आजदेखि काठमाडौंमा राष्ट्रिय मह मेला सुरु

२६ बैशाख, काठमाडौं

राजधानीमा पाँचौँ राष्ट्रिय मह मेला बुधबार शुरु हुँदैछ।  ‘दैनिक एक चम्चा मह सेवन स्वस्थ र दीर्घ जीवन’ भन्ने नाराका साथ मह मेला शुरु हुन लागेको हो।

नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजना र नेपाल मौरीपालक महासंघ, नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ लिमिटेड र व्यावसायिक किट विकास निर्देशनालयको सहआयोजनामा पाँच दिने मेला आयोजना गरिएको हो।

नेपाल मौरीपालक महासंघका अध्यक्ष सुभाषचन्द्र घिमिरेले मह उत्पादक किसानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्न तथा विभिन्न स्रोतका महका बारेमा उपभोक्तालाई परिचित गराउने मेलाको उद्देश्य रहेको बताए।

व्यावसायिक किट विकास केन्द्रका प्रमुख भोजराज सापकोटाले नेपाली मह विश्वमै उत्कृष्ट हुँदाहुँदै बजार नपाएकाले अहिलेको अवस्थालाई चिर्न महोत्सवले प्रभावकारी भूमिका खेल्ने बताए। नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ लिमिटेडका अध्यक्ष जानुकादेवी थापाले नेपालमा उत्पादित महको उत्पादन, खपत र निकासीको प्रशस्त सम्भावना रहेको बताइन्।

मेलामा मह काढ्ने तरिका, महसम्बन्धी सूचनामूलक जानकारी, मौरीपालनका नवीनतम प्रविधिहरूको प्रदर्शनी, मौरीसँग सम्बन्धित सरोकारवालाहरूबीच अन्तरक्रिया तथा गोष्ठी आयोजना हुने आयोजकले जनाएको छ।

भीर मौरी, कठौरी मौरीलगायत स्थानीय र रैथाने मौरीहरूको मह प्रदर्शनी तथा बिक्री वितरण हुनुका साथै मौरी र महसम्बन्धी विभिन्न अनुसन्धानमूलक जानकारी प्रस्तुत गरिने बताइएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation