ललितपुर महानगरका भित्री सहर साइकलमैत्री सहर भएका छन् । साइकलमैत्री सहर बनाउन महानगरले २२ किलोमिटर सडकमा साइकल लेन बनाएको छ । जुन लेन साइकल यात्रुहरूले ढुक्कसँग प्रयोग गर्न सक्छन् ।
पुसको पहिलो साताबाट प्रयोगमा आएको साइकल लेनका कारण साइकल यात्रुहरूलाई ललितपुरका भित्री सहरमा साइकल चलाउन सहज भएको नेपाल साइकल सोसाइटीका अध्यक्ष तथा साइकल अभियन्ता रत्न श्रेष्ठ बताउँछन् । ‘हामीलाई अन्य सहरमा भन्दा ललितपुर महानगरका सहरमा साइकल चलाउँदा सुरक्षित महसुस हुन्छ,’ श्रेष्ठले भने, ‘नेपाल सरकारले प्राथमिकताको क्षेत्रमा नपारे पनि महानगरले दोस्रो चरणमा साइकल लेन विस्तार गर्नुले एकदमै खुसी बनाएको छ ।’
१० वर्षदेखि साइकल चलाउँदै आएका सैल श्रेष्ठ ललितपुरको साइकल लेन हुँदै काठमाडौंतर्फ लागेपछि हामी कति असुरक्षित छौँ भन्ने जानकारी हुने बताउँछन् । ‘हामीलाई भन्दा पनि भर्खर साइकल चलाउन थालेको, वातावरणलाई टेवा दिने काम गर्छु भन्नेहरूका लागि, स्वास्थ्यका लागि साइकल चलाउँछु भन्नेहरूका लागि साइकल लेन हुँदा र नहुँदाको फरक छर्लंग हुन्छ,’ उनले भने, ‘जसले साइकल चलाउँदाचलाउँदै एउटा हातले साइड माग्न सक्दैन । ब्याक लाइट नभएका कारण पछाडि गाडी आएको छ कि छैन भनेर हेर्न सक्दैन, उनीहरूका लागि साइकल लेन हुनु भनेको सुरक्षित अनुभव हुनु हो ।’
२२ किलोमिटर साइकल लेन महानगरको दोस्रो चरणअन्तर्गत निर्माण भएका हुन् । पहिलो चरणअन्तर्गत महानगरले १४ मंसिर २०७६ मा साढे १० किलोमिटर साइकल लेनको शुभारम्भ गरेको थियो । त्यतिवेला महानगरपालिकाले कुपन्डोल, पुल्चोक, जावलाखेल, लगनखेल, मंगलबजार हुँदै पाटन दरबार स्क्वायरसम्म पुग्ने साइकल लेन सञ्चालनमा ल्याएको थियो । महानगरले नेपाल साइकल एसोसिएसनसँग सहकार्य गरेर साइकल लेन सञ्चालनमा ल्याएको हो ।
चक्रपथबाहिरका सडकमा पनि साइकल लेन विस्तार हुँदै
महानगरले भित्री सहरमा मात्र साइकल लेनको व्यवस्था गरेको छ । महानरभित्रका एकान्तकुना हुँदै पुल्चोक आउने, पुल्चोकदेखि लगनखेल, टंगाल हुँदै मंगलबजार जाने, पुल्चोकबाट गाःबहाल हुँदै मंगलबजारसम्म पुग्ने, कुपन्डोलबाट पुल्चोक हुँदै सीधा दरबार स्क्वायरसम्म गरी २२ किलोमिटर साइकल लेन बनेको हो ।
चक्रपथबाहिर सडकको राम्रो व्यवस्थापन नभएकाले भित्री क्षेत्रमा मात्र साइकल लेन विस्तार गरिएको महानगर प्रमुख चिरिबाबु महर्जनले बताए । ‘पहिलो चरणमा साइकल बनेपछि सबैतिरबाट राम्रो प्रतिक्रिया पायौँ । त्यसैको फलस्वरूप हामीले दोस्रो चरणमा चक्रपथभित्रका अन्य ठाउँमा साइकल लेन विस्तार गरेका हौँ,’ महर्जनले भने, ‘हरिसिद्धि, सुनाकोठी, धापाखेल, सैँबु, भैँसेपाटी क्षेत्रमा बाटो नबनेकाले ती क्षेत्रमा साइकल लेन विस्तार गर्न सकिएन । ती क्षेत्रमा संघीय सरकारले सडक विस्तार गरेकाले साइकल लेन बनाउन अप्ठ्यारो भएको हो । सडक बनिसकेपछि साइकल लेन विस्तार हुन्छ ।’ ललितपुर महानगरको प्रयोगलाई देखेर अन्य स्थानीय तहले पनि पहल गरिरहेको उनी बताउँछन् । महानगरले साइकल लेनका लागि पहिलो चरणमा आर्थिक वर्ष ०७५-७६ को बजेटमा ५० लाख र आव ०७६-७७ मा पनि ५० लाख रुपैयाँ विनियोजन गरेको थियो ।
साइकल ऐन बनाउँदै महानगर
