अब चल्दैन तिम्रो मनपरी (कविता)

 

मजग कुहिएकाे अँध्यारोले
छोप्न खोज्छौ किन
प्रज्वलित आकाशकाे आयतन
हत्केलाले सूर्य थुन्ने दम्भ बोकेर
फैलाउँछौ कति विषालु सास ?

हेर/सुन दुष्ट मनुवा
झूटका रंग पोतिएकाे अनुहार
अब कुनै केमिकलले सफाचट हुन्न
बरु हिसाब राखेर हर कर्तुतकाे
जनचेतले धाेइरहेछन् राम्रोसँग
विश्वासमा अडिक न्यायका नयन
तिम्रो छलछामकाे अभिनयमा होइन,
सत्यको उज्यालोमा बिउँझिरहेछन् !

समाजलाई छलेर तिमीले
इमान बेचेर बनाएको महल
भित्रभित्रै सडिरहेछ
लोभका इँटामाथि उभिएको
ब्रह्मलुटकाे तिम्रो साम्राज्य
अब विद्राेहकाे कम्पनले चर्किरहेछ ।

जति माथि उक्लिनेछ तिम्रो दम्भ
त्यति खाली हुँदै जानेछ मगज
रित्तिँदै जानेछ प्रतिष्ठा

बाँकी रहनेछ तिमीसँग
केवल स्वार्थकाे लालचले भरिएको
निर्दयी हाँसोको दुर्गन्ध मात्र ।

तिमी
जनताको घाउमाथि उभिएर
भ्रमका किस्सा छर्दैछौ
तिम्रा हरेक कर्कसे शब्दभित्र
ठगीकाे गन्ध आइरहेछ
तिम्रा जनमारा निर्णयले
सार्वजनिक संस्थाकाे चुल्हाे
निभ्ने
सामूहिक भय जागिरहेछ ।

पटकपटक दाेहाेरिरहेका
तिम्रा षड्यन्त्रका किस्साहरुले
जागेका जनका न्यायीक सपना
दुर्गन्धित नालामा अलपत्र परे
ति मूल्यवान सपनाकाे हिसाब पत्थरिएको अन्तर्मनले
कहिल्यै देख्दैन ।

तिमीलाई अझैपनि लागिरहेछ
डर देखाएरै समाज चल्छ
चर्काे बोल्दैमा इतिहास फेरिन्छ
मानिसको विवेकलाई
झुठमै किनिनेछ

तर सम्झ ए अपराधी !
जनताको सचेत मौनतामा कमजोरी भन्ने रत्तिभर छैन
बरु सम्झ एकाग्र बनेर तिमीले
त्यो त आँधी आउनुअघिको
भयङ्कर सन्नाटा मात्रै हाे
यसपछिकाे बलवान आँधीले
तिम्राे कर्तुतलाई हुल्नेछ कठघरामा ।

समाज धेरै अघि लम्किरहेछ
तिम्रो गँवार सोचभन्दा माथि
तिम्रा फर्जी कथाभन्दा पर
र निश्चित भइसकेछ अब
यहाँ न्यायकाे चेत बिक्नेछैन
जहाँ सत्य प्रलाेभनमा झुक्नेछैन
र जहाँ तिम्रा श्रृङखलावद्ध अन्यायलाई
सधैँका लागि क्षमा गरिँदैन ।

अब पनि
यदि तिम्रो विषाक्त सोच
पदीय दम्भमा उन्मत्त भएर
न्यायकाे घाँटी थिचिरहन्छ भने
समयले नै तिम्रो नामलाई
कलङ्कको पानामा गाडिदिनेछ

किनकि
आफू सडेर समाज सडाउन खोज्नेहरू
कहिल्यै इतिहास बन्दैनन्
तिनीहरू खरानी बन्छन्
आगे तिम्रो मर्जी
सच्चिने कि सक्किने
तर याद राख
दुनियाँलाई रुवाएर
आफू हाँस्ने तिम्रो मनपरी
अब कत्ति चल्नेछैन ।….
२०८३/०१/३१ कुइरेपानी, दाङ

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation