आगलागीमा सर्वश्व गुमाउनेलाई पुनःस्थापनकाे ग्यारेन्टी गर- प्राणमञ्च सम्पादकीय

 

शनिबार राति प्युठानको ऐरावती गाउँपालिका १ छेडाघाटको बस्तीमा भीषण आगलागी भयाे । दिनभरकाे थकान मेट्न मस्त निद्रामा सुतेका स्थानीयका बासमा विश्मयकारी आगाेकाे लप्का दन्किएपछि उनीहरुकाे हाेस् हवास उठ्याे । रातभर आफ्नै बस्ती, पशुचाैपाया, नगद रुपैयाँ, घरभित्र रहेका सम्पूर्ण लत्ताकपडा र भाडाबर्तन जलेर भष्म भइरहेकाे आहतपूर्ण स्थितिले मनमा पनि सल्किएकाे कारूणीक जलनबीच विभिन्न उपायहरु अपनाएर आगाे मार्ने प्रयत्न गरे । तर हावाहुरीबीच बस्तिमा दन्किरहेकाे आगाे निभाउने र नगद, जिन्सी र खाद्यान्न जाेगाउन उनीहरुकाे कुनै सीप लागेन । समयक्रमसँगै सिंगाे गाउँ आगाे नियन्त्रण गर्न जुट्याे तर पनि प्रभावकारी राेकथाम गर्न सकिएन । सुरक्षा अंग तथा अन्य गाउँका सबै स्थानीय यथासमयमै जुट्न सकेनन् । स्याउलाले हम्किने र माटाे फालेर आगाे नियन्त्रणका प्रयास गर्ने प्रविधिकाे बानी परेकाे हाम्रो देशमा दमकल लगायतका अन्य अग्नि नियन्त्रणका आधुनिक उपकरण हुने कुरै भएन । त्याे पनि विकट पहाडकाे निर्जन गाउँमा अनावश्यक परिकल्पना गरेर पाे के गर्नु ?

सिंगाे देशका महत्त्वपूर्ण सम्पदाहरु जलेर भष्म हुँदा बहुसंख्यक नेपाली खुच्चिङ गरेकाे हाम्रै समाज हाे । निमुखाजनहरुकाे सर्वश्व लुट्ने दुश्मन बनेर मध्यरातमा सल्किएको आगोले साे बस्तीबासीकाे २ लाख ७१ हजार ५ सय नगद, आधा तोला सुन जलेर नष्ट भएको छ भने आगलागीबाट ९३ वटा बाख्रा, ४ कुखरा, एउटा सुंगुर र ७ गोरु जलेर खरानी बने ।

निमुखाहरुकाे सामान्य जिजिभिषाकाे सपनालाई निमाेठेर चक्नाचुर पार्नेगरी शनिबार बस्तीमा रातभर भएको भीषण आगलागीबाट १३ घरपरिवार पूर्ण रूपमा विस्थापित भएका छन् । मध्यरातिकाे १२ बज्नै लाग्दा स्थानीय लक्ष्मण रानाको फुसले छाएको गोठबाट सुरु भएको आगो केही घण्टामै सिङ्गो बस्तीमा फैलिँदा १ कराेड बढीको भौतिक क्षतिको अनुमान प्रहरीले गरेकाे छ ।

पूर्व क्षितिज फाटेकाे दुई घण्टापछि आगलागीलाई नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा बिहान ७ बजे मात्रै नियन्त्रणमा लिन सकिएकाे जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक हरि भट्टराईले सार्वजनिक गरे ।

के कति भयाे त क्षति ? हेराैं क्षतिको विवरण

स्थानीय देवानसिंह राना, लक्ष्मि राना र विकाश रानाका गोठहरु पुर्णरुपमा जलेर नष्ट भए भने ईश्वरी रानाको कच्चि घर पनि पूर्णरुपमा जलेर नष्ट भयाे । उनकाे लत्ताकपडा, खाद्यान्नसहित ३ गोरु, १५ बाख्राको मृत्यु भयाे भने रमेश घर्तीको १ घर, १ गोठ पुर्ण रुपमा खरानी बन्दा ६ बाख्रा पनि जलेर मरे । उनकाे पनि भाडावर्तन, लत्ताकपडा, आधा तोला सुन र नगद पचास हजार पनि खरानी भएको प्रहरी रिपोर्ट छ । त्यस्तै ओमबहादुर रेश्मी मगरको १ घर र २ गोठ पुर्णरुपमा नष्ट भयो भने ३३ बाख्रा जलेर मरे । उनका पनि भाडावर्तन, खद्यान्न, लत्ताकपडासहित नगद ७१,५०० (र (एकहत्तर हजार पाचँ सय) जलेर नष्ट भएको छ ।

त्यस्तै भुपाल रोकाको घरगाेठ जल्दा १८ बाखा जलेर प्राण त्यागे भने घरकाे सम्पूर्ण सरसामानसहित नगद रु. २,००,०००( दुई लाख) र आधातोला सुनसमेत जलेर खरानी भयाे । त्यस्तै गुमा रजालिको घरगोठसहित १ बङ्गुर, बलबहादुर रजाली र झबिन्द्र रजालीको घरगोठ जलेर नष्ट भएको छ । घनबहादुर रानाको घरगोठ, १५ बाख्रा २ गोरु र ४ कुखुरा, देवब. रजालीको १ गोठ, १५ वटा बाखा मरेका छन् । त्यस्तै डिला रजालीको गोठ जल्दा १ बाख्रा घाईते भयाे भने दुई गोरुकाे आगाेमा परेर मृत्य भएको प्रहरीको रिपार्ट छ ।

यसरी हेर्दा मानवीय संकटकाे रुपमा आइपरेकाे याे प्राकृतिक विपत्तिले साे गाउँमा १३ परिवार बिचल्लीमा परेका छन् । उनीहरलाई बसोबास, खाद्यान्न र लत्ताकपडाको चरम अभाव देखिएको छ । स्थानीयहरुकाे उठेकाे थातबाससँग जलिरहेकाे मनलाई शान्ति दिनका लागि स्थानीय तह, प्रदेश र संघीय सरकार तथा सरोकारवाला निकायले तत्काल राहत र पुनःस्थापनाकाे खातिर युद्धस्तरकाे पहल गर्न आवश्यक छ। छेडाघाट बस्तीको यो आगलागीले हाम्रा ग्रामीण क्षेत्रमा रहेको जोखिमपूर्ण बस्ती संरचना र राज्यकाे विपद् व्यवस्थापनको कमजोरी फेरि एकपटक उजागर गरेको छ। पीडित परिवारको तत्काल राहत र दीर्घकालीन पुनःस्थापनामा राज्यको प्रभावकारी हस्तक्षेप अपरिहार्य देखिन्छ । पीडितलाई सुरक्षित आवास, खाद्यान्न, लत्ताकपडा, स्वास्थ्य सेवा, क्षतिपूर्तिकाे समूचित ग्यारेन्टीसँगै दीर्घकालीनअग्नि सुरक्षा नियन्त्रणका उपाय, उपकरणकहरुकाे व्यापक विकास सुरक्षित घर निर्माण कार्यक्रमसहितकाे सचेतना कार्यक्रम अगाडि बढाउन जरुरी छ ।

गाउँस्तरमा आपतकालीन प्रतिरक्षा टोलीसहित विपद् व्यवस्थापनलाई चुस्त बनाउन सम्पूर्ण राज्यसंयन्त्र लाग्न जरुरी छ । याे घटनालाई एउटा बस्तीको दुर्घटना ठानेर राज्यले विपत प्रतिकार्यकाे तयारी, संरचना र प्रविधिकाे विकास एवं सहज पहुँचमा काेल्टे फेर्न पाइँदैन ।

अब पनि हामीले यस्ता घटनाबाट आवश्यक पाठ सिकेनौं भने आगलागी र विनासका खबर नबनेर हाम्रा गाउँ-शहरका नियमित त्रासदी र हताहतिकाे श्रृङखला बन्नेछन् । यतिबेला खडेरी र सुख यामको सिजन चलिरहेको हुनाले व्यापक हावाहुरी र चट्याङ एवं अन्य प्राकृतिक विपत्तिहरू पनि आउने सिजन हो ।

त्यसकारण वनजङ्गलजन्य आग्जनीका विषयहरुलाई रोकथाम गर्न घरायसी र आफ्ना गाउँ टोलको सरसफाई तथा आगो नियन्त्रण र राेकथामका निम्ति विभिन्न सामाजिक सचेतनाका कामहरु डिभिजन वन कार्यालयहरु, सामुदायिक वन उपभोक्ता समितिहरु र सबै सराेकारवाला निकायले हरेक घरका सदस्यहरुलाई जिम्मेवार बनाउँदै आगो नियन्त्रणका सम्पूर्ण उपायहरुमा दत्त चित्त भएर लागाउन जरुरी छ ।

आगोसँग खेल्ने र यसलाई सामान्य हेलचक्य्राँई ठानिदिँदा ठुलठुला दुर्घटनाहरू निम्तेका ती त इतिहासहरु हाम्रो सामु छन्। त्यसकारण सरकारी एवम् गैरसरकारी तहबाट आगो नियन्त्रणका विषयमा हुने विभिन्न प्रयासहरु जिल्ला सदरमुकाम केन्द्रित विभिन्न ब्यानर र प्लेकार्डहरु बोकेर खाजा, नास्ता र भत्ताको शीर्षकमा बजेटलाई मास्नुकाे सट्टा हरेक गाउँ र सहर बजारका कुना काप्चामा आगो नियन्त्रण र अग्नि सुरक्षाका विषयमा धरातलीय यथार्थमा आधारित सचेतनाका प्रभावकारी काम गर्न जरुरी छ । यस विषयमा सराेकारवनला सबैले समयमै उचित ध्यान खिचुन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation