मृत्युपछिकाे शरीरलाई प्रयाेगशाला किन नबनाउने ?

 

एक वर्षअघि, मैले आफ्नो मृत्यु पछिको शरीरलाई पुनः उपयोगका लागि दान गर्ने उद्देश्यले “पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान” लगनखेल, ललितपुर पुगेको थिएँ। तर त्यहाँ औपचारिक प्रक्रिया डाइरेक्टरको अभावका कारण अवरुद्ध रहेछ। सम्बन्धित शाखामा कार्यरत सागर खड्कासँग भएको संवादमा उनले अहिले यो सेवा बन्द छ, “डाइरेक्टर नियुक्तिपछि सम्पर्क गर्छौं” भन्ने आश्वासन दिए। समय बित्दै गयो-लगभग एक वर्ष भयो, तर त्यो सम्पर्क अझै आएन।

यो केवल एउटा प्रशासनिक ढिलासुस्तीको घटना मात्र होइन; यसले हाम्रो राजनीतिक प्रणाली र समाजको गहिरो मानसिक संरचनालाई पनि उजागर गर्छ-जहाँ मृत्युपछिको शरीरलाई अझै पनि “पवित्रता” र “काजकिरिया” को मिथकले बाँधेर राखिएको छ।

“मृत्युपछि आत्मा भड्किन्छ भन्ने डरले जीवित मानिसहरूलाई नियन्त्रण गर्ने परम्परा वास्तवमा अज्ञानताको निरन्तरता हो। जब विज्ञानले स्पष्ट रूपमा देखाइसकेको छ कि शरीरको अन्त्यसँगै चेतनाको अन्त्य हुन्छ, तब काजकिरिया जस्ता कर्मकाण्डहरू केवल सांस्कृतिक अभिनय मात्र रहन्छन्। यदि मृत्युपछि केही बाँकी रहन्छ भने त्यो आत्मा होइन-मानिसले समाजमा छोडेको प्रभाव, ज्ञान र योगदान हो। त्यसैले मृत शरीरलाई जलाएर “शान्ति” खोज्नु भन्दा, त्यसलाई विज्ञान र मानवताका लागि उपयोग गर्नु नै साँचो श्रद्धाञ्जली हो।”

मलाई बारम्बार प्रश्न सोधिन्छ-“तँ नास्तिक भएर काजकिरिया कसरी गराउँछस्?”
मेरो उत्तर सरल छ-म काजकिरियामा विश्वास गर्दिनँ, किनकि म आत्माको अस्तित्वमै विश्वास गर्दिनँ। मानव शरीर कुनै दिव्य वस्तु होइन; यो जैविक संरचनाको एउटा जटिल संयोजन मात्र हो। जब जीवनको जैविक प्रक्रिया रोकिन्छ, शरीर पनि निष्क्रिय पदार्थमा रूपान्तरण हुन्छ। यस्तो अवस्थामा “आत्मा शान्त पार्ने” नाममा गरिने कर्मकाण्डहरू केवल सांस्कृतिक अभ्यास मात्रै हुन्-तथ्य होइनन्।

नास्तिक दृष्टिकोणले मृत्यु पछिको कुनै “अदृश्य यात्रा” मान्दैन। त्यसैले, मृत शरीरको सबैभन्दा वैज्ञानिक र मानवीय उपयोग भनेको-शिक्षा, अनुसन्धान वा मानव जीवनका लागि दान गर्नु हो। यसले जीवित मानिसहरूको जीवनमा प्रत्यक्ष योगदान पुर्‍याउँछ।

“काजकिरिया, श्राद्ध र तर्पणले मृतकलाई होइन, जीवितहरूको मनोवैज्ञानिक भयलाई सम्बोधन गर्छ। समाजले बनाएको “आत्मा रिसाउँछ” भन्ने कथनले मानिसलाई तर्क गर्नबाट रोकेको छ र अन्धविश्वासलाई संस्कृतिको नाममा जोगाइरहेको छ। नास्तिक दृष्टिकोणले स्पष्ट भन्छ-मृत्यु अन्तिम बिन्दु हो, नयाँ यात्राको सुरुवात होइन। त्यसैले, मृत्युपछि गरिने सबैभन्दा अर्थपूर्ण कार्य भनेको शरीरलाई पुनः उपयोगमा ल्याउनु हो, नकि त्यसलाई कर्मकाण्डको नाममा नष्ट गर्नु।”

काजकिरिया, श्राद्ध, तर्पण जस्ता परम्पराहरूले मृतकलाई केही फाइदा पुर्‍याउँछन् भन्ने कुनै प्रमाण छैन। बरु, यी प्रथाहरूले जीवित मानिसहरूलाई आर्थिक, मानसिक र सामाजिक दबाबमा राख्ने काम गर्छन्।

म मेरो मृत्यु पछिको शरीरलाई आगोमा जलाएर वा नदीमा बगाएर “पवित्र” बनाउने पक्षमा छैन। म चाहन्छु-मेरो शरीरले अन्तिमपटक पनि मानव समाजको सेवा गरोस्। यदि मेरो शरीरले कुनै विद्यार्थीलाई सिक्न मद्दत गर्छ, कुनै वैज्ञानिक अनुसन्धानलाई अगाडि बढाउँछ भने, त्यही नै मेरो “अन्तिम योगदान” हुनेछ।

त्यसैले, म स्पष्ट रूपमा भन्न चाहन्छु-मेरो लागि काजकिरिया आवश्यक छैन। “श्रद्धाञ्जली” कुनै मन्त्र होइन-मानवताको सेवामा गरिएको उपयोग हो। यदि समाजले अझै पनि मृत्युपछि आत्मा भड्किन्छ भन्ने डरमा बाँच्न चाहन्छ भने त्यो उनीहरूको रोजाइ हो। तर म त्यो डरको हिस्सा बन्ने छैन। म तथ्य, तर्क र विज्ञानमा आधारित जीवन र मृत्युको व्याख्या स्वीकार्छु।

“मानिसले जीवनभर तर्क, विज्ञान र यथार्थको पक्ष लिन्छ, तर मृत्युपछि अचानक परम्पराको कैदी बन्ने अपेक्षा गरिन्छ-यो सबैभन्दा ठूलो विरोधाभास हो। यदि आत्मा छैन भने काजकिरिया पनि आवश्यक छैन; यदि चेतना नै समाप्त हुन्छ भने “शान्ति” दिलाउने कुनै प्रश्न उठ्दैन। त्यसैले, मृत्यु पछिको सम्मान मन्त्र, पूजा वा विधिमा होइन-त्यो शरीरले अन्तिमपटक पनि मानव समाजलाई दिएको योगदानमा निहित हुन्छ। साँचो मानवीयता त्यही हो, जहाँ मृत्युपछि पनि उपयोगी बन्न सक्नुमा छ।”

अन्ततः, प्रश्न काजकिरियाको होइन-प्रश्न हो, हामी मृत्युपछि पनि उपयोगी हुन चाहन्छौं कि केवल परम्पराको नाममा जल्न?

पाटन स्वस्थ्य विज्ञान प्रतिष्ठानका लागि तयार गरिएको
आत्मस्वीकृति-पत्र :

मेरो मृत्युपछिको शरीर कुनै धर्म, जात, संस्कार वा परम्पराको विषय बन्नु हुदैन। म मृत्युपछि पनि मानव हितमा उपयोगी बन्न चाहन्छु – तसर्थ, मेरो सम्पूर्ण शरीर विज्ञान र स्वास्थ्य अनुसन्धानको प्रयोगशालामा समर्पित गरिएको छ।

मेरो शरीरका जति अंगहरू जीवनदायी छ्न्, तिनीहरू जीवित प्राणीलाई बाँच्नका लागि दिइयोस्। बाँकी रहेका भागहरू अनुसन्धान र वैज्ञानिक प्रयोगका लागि दिइयोस्। त्यसबाट पनि बाँकी रहेका अस्थिपञ्जर वा बेकामका अवशेषहरूलाई जमिनमा गाडियोस्, र त्यो स्थानमा दीर्घकालीन प्रजातिको एउटा रुख रोपियोस् – ताकि मेरो मृत शरीर पनि जीवनको चक्रमा कुनै न कुनै रूपमा फेरि उपयोगी बन्न सक्छ। जसले पर्यावरणीय सन्तुलन कायम गर्न सहयोग पुगोस्।

म चाहन्छु, मेरो नाममा कुनै पनि मृत्यु संस्कार, कर्मकाण्ड वा श्रद्धाञ्जलीको आयोजना नगरियोस्। मलामी नबोलाइयोस्। न म कुनै पण्डित, पुरोहित वा पुजारी, अल्लाह, पोपको मन्त्रपाठमा विश्वास गर्छु, न त देहत्यागपछि स्वर्ग या नर्क जाने आशा राख्दछु।

म जन्मिएको थिएँ, बाँचें, अनि मर्नेछु – यही शाश्वत सत्य हो। मरेपछि मेरो अस्तित्व कण-कणमा विघटन हुन्छ, यहीँ सकिन्छ।

मेरो नाममा कुनै शोकसभा, श्रद्धाञ्जली, विज्ञापन, खादा, वा अबिर फूलमाला नगरियोस्। म चाहन्छु, त्यस अवसरमा एउटा खुला विचार गोष्ठी होस् – जहाँ विज्ञान, मानवता र मुक्त चेतनाका कुरा गरियोस्।

मेरो सारा चल-अचल सम्पत्ति र पुस्तकालय मेरो आमा रेवती कुमारी र बुबा थुमप्रसादको नाममा स्थापना गरिने {रेथुम स्मृति प्रतिष्ठान} लाई समर्पण गरिन्छ। यो प्रतिष्ठान शिक्षा, स्वास्थ्य, वातावरण र साहित्यको प्रवर्द्धनमा समर्पित हुनेछ।

प्रतिष्ठानले गरीब, दलित, सीमान्तकृत समुदायका बालबालिकाको शिक्षा, जनस्वास्थ्य सेवामा, र तर्क तथा वैज्ञानिक चेतनाको प्रसारमा मेरो जीवनपछिको योगदान यही माध्यमबाट जारी रहनेछ।

म स्वर्गको आशामा होइन, पृथ्वीलाई केही दिन सकुँ भन्ने आशामा बाँचें। म धर्मको डरले होइन, मानवताको प्रेमले बाँचेँ।
म पुनर्जन्मको आशाले होइन, सामुहिक जीवनलाई अर्थपूर्ण बनाउने प्रयत्नमा थिएँ।

तसर्थ, म यो आत्मस्वीकृतिपत्रमा लेख्दैछु – ताकि मृत्युपछिको मेरो अस्तित्व पनि जीवितहरूको हितमा प्रयोग होस्। म अन्ततः माटो बन्छु – तर त्यो माटोको गर्भबाट अंकुरिने रुख मेरो अस्तित्वको प्रतिक बनोस्।

म मान्छे भएर जन्में, मान्छेका लागि मर्छु। सम्पूर्ण प्राणी, वनस्पति र पर्यावरण रक्षामा मानवजातिको सोच केन्द्रित होस् भन्ने यही मेरो अन्तिम इच्छा हो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation