टी-२० विश्वकप छनोटको सुपर सिक्समा यस्तो छ नेपालको खेलतालिका

२५ असोज, काठमाडौं

ओमानमा जारी आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्स समीकरण पूरा भएको छ ।

शुक्रबार राति समूह चरणको अन्तिम खेलमा ओमानले पीएनजीलाई हराएसँगै सुपर सिक्समा पुग्ने सबै टोलीको टुंगो लागेको हो ।

समूह चरणबाट आयोजक ओमानसँगै नेपाल र यूएई अपराजित रहँदै अघि बढेका छन् भने सामोआ, जापान र कतार एक जितका साथ अगाडि बढे ।

समूह १ मा शीर्षस्थानमा रहेको यूएई २ अंकका साथ सुपर सिक्समा प्रवेश गर्दा नेपाल समूह २ को विजेताका रूपमा २ अंक लिएर सुपर सिक्समा पुगेको छ । समूह ३ बाट ओमान विजेताका रूपमा ३ अंक लिएर अघि बढेको छ ।

समूह चरणमा खेलिसकेका टोलीहरू अब एकआपसमा खेल्नु पर्ने छैन । समूह चरणमा आफुले पराजित गरेको टोली पनि अगाडि बढे उक्त जितको २ अंक सुपर सिक्समा जोडिने प्रावधान छ ।

हाल सुपर सिक्सको अंकतालिकामा ओमान, नेपाल र यूएईको १ खेलमा २ अंक भइसकेको छ । नेट रनरेटका आधारमा ओमान पहिलो, नेपाल दोस्रो र यूएई तेस्रो स्थानमा छन् । कतार चौथो, जापान पाँचौं र सामोआ छैटौंमा छन् ।

यस्तो छ नेपालको खेलतालिका

नेपालले सुपर सिक्सको पहिलो खेलमै चिरपरिचित प्रतिद्वन्द्वी यूएईसँग खेल्ने पक्का भइसकेको छ । नेपाल र यूएईबीचको खेल आइतबार अपराह्न सवा ४ बजे सुरु हुनेछ ।

त्यस्तै नेपालले सोमबार कतार, बुधबार सामोआ र बिहीबार ओमानसँग खेल्नेछ । नेपालले ४ मध्ये ३ खेल जितेमा शीर्ष ३ मा पर्दै विश्वकपमा छनोट हुनेछ । २ जित मात्र निकालेमा रनरेटले छिनोफानो हुन सक्छ ।

नेपालले आइतबार यूएईलाई पराजित गर्न सकेमा बलियो सुरुवात हुनेछ । यूएई र नेपाल दुवै पछिल्लो समय राम्रो लयमा छन् र टेस्ट राष्ट्रलाई हराइसकेका छन् । त्यसकारण दुई टोलीबीचको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गर्न सकिन्छ ।

नेपाल भर्सेस् यूएई – २६ असोज (४:१५ बजे)

नेपाल भर्सेस् कतार – २७ असोज (८:४५ बजे)

नेपाल भर्सेस् सामोआ – २९ असोज (८:४५ बजे)

नेपाल भर्सेस् ओमान – ३० असोज (४:१५ बजे)

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation