
३० चैत, तुलसीपुर
हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई ३४औँ स्थापना दिवसको अवसरमा तुलसीपुर उपमहानगरपालिकाले उत्कृष्ट सहकारी संस्थाका रूपमा सम्मान गरेको छ। संस्थाले लामो समयदेखि वित्तीय सेवा, शिक्षा तथा उत्पादनमूलक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गरिएको हो।
संस्थाको सफलताको पछाडि शेयर सदस्य, कर्मचारी, सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार, उपसमिति, पूर्व सञ्चालक समिति, उपभोक्ता, अभिभावक, सेवाग्राही, नियामक निकाय तथा सरोकारवाला सबैको महत्वपूर्ण भूमिका रहेको संस्थाले जनाएको छ।
सहकारीमार्फत पेट्रोलपम्प सञ्चालनको अनुमति प्राप्त गर्नु सहज नभएको स्मरण गर्दै संस्थाले पूर्व अध्यक्ष हरि प्रसाद रिजालको विशेष योगदान उल्लेख गरेको छ। साथै राष्ट्रिय सहकारी महासंघका तत्कालीन अध्यक्ष दीपक प्रकाश वास्कोटाप्रति पनि कृतज्ञता व्यक्त गरिएको छ।
संस्थाले २०७० सालदेखि सहकारीमार्फत विद्यालय सञ्चालन गर्दै आएको छ। सो क्रममा विभिन्न कानुनी जटिलता सामना गर्नुपरेको भए पनि सहकारी विभागका तत्कालीन रजिस्ट्रार विष्णु घिमिरे तथा डिभिजन सहकारी कार्यालय दाङका सहकारी अधिकृत विनोद पौडेलले महत्वपूर्ण सहयोग पुर्याएको संस्थाले जनाएको छ।
विद्यालय सञ्चालनका लागि स्थानीय सरकारको कानुनी व्यवस्था निर्माणमा तत्कालीन नगरप्रमुख घनश्याम पाण्डेको भूमिका उल्लेखनीय रहेको बताइएको छ। उहाँकै पहलमा नगरसभाबाट कानुन पारित भई सहकारीमार्फत विद्यालय सञ्चालनको बाटो खुलेको थियो। सोही कानुनअनुसार वर्तमान नगरप्रमुख टीकाराम खड्काले विद्यालय सञ्चालन इजाजत प्रदान गर्न सकारात्मक भूमिका निर्वाह गरेका थिए।
२०७६ सालमा सहकारीले डेरी उद्योग सञ्चालनमा ल्याएको थियो। प्रारम्भिक आर्थिक अभावका बीच तत्कालीन नगरप्रमुख पाण्डेले ४५ लाख रुपैयाँ सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराएपछि उद्योग स्थापना सम्भव भएको संस्थाले जनाएको छ। यसका लागि पूर्व नगरप्रमुख पाण्डे र वर्तमान नगरप्रमुख खड्काप्रति संस्थाले आभार प्रकट गरेको छ।
संस्थाले हालसम्म प्राप्त गरेको उत्कृष्टता सम्मान तथा पुरस्कारका लागि राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपाल, राष्ट्रिय सहकारी बैंक लिमिटेड, डिभिजन सहकारी कार्यालय दाङ, जिल्ला सहकारी संघ लिमिटेड दाङ तथा तुलसीपुर उपमहानगरपालिका लगायत सबै निकायप्रति धन्यवाद व्यक्त गरेको छ। साथै सम्मान छनोट प्रक्रियामा संलग्न सबैप्रति पनि संस्थाले कृतज्ञता ज्ञापन गरेको छ।
















