कुवेतमा विषाक्त मदिरा सेवनबाट ३५ नेपाली बिरामी : दूतावास

३० साउन, काठमाडौं

कुवेतमा विषाक्त मदिरा सेवनबाट करिब ३५ जना नेपाली अस्पतालमा भर्ना भएकोमा केही नेपालीको मृत्यु भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालमा भर्ना भएकामध्ये केहीको अवस्था गम्भीर रहेको र केही अवस्था सामान्य रहेको जनाएको छ ।

घटनाबारे जानकारी प्राप्त हुन साथ विभिन्न अस्पतालमा पुगेर नेपाली बिरामीहरूको अस्थाबारे जानकारी लिने काम भएको विज्ञप्तिमा उल्लेख छ ।

घटनाबारे सम्बन्धित अस्पताल र कुवेतको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूसँग निरन्तर सम्पर्क गरी अस्पतालमा उपचाररत बिरामीहरूको उपचारको व्यवस्था मिलाउन निरन्तर समन्वय गर्ने काम भइरहेको दूतावासले जनाएको छ ।

घटनाप्रति दुःख व्यक्त गर्दै दूतावासले स्वास्थ्यका लागि घातक र जोखिमपूर्ण खाद्य तथा पेय पदार्थ सेवनबाट टाढा रहन समेत अनुरोध गरेको छ ।

दूतावासले निकालेको विज्ञप्तिमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको यकिन संख्या उल्लेख छैन । तर विषाक्त मदिरा सेवनबाट कम्तीमा ९ जना नेपालीले ज्यान गुमाएको अस्पतालहरूलाई उदृत गर्दै दूतावासका एक अधिकारीले अनलाइनखबरले जानकारी दिएका थिए ।

दूतावासका श्रम सहचारी गिरीप्रसाद आचार्यले अनलाइनखबरलाई दिएको जानकारी अनुसार, अन्य विवरण संकलन हुँदैछ ।

मेडिकल रिपोर्ट नआउँदासम्म मृत्युको कारण यकिन गर्न नसकिने उनले बताए ।

‘तीन दिनको बीचमा ९ नेपालीको मृत्यु भएको छ । मेडिकल रिपोर्ट नआउँदासम्म विषाक्त मदिरा वा अन्य के कारण भन्न सकिने अवस्था छैन,’ उनले भने ।

कुवेतस्थित स्वास्थ्य मन्त्रालयले मेथानोल मदिराका कारण बिरामीहरू धमाधम अस्पताल भर्ना हुने क्रम बढेको उल्लेख गरेको छ ।

कुवेतको स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुने २३ जना एसियाली मुलुकका नागरिक हुन् ।

१ सय ६० जनाभन्दा बढी उपचारका क्रममा रहेको मन्त्रालयले जनाएको छ ।

कुवेतस्थित आदान, फर्वनिया र मुबारक अलकबी अस्पतालमा बिरामीहरूको उपचार भइरहेको छ

कुवेतमा मदिरा पूर्णरूपमा प्रतिबन्धित छ । तर, पनि लुकिछुपी हुने उत्पादन गरी अवैधानिक बेचबिखन भएको पाइएको हो । विषाक्त मदिराको स्रोत पत्ता लगाउन अनुसन्धान भइरहेको स्वास्थ मन्त्रालयले जानकारी दिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation