प्रिय नवयुवाहरू !

प्रिय नवयुवाहरू !

सत्ताईस घन्टामा सत्ताच्यूत भएका शासकहरू
सुरुङ्गबाट शिर बाहिरभित्र गर्दै
`सङ्ग्राम´ लड्ने सित्कार गरिरहेका छन् ।

रगतको समुन्द्रमा बाँकटे हान्दै
नवयुवाहरूका गिदीको घेल्का हत्केलामा लिएर
एउटा अधबैंसे केटो
ठाउँ कुठाउँ/समय कुसमय
होसमा हो कि बेहोसमा
जथाभावी बर्बराई रहेका छन् ।

उता जेलेन्स्की बन्न मन्जुर
एउटा अर्धभूमिगत चतुर युवा
सत्तारोहण अगावै शासकको रोबरबाफ सहित
कालो चस्माभित्रबाट
`यो गर त्यो गर´ शैलीमा फरमान गरिरहेका छन् ।

कानुनका ज्ञाता हजुरआमा र काकाहरू
भर्खरै आगो निभाइएको `चन्द्रशमशेर´ को हवेलीमा बसेर
कालो चस्माधारी केटोको फरमान लागु गर्न
सायद बाध्य छन् `विचरा´ हरू ।

यता जेन-जी नवयुवाहरू
साथीहरूका ढलेको शरीर पशुपतिमा सेलाएपछि
घाइते साथीहरूलाई अस्पतालमा पुर्‍याएदेखि
सहिद साथीहरूको सपना पुरा गर्ने सङ्कल्प बोकेर
आफूहरूको नाममा
कसैले खरानी बनाइदिएको सिंहदरबारलाई
एक्काइसौं शताब्दीको जनदरबार बनाउन प्रतिबद्ध छन्
व्यवस्थापिका संसद भवनको खरानीको थुप्रोमा उभिएर
युगानुकूल देशको विधिविधान निर्माण गर्न कटिबद्ध छन्
अपराधबाट उन्मुक्ति पाउन मुद्दाका फाइलहरू डढाउँदैमा
न्याय-निसाफ दिने सर्वोच्च अदालत जलाउँदैमा
न्याय नजल्ने अठोट गरिरहेका छन्
नेपोबेबिजहरूले अपहरण गरेको आफूहरूको भविष्य
आफैंसँग फिर्ता गर्ने सङ्कल्प गरिरहेका छन् ।

प्रिय नवयुवाहरू !
उमेरले डाँडो काटेका हजुरबा-हजुरआमाहरू
उमेर ढल्कदैं गरेका बा-आमाहरू
सबै तिमीहरूका सपना बिरोधी हुँदैनन्
उमेरले युवा तिमीहरूका दाजुदिदीहरू
अनि आफ्नै उमेरका आफ्नै दौँतरीहरू
सबै समर्थक पनि हुँदैनन् ।

होस् गरे है नवयुवाहरू ।

अन्त्यमा प्रिय नवयुवाहरू !
यो देश तिमीहरूको पनि हो, हामीहरूको पनि हो
तर यो देश खासमा तिमीहरूको हो
म त भन्छु- तिमीहरूको सपना नै देशको खास सपना हो
त्यसैले तिमीहरूको सपना, सङ्कल्प र सङ्घर्षलाई सलाम !

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation