‘Happy birthday’ छोरा चिरायु रहनु यो आमाको आशिर्वाद : सानु गुल्मेली

हुन त हरेक बिहानीले जन्मदिन लिएर आउँछ तर पनि यो ३६५ दिन मध्येको एक दिन आज कार्तिकको २५ गते तिम्रो खास दिन जुन दिन तिमीले यस धरतीमा पुत्ररत्नको रुपमा मेरो कोखबाट काखमा बसाई सरेका थियौं । यो सुन्दर धरतीलाई कोमल नयनले बिस्तारै स्पर्श गरेका थियौं ।
काले आफ्नो छोराछोरीलाई काखैमा राखेर बस्ने मन त कुन आमाको हुँदैन र तर समय र परिस्थितिलाई पछ्याउँदै गुँड छोडेर वचरा टाढा टाढा जानुपर्ने यो सबै समयको माग रहेछ ।
भनिन्छ जीवन अमूल्य छ जीवनसँगै अनेकौँ आरोह अवरोह सुनामी छाल जस्तै अनेकौँ विघ्न बाधाहरूको साथ पैठेजोरी खेलेर आफूलाई सफलताको कसीमा उभ्याउनु सक्नु सफलता हो।
सफलता भनेको केवल ठूला ठूला वस्तुहरू हातपार्नु र प्राप्त गर्नु मात्रै सफलता होइन। जब जीवनमा आफूले गरेका कामले आफूलाई आत्म सन्तुष्टि दिन्छ त्यो नै सफलता हो चाहे काम सानो किन नहोस् हरेक कामलाई समान महत्त्व दिनुपर्छ ।
मानव जीवन हो। सदाबहार एकनास कहिले हुँदैन। रात पनि कृष्णपक्ष र शुक्लपक्ष हुन्छन्। कहिले उजेली लाग्छ कहिले अँधेरी लाग्छ । कहिले दिन लामा हुन्छन् कहिले रात छोटा हुन्छन् भने कहिले रात लामा र दिन छोटा हुन्छन्। भनाइको मतलब यो हो कि मानिसको जीवनमा पनि सधैं एकनासको समय आउँदैन। कहिले सम्बन्धहरू छुट्छन् , कहिले सपनाहरू टुट्छन् कहिले बीच बाटैमा भेटिएका साथीहरु छुट्छन् अनि नराम्रोसँग दिल टुट्छ। यसरी जीवनमा अनेकौं उत्तरचढाव आउनु भनेको सिकाई हो । जीवनमा आएका समस्यालाई सूत्रको रूपमा प्रयोग गरेर समाधान रुपि हल गर्न सक्नुपर्छ ।
यदि कसैले आफूलाई इट्टाले हिर्कायो भने मूर्ख मान्छेले त्यही इट्टा समातेर उसैतिर फर्काएर चोटको बदला चोट दिन्छ भने बुद्धिमान मानिसले त्यही इटा समाएर त्यही इटामाथि अरु इट्टाहरु थप्दै थप्दै सिढीं बनाएर माथि चढ्ने प्रयत्न गरेको हुन्छ। अब तिमी धेरै बुझ्ने भएका छौ त्यो इट्टाको प्रयोग मूर्खको रुपमा गर्ने या बुद्धिमान मानवको रुपमा गर्ने ? त्यो तिम्रो जिम्मामा छोड्न चाहान्छु ।
मानिसलाई पतन गर्ने शत्रु केवल आफ्नै शरीरमा नै विरजमान हुन्छ । आफ्ना सबैभन्दा ठूला शत्रु र मित्र आफ्ना इन्द्रियहरू हुन् तिनलाई सधैँ आफ्नो बसमा राख्न सक्नुपर्छ । निन्द्राको नाममा आलस्य , सुस्तता , रिसको नाममा आत्मविश्वासको विनाश , डरको नाममा निष्क्रियता , थकानको नाममा आत्मा सन्तुष्टि , आलस्यको नाममा असफलता र समस्यामा कामटार्ने बानीको कारण समयको बर्बादी आदि कुराहरूलाई बडो ध्यान दृष्टिले यकिन गर्न सक्नुपर्छ नत्र यी सबै कुरा सुसुप्त अवस्थामा फैलँदै जान्छन् र बिस्तारै जीवनको दिशालाई शून्यमा बदलिदिन्छन्।
निन्द्रा सबैलाई लाग्छ आवश्यक मात्राको निद्रा , स्वस्थ निद्रा स्वस्थ जीवनको आधार पनि हो तर केवल सुतेर नै संसार जित्छु जस्तो गरेर सुत्नु भनेको लक्ष्यको बाटो बन्द गर्नु हो।
रिस सबैभन्दा ठूलो शत्रु हो। रिसलाई जहिले पनि पैतालामुनी च्याप्न सक्नुपर्छ । बदनामीको बाटो पनि रिसले नै निम्त्याउने गर्छ ।
काले जीवनमा जित मात्रै सफलता होइन हार नै जितको सम्भावना हो। “बदनाम गरेर जित हात लगाउनु भन्दा शानदार पराजय लाखौं गुणा माथि ठहर छ ” त्यसैले बद्नामको बाटो समाएर सिडी चढ्न कहिल्यै नखोज्नु।
काले जीवन जिउनको लागि धेरै संघर्ष गर्नुपर्छ स्वस्थ सङ्घर्षमा नै सुख र आनन्द प्राप्त गर्न सकिन्छ सन्तुष्टि प्राप्त गर्न सकिन्छ । अस्वस्थ संघर्षले केवल बदनाम र पीडा मात्रै थोपरिदिन्छ त्यसैले सदा स्वस्थ संघर्षको बाटो अपनाउनु नै बुद्धिमानी हुन्छ ।
काले पत्र निकै लामो भयो। झर्को नमानी पढ्नु केवल मामुले लेखेका अक्षरको रूपमा मात्रै नसम्झनु ल ।
ल फेरि पनि तिमीलाई जन्मदिनको अनगिन्ती शुभकामना सुस्वास्थ्य दीर्घ जीवनको कामना जीवन सधैं सफल रहोस् सुखद रहोस् खुसी रहोस् र आत्मसन्तुष्टि सदा मनमा विराजमान होउन् यहि आशिर्वाद छ तिमीलाई
तिम्रो महतारी आमा ।।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation