काठमाडौंकाे फाेहाेर व्यवस्थापन गर्ने सबै साझा ढङ्गले लाग्नुपर्छ : महामन्त्री शर्मा

भाद्र ३, २०७९

— कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौंको फोहोर उठाउन नसक्नु लज्जास्पद रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित ‘कमरेडको जनै’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै महामन्त्री शर्माले तीन तहको सरकार हुँदा पनि काठमाडौंको फोहोर उठाउन नसक्नु लज्जास्पद कुरा भएको बताएका हुन् ।

महामन्त्री शर्माले फोहोर समस्याको दीर्घकालीन समाधानका लागि सबै राजनीतिक दलहरुले साझा ढंगले सोच्नुपर्ने बताए । महामन्त्री शर्माले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई साथ दिनुपर्ने र बन्चरेडाँडाँका नागरिकहरुको मागको पनि राज्यले सम्बोधन गर्नुपर्ने बताए ।

‘शासनहरू बदलिन्छन् । राजसंस्थाबाट हामी गणतन्त्रमा पुग्छौँ । यो दलको शासनबाट त्यो दलको शासनमा पुग्छौँ । दलहरुबाट फेरि स्वतन्त्रमा पनि पुग्छौँ । स्वतन्त्रहरु कहीँ जिम्मेवारीमा । कहीँ दलहरु जिम्मेवारीमा । तीन तहको सरकार हुँदै गर्दा पनि बिहान र साँझको गरेर दुई खेपको फोहोर उठाउन नसक्ने अवस्था भनेको लज्जास्पद कुरा हो । मैले अपिल गर्नैपर्छ, भन्नैपर्छ, बिहान एक छाकको साँझ एक छाकको गरेर दुई छाकको सम्म फोहोर उठाउन तीन/तीन तहको सरकारले नसक्ने खालको लज्जित अवस्थाबाट यसलाई अन्त्य गर्नुपर्छ,’ उनले भने ।

काठमाडौंजस्तो सहरमा फोहोर व्यवस्थापनको समस्या समाधानका लागि सबै राजनीतिक दलले साझा ढंगले सोच्नुपर्ने उनले बताए । महानगरका मेयर बालेन्द्र शाहलाई सम्पूर्ण रुपले साथ दिनुपर्ने पनि उनको भनाइ छ ।

‘एक्काइसौं शताब्दीमा आँगनको फोहोर कसरी सफा गर्ने भन्ने विषय होइन । एकाइसौं शताब्दीमा यो विषयलाई सम्बोधन गर्नलाई हामी जुन तहबाट कमजोरी भइरहेको छ, केन्द्र, प्रदेश चाहे स्थानीय तहबाट यस्तो विषयलाई सम्बोधन गर्नुपर्छ,’ उनले भने । समस्या समाधानका लागि संघ, प्रदेश र स्थानीय तह सबै जिम्मवार हुनुपर्ने धारणा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation