नारायण शर्माकाे आत्मकथा “जीवन प्रवाह” विमाेचित

५ असोज, घोराही

शताब्दी पुरुष, बरिस्ठ साहित्यकार, अग्रज पत्रकार एवम् राजनीतिक सामाजिक अभियन्ता नारायण प्रसाद शर्माकाे आत्मकथा जीवन प्रवाह ईक भव्य कार्यक्रमबीच विमाेचन गरिएको छ । साे पुस्तक विमाेचन समाराेहमा बाल्दै परराष्ट्रबिद्, पूर्वमन्त्री तथा पूर्व राजदूत  हिरण्यलाल श्रेष्ठले साहित्यकार तथा वरिष्ठ पत्रकार नारायणप्रसाद शर्माको आत्मकथा ‘जीवन प्रवाह’ दाङ जागरणको इतिहासको रुपमा आएको बताएका छन् ।

विएन पुस्तक संसारले शनिबार घोराहीमा आयोजना गरेको आत्मकथा जीवन प्रवाहको विमोचन कार्यक्रममा बोल्दै श्रेष्ठले जीवन प्रवाह केवल नारायणप्रसाद शर्माको आत्मकथामात्रै नभएको चर्चा गरे । ‘नारायण गुरुको व्यक्तित्व एउटा शिक्षकका रुपमा, एउटा राजनीतिज्ञको रुपमा, एउटा सामाजिक कार्यकर्ताको रुपमा, एउटा साहित्यकारका रुपमा र एउटा पत्रकारका रुपमा स्थापित छ’– श्रेष्ठले भने– ‘यो जीवन प्रवाह केवल नारायण गुरुको आत्मकथामात्रै होइन, यो सिंगो दाङको जागरणको इतिहास पनि हो ।’

२०१४ सालमा आफू दाङ आउँदाको अवस्था र अहिलेको अवस्थामा अकल्पनीय परिवर्तन देखिएको भन्दै उनले दाङको शैक्षिक, सामाजिक, राजनीतिक, साहित्य र पत्रकारिताको विकासलाई यहाँसम्म ल्याइपुर्‍याउन नारायण गुरुको योगदान रहेको उनको भनाइ थियो । उहाँ यी सबै क्षेत्रका अगुवा पात्रका हिसावले भूमिका खेलेकाले पनि उहाँको आत्मकथा दाङकै जागरणको इतिहासका रुपमा स्थापित भएको बताए । उमेरका हिसावले ढल्किए पनि नारायण गुरु भावना र स्पिरिटका हिसाबले ‘जेन–जी’ पुस्ताकै रहेको उनको भनाई थियो ।

कार्यक्रमका प्रमुख अतिथि एवं विपश्यना प्रशिक्षक दोर्जी छिरिङ शेर्पाले नारायण गुरुलाई शान्तिकर्मी व्यक्तित्वको रुपमा आफूले बुझेको बताए । ५/७ वर्ष यता उहाँसँग सँगसँगै रहेको उल्लेख गर्दै शेर्पाले बुद्धको शान्तिको सन्देशलाई आत्मसात गर्दै विश्वशान्ति स्थापनाका लागि निरन्तर लाग्ने व्यक्तिका रुपमा आफूले चिनेको बताए । आफूलगायत नयाँ पुस्ताले नारायण गुरुका सामाजिक, राजनीतिकरुपमा चिनाउने काम जीवन प्रवाहले गर्ने उनको भनाइ थियो । विपश्यनाले हरेकमा शान्ति स्थापना गर्ने काम गरिरहेको भन्दै उनले देशलाई शान्ति क्षेत्र घोषणा गर्न सके नारायण गुरुको सपना पूरा हुने बताए ।

सो अवसरमा बोल्दै नेपाल संस्कृत विश्वविद्यालय सांस्कृतिक अध्ययन केन्द्रका कार्यकारी निर्देशक तथा पुस्तक सम्पादक डा. टीकाराम उदासीले नारायण गुरु एउटा सार्थक जीवन जिउने व्यक्तित्व भन्दै उहाँको आत्मकथा प्रकाशन गरेर इतिहास जोगाउने प्रयास गरिएको बताए । ‘साहित्य, पत्रकारिता, शिक्षण र राजनीतिमा समेत योगदान पुर्‍याउने काम नारायण गुरुले गर्नुभयो, तत्कालीन कठिन परिस्थितिमा पनि जनतामा जागरण ल्याउने काम गरेर एउटा सार्थक जीवन बाँच्नुभयो’– डा. उदासीले भने– ‘दाङको साहित्य, राजनीति तथा पत्रकारिताको बारेमा अध्ययन, अनुसन्धान गर्ने नयाँ पुस्ताहरुका लागि जीवन प्रवाह महत्वपूर्ण हुनेछ ।’ तत्कालीन पञ्चायतीकाल, अशिक्षा र अभावका बेला पनि जेलनेल सहेर नारायण गुरुले गर्नुभएको संघर्षले नयाँ पुस्तालाई पे्ररणा प्रदान गर्ने डा. उदासीको भनाइ थियो ।

नारायणप्रसाद शर्माका सहपाठी पूर्वमाननीय एकराज शर्माले सबैलाई सहभाव राखेर काम गर्ने बानीकै कारण नारायणप्रसाद शर्मा सबैका गुरुको रुपमा स्थापित भएको बताए ।

‘शिक्षा दिने थुप्रै हुँदाहुँदै पनि सबैका गुरुको रुपमा स्थापित हुने सौभाग्य मिल्यो’– शर्माले भन्नुभयो– ‘नारायण गुरुले पनि सबैलाई सम्मान गर्ने र समभाव राखेकैले त्यो सम्मान मिलेको हो ।’ एकराज शर्माको अध्यक्षतामा भएको पुस्तक विमोचन कार्यक्रममा बोल्दै वक्ताहरुले दाङको सामाजिक र राजनीतिक अवस्था र वुद्धका शान्तिका सन्देश र यसले मानवमा पार्ने सकारात्मक प्रभावबारे पुस्तकले उजागर गरेको बताए । कार्यक्रममा राप्ती साहित्य परिषदका अध्यक्ष कमलमणि देवकोटा, नागरिक समाज दाङका संयोजक नीमबहादुर थापा, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, लेखक तथा पत्रकार नारायणप्रसाद पौडेलले शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रममा बोल्दै नारायणप्रसाद शर्माले जीवन प्रवाहले तत्कालीन परिस्थितिबारे बोलेको बताए । साथै उनले बुद्धबाट प्रेरणा लिएर हरेक ठाउँ र परिस्थितिलाई कसरी शान्ति क्षेत्रको रुपमा स्थापित गर्ने भन्नेबारे पनि पुस्तकमा उल्लेख गरिएको बताए साथै आफू बुद्धको दर्शन र चिन्तनबाट निकै प्रभावित भएको र बुद्धले हरेक मानवलाई चोखो कामाइले बाच्न सिक भनेको कुरा आजको समाजको लागि पनि निकै अनुकरणीय रहेको बताए । छलकपट, ठगी, दलाली, भर्ष्ट्चारलेनै देश बिग्रेको उनको पुस्तकको निष्कर्ष छ ।

विभिन्न १७ वटा आलेख रहेको पुस्तकको प्रकाशन विएन पुस्तक संसारले गरेको छ । नयाँ युगबोध दैनिकका सम्पादक लक्ष्मी आचार्यको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन प्रकाशन गृहका सूर्य विसीले गरे थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation