श्रीराम भण्डारी प्रकरणः घटना लुकाउन गल्तीमाथि गल्ती, पत्रकार महासंघ मुखदर्शक

प्राणमञ्चले श्रीराम भण्डारीले नियोजित रुपमा विद्यालयलाई बदनाम गराउने उद्देश्यले गरेको अवैध क्रियाकलापबारे लामो अध्ययन गरी तयार पारेका रिपोर्टिङपश्चात उठेका कैयौँ जिज्ञासाहरुलाई तथ्यहरुमार्पmत थप स्पष्ट पार्नको लागि यो सम्पादकीय रिपोर्ट बनाएका छौँ । यस रिपोर्टमा हामीले लुप्लुङ माध्यमिक विद्यालयको नाममा नितेश अर्डर एण्ड सप्लायर्समा रहेको खाता, विद्यालयले गरेका आर्थिक कारोबार, श्रीरामले विभिन्न मितिमा विद्यालयको नाममा रकम चढाएर लिएको सामाग्री, विद्यालयमा सप्लायर्सले मागेको भुक्तानी निवेदन, श्रीरामले लेखेको फेसबुक स्टाटस, विद्यालयले निकालेको विज्ञप्ती र पत्रकार महासंघको बैशाख २६ गतेको बैठकको निर्णयसम्मलाई सिलसिलेवार ढंगले केलाउने छौँ ।

तथ्य नं. १ः अवैध खरिद, अवैध विल
सुरुमा हेरौँ विद्यालयको खाता (लेजर)
लुप्लुङ माविले यस आर्थिक वर्षमा भदौ १९ गते रु १३ हजार ८ सय २९ रुपैयाँको सामान खरिद गरेको छ । विद्यालयको लागि सप्लायर्सबाट १३८२९ रुपैयाँको सो सामाग्री लिएयता कुनै निर्माण कार्य नपरेकोले आजको मितिसम्म पनि थप कुनै सामाग्री खरिद गरिएको छैन तर श्रीरामले फेसबुक स्टाटसमा जसरी विद्यालयको र व्यक्तिगत सामान सँगै हाल्न पठाएकोले नितेश अर्डर एण्ड सप्लायर्सले भुलवस रकम विद्यालयको खातामा चढाएको भनेर आपूmलाई बचाउ गर्न खोजेको छन् त्यो अर्काे सफेद झुट हो । किनकी विद्यालयको सामान प्रधानाध्यापक बसन्तप्रसाद भण्डारीले गाडीवालासँग अर्डर गरेर अलग्गै चलानी गरेर सामान खरिद गरिएको छ । विद्यालय र सप्लायर्सको अभिलेखअनुसार उक्त सामान लिन श्रीराम भण्डारी गएकै छैनन् । तर श्रीरामले त्यसको दई महिनापछि कार्तिक १८ गते विद्यालयको नाममा दुईवटा भ्याट बिल जारी गराएर ९५,७१७ र २३,०९० रुपैयाँको को सामान आफु नै उपभोक्ता समितिको अध्यक्ष भएको दावी गर्दै विद्यालयको खातामा रकम चढाएर आफ्नो घर सिंगारपटार गर्नको लागि सामान कुदाउँछन् । हेनुहोस् खाता र बिल…….

त्यसको १९ दिनपछि श्रीरामले २०८२ मंसिर ७ गते पनि २ वटा बिल कटाउँदै १३,९१३ र ४,५५१ रुपैयाँको सामान पुन खरिद गरेका छन् भने मंसिर ८ मा ३९,३७३ रुपैयाँको सामान घरमा लगेको देखिन्छ भने सोही दिन घरमा काम गराएर बचेको रु ३८९१३ रुपैयाँको सामान सप्लायर्समा फिर्ता गराएका छन् ।

सामान सकिएपछि घरमा काम गरिरिहेका मिस्त्रिको सल्लाहबमोजिम श्रीरामले पत्रकार महासंको बडेमानको झोला बोकेर पुन बाग्दुला कुँदेर मंसिर १५ गते १७,५५५ रुपैयाँको सामान खरिद गरी घर पैठारी गरेका छन् ।

मंसिर २३ गते पुन नितेश अर्डर एण्ड सप्लायर्समा पुगेर श्रीरामले ७,५०२ रुपैयाँको सामान अर्डर उधारो खरिद गरेका छन् ।

घरमा काम गर्दागर्दै पुन सामान सकिएपछि निज श्रीरामले मंसिर २६ पुन बाग्दुला कुँदेर ६,५०२ रुपैयाँको सामान खरिद गर्न विवश भएका छन् भने सोही दिन घरमा काम नलाग्ने रहलपहल २,३२० रुपैयाँको सामान पुनः फिर्ता गरेका रेकर्ड छ ।

मंसिरको २९ गते श्रीरामले अन्तिमपटक ६,५०२ रुपैयाँको सामान गरिद गरेका छन् ।

अब श्रीरामले भनेअनुसार उनले एकैपटक विद्यालय र आफ्नो नाममा सामान सँगसँगै खरिद गरेका छन् वा घर चिटिक्क पार्ने रहर लागेपछि विद्यालयलाई गोलमाल पार्नेगरी पटकपटक सामान घरमा ओसारेका छन् तथ्यको विश्लेषण गर्ने जिम्मा आदरणीय पाठक र सरोकारवाला निकायले ठमम्याओस् । उल्लेखित तथ्यको आधारमा हाम्रो दावी के हो भने श्रीरामले सात पटकसम्म आफै खु्रुखुरु गएर सामान अर्डर गरेको र बचेखुचेको सामान पनि दुईपटकसम्म फिर्ता गराएको अभिलेखले उनले नियतबस गडबडी गरेकै छन् । यस्तो बदमासीको विरुद्ध प्राणमञ्च टिमले जहाँ पनि बहस गर्न हमेसा तयार छ । एकैछिन हेरौँ, श्रीरामले विभिन्न मितिमा नितेश अर्डर एण्ड सप्लायर्सबाट खरिद गरेको सम्पूर्ण बिलभर्पाई । यति हेरिसकेपछि तथ्य तपाईं आफैं जाँच गर्नुहोस् ।

तथ्य नं. २ः धम्कीको रवैया
हामीले यो समाचार प्रकाशन प्रशारण गरेको आर्कोदिन विद्यालयमा अभिभावक भेला डाकिएपनि घरायसी कारण देखाएर श्रीराम भण्डारी भेलामा अनुपस्थित हुन्छन्, मंगलबार पुनः भेला डाकिन्छ र सो भेलामा उपस्थित भएका श्रीरामले विद्यालयको खातामा रकम चढाएको भएपनि आपूmले तिर्नेभएकोले यसको सार्वजनिकीकरणको कुनै अर्थ नरहेको बरु आफूलाई फसाउन ठूलो गिरोह लागेको विद्यालय प्रसशासन र अभिभावकमाथि दोषारोपणको प्रयास गर्छन् ।

उता उनका सहोदर जादु नौबाहिनी गाउँपालिकाको सदस्य र विद्यालयका पदेन सदस्यसमेत रहेका हुमलाल भण्डारीले भेलामा कड्किँदै आपूmले भनेबमोजिम निर्णय लेख्न समाजलाई दवाव दिएका छन् । अभिभावक भेलामा उनले भनेका छन् “म विद्यालयको पदेन सदस्य हुँ, मैले जे भन्छु त्यहीबमोजिम निर्णय लेख्नुस् हस्ताक्षर गर्नेले गर्छ नगर्नेले गर्दैन, कुारा त्यही हो ।”

भेलामा श्रीराम भण्डारीले पनि हेडसरले राजीनामा दिएको खण्डमा आफूले पनि तुरुन्तै राजीनामा दिने अभिव्यक्ति दिएका छन् तर प्रअले राजीनामा दिनुपर्ने कारण भने केही राखेका छैनन् । एकैछिन यो भिडियो क्लिप पनि हेर्नुहोस्

दुई दिनसम्म चलेको अभिभावक भेला पनि विनानिश्कर्ष सकिन्छ । विद्यालयको नाम भजाएर लाखौँ रकमको सामाग्री आफूले घर सजाउन लैजाने तर त्यही केसमा हेडसरले पनि राजीनामा दिनुपर्छ भन्ने पत्रकार महासंघको अध्यक्ष जस्तो गरिमामय पदमा रहेको मानिसले गर्ने कुरा जायज हो वा नाजायज त्यो कुराको छिनोफानो पनि हाम्रा समस्त पाठक, दर्शक एवम् आम सरोकारवालाहरुले गरुन् । यद्यपि विद्यालय प्रशासनका अन्य विषयमा कैयौँ गल्ती र कमीकमजोरी हुनक्छन् । हामीले हेडसर वा विद्यालय प्रशासनसँग समस्या केही पनि छैनन् भनेर कदापि दावी गर्दैनौँ तर यो केसमा यदि हेडसरले बताएअनुसार नितेश अर्डर एण्ड सप्लायर्सबाट रकम दावी गरेपछिमात्रै घटनाको जानकारी पाएका हुन् भने हेडसर र विद्यालय प्रशासनको कुनै कमजोरी छैन । अन्य प्रकारका कमीकमजोरीहरु छन् भने तथ्यको कसीमा जाँचेर अध्ययन गर्ने विषय हो । दुई वर्ष बढी सँगै काम गर्दा अहिलेसम्म हेडसरको एउटा गल्ती प्रमाणित गर्न नसकेका अध्यक्षले आपूmले गरेको घोटाला काण्डमा प्रअको राजीनामा माग्नु कति न्यायसंगत हुन्छ सरोकारवालाहरु जानुन् ।

तथ्य नं. ३ः वाइट लिइएन ?
हामीले प्रकाशन\प्रशारण गरेको समाचार एकतर्पिm भयो वा ‘वाइट’ नलिइकन समाचार प्रकाशन गरियो भनेर जुन अनर्गल आरोप श्रीरामले प्राणमञ्च मिडियालाई लगाएका छन् यसले पनि उनी यो अपराधबाट कसरी हतोत्साहीत भएर भाग्न खोजेका छन् भन्ने प्रष्ट हुन्छ । जबकी प्राणमञ्च ब्युरो टिमले विद्यालयका प्रधानाध्यापक, पूर्व अध्यक्ष द्वय माधब भण्डारी र धनेश्वर भण्डारी, गाउँपालिकाको शिक्षा शाखा प्रमुख मेघबहादुर बोहोरा, सार्वजनिक परीक्षण समितिका संयोजक नारायणप्रसाद भण्डारी लगायतको स्पष्ट धारणा राखेको छ भने यो गडबडीका हिमायती श्रीराम भण्डारीसँग सुरुमा म्यासेन्जरमा साँझपख कुरा गर्न खोज्दा आपूm अस्वस्थ भएकोले भोलीमात्रै घटनाको विषयमा आफै फोन गर्ने कुरा गरे । हामीले पनि स्वास्थ्य लाभको कामना गरेर कुराकानीको विट मा¥यौँ अर्काेदिन उनले फोन नगरेपछि हामीले नै कलिङ गरी उनको मोबाइलमा झण्डै १० मिनेटसम्म कुरा भएको छ । कुराकानीको क्रममा श्रीरामले ‘समाचार लेख्दै हो, लेखिहाल्ने हो र ?’ सम्म भनेका छन् ।

हामीले ‘समाचार ब्रेक हुँदैछ’ भनेर स्पष्ट भनेका छौँ । त्यसपछि उनीसँग सार्वजनिक परीक्षण समितिका संयोजक तथा शिक्षक अभिभावक संघका अध्यक्षको नम्बर माग्दा ‘हेडसरसँग माग’ भनेर फोन आफै कटाएका छन् । हामीले पुनः फोन गरेर नारायणको नम्बर माग्दा ‘मैले दिदैन, हेडसर वा अरु कोहीसँग माग्नु’ भनि फोन कटाए । सो घटनामा आफ्नो कमजोरी भएको, बाँकी भुक्तानी तुरुन्तै गरिहाल्ने, आइन्दा यस्ताखाले गल्तीहरु नदोहो¥याउने वाचा पनि गरे । यसरी हामीले सम्बद्ध सबै अधिकारीहरुको स्पष्ट ‘वाइट’ राख्दा पनि समाचार कसरी एकतर्पिm हुन्छ ? यसको फैसला पनि सरोकारवाला निकायले गरोस् साथै यस्ता घटनाका समाचार कसरी लेख्ने हो सो विधिका विषयमा महासंघका अध्यक्षले उपयुक्त सेमीनारको आयोजना गरुन् हामी चर्काे मूल्य तिरेर पनि सो सिकाइमा अनिवार्य सहभागी हुनेछौँ ।

तथ्य नं. ४ः फेसबुक स्पष्टिकरणः गम्भीर फटाईं
उनले समाचार प्रकाशन भएको ३ दिनपछि एक स्टाटस लेखे । सो स्टाटसमा उनले विद्यालयका लागि खरिद गरिएको सामग्री र व्यक्तिगत प्रयोजनका सामग्रीबीच “गलत बुझाइ” मात्र भएको दाबी गरेपनि तथ्यहरुले उनले गम्भीर गल्ती गरेको स्पष्ट पार्दछ । उनले “सानो कुरालाई गलत मनसायका साथ व्यक्तिगत तथा संस्थागत चरित्र हत्या गर्ने कार्य अपराध हो ।” भनेका छन्, हामी चुनौति दिन चाहान्छौँ, विद्यालयमा कुनै विकासे परियोजना नपरेको, विद्यालय र विद्यालय व्यवस्थापन समितिलाई कुनै जानकारी नदिई बिना खरिद आदेश झण्डै २ लाखको सामान घरमा लिएर ६ महिनासम्म चुपचाप हुनु अपराध हो वा सामाजिक अगुवा संस्थाको नेतृत्व सम्हालेका अध्यक्षले नियोजित ढंगले गरेको सो गडबडीलाई सार्वजनिक गर्नेलाई अपराधि भनिन्छ कानुनी अड्डा र त्यसका विज्ञहरुले फैसला गरुन् ।

त्यस्तै उनले “विद्यालय व्यवस्थापन समिति अध्यक्षको हैसियतले विद्यालयका लागि आवश्यक पर्ने रंगरोगनका सामग्री पेन्टरले दिएको विवरणका आधारमा अर्डर गर्न गएको थिएँ । सोही दिन मलाई आवश्यक पर्ने व्यक्तिगत सामग्री पनि अर्डर गरिएको थियो । सामान उपलब्ध गराउने फर्मवालाले मानवीय त्रुटिवश विद्यालयको नाममा बिल जारी गरेको रहेछ (बिलिङको समयमा म स्वयं उपस्थित नभएको कारण) ।” भनेर सफेद झुट बोलेका छन् । जबकी विद्यालयको सामान लिएको दुई महिनापछि लुसुक्क गोदाममा छिरेर श्रीरामले सामान लिएका छन् । सातवटा भ्याट विल अलगअलग मितिमा कटाएका छन् भने दुईपटक त सामान फिर्ता समेत गरेका छन् ।

यसरी झुठको महलभित्र उनले राखेको तथाकथित स्पष्टिकण पनि सही हो कि गलत हो भन्ने ठेगान सम्बन्धीत क्षेत्रका विज्ञहरुले छिनोफानो गरुन् । यद्यपि विद्यालयको आधिकारिक निर्णय र खरिद आदेश विपरित सप्लायर्सले किन सामान दियो भन्ने गम्भीर प्रश्न रहेको छ ।

तथ्य नं. ५ः विद्यालयको विज्ञप्ती
विद्यालयका प्रधानाध्यापक बसन्तप्रसाद भण्डारीद्वारा एक विज्ञप्ति जारी गर्दै अनाहकमा विद्यालयलाई विवादमा तानिने विषय आपत्ति प्रकट गर्दै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष जस्तो जिम्मेवार व्यक्तिबाट विद्यालयको नाम दुपयोग गरी गैरकानुनी रुपमा सामान ओसारिएको घटनामा ध्यानाकर्षण भएको जनाउँदै भुक्तानी प्रकरण र लेनदेनमा विद्यालयको कुनै सरोकार नरहेको स्पष्ट पारेको छ । सोही व्यहोराको विद्यालयले जारी गरेको प्रेस विज्ञप्ती हामी आफैंले पनि मसिनोगरी अध्ययन गर्न सकिने छ । यो हेर्नुस् विद्यालयको विज्ञप्ती…………..

तथ्य नं. ६ः भुक्तनी दावी र सप्लायर्सको निवेदन
सप्लायर्स कम्पनीले विद्यालयमा भुक्तानी दावीसहित बुझाएको निवेदनले श्रीरामको नियोजित गडबडीलाई थप उदांगो पारिदिएको छ । नितेश अर्डर एण्ड सप्लायर्स बाग्दुलाले विद्यालयको नाममा श्रीराम भण्डारीले आपूm उपभोक्ता समितिको अध्यक्ष भएको र विद्यालयको विकासको लागि सामान अनिवार्य भएकोले भनेबमोजिमको सामान सबै दिन अनुरोध गरेपछि विद्यालयको नाममा श्रीरामले सामान लगेको र रकम विद्यालयको खातामा चढाउन लगाएको साँचो हो, त्यसैले भुक्तानी के कसरी गरिने हो सोको जानकारी दिनको निम्ति अनुरोध गरेको छ । हामीले यहाँ विद्यालयको नाममा सप्लायर्सले पठाएको भुक्तानी दावीसहितको निवेदन पनि प्रष्ट राखिदिएका छौँ । यसको पनि सही वा गलत भन्ने कुरा सम्बन्धीत क्षेत्रका विज्ञहरुले छिनोफानो गरुन् ।

तथ्य नं. ७ः पत्रकार महासंघको बैठक, निर्णय गुपचुप
हामीले गत सोमबार सप्रमाण घटना विवरण सार्वजनिक गरेपछि त्यसको पाँचौँ दिन पत्रकार महासंघको बैठक बसेको र निज श्रीरामले ३ दिनभित्र घटनाको विषयमा आपूm निर्दाेष रहेको प्रमाण पेश गर्न अनुरोध गरेको र आधिकारिक निकायबाट निर्दाेषिताको कागजपत्र पेश नगर्दासम्म कुनैपनि सार्वजनिक कार्यक्रममा उपस्थित नहुनु भनि निर्णय गरेको भएपनि सो निर्णय सार्वजनिक गरिएको छैन । बैठक बसेको निर्णय उपलब्ध गराउनको लागि हामीले शुक्रबार र शनिबार दुई दिन अनुरोध गर्दा पनि कार्यालयको साँचो श्रीरामसँग रहेको र एउटा मात्र साँचो बोकेर श्रीराम भण्डारी जिल्लाबाहिर गएकोले कार्यालय खोल्न असमर्थ भएको सचिव बासुदेव गिरीले बताएका छन् । हामीले पटकपटक सम्पर्क गरेर सूचना माग्दा उपलब्ध नगराउनुले पत्रकार महासंघले नै सूचनाको हकविरुद्ध काम गरेको स्पष्ट हुन्छ । यद्यपि बैठकमा सहभागी पूर्व अध्यक्ष, पदाधिकारी लगायतले श्रीरामले नैतिकताको आधारमा तुरुन्तै राजीनामा दिएर मार्ग प्रसस्त गर्न सुझाएको र सो कुरामा अटेरी गरिरहेको बैठक स्रोतले जनाएको छ भने प्राणमञ्चमा आएको समाचार गलत भएकोले प्रेस काउन्सीलमार्फत सो मिडिया र समाचार लेखकलाई कारबाही गरिछाड्ने अठोट श्रीरामले लिएको देखिन्छ ।

यसरी प्रयाप्त स्रोतहरूले यो घटनालाई सामान्य “मिसअन्डरस्ट्यान्डिङ” भन्दा गम्भीर आर्थिक अपराध भएको स्पष्ट छ । हामीले प्राप्त गरेको प्रमाण अनुसार विद्यालयको नाममा श्रीराम भण्डारी आफैं नितेश अर्डर एण्ड सप्लायर्समा पुगेर विभिन्न मितिमा पटक–पटक बिल काटी सामग्री लिइएको र ती सामग्री विद्यालयमा प्रयोग नभई व्यक्तिगत रुपमा प्रयोग गरेको स्पष्ट छ । विशेषगरी कार्तिक महिनामा मात्रै विद्यालयको नाममा सात वटा बिलमार्फत सामग्री उठाइएको र तीमध्ये कुनैपनि सामग्री विद्यालयमा नगएको विद्यालयले स्पष्ट पारेको छ । सप्लायर्सले विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष उपभोक्ता समितिको अध्यक्ष हुँ भन्दै उधारोका सामान ओसारेको स्पष्ट पारेको छ ।

विद्यालयको नाममा खरिद गरी ब्यक्तिगत प्रयोग गर्नु ‘सामुदायिक विद्यालयको आर्थिक कार्यविधि सम्बन्धी नियमावली, २०७८’ विपरित हुने भएकोले विभागीय र प्रशासनिक कारबाहीको रुपमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदबाट तत्काल बर्खास्त गर्न सकिनेछ र यस्तो कार्यमा संलग्न विक्रेतालाई पनि कालोसूचीमा राख्न र कारबाही गर्न सकिन्छ ।

पत्रकार महासंघको अध्यक्ष जस्तो जिम्मेवार पदमा बसेको व्यक्तिले संस्थागत लेटरहेड वा औपचारिक माध्यम प्रयोग नगरी सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिनु पनि उपयुक्त नभएको र पत्रकारिताको आचारसंहिता र संस्थागत उत्तरदायित्वको विषय पनि बहसमा आएको छ । कैयौंले उनको पेशागत भूमिका र सार्वजनिक पदबीचको नैतिक सन्तुलनबारे प्रश्न उठाएका छन् । यो गम्भीर घटनामा जोडिएका निज श्रीराम भण्डारीले दुबै पदबाट तत्काल राजीनामा दिनुपर्ने माग उठिरहेको छ ।

यस प्रकरणबारे गाउँ शिक्षा समिति, विद्यालय प्रशासन तथा स्थानीय तहका सरोकारवालाहरूले औपचारिक छानबिन गर्नुपर्ने माग उठाइरहेको भएपनि शक्तिको आडमा त्यसो हुन सकिरहेको छैन । विव्यसको अध्यक्षले कुनै आयोजना नै नपरेको विद्यालयमा म नै उपभोक्ता समितिको अध्यक्ष हुँ, मैले मागेबमोजिमको सामान खुरुखुरु दिनुस् भनेर घरमा लैजानुले उनको पदीय जिम्मेवारी र कानुनी कारबाही अनिवार्य छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ र भ्रष्टाचार निवारण ऐन– २०५९ अनुसार अध्यक्षले अख्तियारको दुरुपयोग गरी सार्वजनिक सम्पत्तिमा हानि–नोक्सानी पु¥याएकोले विशेष अदालतमा मुद्दा लाग्ने र त्यसरी गैरकानुनी रूपमा खरिद गरिएको सामान वा हिनामिना गरिएको रकमको बिगो बराबर रकम र त्यसको व्याजसमेत असुल उपर गरिने कानुनी व्यवस्था छ ।

समाजमा विधिको शासन र कानुनी राज्यको पक्षमा खबरदारी गर्ने नागरिक समाजको अगुवा संस्थाको प्रमुख नैे गैरकानुनी काममा जोडिनुले सिंगो पत्रकार महासंघ तथा पत्रकारहरुको पेसागत मर्यादामा गम्भीर आँच आउने काम भएकोे छ । सुशासन, पारदर्शिता, जबावदेहीता लगायतका विषयमा सरोकारवाला निकायलाई खबरदारी गर्दै आवाजविहीन मानिसहरुलाई विकासको मूलधारमा ल्याउन पैरवी गर्ने संवेदनशील संस्थाको अध्यक्ष नै गैरकानुनी रुपमा मनोमानी गर्नुले नेपाल पत्रकार महासंघको समेत धज्जी उडाउने काम भएको पत्रकार अगुवाहरुले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation