
नेपालले युनिटी कपको उपाधि एक खेल अगावै जितेको छ।
यूएईको शारजाहमा भएको दोस्रो खेलमा वेस्ट इन्डिजलाई ९० रनले हराउँदै नेपालले एक खेल अगावै ऐतिहासिक सिरिज जितेको छ।
यो नेपालको टेस्ट टोलीविरुद्ध पहिलो टी–२० आई सिरिज उपाधि समेत हो। जितका लागि १ सय ७४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज १७ दशलमव १ ओभरमा ८३ रनमा अल आउट भयो।
वेस्ट इन्डिजका जेसन होल्डरले १५ बलमा २ छक्कासहित सर्वाधिक २१ रन बनाए। नेपालले पावरप्लेमा १६ रन खर्चेर २ विकेट लिएपछि वेस्ट इन्डिजलाई नेपालले निरन्तर दबाबमा राख्न सफल भयो।
नेपाली बलरसामु वेस्ट इन्डिजका कुनैपनि ब्याटरले क्रिजमा टिकेर रन बनाउन सकेनन्। ओपनर जेवल एन्ड्रयु २, कायल मेयर्स ६, केसी कार्टी १, एकिम अगष्ट १७, अमिर जांगो १६ रनमा आउट भए।
नेपालको जितमा आदिल आलमले ४ ओभरमा २४ रन खर्चेर ४ विकेट लिए। नियमित बलर नन्दन यादव घाइते भएपछि नेपालले आदिललाई दोस्रो खेलमा मौका दिएको थियो।
प्रतिबन्धपछि पूनरागमन पहिलो खेलमै आदिलले उत्कृष्ट बलिङ गरेका हुन्। कुशल भुर्तेलले १ मेडनसहित १६ रन खर्चेर ३ विकेट लिए। ललित राजवंशी, करण केसी र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिए।
त्यसअघि शारजाह क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७३ रन बनाएको थियो।
नेपालको जितमा ओपनर आसिफ शेख ४७ बलमा ८ चौका र २ छक्कासहित ६८ रनमा नट आउट रहे। सन्दीप जोराले ३९ बलमा ३ चौका र ५ छक्कासहित ६३ रनको विष्फोटक पारी खेले।
चौथो विकेटलाई सन्दीप र आसिफले एक सय रनको शतकीय साझेदारी गर्दै जितको आधार तय गरेका थिए।
स्पिनर अकिल हुसेनले कुशल भुर्तेललाई २ रनमा एलबिडब्लू आउट र कप्तान रोहितलाई ३ रनमा बोल्ड आउट गर्दै दबाबमा राखेका थिए। तीन दशमलव ३ ओभरमा नेपालले १४ रन बनाएर दुई विकेट गुमाएको थियो। त्यसपछि कुशल मल्ल ७ रनमा रन आउट भए।
आदिल अन्सारी ५ बलमा १ चौका र १ छक्कासहित ११ तथा गुल्शन झाले ६ रन बनाए। वेस्ट इन्डिजका अकिल हुसेन र कायल मेयर्सले समान २ विकेट लिए।
युनिटी कपको पहिलो खेलमा नेपालले वेष्ट इण्डिजलाई १९ रनले हराएको थियो। अन्तिम खेल आज राति हुनेछ।