
६ वैशाख, घोराही
“विचार निर्माणमा अध्ययन संस्कृति ” विषयक विमर्श कार्यक्रम घाेराहीमा सम्पन्न भएको छ । पठन संस्कृतिकाे विकास कसरी गर्ने, कस्ता पुस्तक पढ्ने, कसरी पढ्ने र कति पढ्ने ? जस्ता महत्त्वपूर्ण सवालमा कवि, लेखक, विश्लेषक एवम् समालाेचक अमर गिरी (पिएचडी) ले विभिन्न सन्दर्भसहित प्रष्ट पार्ने काेसिस गरे ।

साे कार्यक्रमका प्रमुख वक्ता समेत रहेका भाषा आयोगका सदस्य अमर गिरीले विश्वमा जारी पूँजीवादी नाफाखाेर प्रवृत्तिको कारण सस्ताे लाेकप्रियताले गर्दा संसारभर गलत लेखक र तिनका पुस्तकले बजार कब्जा गरेकाे र चेतना निर्माणमा त्यसले आम पाठकमा गहिराे असर पारिरहेकाे बताए । गहिराे अध्ययन संस्कृतिबाट मात्रै असल विचार निर्माण हुने र साेही बमाेजिमकाे संस्कृतिकाे विकास हुने धारणा राख्दै उनले गलत पुस्तककाे अध्ययन र प्रचारले सिंगाे समाजलाई विकृतिको चंगाेलमा धसाएकाे जिकिर गरे ।

अध्ययन मञ्च दाङ र सर्वाेदय पुस्तकालयको संयुक्त आयोजनामा शुक्रबार दाङको घोराहीमा आयोजित विर्मशमा कार्यक्रममा अध्यता गिरीले समाजमा अध्ययन गर्ने परम्परा निकै कमजोर बन्दै गइरहेकाेले सिर्जनशील तप्काले साे कुरालाई गम्भीरतापूर्वम लिएर अध्ययन र विचार मन्थनकाे कुरालाई निरन्तर जारी राख्न जरुरी रहेकाे बताए । गिरीले विश्व दृष्टिकोण निर्माणकाे लागि माक्र्सवादी अर्थराजनीति, कला साहित्य र समाज विज्ञानसहितकाे दर्शनकाे गहिराे अध्ययन जरुरी रहेकाे बताउँदै असल ज्ञानकाे विकासमा असल पुस्तककाे अध्ययन नै समृद्ध समाजकाे परिचायक भएको बताए ।

मानिसले अध्ययनै नगर्ने संस्कार बनेपछि विचारबिहिन समाज बन्ने समाज पनि मृतप्राय: हुने डर प्रबल रुपमा देखिएकाेले यसतर्फ सबै सचेत वर्ग निकै चनाखाे हुनुपर्ने बताए ।
दाङमा अध्ययन संस्कृति बढाउने उद्देश्यले यसखाले कार्यक्रम आयोजना गरिएको मञ्चका संयोजक सूर्य बिसीले बताए । विभिन्न साहित्यकार, लेखक, पत्रकार, समालोचककाे उपस्थिति रहेकाे थियाे ।

कार्यक्रम अध्ययन मञ्च दाङका संयाेजक सुर्य बिसीकाे संयाजनमा भएको थियाे भने सहजीकरण अभियन्ता प्रमोद धितालले गरेका थिए ।