
प्राणमञ्च ब्युराे, देउखुरी/दाङ
राप्ती गाउँपालिकाले आगामी शैक्षिक सत्र २०८३ सञ्चालन तथा व्यवस्थापनका लागि विद्यार्थी भर्ना अभियान र शैक्षिक गतिविधि सञ्चालनसम्बन्धी सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको कार्यालय, मसुरिया–देउखुरी दाङबाट प्रकाशित सूचनाअनुसार पालिकाभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई तोकिएका कार्यक्रम कार्यान्वयन गर्न निर्देशन दिइएको हो।
सूचनामा उल्लेख भएअनुसार वैशाख १० गतेदेखि विद्यालय, समुदाय र टोल–बस्तीस्तरमा शिक्षक तथा कर्मचारी परिचालन गरी विद्यार्थी भर्ना अभियान सञ्चालन गरिनेछ। यस अभियानमार्फत विद्यालय बाहिर रहेका बालबालिकालाई पहिचान गरी विद्यालयमा भर्ना गराउने लक्ष्य राखिएको छ।
त्यसैगरी, शैक्षिक सत्र २०८३ का लागि विद्यालयहरूले वार्षिक कार्ययोजना निर्माण, शैक्षिक योजना तयारी, शिक्षकहरूको पेशागत क्षमता विकास तथा विद्यार्थीको सिकाइ उपलब्धि सुधारसम्बन्धी कार्यक्रम सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ। अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी प्रचलित कानुन कार्यान्वयन गर्न विद्यालयहरूले १३ वर्षमुनिका विद्यालय बाहिर रहेका बालबालिकाको विवरण संकलन गरी भर्ना सुनिश्चित गर्नुपर्ने पनि सूचनामा उल्लेख छ।
गाउँपालिकाले शैक्षिक सत्र २०८३ को कक्षा सञ्चालन वैशाख १४ गते सोमबारदेखि सुरु गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ। साथै संस्थागत विद्यालयहरूले छात्रवृत्तिसम्बन्धी व्यवस्था अनिवार्य रूपमा लागू गर्नुपर्ने र निःशुल्क शिक्षा ऐन तथा नियमावलीअनुसार कार्य गर्नुपर्ने बताइएको छ।
राप्ती गाउँपालिकाले सबै सरोकारवाला निकायलाई सूचनाअनुसार आवश्यक समन्वय र कार्यान्वयनमा सक्रिय हुन आग्रह गरेको छ।
