स्थानीय चुनावअघि नै महानगर प्रमुख महर्जनले महानगरपालिकालाई स्मार्ट सिटी र साइकल सिटी बनाउने घोषणापत्रमा समावेश गरेका थिए । सहरमा छोटो यात्राका लागि साइकलको उपयोग गर्ने र स्वस्थ सहरी जीवनशैली अपनाउँदै प्रदूषणमुक्त महानगर बनाउने योजना चुनावी घोषणापत्रमा उल्लेख थियो । हालसम्म संघीय र प्रदेश दुवै सरकारले साइकलसम्बन्धी कुनै पनि नीति तथा कानुन निर्माण गर्न सकेका छैनन् । ‘हामीले महानगरलाई स्मार्ट बनाउँछौँ भनेर भोट मागेकै हौँ,’ महर्जनले भने, ‘स्मार्ट सिटी भएको विश्वका विभिन्न देशका सहरमा प्राथमिकताका आधारमा भन्नुपर्दा साइकल लेन एकदेखि पाँचौँ नम्बरमा पर्छ । त्यसैले साइकल लेन मात्र होइन, यसका लागि ऐन नै ल्याउनुपर्छ भनेर लागेका छौँ ।’
साइकलसम्बन्धी नयाँ कानुन भएकाले बनाउन समय लागेको उनले बताए । ‘राम्रो व्यवस्थापन नभएका कारण साइकल चढ्नेहरूको भवितव्यको सम्भावना छ । त्यसलाई सम्बोधन गर्न साइकल ऐन ल्याउन लागेका छौँ । ड्राफ्ट भइसकेको छ । फाइनल भने हुन सकेको छैन,’ उनले भने, ‘नेपालमा नयाँ नौलो ऐन प्रादुर्भाव गर्नुहुन्छ भने त्यो कतै न कतै नेपालको संविधान, ऐन, कानुनसँग मिल्नुपर्छ । तर, न संघीय सरकार र न प्रदेश सरकारले नै यस्ता खालका ऐन नियम बनाएको छ । हामीले ऐन बनाउन समाउने हाँगो भेट्टाएनौँ । त्यसैले उहाँहरूले बनाएको अवस्थामा जहाँ बाझिन्छ, त्यहाँ मिलाउँला भनेर अगाडि बढेका छौँ ।’ २२ किलोमिटरभित्र महानगरको प्रांगण, जाउलाखेल, पाटनढोका, मंगलबजार, लगनखेललगायत १० ठाउँमा साइकल स्ट्यान्ड छ ।
साइकलको प्रयोग नै किन?
संसारका प्रदूषित सहरमा नेपालको राजधानी काठमाडौं पनि पर्छ । विश्व वायु गुणस्तर सूचक (एक्युआई) २०२० अनुसार काठमाडौं १९औँ प्रदूषित सहर हो । र, प्रदूषणको स्रोतमध्ये पहिलो नम्बरमै पर्छ, सवारीसाधनको चाप र त्यसबाट निस्किने हानिकारक धुवाँ । प्रदूषण कम गराउनकै लागि विकसित र ठूला सहरले इन्धनको उपयोग नहुने विद्युतीय सवारीसाधन र साइकललाई प्राथमिकतामा राख्न थालेका छन् ।
साइकलको प्रयोगका कारण वायु प्रदूषण कम गर्नसमेत उत्तिकै सहयोग हुने साइकल अभियन्ताहरू बताउँछन् । ‘गाडीमा हाल्ने तेलकै लागि देशको अर्बौं रुपैयाँ बिदेसिने गरेको छ । तेल खरिदकै लागि महँगो रकम बिदेसिने क्रम रोक्न पनि साइकल चढ्न आवश्यक छ । हरेक दिन ६-७ किलोमिटर साइकलयात्रा गर्दा स्वास्थ्यलाई पनि राम्रो हुन्छ,’ सैल श्रेष्ठले भने ।
साइकल लेन बनाउन संघीय सरकार नै बाधक : चिरिबाबु महर्जन, प्रमुख, ललितपुर महानगर
हामीले साइकल सिटी बनाउने भनेर आफ्नो चुनावी घोषणापत्रमै समावेश गरेका थियौँ । सोहीअनुसार विश्वका विभिन्न सहरका उदाहरण हेर्यौँ । जहाँ हाम्रोभन्दा साना सडकमा पनि साइकल लेन बनाएको पायौँ । हामी काम गर्न आएका हौँ भनेर लाग्यौँ ।
तर, सडक विभागका मानिसमा नकारात्मकता धेरै छ । साइकल लेन बनाउन भनेजस्तो सजिलो भएन । हामीले हाम्रो अधिकार क्षेत्रभित्र रहेका आठ मिटरभन्दा साना सडकमा मात्र होइन, त्योभन्दा माथिका सडकमा पनि साइकल लेन बनाउने भयौँ । पहिलो चरणको साइकल लेन बनाउने क्रममा सडक विभागलाई पनि बोलाएर प्रस्तुति राख्यौँ, तर उहाँहरूले अनुमति दिनुभएन ।
हामीले आठ मिटरभन्दा बढीका सडकमा ट्राफिक लाइट राख्यौँ । सडकवरपर हरियाली बनायौँ । सडक सफा गर्यौँ । त्यो काम गर्न अनुमति पायौँ, तर साइकल लेनका लागि सहमति मिलेन ।
मानवीय स्वास्थ्य र वातावरणसँग सम्बन्धित यो काममा हामीले अनुमतिविनै काम थाल्यौँ । दोस्रो चरणको काम थाल्दा विरोध गर्नुहुन्छ भने हरियाली पनि बनाउँदैनौँ, केही गर्दैनौँ भनेपछि अहिले समन्वय हुन थालेको छ ।