विश्वकै सर्वाधिक प्रदूषित शहर बन्यो काठमाडौं

नेपालको राजधानी काठमाडौँ विश्वको सर्वाधिक प्रदूषित शहर भएको छ।

काठमाडौँमा हावाको गुणस्तरको सूचक (एयर क्वालिटी इन्डेक्स– एक्यूआई) समाचार तयार पार्दासम्म २३४ पुगेको छ। यो अवस्था मानव स्वास्थ्यका लागि निकै अस्वस्थ मानिन्छ। मुख्य प्रदूषक पी एम २.५ को मात्रा १५९ पुगेको छ।

सरकारबाट स्वीकृत वायु गुणस्तरको सूचकांकअनुसार ०–५० हुँदा राम्रो, ५१–१०० मध्यम, १०१–१५० संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० हुँदा अस्वस्थ, २०१–३०० हुनुलाई निकै अस्वस्थ तथा ३०१ भन्दा माथि भएमा खतरनाक तहमा पुगेको संकेत गर्दछ।

पछिल्ला दिनहरूमा काठमाडौँमा प्रदूषण निरन्तर बढिरहेको छ। गत शनिवार हावा धेरै चलेकाले प्रदूषण अघिल्ला दिनको तुलनामा कम भए पनि विश्वका प्रदूषित शहरको सूचीमा शीर्ष स्थानमा रहेको काठमाडौँ आइतवार दोस्रो स्थानमा थियो।

काठमाडौँपछि भियतनामको हनोई, भारतको राजधानी नयाँ दिल्ली, चीनको वुहान, बंगलादेशको राजधानी ढाका प्रदूषित शहरको सूचीमा क्रमशः दोस्रोदेखि पाँचौँ स्थानमा छन्।

वातावरण विभागको वायु गुणस्तर निगरानीमा काठमाडौँको शंख पार्कमा हावाको गुणस्तर निकै अस्वस्थ (एक्यूआई २१४) रहेको देखिएको छ।

रत्नपार्क, भक्तपुर, भैंसेपाटी, खुमलटारमा वायुको गुणस्तर अस्वस्थ रहेको छ। लगातार प्रदूषण बढेपछि सरकारले अनावश्यक रुपमा प्रदूषण उच्च भएको समयमा घरबाहिर ननिस्कन अपिलसमेत गरेको छ। घरबाहिर निस्कनै परे मास्क प्रयोग गर्न भनिएको छ।

विगत केही दिनदेखि नेपालका विभिन्न भूभागमा लागेको डढेलोका कारण काठमाडौँ उपत्यकालगायत देशका विभिन्न स्थानमा वायु प्रदूषण बढेको भन्दै वातावरण विभागले वर्षा नभएसम्म प्रदूषण उच्च रहने सम्भावना औंल्याएको छ।

विशेषगरी चैत, वैशाख र जेठ महिना डढेलो लाग्ने याम भएकाले यस समयमा वायुको गुणस्तर बिग्रने गरेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation