
भौतिकवादी समाज, नेपालको दोस्रो जिल्ला भेला नवलपुरको डण्डास्थित दलित भवनमा सम्पन्न भएको छ। भेलाले आगामी जिल्ला सम्मेलनको तयारीका लागि पूर्णप्रकाश विकको अध्यक्षतामा १३ सदस्यीय जिल्ला सम्मेलन तयारी समिति गठन गरेको छ।
भेलाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै भौतिकवादी समाज, नेपालका केन्द्रीय अध्यक्ष वैद्यनाथ श्रमजीवीले संसारलाई बुझ्ने दुई प्रमुख दृष्टिकोण रहेको बताउनुभयो। उहाँले एकातर्फ वस्तुगत प्रमाण, प्रकृति र वैज्ञानिक नियमहरूको आधारमा संसारलाई बुझ्ने दृष्टिकोण रहेको तथा अर्कोतर्फ ईश्वर, आत्मा वा अन्य अलौकिक शक्तिको आधारमा संसारलाई व्याख्या गर्ने दृष्टिकोण रहेको उल्लेख गर्नुभयो।
उहाँले संसार, जीवन, चेतना र समाजको उत्पत्ति तथा विकास पदार्थबाट भएको हो भन्ने वैज्ञानिक दृष्टिकोणलाई भौतिकवाद भनिने स्पष्ट पार्नुभयो। “भौतिकवादले यो ब्रह्माण्ड कुनै बाह्य शक्तिले निर्माण गरेर सञ्चालन गरिरहेको छैन भन्ने मान्यता राख्छ। प्रकृति आफैंमा विद्यमान छ र यसका आफ्नै नियमहरू छन्। ती नियमअनुसार पदार्थ परिवर्तन हुँदै, विकास हुँदै नयाँ–नयाँ रूप लिँदै जान्छ। यही लामो विकास प्रक्रियाबाट ग्रह, पृथ्वी, जीवन र अन्ततः मानव चेतनाको विकास भएको हो,” उहाँले भन्नुभयो।
करिब एक घण्टासम्म प्रस्तुत गरिएको विषयवस्तुपछि सहभागीहरूले अढाई घण्टाभन्दा बढी समय अन्तरक्रिया तथा प्रश्नोत्तरमा बिताएका थिए। सहभागीहरूले उठाएका विविध जिज्ञासा र प्रश्नहरूको जवाफ अध्यक्ष श्रमजीवीले रोचक तथा सन्तोषजनक ढंगले दिनुभएको सहभागीहरूले बताएका छन्।
भेलामा समाजका केन्द्रीय सल्लाहकार किशन शर्माले अध्यात्मवाद र भौतिकवादका सम्बन्धमा आफ्नो धारणा राख्दै वैज्ञानिक चिन्तन र तार्किक दृष्टिकोणको विकासको आवश्यकता औंल्याउनुभएको थियो।
अन्तरक्रियाका क्रममा अधिकांश सहभागीहरूले नेपाली कम्युनिस्ट आन्दोलनभित्र भौतिकवादी व्यवहार कमजोर रहेको धारणा व्यक्त गरेका थिए। उनीहरूले धेरै कम्युनिस्ट नेता तथा कार्यकर्ता धार्मिकता र अध्यात्मवादबाट प्रभावित रहेको उल्लेख गर्दै त्यसले कम्युनिस्ट आन्दोलनलाई वैचारिक रूपमा कमजोर बनाएको बताएका थिए। केही सहभागीहरूले नेपालका कम्युनिस्ट शक्तिहरू अहिले स्पष्ट वैचारिक दिशाहीनताको अवस्थामा पुगेको टिप्पणीसमेत गरेका थिए।
त्यसैगरी सहभागीहरूले भौतिकवादी बन्नका लागि अनिवार्य रूपमा कम्युनिस्ट हुनुपर्ने धारणा सही नभएको बताएका थिए। वैज्ञानिक सोच, तर्कशीलता र वस्तुगत विश्लेषणमा विश्वास गर्ने जो कोही व्यक्ति भौतिकवादी हुन सक्ने उनीहरूको भनाइ थियो।
रेगमबहादुर विकको अध्यक्षतामा सम्पन्न भेलाको सहजीकरण सोम सिर्पालीले गर्नुभएको थियो।
भेलाले पूर्णप्रकाश विकको अध्यक्षतामा १३ सदस्यीय जिल्ला सम्मेलन तयारी समिति गठन गरेको छ। समितिका सदस्यहरूमा प्रेम न्यौपाने, प्रेम गैरे, रामराज पण्डित, मुना लम्साल, लोकप्रसाद भुर्तेल, टेकराज भुसाल, सोम सिर्पाली, किशोर गैरे, गोपाल गिरी, बागवीर सुनार, माया श्रेष्ठ र सरला खनाल रहेका छन्।
नवगठित समितिले जिल्ला सम्मेलनको तयारी, संगठन विस्तार तथा भौतिकवादी चिन्तनको प्रचार–प्रसारलाई तीव्र बनाउने जिम्मेवारी प्राप्त गरेको जनाएको छ।
















