स्थानीय सरकार र नागरिक दुवै पक्षको जिम्मेवारीबोधको खाँचो औंल्याएका थिए ।
कार्यक्रमले जल संकटको गहिरो प्रभावमाथि जनचेतना फैलाउने, नीतिनिर्माताहरूलाई जिम्मेवार बनाउने र समुदायमा बहसको वातावरण सिर्जना गर्ने उद्देश्य बोकेको थियो । कार्यक्रम विपिन आचार्यले सहजिकरण गरेका थिए भने प्रमोद धिताल, राजेन्द्र खरेल, ढकराज सुवेदी, घनश्याम अस्तित्व, अनिल पौडेल, गोविन्द खड्का, पदमप्रसाद लगायत डेढ दर्जन युवाहरू छलफलमा सहभागि भएका थिए ।