ताप्लेजुङको ओलाङचुङगोलामा पहिलोपटक पुग्यो गाडी

बैशाख, ताप्लेजुङ

चीन जोड्ने सुदूरपूर्व ताप्लेजुङको फत्ताङलुङ गाउँपालिका– ७, ओलाङचुङगोलामा गाडी पुगेको छ । तीन हजार दुई सय मिटर उचाइको यो बस्तीमा पहिलोपटक मंगलबार जिल्ला सदरमुकाम फुङलिङबाट केही जिप र ट्याक्सीहरू पुगेका हुन् ।

सडक ट्र्याक छिचोलिएसँगै गाडी पुगेको दुई दिनपछि बिहीबार एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओली, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, रक्षामन्त्री हरिप्रसाद उप्रेती, एमाले सचिव तथा सांसद योगेश भट्टराईसहितका नेता ओलाङचुङगोला पुगेर खुसियाली साटेका छन् । भारतको सिमाना विराटनगरको रानी भन्सारबाट चीनसँग सिमाना जोडिएको सबैभन्दा छोटो उत्तर–दक्षिण (मूलघाट–दोभान–ओलाङचुङगोला) सडक यही हो । ओलाङचुङगोलाबाट चीनको तिब्बत स्वशासित क्षेत्र जोड्ने तिप्ताला भञ्ज्याङ २४ किलोमिटर मात्र उत्तरमा छ । स्थानीय बासिन्दाको पहलमा गोलाबाट तिप्ताला सीमासम्म यसअघि नै सडक निर्माण भइसकेको छ ।

एमाले अध्यक्ष ओलीले भारत र चीनसँग जोड्ने नेपालकै सबैभन्दा छोटो तमोर करिडोरको तिप्ताला भञ्ज्याङसम्म पुग्ने इच्छा गरेका थिए । तर, प्रतिकूल मौसमका कारण हेलिकोप्टर जान नसकेपछि उनी पुग्न सकेनन् । नेपालको समृद्धिसँग जोडिएको हिमाली नाका ओलाङचुङगोलाका स्थानीयसँग ओलीले अन्तरक्रिया पनि गरे । उनले स्थानीयसँग स्थानीय समस्या तथा सम्भावनाका विषयमा संवाद गरे ।

सडक निर्माण कम्पनी एलाइट जेभीका साइट इन्चार्ज राजीव लामिछानेले बाटो सफा गर्ने, ग्रेडिङ मिलाउने कार्य सकिएपछि गोलासम्म फोरह्विल जिप तथा ट्याक्सी सदरमुकाम फुङलिङबाट गोला पुगेको बताए । एलाइट जेभीले फुङलिङदेखि ३८ किलोमिटर दूरीमा रहेको रानीपुलबाट गोलातर्फको बाटोको ट्र्याक ओपन, बाटो सफा गर्ने र ग्रेडिङ मिलाउने कार्य सकिएको जनाएको छ । लामिछानेले रानीपुलबाट गोलासम्मको दूरी पनि साधारण जिप तथा ट्याक्सी हिँड्न मिल्ने गरी बनाएको बताए ।

सदरमुकाम फुङलिङबाट मित्लुङ, सिंवा हुँदै तमोर नदीको किनार भएर सडकको ट्र्याक खुलेपछि फुङलिङ–गोलाको दूरी पनि छोटिएको छ । ओलाङचुङगोलामा जम्मा ५६ घर छन् । करिब साढे चार सय वर्ष पुरानो मानिएको दिकिछ्योलिङ गुम्बा ओलाङचुङगोलाको हेर्नलायक संरचना हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation