
१ वैशाख, प्युठान
नेपाल सरकारले देशव्यापी रूपमा वैशाख १५ गतेदेखि विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने निर्णय गरिरहेका बेला झिमरुक गाउँपालिकाले भने वैशाख २ गतेदेखि भर्ना अभियान सुरु गर्ने एक सूचना जारी गरेको छ।
केन्द्र सरकारले १५ गतेबाट भर्ना अभियान सुरु गर्ने उर्दी जारी गरेकाे भएपनि झिमरुक गाउँपालिकाले सबै विद्यालयहरूलाई समयमै शैक्षिक सत्र सञ्चालन गर्न अग्रसरता देखाउँदै वैशाख २ गतेदेखि भर्ना र वैशाख १० गतेदेखि नियमित कक्षा सञ्चालन गर्ने निर्णय गरेको हाे ।
स्थानीय तहहरूले आफ्नो भौगोलिक, सामाजिक तथा शैक्षिक अवस्थालाई ध्यानमा राखेर निर्णय लिन पाउने अधिकार संविधानले दिएको छ। सोही अधिकार प्रयोग गर्दै झिमरुक गाउँपालिकाले विद्यालयहरूमा समयमै पठनपाठन सुरु गराउने उद्देश्यले अघि नै भर्ना अभियान सुरु गर्ने निर्णय गरेको देखिन्छ । विशेषगरी ग्रामीण क्षेत्रका विद्यालयहरूमा विद्यार्थीको उपस्थिति सुनिश्चित गर्न ढिला नगरी अभियान सुरु गर्नु प्रभावकारी मानिन्छ ।
विद्यालयमा चाँडै भर्ना प्रक्रिया सुरु गर्दा शैक्षिक सत्र समयमै सञ्चालन हुने र पठनपाठनमा पनि सहजता थप्ने विश्वाश लिइएकाे झिमरुक गाउँपालिकाका अध्यक्ष पितबहादुर एमसीले बताए ।
उनले ग्रामीण क्षेत्रमा लामाे समयसम्म भर्ना नलिँदा विद्यार्थी बजार सिफ्ट हुनसक्ने सम्भावनालाई पनि मध्यनजर गरेर साे निर्णय गरिएको बताएका छन् ।
यसाे त स्थानीय स्तरमा शिक्षाकाे गुणस्तर विकास र व्यवस्थापनमा थप रचनात्मक ढंगले सक्रियता राख्नुपर्ने देखिन्छ।
यद्यपि राष्ट्रिय स्तरको अभियानसँग तालमेल नहुँदा अभिभावक र विद्यार्थीमा अन्योल उत्पन्न हुनसक्ने तथा
विभिन्न स्थानीय तहबीच असमान शैक्षिक क्यालेन्डर बन्ने हुँदा
समन्वयमा समस्या हुनसक्ने विषयलाई नकार्न सकिँदैन ।त्यसैले संघ, प्रदेश र स्थानीय तहबीच मूलभूत विषयहरुमा समन्वय अत्यन्त आवश्यक हुन्छ ।
यसरी फरक-फरक मिति निर्धारणले व्यवस्थापनमा जटिलता ल्याउन सक्छ भने एकीकृत रणनीतिले राष्ट्रिय लक्ष्य हासिल गर्न सहयोग पुर्याउँछ।
झिमरुक गाउँपालिकाको अग्रसरता स्थानीय नेतृत्वको सक्रियताको उदाहरण भए पनि नेपाल सरकारको केन्द्रीय अभियानसँग तालमेल मिलाउनु आवश्यक देखिन्छ। अन्यथा, यस्तो समयगत अन्तरले शिक्षा व्यवस्थापनमा दीर्घकालीन रूपमा असन्तुलन सिर्जना गर्न सक्ने विश्लेषकहरूको मत छ।
















